ऊसँग भेट्नुअघि नै मैले उसलाई भेटेको छु । लाग्छ, ऊ मैले भविष्यमा लेख्ने कथाबाट निस्किएर मलाई भेट्न आएकी छ वा विगतमै लेखेको कथामा सिर्जित ऊ मलाई खोज्दै आएकी छ वा यो कुनै नयाँ कथा हो ? वान्स अपन अ टाइम हो ? हेलो मोना डार्निङ् ! म हजुरकै डन ।
कुरो के भने, मलाई मैले लेख्ने कथा मन पर्दैन । क्यारेक्टर खुब मन पर्छन् तर जब जब कथा क्लाइम्याक्समा पुग्छ, लाग्छ आई ह्याब सिन दिस् मुभी एण्ड आइ डिन्ट् लाइक दि एन्डिङ्ग ।
एक सन्ध्या रश्मिको उदय सागरको जीवनमा यसरी भयो जसरी आम रूपमा हुँदैन । कुरुणा, दया, माया, आत्मीयता, सौहार्द बिर्सिएको यो दुनियाँमा ! कसैले कसैको वास्ता नगर्ने यो दुनियाँमा ! अलिकति आत्मीयता, वास्ता, अनि साधुवाद लिएर रश्मि सागरको जीवनमा प्रदीप्त भई । वेवास्ता, शून्यता, रङ्गहीनता, हीनता, निस्सारता यस्तै यस्तै कुरा आइरहने जीवनमा आज नयाँ कुराको उदय भयो ! सौहार्द, आत्मीयता र धन्यवादका साथ ! सागरले बिर्सिएको थियो यो संसारमा कुरुणा भन्ने चिज अस्तित्वमा छ । उसलाई त्यस बखत जीवन सुन्दर लागेकै हो । सधैँ उसले घृणा नगरे पनि खासै मन नपराउने काम प्रति अलि कति माया पलाएकै हो ।
म उसको हात समाइरहेको छु । ऊ बोलिरहेकी छ । उसलाई बोल्न मन पर्छ । मलाई बोलिरहेकी उसलाई सुन्न मन पर्छ । प्रत्येक शब्दसँग जोडिका भावना उसका आँखामा यति छिटो उर्मन्छन् । ऊ महसुस गर्न जानेकी छ । मैले कुरा लुकाउन जानेको छु । उसले बताउन जानेकी छ । मैले कुराहरू केवल मनमा अटाउन जानेको छु ।
कुनै पोखरी छेउ उसले फुकाउँदै गई मनभित्र जेलिएका कुरा ! पोलेका कुरा ! र, त्यो रापमा उसका आँशु पग्लिए ।
ऊ बोलिरहँदा जुन आभा उसका आँखामा हुन्छ, त्यो सरेर हातसम्म कुनै छन्दात्मक नृत्य जस्तै प्रत्याभूति हुन्छ । उसका आँखामा पीडाको प्रतिबिम्ब पनि हुन्छ, जुन अश्रुमा पोखिन्छन् । भन्दछे, “जब म कुनै पोखरी छेउ हुन्छु, लाग्छ मसँग पोखरीले आँशुको आहुति माग्दछ । त्यसैले म धेरै पटक पोखरी छेउ रोएकी छु । यो पोखरीको गहिराइमा, छालको गतिमा, मेरा केही थोपा आँशुको सूक्ष्म योगदान पक्कै छ ।”
तिमी हुँदा लाग्छ मेरो जीवन इम्तियाज अलीले निर्देशन गरिरहेछन् । ऊ भन्छे, “द्याट इज अ नाइस कम्पिलमेन्ट” । तर “तिमी हौला इम्तियाजका औलाद मेरी माता तो फराह खान हें !” म जवाफ फर्काउँछु अक्सर ।
