साहित्यपोस्ट डट कम

निबन्ध : युद्धपछिको शान्ति

निबन्ध : युद्धपछिको शान्ति

हामी हरेक दिन युद्धमा छौँ- समय परिस्थितिसँगको युद्ध, रोग, भोक र शोकसँग युद्ध, अरूसँग युद्ध, आफैँसँग युद्ध ! समाजमा व्याप्त अन्धविश्वास र विकृति विरुद्धको युद्ध ! हरेक समस्या र कठिनाइ साना युद्ध जस्तै हुन् र हामीले ती समस्याहरूलाई पराजित गर्दै अगाडि बढ्नुपर्छ । कतिपय युद्धहरू बाह्य कारणले गर्दा हुन्छन्, कतिपय आफ्नै कारणले । कोही साना युद्ध, कोही ठूला युद्ध । तर जसको कारणले भए पनि, साना भए पनि ठूला भए पनि युद्ध आखिर युद्ध नै हुन् र युद्धमा होमिएपछि हारे पनि जिते पनि लड्नै पर्छ । बाहिरका शत्रुहरूसँग लडे पनि आफूभित्रका शत्रुहरूसँग लडे पनि जीवनमा युद्ध निरन्तर चलिरहन्छ । युद्ध जीवनको अभिन्न अँग हो र म पनि निरन्तर युद्धमा छु ।

म भर्खर एउटा युद्धबाट निस्केको छु । त्यो युद्ध संसारभर नै चर्चित लियो टल्सटोयको साहित्यिक कृति ‘युद्ध र शान्ति’को पठन अनुभवको हो । मेरो लागि पुस्तक पढ्नु भनेको पनि आफैँसँग युद्ध गर्नु हो । यो युद्धले आफूभित्रको आलस्य, अज्ञानता र निराशलाई परास्त गर्छ । पुस्तक पढ्दा ज्ञान मात्र प्राप्त हुँदैन यसले मन प्रफुल्ल बनाउँछ अनि अन्य शारीरिक र मानसिक कार्यको लागि अतिरिक्त ऊर्जा पनि प्रदान गर्छ । पुस्तकको आकारको कारणले गर्दा ‘युद्ध र शान्ति’ पढ्न शुरू गर्नु भनेको त झन् मेरो लागि ठूलै युद्धमा होमिनु जस्तै थियो ।

साहित्यमा रुचि राख्नेहरूको लागि मात्र हैन, इतिहास, दर्शन र समाजशास्त्रका अध्येताका लागि पनि ‘युद्ध र शान्ति’ अत्यन्तै रोचक पुस्तक हो । पुस्तकको बारेमा धेरै सुने पनि मैले यो पुस्तक पढ्ने अवसर पाएको थिएन, अथवा भनौँ त्यो अवसर बनाएको थिइनँ । साहित्यमा रुचि भएको हुनाले ‘युद्ध र शान्ति’ पढेको छैन भन्न संकोच लाग्ने स्थितिको बोध भएपछि मैले बाध्यताले गर्दा पुस्तक पढ्ने निधो गरेको थिएँ ।

मैले यहाँ ‘बाध्यता’ शब्द जानी बुझी नै प्रयोग गरेको हुँ किनभने ‘संकोच’को अवस्था नहुँदो हो त सायद मैले यो पुस्तक पढ्ने थिइनँ । कारण अरू केही नभएर पुस्तकको आकार हो- किनभने १४०० भन्दा बढी पृष्ठको विशाल पुस्तक पढ्न राम्रै तयारी र आँट चाहिन्छ । त्यसो त पुस्तकको विषय तथा यसले दिन खोजेको सन्देशको बारेमा मैले धेरै लेखहरू पढेको थिएँ । नपढेको भए पनि सूचना प्रविधिको आजको जमानामा एकछिनमा पूरै किताबको आन्द्राभुँडी नै खोतल्न सकिन्छ । तर पुस्तकको गहिराइमा पुग्न त्यसका पाना पल्टाउनै पर्छ अनि पुस्तक पढ्दा जति आनन्दको अनुभूति हुन्छ त्यो अनुभूति अन्य माध्यमबाट प्राप्त गर्न सकिँदैन । त्यही कारणले गर्दा मैले पनि पढ्ने आँट गरिसकेपछि मुद्रित पुस्तक नै पढौँ भन्ने विचारले पुस्तक किनेँ । मैले लामा पुस्तकहरू धेरै पढेको छैन- बढीमा तीन चार वटा होलान् । तर जब ‘युद्ध र शान्ति’ हातमा पर्‍यो, त्यसको आकारले मलाई अलिकति डर लाग्यो- यत्रो पुस्तक कसरी सिध्याउने ? तर पढ्ने भनेर आँट गरिसकेपछि पढ्न त पर्‍यो नै, अनि म पनि ‘युद्ध र शान्ति’को पठन ‘युद्ध’मा होमिएँ ।

