साहित्यलाई विविध कोणबाट अध्ययन अनुसन्धान गर्ने क्रममा विद्वानहरूले साहित्यका अन्य विधाको दाँजोमा सबैभन्दा लामो अवधिसम्म बाँच्ने साहित्यिक विधा नियात्रा हो भनेर निष्कर्ष निकालेका छन् । यस कुरालाई ‘द वेष्ट अमेरिकन ट्राभल राइटिङ’ का सेरिज सम्पादक जासन विल्सनले स्पष्ट रूपमा सन् २०१७ को उक्त जर्नलको सम्पादकीयमा किटान गरी उल्लेख गरेका छन् ।
वास्तवमा मनन गर्ने हो भने मानव भएर पृथ्वीमा जन्म लिएपछि मृत्युपर्यन्त अनेक यात्रामा जुट्नु पर्छ । जस्तो कि– तनको यात्रा, मनको यात्रा, विचारको यात्रा । यति मात्रै होइन कि संसारको उत्पत्तिदेखि नै मूर्त र अमूर्त चिजहरूको यात्रामा निरन्तरता छ ।
यसबाट स्पष्ट हुन्छ कि यात्रा लेख्ने परम्परा पनि अत्यन्त प्राचीन रहेको पाइन्छ । जसको प्रमाण खोज्ने हो भने पूर्वीय विद्घानहरूका अनुसार ईसाभन्दा करिब २० हजार वर्ष अगाडि सृजित ऋग्वेद तथा पाश्चात्य यात्रा साहित्यमा ईसापूर्व अनुमानित १००० मा होमरद्वारा रचित इलियाड र ओडीसीलाई लिन सकिन्छ ।
प्राचीनदेखि लेखिंदै आएको नियात्रा विधाले विधाको स्वरूप प्राप्त गर्ने स्थितिसम्म आइपुग्दा धेरै आरोह अवरोहको यात्रामा गुज्रिएको छ । नियात्राको उद्भव, विकास, तत्त्व, विशेषता, वर्गीकरण, शैली, बिम्ब र सौन्दर्यहरूका पहिचान गरिंदै आइयो । यसै क्रममा नेपाली साहित्यको सर्वोच्च संस्था नेपाल प्रज्ञा प्रतिष्ठानले वि.सं. २०७८ मा नियात्रालाई स्वतन्त्र विधाको मान्यता प्रदान गर्यो । यसले नियात्रा विधाको उन्नति र प्रगतिको गतिलाई हौसला र प्रोत्साहन मिलेको छ भन्दा अतिशयोक्ति नहोला ।
आखिर नियात्राका सौन्दर्य के हो त ?
सौन्दर्य भन्नाले कुनै पनि चिजलाई राम्रो बनाउने तत्त्व भन्ने बुझिन्छ । पठनको दृष्टिकोणमा सुन्दर, सुललित र नवीन कुराको जानकारी मिल्ने भन्ने हुन्छ । अझ सरल भाषामा बुझ्ने हो भने कुनै पनि नियात्रा पठनबाट पाठकले पाउने फाइदा वा लाभ आदिलाई लिन सकिन्छ । तसर्थ नियात्रा लगायत अन्य सबै प्रकारका विधाहरूमा सौन्दर्यको तत्त्व हुन नितान्त जरूरी छ । कुनै पनि रचना गर्दा सौन्दर्यलाई आत्मसात् गरिएको छ भने स्वतः नै ग्राह्य र लोकप्रिय हुने हुन्छ ।
कुनै पनि चिजको अवस्थाको वर्णन केवल रुखासुखा भाषामा गरिएमा रङ्गहीन, स्वादहीन, अनाकर्षक लेखन हुन्छ । रचनामा शब्दसौन्दर्य, भावसौन्दर्य र कुशल शिल्पका साथ सुललित भाषामा मन्त्रमुग्ध पार्ने किसिमका नियात्राको सिर्जना गरिनु नै नियात्राको सौन्दर्यको व्यवस्थापन हो ।
सागर गैरे नेपाली नियात्रा विधामा नौलो नाम होइन । यिनले सं. २०७८ मा ‘बलै गाउँदेखि वाकुसम्म’ नियात्रा कृति प्रकाशित गरिसकेका छन् । अहिले उनको दोस्रो नियात्राकृति संवत् २०८२ मा प्रकाशित ‘एउटा अल्बाट्रस’ कृतिमा केन्द्रित भै सौन्दर्य बारे छलफल गर्ने प्रयास गरिएको छ ।
