कोहलपुर । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यकार सागर गैरेको नियात्राकृति ‘एउटा अल्बाट्रस’को गृहविमोचन तथा परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
कोहलपुरमा आयोजित विशेष समारोहमा प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, प्राज्ञ महानन्द ढकाल, साहित्यकार भरत रानाभाट, कवि तथा सञ्चारकर्मी बीपी अस्तु र कृतिकारकी धर्मपत्नी यशोदा गैरेले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभयो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष भरत रानाभाटले कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै गैरेका नियात्रामा अनुभूतिको तीव्रता तथा यथार्थ र कल्पनाको सुन्दर संयोजन रहेको बताउनुभयो । उहाँले कृतिले पाठकलाई घरमै बसेर संसार घुमेजस्तो अनुभूति गराउने धारणा राख्नुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा कवि तथा सञ्चारकर्मी बीपी अस्तुले कृतिकार गैरेसँग परिसंवाद गर्नुभएको थियो । परिसंवादका क्रममा गैरेले कृतिको विषयवस्तु, परिवेश र रचनागर्भबारे जानकारी दिनुभयो ।
कृतिसँग जोडिएका ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक पक्षका अनुभव सुनाउँदा श्रोताहरू उत्सुक र भावुक बनेका थिए । पुस्तक पढ्नुको महत्त्वमाथि प्रकाश पार्दै गैरेले सयौँ भिडियोले पनि पुस्तकका सबै विषयवस्तु अभिव्यक्त गर्न नसक्ने बताउनुभयो । उहाँले आफ्ना यात्राका सुखद र दुःखद अनुभवसमेत सुनाउनुभयो ।
कार्यक्रमका अध्यक्ष डा. रिजालले कोहलपुरको साहित्यिक विकासमा गैरेको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै अतिथिहरूप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, साहित्यकार नरेन्द्रजङ्ग पिटर, इन्द्रबहादुर बस्नेत, खगेन्द्र गिरी कोपिला, सुमित्रा न्यौपाने, देवकी निरौला, एकराज शर्मा, विष्णु पादुका, नवीन अभिलाषी, कर्णबहादुर थापा, विष्णु बेलबासे, सनत सापकोटालगायत करिब आठ दर्जन साहित्यकार तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
कवि लक्ष्मण मानवको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव केशव निमेषले गर्नुभएको थियो ।