मेरो योजना दुई महिनामा पुस्तक सिध्याउने थियो । हरेक दिन एक घण्टा जति पढेपछि म जस्तो औसत पाठकको लागि लगभग दुई महिनाको समय लाग्नु ठिकै पनि हो । त्यही लक्ष्य लिएर मैले पुस्तक पढ्न शुरू गरेँ, तर दुई दिन पढेपछि मलाई पुस्तकको विषयले त्यति तान्न सकेन । अन्य विषयका पुस्तकहरू पनि मन नपर्ने हैन तर म प्राय: विज्ञान, रहस्य, स्वैर-कल्पना जस्ता विषयका पुस्तक पढ्न (र लेख्न) मन पराउँछु । तर यो पुस्तकमा त्यस्तो कुनै विषय हुने कुरा भएन अनि कथाका पात्र र लेखन शैलीले पनि मलाई त्यति धेरै बाँधेर राख्न सकेन । दुई दिन पछि ‘पछि पढ्ने’ भनेर मैले पुस्तक थन्काएँ । दुई महिनामा पढेर सकाउने भनेको पुस्तक थन्काएकै दुई महिनाभन्दा बढी समय भएपछि मात्र मैले फेरि पुस्तक निकालेँ‍- फेरि पनि ‘बाध्यता’ ले । त्यो बाध्यता पनि उही नै थियो- किनिसकेपछि पढ्नै पर्छ, अझ यति प्रख्यात पुस्तक; त्यसै प्रख्यात भएको त पक्कै होइन होला…..!

‘जसरी पनि सिध्याउनै पर्छ’ भन्ने भावनाले जबर्जस्ती धकेलेर धूलो टकटकाउँदै फेरि पुस्तकको पाना पल्टाएँ । यस पटक म जसरी भए पनि पढेर सकाउँछु भन्ने दृढता लिएर पढाइमा होमिएको थिएँ । मैले मेरा अन्य लेखमा पनि उल्लेख गरिसकेको छु- आफूलाई रुचि नभएर पट्यार लाग्ने, बिस्तारै गर्नु पर्ने या लामो समय प्रतीक्षा गर्नुपर्ने कामको लागि मेरो एउटा सिद्धान्त छ- हात्ती खाने सिद्धान्त । यो सिद्धान्त अनुसार हरेक दिन अलि अलि गर्दै खाने हो भने एउटा सिङ्गै हात्ती एक न एक दिन अवश्य खाएर सकिन्छ । तर यदि हात्तीको आकार देखेर ‘कसरी खाइसक्नु ?’ भनेर अत्तालिएर शुरू नै नगर्ने हो भने त्यो ‘हात्ती’ कहिले खाएर सकिँदैन । यही सिद्धान्तलाई मनमा राखेर मैले पुस्तकरूपी ‘हात्ती’ खान शुरू गरेँ ।

मैले पुस्तकको अङ्ग्रेजी अनुवाद पढ्दै थिएँ । पात्र र स्थानका नामहरू रूसी भाषाका हुने नै भए तर फ्रान्सिसी भाषाका शब्दहरू पनि मनग्गे प्रयोग भएका रहेछन् । त्यो बेला रूसको सभ्रान्त समूहमा फ्रान्सिसी बोल्नुलाई उच्च कोटीको ठानिने हुनाले पात्रहरूले फ्रान्सिसी बोलेका रहेछन् । तर समग्रमा भन्नुपर्दा पुस्तकको भाषामा कुनै समस्या भएन । अनुवाद भएर पनि हुन सक्छ अधिकांश चर्चित अङ्ग्रेजी भाषाका पुस्तकहरू भन्दा यो पुस्तकको भाषा अनि लेखन शैली सजिलो र प्रष्ट पनि थियो । उता पुस्तकभित्र विस्तारै युद्धको पृष्ठभूमि तयार हुँदै थियो, यता पुस्तक पढिरहेको मलाई भने आफू जबर्जस्ती युद्धमा होमिएको जस्तो अनुभव भैरहेको थियो ।

म आफ्नै आलस्यरूपी शत्रुलाई पराजित गर्न दृढताको सैन्य बल र निरन्तरताको अश्त्र बोकेर युद्ध मैदानमा उत्रिएको थिएँ । मलाई आलस्यका सैनिकहरूले निरन्तर आक्रमण गरे । म बीच बीचमा पराजित मानसिकतामा डुबेर निकै निराश पनि हुन्थे तर फेरि दृढताका सैनिकहरूले मेरो मनोभावना जागृत गर्थे र म पुन: सैन्य शक्ति सञ्चय गरी नवीन जोशका साथ युद्धमा होमिन्थेँ । ‘युद्ध हो, हारजित त भै हाल्छ तर अन्तिम पलसम्म मैदानमा खट्न सक्ने सैनिक नै वास्तविक योद्धा हो’ भन्ने भावना मनमा राखेर भएर म लडिरहेँ । म बीचमै युद्ध छोडेर भाग्ने भगौडा र लाचार सैनिक हुन चाहँदैनथे । आफ्नै लागि र अरूलाई देखाउन भए पनि मलाई जुनसुकै हालतमा पनि युद्ध मैदानमा टिक्नु थियो अनि विजय पनि हासिल गर्नु थियो ।