१) साहित्यिक गुणले युक्त : एउटा साहित्यको विधाका आवश्यक अवयव अर्थात् तत्त्व, विशेषता, आयाम, शैली तथा विम्बसहित नियात्राको वाक्य रचना हुनु पर्ने सर्वगुणयुक्त भएर यो कृति प्रकाशित भएको कुरा कृतिको अध्ययन गर्दा स्पष्ट हुन्छ । अपवादका रूपमा केही त्रुटी रहेका प्रतीत भए पनि पारम्परिक नियात्रा सिर्जनाधर्मिता अनुसार रहेको कुरा स्वीकार्नु पर्ने हुन्छ । जे जस्तो भए पनि विवेच्य कृतिमा सौन्दर्यहरू यत्रतत्र पाउन सकिन्छ । उदाहरणका रूपमा नियात्राकृतिका हरफलाई लिन सकिन्छ–
‘… यात्रामा गरेको लगानी आफैंमाथिको लगानी हो ।’ (मलायादेखि मलेसियासम्म, पृ.११) ।
‘… म नभए यो संसार के होला भनेर मान्छेले सोच्छ । तर प्रकृतिलाई कुनै फरक पर्दैन । प्रकृतिलाइ मान्छे नभएर पनि केही मतलब हुँदैन । मान्छेभन्दा पहिले धर्तीमा अरु जीव थिए । करोडौं वर्षपहिले हामी बसेको यो भूगोलमा डायनोसर विचरण गर्थे । आज ती जीव छैनन् । भोलि मानिस पनि यो धर्तीमा नरहन सक्छ ।’ (केदामा नेपाली महाथिर, पृ. २०) ।
यसरी नै मलेसियाको लङ्काबी स्थित होटल आध्यका बारेमा यसरी आफ्ना विचारहरू छलाछुल्ल पार्छन्– ‘होटल आध्य उसैगरी ठिङ्ग उभिएको छ । अब फेरि कहिले आइएला र अब यहाँ । हामी आउँदा यो होटल कति अपरिचित थियो । दुई दिनको आतिथ्यता दिएको न हो यसले । आफ्नै घरजस्तो लागिरहेछ अहिले । बस हिंड्यो र होटल पछाडि छुट्दै गयो । केही छुटेजस्तो मन पोलिरह्यो धेरैबेरसम्म ।’ (वेलकम गेन्टिङ, पृ.३५) ।
यस्ता दार्शनिक साहित्यिक शब्दावली विवेच्यकृतिका विभिन्न पानामा यत्रतत्र पाउन सकिन्छ ।
२) पाँच ‘क’ को अपरिहार्यता: नियात्राको सौन्दर्य पक्ष हो । राजनैतिक इतिहासमा एक किसिमले स्वैरकल्पनामा आधारित हुने हुन्छ । तर एउटा दर्शकले जे देख्छ त्यही यथार्थलाई उल्लेख गर्ने भएकोले नियात्रा वास्तविक इतिहास हुन्छ भनेर स्वीकारिंदै आइएको छ । यसको आधारक्षेत्र भनेको यात्राको शुभारम्भ हुनु हो । अर्थात् ‘कहिले, कहाँ, कसरी, किन र को’ भन्ने प्रश्नका जवाफ सागर गैरेकृत कृतिमा यथा स्थान र समयमा उल्लेख गरिएका पाइन्छन् । उनले मलेसियाको यात्रा फेब्रुअरी २१,२०२४ देखि फेब्रुअरी २६,२०२४ सम्म गरेका छन् । नेपालबाट मलेसियन बाटुक एयरबाट मलेसिया पुगे । पर्यटकीय दृष्टिले भएको भ्रमणदलका थुप्रै मित्र तथा आफ्नी जीवनसंगिनी यशोदा गैरे पनि छिन् । यी कुराको उल्लेख हुनु नियात्रा सिर्जनाको सौन्दर्य हो । यी विवरण पाँच विविध शीर्षक अन्तरगत उल्लेख भएको पाइन्छ ।
३) जानकारीमूलक : नियात्राका पठन गर्दा पाठकले नवीन, रोचक र शिक्षाप्रद जानकारी पाउने हुन्छ । सागर गैरेकृत मलेसिया यात्राअन्तर्गत उल्लेख गरेको पंक्तिलाई उध्दृत गर्न सकिन्छ– ‘मलेसियाको अँध्यारो पक्ष भनेको कमजोर देशबाट गएका कामदारहरू हर ठाउँमा लुटिने खतरा हुँदो रहेछ । उनीहरूलाई कोठामै आएर, बजारमा, ट्याक्सीमा जुनसुकै बेला लुट्न सक्दा रहेछन् । यसरी लुट्ने त्यहींका स्थानीय मले हुँदा रहेछन् । नेपालीले उनीहरूलाई काले भन्दा रहेछन् । उनीहरूलाई त्यहाँको सरकारले पनि नियन्त्रण गर्न नसक्ने कुरा सुन्दा उदेक लाग्यो ।’ (केदामा नेपाली महाथिर, पृ.१६)