शहरमा पोखरी हुनुपर्छ । पार्क हुनुपर्छ । हिँड्ने पुरातन गल्छेँडा हुनुपर्छ । जहाँ दुई प्रेमी एक अर्काका हात समाउन् । सँगै हिँडुन् । भीडबीच एक्लै हिँड्नु क्रुर अनुभव हो । त्यसैले, सँगै हिँड्नलाई कोही त चाहिन्छ । सँगै हिँड्दा प्रेमिका देखोस् कुनै पुष्प पसल र सुन्दर फूल उपहारमा पाउने कल्पना गरोस् ।
सागरले लेखेको थियो प्रेमपत्र । कहिले हिजो कि आज ? उसलाई याद छैन ।
प्रियसी,
तिमी एक दिन मेरो सपनामा आयौ । मैले चिनिनँ तिम्रो रूप । केवल चिनेँ तिम्रो श्रुतिमधुर आवाज । कसरी चिनूँ जब एउटा गुलाफ मतिर बग्दै आएको थियो र म अर्पण गरिरहेको थिएँ जल । जल अर्पण गर्दा म एक्लै थिएँ ? मलाई सम्झना छैन । त्यो जल थियो या आँशु मैले बिर्सिएँ । तिमी थियौ मेरो समीप कहिले समर्पित त्यो पानीमा कहिले बग्दै गरेको गुलाफमा ।
तिमीले भनेकी थियौ मलाई कामुका शब्द, “मैले जस जसलाई प्रेम गरेँ आखिरमा ती सबलाई धोका दिएँ” । त्यो बेला मलाई एउटा फिल्मी डाइलग याद आयो, “आफूलाई धोका दिनुभन्दा अरुलाई धोका दिएको असल ?”
पवित्र के छ यहाँ ? सबमा मिलावट छ । तिम्रा मुस्कानमा कविताको मिसावट, आँशुमा दुःखको मिसावट, शब्दमा भाषाको मिसावट । सबैभन्दा पवित्र तिम्रो रोदन होला, तर त्यसमा पनि हुन्छ आँशुको मिसावट । मान्छे हुनु अशुद्ध हुनु हो ! अशुद्ध भएर नै तिमी शुद्ध छौ ।
म अशुद्ध छु त्यसैले त बुद्ध छु । शुद्ध हुनु ईश्वर उपर हुनु हो । शुद्ध हुनु मृत्यु हो । शुद्ध हुन अमानव हो । शुद्ध त मेरो छेउको यो बिरालो छ जसले मुसा मारेर खाएको छ । यसको मुखमा रगत छरिएको छ । जीवनको शुद्धतम् रूप यही हो । बाँच्नका निम्ति उसका दरिला दाँत अनि नङ्ग्राले मारेको मुसा अनि त्यो रगत जसले उसको घाँटी सिँच्यो अनि पेट भेरियो । ए ए ! म कता बहकिएँ ! कुरा गर्नु थियो तिम्रा आँखाको, कुरा गरेँ मृत्युको । हुन त कातिन नजरका कुरा गर्दा मृत्यु विषय जोडिनु कुनै नौलो कुरा हैन । खैर त्यस विषय उपर अरू कुनै दिन कुरा गरालौँ ।
कुनै पोखरीको छेउ
एउटा सुन्दर साँझ
शान्त नयन शान्त तलाऊ
तिम्रा आँखाको गहिराइबाट
म नजर कसरी हटाऊँ ?
तिम्रो हातको छन्द
जो लेखिरहेछन्
हावामा कविता
तिम्रो रोतो टोपीबाट
निस्किएर क्यानभास
खोजिरहेका तिम्रा केश
म सुनिरहेछु तिम्रा कुरा
थाह पाउँदैछु तिम्रा कथा
र यति खेर मलाई लाग्दैछ
मेरो अस्तित्व
कथा लेख्नलाई होइन
केवल तिमीलाई सुन्न हो !
“यो यति शीतल र शान्त के को ज्वालामुखी हो ?”
“सागर, यो हाम्रो अलिङ्गनको शान्ति हो !”
