सम्बन्धको बुझाई र परिभाषालाई पुनर्विचार गर्नुपर्ने समय आएको छ । सम्बन्ध त आकाश र पन्छी जस्तो हुनुपर्छ, जहाँ पन्छीको आजादीमा नै आकाशको महानता लुकेको हुन्छ ।
===
भनिन्छ सम्बन्धहरू पानी जस्तै हुन्छन्, जति बग्यो त्यति सफा, जति जम्यो त्यति दुषित । सम्बन्ध बनाउन जति सहज देखिन्छ, टिकाउन त्यति नै चुनौतीपूर्ण । प्रश्नहरू उठ्ने गर्छन्– सम्बन्ध बाँधेर बन्छ कि बुझेर ? सम्बन्ध अधिकारले टिक्छ या आदरले ? गणित हो या भावना ? स्वमित्व हो या स्वेच्छा ? अपेक्षा कि स्वीकृति ? नियन्त्रण हो या विश्वास ? प्रश्न कि स्वीकारोक्ति ?
हामी मानिसहरूलाई सामाजिक प्राणीको पगरी गुथाइदिएर जीवनलाई सम्बन्धको बोझिलो भारी, चक्रव्यूह या भनौँ जालो भित्र गुजुल्ट्याइएको छ । समाजले जन्मसँगै हामी मानिसहरूलाई तथाकथित सम्बन्धहरूको बोझिला अपेक्षाहरूको गतिलो भारी भिराइदिएको छ । हो, सम्बन्धहरू जीवन यात्राका सारथी हुन्, सहायक हुन्, अझ भनौँ जीवनका पहेली हुन् । आमाबाबु, छोराछोरी, श्रीमान्, श्रीमती, आफन्त, साथीभाइ, प्रेम, समाज, पेसा आदि धेरै ठाउँमा हामी धेरै सम्बन्ध बनाउछौँ । कति आफूले चाहेर कति अरुले नै । जीवनका हरेक घुम्तीमा कति सम्बन्ध जोडिन्छन् कति घट्छन्, कति गुणन हुन्छन् त कति भाग लाग्छन् । तर समाजका बुज्रुकहरूले यही सम्बन्धको परिभाषालाई निहित स्वार्थसँग यसरी जेलेका छन्, यसरी गाँठो पारेका छन् कि यसलाई केलाउन खोज्दा, फुकाउन खोज्दा सम्बन्धका कतिपय धागाहरू नै कमजोर बन्न पुग्छन् भने कतिपय त टुट्न पनि सक्छन् ।
अब यहाँ प्रश्न जन्मन्छ, त्यसो भए सम्बन्धको परिभाषा के हो त ? सम्बन्ध कस्तो हुनुपर्छ ? यही प्रश्नलाई अर्को कोणबाट हेर्दा अर्को प्रतिप्रश्न जन्मन्छ, सम्बन्ध कस्तो हुनु हुँदैन ? समाज भन्छ, सम्बन्ध जिम्मेवारीको संरचना हो । समाज भन्छ, सम्बन्ध निष्ठा हो । सम्बन्ध भूमिका निर्वाह हो । बाबु भएर, आमा भएर, छोरा भएर, छोरी भएर, साथी–आफन्त, यस्तो यस्तै भएर । समाज भन्छ, सम्बन्ध सहकार्य हो । त्याग हो, समर्पण हो, सम्झौता हो । समाज भन्छ, सम्बन्ध स्थायित्व हो तर यही समाज यो भन्न किन डराउँछ कि सम्बन्ध एउटा भावना पनि हो । सम्बन्ध स्वतन्त्रता पनि हो । इच्छा र बासना हो । असहमति, विद्रोह पनि सम्बन्धका स्वाभाविक पक्षहरू हुन् भन्न यो समाज किन डराउँछ ? समाजले सम्बन्धका निर्धारकहरूलाई यति सङ्कुचित व्याख्या गरेको छ जहाँ सम्बन्धका आत्मिक स्वीकारोक्तिहरूलाई भावनात्मक नग्नताको रूपमा व्याख्या गरिएको हुन्छ । व्यक्तिहरू नै मिलेर बनेको र व्यक्तिहरूकै सहायताका लागि बनेको सामाजिक संरचना सम्बन्धको एउटा सङ्कुचित आकृति र बुख्याँचालाई जोगाउन आफ्नो सम्पूर्ण साम, दाम, दण्ड र भेद प्रयोग गर्छ, जहाँ समाजका निर्माताहरू भने भावनात्मक वास्तविकता र आत्मसत्यमा पूर्ण रूपमा लीन भएर बाँच्न चाहन्छन् । वास्तवमा सम्बन्धलाई सामाजिक बन्धनले अत्यधिक खुम्च्याउँदा स्वाभाविकता हराउँदै गएको छ । सम्बन्धमा अधिकार, स्वामित्व र मेरो भन्ने अत्यधिक अपेक्षाले सम्बन्धको दूरी र तनाव बढाउँदै लगेको छ । हामीले सम्बन्धलाई बुझ्ने क्रममा जुन स्वामित्वको कुरा गर्छौँ त्यसको गहन अध्ययन, विश्लेषण र विवेचना अपरिहार्य बनेको छ ।