यस्तै प्रकारको जानकारी जर्जिया जाँदाको कुरालाई पनि लिन सकिन्छ । गैरेले लेखेका छन्– ‘जर्जियाको दूतावास नेपालमा छैन । भिसा अप्लाईका सबै काम भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित जर्जियाको दूतावासबाट गर्नु पर्ने थियो । भिसा अप्लाईको लागि पासपोर्ट, पासपोर्टको नोटरी, बैंक स्टेटमेन्ट जस्ता कागजपत्रहरू मैले होलिडे ट्राभल्सका मुकुन्द महर्जनलाई अख्तियारी दिएर पठाएको थिएँ ।’ (जर्जियाको इमिग्रेशन, पृ.२५३) ।
उल्लिखित उद्धरणहरूबाट प्रथमतः मलेसिया घुम्न जाने पर्यटक होसियारी रहनु पर्ने र जर्जियाको यात्रामा निस्कने हो भने त्यसको प्रक्रिया बारे जानकारी दिने प्रयास भएको छ ।
४) गतिको उपस्थिति : नियात्रा भन्नेबित्तिक्कै स्थिर होइन गतिशीलता हो भन्ने मन मस्तिष्कमा चित्र फनफन घुमेको आभास हुन्छ । त्यसैले पनि नियात्राको पुस्तक हातमा पर्न साथै के कस्तो स्थानको भ्रमण भएको होला र के के भयो होला भन्ने कूतुहल हुनु स्वभाविक छ । विवेच्य कृतिको भारतको गोवा भ्रमण गर्दाका समयलाई लिएर सिर्जित नियात्रामा पाउन सकिन्छ– ‘… हाम्रो तेस्रो एड्भेन्चर थियो बनाना बोट (नौका विहार ?) । किनारमा आइपुग्दा समुद्रका छालहरू मान्छे नै हुत्याइदिने शक्तिशाली हुन्थे । हामी पाँच जना बनाना बोटमा चढ्यौं । बोट अलिक अगाडि के थियो पानीको छालले अचानक पल्टाइदियो । हामी सबै पानीमा हुत्तियौं । मैले त नुनिलो पानी पिउन पुगें । बल्लतल्ल खुट्टाले जमिन टेक्न भ्याएँ । म पानी बाहिर टाउको के निकाल्दै थिएँ फेरि अर्को छालले हुत्याइदियो । म फेरि पानीमुनि बालुवामा जोतिन पुगें । बल्लतल्ल उभिएर धङ्धङिदै किनारतिर लाग्दै थिएँ तेस्रोपटक छालले फेरि लोटाइदियो । म थाकेको थिएँ, सास फुलेको थियो । थकानले हातखुट्टा गलेका थिए । डरले होइन थकाइले म बनाना बोट चढ्दिनँ भनेर तर्किएँ । साथीहरू बोट चढे । म बालुवाको बगरमा आराम साथ बसें । बिस्तारै शरीर पहिलेकै सामान्य अवस्थामा फर्कियो ।’ (छोएर गएका छालहरू, पृ.१८१–१८२)
उल्लिखित पंक्तिहरूमा गतिको धेरै मात्रामा उपस्थिति रहेको पाउँछौ । यस प्रकारले उल्लेख हुनु नियात्राको सौन्दर्य हो ।
५) शीघ्र निर्णय गर्ने क्षमताको विकास : कुनै पनि आकस्मिक घटना यात्राका समयमा आइपर्छ । त्यस्तो समयमा तत्काल कुनै न कुनै किसिमको निर्णय गर्नु पर्ने हुन्छ । यसबाट तत्काल निर्णय गर्ने शक्तिको विकास हुन्छ । यस प्रकारको उदाहरणकालागि ‘एउटा अल्बाट्रस’ नामक कृतिमा फिलिपिन्स यात्रा अन्तरगत सिर्जित नियात्राका केही हरफहरूलाई उद्धृत गर्न सकिन्छ– “मोटर साइकल क्याब हामी बसेको डायमन्ड होटल अगाडि आएर रोकियो । … मोटरसाइकल चालक क्याब चालक एकछिनपछि बाइक चलाएर मनिलाको सडकमा हरायो ।
‘यशोदा झोला खै त ?’ धेरै पछि पो मैले याद गरें र सोधें ।
‘तपाईले समाउनु भएन र ?’ उल्टो उनी पो मसँग सोध्दैछिन् ।
….
