साहित्यपोस्ट-नपढी सुखै छैन...

एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्सबाट ‘टोकियो घोषणापत्र–२०२६’ जारी

एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्सबाट ‘टोकियो घोषणापत्र–२०२६’ जारी

टोकियो । नेपाल पत्रकार महासङ्घको समन्वय तथा नेपाल पत्रकार महासङ्घ जापान शाखाको आयोजनामा सम्पन्न एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स–२०२६ले ‘टोकियो घोषणापत्र–२०२६’ जारी गर्दै नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारको अधिकारको कार्यान्वयन तथा प्रवासमा रहेका नेपाली पत्रकारको संस्थागत अधिकार सुनिश्चित गर्न सरकार र सरोकारवाला निकायसँग माग गरेको छ ।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजित सम्मेलन नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सम्मेलनमा महासङ्घका केन्द्रीय पदाधिकारी, प्रदेश तथा जिल्ला अध्यक्ष, एसोसिएट अध्यक्ष, वैदेशिक शाखाका प्रतिनिधि तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासङ्घका युरोप, बेलायत, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, भारत र जापान शाखाको सहआयोजनामा तथा नेपाल अमेरिका पत्रकार सङ्घ र नेपाल अस्ट्रेलिया पत्रकार सङ्घको सहकार्यमा सम्पन्न सम्मेलनले नौबुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अंकुश लगाउने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेसमैत्री वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ । सञ्चारसम्बन्धी कानून निर्माण वा संशोधन गर्दा सरोकारवालासँग पर्याप्त परामर्श गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।

सम्मेलनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सेवा–सुविधा, सामाजिक सुरक्षा, नियुक्तिपत्र, बिमा तथा श्रमिक अधिकार सुनिश्चित गर्न सरकार र सञ्चार संस्थाको ध्यानाकर्षण गराएको छ । साथै, प्रविधिको तीव्र विकाससँगै देखिएका चुनौती व्यवस्थापनका लागि आवश्यक नीति तथा कानूनी व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

घोषणापत्रमा प्रवासमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय हितको प्रवर्द्धनमा योगदान पुर्‍याइरहेका पत्रकारको सम्मान गर्दै महासङ्घको विधान संशोधनमार्फत वैदेशिक शाखाका सदस्यलाई चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता जनाइएको छ । साथै वैदेशिक शाखाको प्रभावकारी समन्वयका लागि महासङ्घको संगठनात्मक संरचनामा पुनर्संरचना गरी वैदेशिक प्रदेश वा महादेशगत संरचना निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।

त्यसैगरी, प्रवासी नेपाली पत्रकारले आर्जन गरेका ज्ञान, सीप, प्रविधि र सञ्चार अभ्यासलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्न वैदेशिक शाखालाई ज्ञान हस्तान्तरणको प्रभावकारी माध्यमका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकारबाहेक संविधानले प्रत्याभूत गरेका अन्य संवैधानिक अधिकार सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न पनि सरकारसँग माग गरिएको छ ।

घोषणापत्रमा वैदेशिक शाखा तथा महासङ्घसँग सहकार्य गर्ने संस्थामा आबद्ध सदस्यको मूल सदस्यता कायम राख्ने व्यवस्था गर्न तथा शाखा स्थापना नभएका मुलुकका पत्रकारका लागि डिजिटल माध्यमबाट सदस्यता नवीकरण र व्यवस्थापन गर्न सकिने प्रणाली विकास गर्न आग्रह गरिएको छ ।

यसैबीच, विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको सम्मानस्वरूप नेपाल पत्रकार महासङ्घका सम्पूर्ण वैदेशिक शाखाको संयुक्त पहलमा ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरिएको जानकारी नेपाल पत्रकार महासङ्घ जापानकी उपाध्यक्ष मनिषा चम्लागाईंले दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा जापानस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत हरीहरकान्त पौडेल, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासङ्घ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल तथा महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उहाँहरूले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले नेपाली पत्रकारिताको विकास, विस्तार र विश्वव्यापी सञ्जाल निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको स्वागत मन्तव्य महासङ्घ जापानकी महिला उपाध्यक्ष लक्ष्मी पौडेलले राख्नुभएको थियो भने सञ्चालन सचिव अर्जुन लामिछानेले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.