हामी जुन शरीर मेरो शरीर भनेर गर्व गर्छौँ त्यो नै अन्तत: प्रकृतिमा लीन हुन्छ । हामीले मेरो भन्ने शरीरको त हामीमा पूर्ण स्वामित्व छैन भने सम्बन्धहरू कसरी हाम्रो स्वामित्वमा हुन सक्छन् ? सम्बन्ध समयचक्रका अंश हुन्, जुन अस्थायी छन् र परिवर्तनशील छन् । आज जो हाम्रो जीवनमा छ, त्यो भोलि नहुन पनि सक्छ । जीवनलाई यात्राका रूपमा हेरियो भने सम्बन्ध सहयात्री हुन्, सम्बन्ध अनुभव हुन् जुन हाम्रो जीवनमा आउँछन्, भूमिका निर्वाह गर्छन् र आफ्नो बाटो लाग्छन् । जहाँ कसैको भूमिका सहजता थप्ने हुन्छ त कसैको भूमिका चुनौती दिने हुन्छ । कसैको भूमिका सिकाउने हुन्छ त कसैको भूमिका सताउने, कोही दिने भूमिका लिएर आउँछन त कोही लिने भूमिकामा ।
प्रेमका सम्बन्धमा पनि सामाजिक संरचनाले सम्बन्धलाई विनिमय बनाएको छ । मैले यति दिएँ अब उसले पनि यति दिनुपर्छ । मैले यो गरेँ अब उसले पनि यो गर्नुपर्छ । सुनको बदलामा सुन दिनुपर्छ, गुणको बदलामा गुण तिर्नुपर्छ । सम्बन्ध यस्तै अपेक्षाहरूको घुम्टोले छ्याप्प छोपिएको छ । सर्तहरू, पूर्वसर्तहरू, नियम, विनियम र बाध्यताहरूको जञ्जिरले बाँधेर सम्बन्धलाई औपचारिकता र कतै अनिश्चिततातिर डोर्याइरहेको छ आजको समाजले । भावनात्मक दबाब, स्वतन्त्रतामाथिको नियन्त्रण, असमानता, सम्बन्धप्रतिको पूर्वस्थापित भूमिका आदिले सम्बन्धका आयामहरूलाई झन् झन् कमजोर बनाउँदै लागिरहेको छ ।
त्यसैले, सम्बन्धको बुझाई र परिभाषालाई पुनर्विचार गर्नुपर्ने समय आएको छ । सम्बन्ध त आकाश र पन्छी जस्तो हुनुपर्छ, जहाँ पन्छीको आजादीमा नै आकाशको महानता लुकेको हुन्छ । सम्बन्ध त ऐना जस्तो बन्नुपर्छ, जहाँ हामी अरुलाई होइन आफैँलाई नियाल्न सक्छौँ । विश्वासको जगमा ठडिएर अनुभवको हाँगामा फुल्ने सुन्दर फूल हो सम्बन्ध । सम्बन्धलाई कुनै ठोस वस्तुका रूपमा बुझ्नु हुँदैन । यो त अनुभव गर्ने कुरा हो, जसलाई नियन्त्रण होइन, नियमन गर्नुपर्छ, अनुभव गर्नुपर्छ । सम्बन्ध शायद त्यस्तो हुनुपर्छ, जहाँ हामी आफू, आफू जस्तै भएर पनि स्वीकार्य हुन सक्छौँ, जहाँ सम्बन्धको लागि आफू अरु जस्तो र अरु आफू जस्तो बन्नु पर्दैन । सम्बन्ध त्यस्तो पनि हुनुपर्छ, जहाँ हरेक शब्दहरू मुखले बोल्नु पर्दैन र कानले सुन्नु पर्दैन । व्यवहारले बोल्ने र मनले सुन्ने सम्बन्ध नै शायद आदर्श सम्बन्ध हो । विश्वासको जगमा उभिएको, सम्मान र समझदारीमा हुर्किएको, स्वतन्त्र रूपमा फैलिएको र नि:स्वार्थताले सिञ्चित सम्बन्ध नै वास्तविक सम्बन्ध हो ।
यस्तो भएमा सम्बन्ध स्वामित्व नभएर स्वतन्त्रताको साझा उत्सव बन्नेछ, जहाँ मौनताले संवाद गर्नेछ, दुरीले सामिप्यता बढाउनेछ र अन्धकारले मार्गनिर्देशन गर्नेछ । यस्ता सम्बन्धहरूले न त एक अर्कालाई बाँध्नेछन् न त सम्बन्धहरूमा संकुचन नै आउनेछ बरु चुपचाप, स्वत:स्फूर्त र अभिछिन्न रूपमा एक अर्कालाई विकास र विस्तार गर्नेछ । अन्ततः सम्बन्धहरू दिने र लिने अनि पाउने र गुमाउने चक्रबाट धेरै माथि उभिने छन् जहाँ सम्बन्धको उच्चतम रूप अधिकार नभएर चेतना हुनेछ र सम्बन्धहरू एक अर्कामा लोप हुनुको सट्टा अझ विशाल, अझ स्वतन्त्र र अझ पूर्ण हुनेछन् ।
तपाईंलाई के लाग्छ, सम्बन्ध कस्तो हुनुपर्छ ?