‘ला, झोला त त्यही मोटरसाइकलमै छुट्यो, अब के गर्ने ?’ उनी आत्तिइन् ।
मैले छेउमा उभिएका सुरक्षाकर्मीलाई हामी बसेको मोटरसाइकल र चालकको तस्बिर देखाएर झोला छुटेको जानकारी गराएँ । मैले होटलको गेटमा उभिएका सुरक्षाकर्मीलाई समेत मोटरसाइकल र चालकको तस्बिर देखाएर यही मोटरसाइकलमा आफ्नो झोला छुटेको बताएँ । झोलामा पैसा, कपडा, कागजपत्र धेरै चिज थिए ।
मन मानेन । मैले यशोदालाई तिमी होटलको लबीमा गएर बस म मोटरसाइकलवालालाई खोज्छु भन्दै अघि आएकै बाटो दायाँबायाँ हेर्दै मोटरसाइकल खोज्दै हिंडे । अघि हामी जुन ठाउँबाट मोटर साइकल चढेका थियौं त्यही पुगें । मैले चारैतिर मोटरसाइकल चालकका अनुहार याद गरिरहेको थिएँ । झ्याप्प देखे पनि त्यो चालकलाई चिन्न सक्छु भन्ने कुरामा ढुक्क थिएँ । जहाँबाट हामी अघि बाइक चढेका थियौं त्यही ठाउँमा चाउमिन खाइरहेको अवस्थामा बाइक चालक भेटिए । त्यत्रो मनिला शहरमा एउटा अपरिचित मोटरसाइकल ड्राइभरलाई भेट्नु सानो उपलब्धि थिएन मेरा लागि ।
मलाई देख्नेबित्तिक्कै चालक मुस्कुराए । ‘यी तपाईंको झोला’ उनले मेरो छुटेको झोला मलाई थमाए । मैले झोला खोलेर हेरें । झोलाभित्रका सब कुरा ठीकठाक थिए । मैले उनलाई धन्यवाद दिएँ ।“ (सात हजार आँखाहरू, पृ.२१०–२११)
उपर्युक्त हरफले तुरुन्तै उपयुक्त किसिमको समयानुकूल निर्णय गर्नु पर्छ भन्ने कुराको बोध वा सन्देश प्रवाह पाठकलाई दिन्छ ।
६) अदृश्य डर र त्रासको दोसाँधमा रहनु : नयाँ वातावरण, नयाँ परिवेश तथा नयाँ स्थान बारे सबै जना अनभिज्ञ नै भइन्छ । यस्तो समयमा केही गर्दा के हुन्छ भन्ने हेक्का हुँदैन । यस्तै अदृश्य डर र त्रासको दोसाँधमा परेको कुरा सागर गैरेले आफ्नो नवीनकृति ‘एउटा अल्बाट्रस’ मा मलेसियाको यात्रा गर्दाको समयलाई उल्लेख गर्दाको नियात्रामा मेडन लेकमा पौडी खेल्दाको क्षणहरूका हरफहरूलाई लिन सकिन्छ– ‘… पानीमुनि यसरी सोच्दासोच्दै पनि मैले हिम्मत हारेको थिइनँ । विडम्बना, त्यहीबेला देब्रे खुट्टा पनि दुखेर चलाउनै नमिल्ने भयो । त्यसपछि त म झनै अत्तालिएँ ।
आफूलाई साह्रै निरीह अवस्थामा पाएँ । मैले आफूलाई ओभर स्टिमेट गरेछु र प्रकृतिलाई अन्डरस्टिमेट गरेछु । प्रत्येक दिन कुनै न कुनै स्थानमा दुर्घटना भएको हुन्छ । कोही न कोहीले ज्यान गुमाइरहेका हुन्छन् । मैले सोचें यस पटक मेरै पालो रहेछ ।