“हाम्रो अलिङ्गनको साक्षी किन यही पोखरी छ, जसले हिजो तिम्रो आँशुको आहुति मागेको थियो ? थाहा छ रश्मि ?” अझ थप्छु, “यो पनि जलोस् तिम्रो शान्तिको जेलसीमा ! भष्म होस् ! र देखोस् तिम्रा आँखाको न्यानोपन जसबाट यसले आँशु खोस्दछ ।”
यो आलिङ्गनभित्र म जीवनको शुरुवात भेट्दछु । ब्रह्माण्डको प्रारम्भ देख्दछु । बन्छु म त्यो एटम जुन एउटा बिन्दुमा समाहित थियो अर्को एटम, तिमीसँग ! ती युगौँ युग अघिका एटमको विष्फोट शायद यसै क्षणका लागि त रहेछ रश्मि । हामीले कैय्यन चौरासी लाख चक्र घुम्दै घुम्दै आखिर खोजेको मोक्ष त यही रहेछ । ईश्वर शायद तिम्रो आलिङ्गन हो । मेरो जीवन शायद अन्धकार हो । असीमित एक्लोपनको गहिराइ हो । छटपटीको ज्वारभाटा हो । म विराटतामा एक्लो छु । तिमी आफू एक्लै विराट छौ । म अन्धकारमा नीरव छु । तिमी अन्धकारकी ज्योति हौ ।
आज फेरि मलाई भेट्न आयौ रश्मि ? तिमीलाई अन्धकार पटक्कै सुहाउँदैन । अन्धकारमा तिम्रा आवाजका वेगले जुन फ्रिक्वेन्सी सिर्जना गर्छन्, मलाई मन पर्दैन । त्यसैले आएँ । त्यहाँ दुःखी हुने होइन है ।
त्यसपश्चात् रश्मिका टुक्रा सागरभरि छरिन्छन् । जसरी धान छरिन्छ असारको खेतमा । पात छरिन्छन् वसन्तका बगैँचामा । जसरी मुस्कान छरिन्छन् कुनै नवप्रेमीका अधरमा । जीवन छरिन्छन् मेरो अस्तित्वमा । ईश्वर छरिन्छन् नतमस्तक तिम्रा दुई हातअघि । अनि कविता छरिन्छन् तिम्रै मुस्कानको सेरोफेरोमा ।
सागर र रश्मि क्षणिक सही कुनै भिन्न दुनियाँमा थिए । यो निरस, यथार्थपरक दुनियाँ जहाँ थकानको शेष थियो तर पीडा थिएन । कुरा सुन्ने र बात मार्ने दुनियाँ । रिलबाट बाहिरको दुनियाँ । सौन्दर्यको, भावनाको प्रेमिल दुनियाँ । साङ्गितिक दुनियाँ । अपूर्णताको थ्राइभिङ दुनियाँ । मुस्कान र आँशु एकै क्यानभासमा पोतिएको दुनियाँ । चाँदनी पोखिएको दुनियाँ ! एक अर्काका हाँत थाम्ने दुनियाँ ! पीडाका शिरले काँध भेटाउने दुनियाँ ! अस्तित्व मेटाउने दुनियाँ ।
रश्मिले भनेकी थिई, “मलाई अब छाडिदेऊ ल !”
सागरले सुनेको थियो , “मलाई नबिर्सनू है !”
सागरले सोधेको थियो, “अरू अप्सन छैन ?”
रश्मिले बुझेकी थिई, “एकछिन धेरै गाह्रो हुने वाला छ !”
जाने बेला रश्मिले भनेकी थिई हाम्रो कथा लेख है !
– अनि टाइटल के दिने नि ?
– ‘फिफ्टी डेज् अफ विन्टर ।’
आज सागर कथा लेख्दै छ – फिफ्टी डेज् अफ विन्टर ।
…. एकादेशमा सागर र रश्मिको भेट यसरी भयो जसरी चाँदनी पोखिन्छ समुद्रमा । जसरी प्रेम छल्किन्छ नवप्रेमीका आँखामा …