मलाई थाहा थियो- म आफ्नो योजनामा दृढतापूर्वक रहेर हरेक दिन थोरै अगाडि बढ्दै जाने हो भने एक न एक दिन मैले युद्ध जित्ने नै छु । त्यही आशा र विश्वासलाई मनमा बाँधेर म आफ्नो युद्धमा निरन्तर लागिरहेँ । कहिले एक दुई दिनको लागि युद्ध रोकिन्थ्यो भने कहिले अलि बढी भिडन्त हुन्थ्यो । कुनै दिन मैले तीस चालिस पाना ‘सैनिक’हरूलाई एकै दिनमा ढाल्थेँ र आफ्नो वीरतामा मक्ख पर्थें । दुई महिनामा युद्ध सिध्याउने मैले आशा गरेको थिएँ तर अलि लामो हुन गयो । मेरो त्यो युद्ध ठ्याक्कै कति दिन चल्यो मैले हिसाब राखिनँ तर अढाइदेखि तीन महिना जति चल्यो । उता फ्रान्सिसी सैनिकहरूले मस्को छोडेर भागे अनि युद्ध समाप्त भयो, यता मैले पनि किताब सकाएर छोडेँ, मेरो युद्ध पनि समाप्त भयो ।

टल्सटोयको पुस्तक पढिसक्दा उनको कथा, पात्र र विषयले भन्दा पनि उनले पुस्तकमा सोझै लेखककै रूपमा व्यक्त गरेका व्यक्तिगत विचारले मेरो मन तान्यो । हुन त आख्यानका पुस्तकमा लेखकले आफ्ना विचारहरू सोझै प्रकट गर्नु त्यति उपयुक्त मानिँदैन तर टल्सटोयले पुस्तकको लगभग दश प्रतिशत भागमा यस्तै आफ्ना विचार र दर्शनहरूलाई स्थान दिएका छन् र अन्य घटनाहरू भन्दा मलाई तिनै दार्शनिक भागहरूले बढी प्रभावित पारे । ‘युद्ध र शान्ति’ एउटा उपन्यास हुँदाहुँदै पनि पुस्तकका धेरै घटना र पात्रहरू वास्तविक थिए भन्ने गरिन्छ । त्यसैले यो एउटा उपन्यास मात्र नभई दर्शन र इतिहासको एउटा दस्तावेज पनि हो । शुरूमा त्यति मन नपरेको भए पनि पुस्तक सकाइसकेपछि मलाई ‘किन पढेछु ?’ भन्ने भावना आएन ।

दृढता र निरन्तरताको बलमा मैले आफैँले छेडेको युद्धमा अन्तमा विजय हासिल गरेरै छोडेँ । विजय पछि खुशी त हुने नै भयो, खुशी मात्र नभएर मनमा एक प्रकारको शान्ति पनि छायो । युद्धमा जीत हासिल गरेपछि त्यसको खुशीयाली मनाउन भने बिर्सनु हुँदैन चाहे त्यो क्षणिक र नितान्त व्यक्तिगत खुशी मात्र किन नहोस् किनभने तुरुन्तै अर्को युद्धमा होमिनु त छँदैछ । जीवन अस‌ंख्य युद्ध र शान्तिको संयोजन हो र युद्धको समाप्तिसँगै यस्तै स-साना विजय र खुशीयालीको आगमन हुन्छ । जति धेरै खुशी मनाउन सक्यो जीवन समग्रमा त्यति नै सुखी र शान्त हुने हो । हो, हामीलाई ‘युद्ध र शान्ति’मा वर्णन गरिएको जस्तो नर संहारकारी र विध्वंसात्मक युद्ध चाहिएको छैन तर जीवनमा आफैँसँगको युद्ध भने हाम्रो लागि अपरिहार्य छ । यदि आफूसँगको युद्ध नहुँदो हो त शान्ति र खुशीको महत्त्व पनि हुने थिएन । त्यसैले आउनुस् आफ्ना आलस्य, निराशा, लघुताभाष, अज्ञानता, गरिबी र अनेकौँ कमी कमजोरीलाई परास्त गर्न आफैँसँग अर्को युद्ध शुरू गरौँ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.