तर मैले तत्काल निर्णय गरें, म जसरी पनि किनारामा पुग्नुपर्छ । मैले हार खानु हुँदैन । मैले अन्तिम प्रयास गरें र किनार नजिकै आएँ । एउटा डोरी थियो । नजिकै उभिएको कुनै एकजनालाई माथि तान्न इसारा गरें । उसको सहारामा पानीबाट बाहिर आएँ । मेरो मुटुको धड्कन निकै जोडसँग धड्किरहेको थियो । लामोलामो स्वास फेरिरहें ।’ (यदि म मरेको भए…!, पृ.३०–३१)
उल्लिखित पंक्तिहरूमा डर एवं त्रास पठन गर्न पाइन्छ । जसबाट पाठकले नवीन स्थानमा कुनै पनि काम कुरा गर्दा निकै विचार पुर्याउनु पर्छ भन्ने सन्देश नियात्राले दिएको छ ।
७) विशिष्ट साहित्यिक सिर्जना : अमेरिकी नियात्रा जर्नलका सम्पादक जासन विल्सनले सन् २००० को ‘वेस्ट अमेरिकन ट्राभल राइटिङ्ग’ मा लेखेका छन्, ‘… अब्बल नियात्रा कहिले पनि नडराई शक्तिशाली आवाजसहित लेखिएको हुन्छ ।’ यसै भनाइ अनुरूप नियात्राकार गैरे मनिला शहर बारे अन्यले जेसुकै भनुन् वा सोचुन् त्यसप्रति पर्वाह नगरी यसरी बयान गर्छन् – ‘मनिलाको प्रवेशद्वारमा पाइने पहिलो अनुभूति भनेको सागरको न्यानोपन हो । सूर्य समुद्रको गर्भमा बिस्तारै डुब्दै जान्छ र त्यसको प्रतिबिम्ब पानीमा फैलिन्छ । वर्षौंदेखि कवितात्मक दृश्य बोकेर बसेको छ मनिला ।
यहाँ आइसकेपछि केही दिनमै मैले मनिला एउटा राजधानीको नामभन्दा बढी कुनै सुन्दर युवतीको नामजस्तो सोच्न थालेको छु । मनिला, ओ मनिला !
… मनिला मलाई एउटा बहुआयामिक कलाकृतिजस्तो लागिरहेको छ । समुद्रको नीलो पृष्ठभूमिमा इतिहास, संस्कृति र आधुनिकताको प्रकाश मिसाएर बनाइएको चित्रजस्तै ।’ (मनिलामा स्व. टीकाराम सर, पृ. २३२) ।
उल्लिखित कथनमा शक्तिशाली आवाजसहित नियात्राकारका कुरा उल्लेख भएका पाइन्छन् । यस्ता किसिमका आवाज प्रायः उनका नियात्रामा यत्रतत्र पाइन्छन् । जसका लागि धैर्य र मिहीन किसिमले पठन गरिनु जरुरी छ भन्ने लागेको छ मलाई ।
८) पाठकलाई सचेत गराउन सक्ने सन्देश : नियात्रा पठनबाट धेरै कुराको जानकारी पाठकले पाएर लाभान्वित हुन्छन् । यस्तै जानकारीसूचक कुरा जुन १८, २०२५ का दिन फिलिपिन्सको राजधानी मनिलाको डायमण्ड होटलको ७१५ नम्बरको कोठामा बस्दाको यथार्थपरक कुरा नियात्राकारले यस प्रकारले उल्लेख गरेका छन्– ‘प्रायः भीआईपी होटलले आफ्ना लबीमा बफेट रेष्टुरेन्ट चलाउँदा रहेछन् । होटलमा बसेका पाहूनाका लागि यस्तो सुबिधा दिइएको हुँदो रहेछ । होटलको चार्जमै बफेटको बिल (चार्ज) पनि जोडिएको हुन्छ होला । कतिपय होटलले ग्राहक तान्न पनि यस्ता रेष्टुरेन्ट सञ्चालन गर्छन् ।’ (म्यागासेसे र जोसेसँग उभिएजस्तो, पृ. २१६) ।
‘फिलिपिन्समा त माछा पनि गुलियो लाग्ने, चिकेन पनि गुलियो जस्तो । घर छोडेर विदेश आएपछि खानेकुराको स्वादै मिल्न सकेको थिएन । हामी नेपालीको भान्छा एक किसिमको हुन्छ । यहाँको भान्सा अर्कै ।’ (उही, पृ. २१५) ।
९) यथार्थपरकतामा आधारित : नियात्राकारले जे जस्तो देखेको र अनुभूति गरेको हुन्छन् अरु वा पाठकहरूले जजेस्तो सोचे विचारे पनि त्यसप्रति कुनै हेक्का नराखी इमान्दार नियात्राकारले उल्लेख गर्न पछि पर्दैनन् । यस्तै कुराको प्रमाणका रूपमा सर्जक सागर गैरेका मलेसियास्थित जुरासिक वर्ल्डसँगै रहेको जम्बी आउट व्रेकमा भूत शो हेर्दाको वर्णनलाई लिन सकिन्छ– ‘हामी हलभित्र छिर्नेबित्तिक्कै गेट पालेले ढोक बन्द गरिदियो । साँघुरो गल्लीभित्र निस्पट्ट अँध्यारो थियो । भित्रबाट अनौठो र डरलाग्दो आवाज गुन्जिरहेको थियो । भूतका फिल्ममा जस्तै घरी ढोकामा ढकढक गरेको आवाज सुनिन्थ्यो । घरी केही भत्किए झैं डरलाग्दो ढड्याम्मको आवाज सुनिन्थ्यो ।
घरी हामी हिंडिरहेको जमिन हल्लिन्थ्यो । कुनै कुनोमा सुतेको मुर्दा जुरुक्क उठ्थ्यो । घरी भित्ताका झ्यालहरूबाट मुर्दाहरूले चियाउँथे । घरी भुइँभरि रगत स्यार्र पोखिएजस्तै हुन्थ्यो । यी सब दृश्यले म कायल परेको थिएँ । मैले यशोदाका हातहरू जोडले समाएको थिएँ । घरी उनको दायाँ हुन्थें घरी बायाँ हुन्थें । कताबाट केले तर्साउने हो भनेर म अघिपछि दौडिएको थिएँ । यशोदा केही हुँदैन नडराउनुस्, भनिरहन्थिन् ।
… त्यो साँच्चिकै भूताहा घर नै रहेछ । भूत घरबाट बाहिर निक्लदासम्म पनि मनमा डर र रोमाञ्चकता उस्तै थियो । मेरो मुटुको धड्कन थामिन केही समय लाग्यो ।’ (गेन्टिङमा नेपाली गुराँश, पृ.५२–५३) ।
यसरी विनाहिच्किचाहट यथार्थ किसिमले वर्णन गरिनु पनि नियात्राको सौन्दर्य हो भन्न सकिन्छ ।
१०) पर्यटकका लागि ‘ब्लु नियात्रा’ सिर्जना : अब्बल नियात्राले यथार्थता रूपमा भौगोलिक स्थिति, सामाजिक स्थिति, जनजीवन, रीतिरिवाज, स्थानीय प्रचलन, खानपान, भवन, सडक, सार्वजनिक यातायात व्यवस्थाका साथै गर्न हुने र गर्न नहुने कुराहरूको संक्षिप्त रूपमा नै भए पनि उल्लेख गरिनु नियात्राको सौन्दर्य हो । प्रस्तुत नियात्राकृतिमा संलग्न गरिएका नियात्राहरू मलेसिया, भियत्नाम, भारत, फिलिपिन्स तथा जर्जिया बारे सिर्जना गरिएका नियात्रामा उल्लेख गरिएका छन् ।
सागर गैरेका नियात्राकृतिबाट के स्पष्ट हुन्छ भने सौन्दर्य पक्षको उपस्थितिले नियात्रा बलवान हुन्छ भन्ने कुरा स्पष्ट छ । तसर्थ सिर्जना गर्दा यस्ता कुराहरूका ख्याल गरेर नियात्रा सिर्जना हुन नितान्त जरूरी छ ।
अस्तु !

