राज्यको प्रमुख दायित्व भ्रष्टाचारमुक्त प्रजातान्त्रिक समाजको निर्माण गरी समाजमा सुशासन कायम राख्तै आर्थिक समृद्धितर्फ उन्मुख हुनु हो । यो उद्देश्य प्राप्तिका निम्ति राज्यमा अनेकौँ आन्दोलन र राजनीतिक परिवर्तन भएका छन् । विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनबाट राज्यले सामाजिक क्षेत्रमा अनेकौँ परिवर्तन ल्याए पनि आर्थिक बेथिति र भ्रष्टाचारका क्षेत्रमा वाञ्छित उपलब्धि हासिल गरेको देखिँदैन ।
भ्रष्टाचारबाट आरोपित हुने व्यक्तिका निम्ति यो शब्द अप्रिय मात्र होइन, सामाजिक दृष्टिकोणले निन्दनीय पनि हुन्छ भने आरोप लगाउने पक्षका निम्ति यो कसैको सेखी झार्ने तीरकमान हो । यस शब्दले विश्वमा ठूला ठूला परिवर्तन ल्याएको छ । अनेकौँ मुलुकमा सत्ता परिवर्तन गराएको छ, कैयौँले उच्च पद गुमाउनु परेको छ र कति दुर्नाम भएका छन् । निर्दिष्ट नीति, नियम र कानूनविरुद्ध आचरण गर्नु तथा पदीय अधिकारको दुरुपयोग गरी अनधिकृत तवरले आर्थिक लाभ लिनु जघन्य सामाजिक अपराध मानिन्छ र दण्डनीय हुन्छ ।
गैरकानूनी रूपमा आर्थिक लाभ प्राप्त गर्ने लालचले मानिसलाई भ्रष्टाचारी बनाउँछ । यसमा अभ्यास नभएका मानिसका निम्ति यो शब्द कहालीलाग्दो हुन्छ तर जो अभ्यस्त भैसकेको छ, उसलाई भ्रष्टाचार थोरै होसियारीसाथ गर्नुपर्ने सहज कारोबार जस्तो लाग्छ । धेरै मानिस यसको अभ्यासबाट विगतका दुर्दिनहरू बिर्सेर समाजमा रवाफ जमाएर बसेका हुन्छन् र यसलाई आफ्नो भाग्य सम्झन्छन् । इमान्दारीपूर्वक श्रम गरेर खानेहरूका जीवनमा भाग्य कहिल्यै आउँदैन । भाग्य के हो, उनीहरूलाई थाहै हुँदैन । भ्रष्टाचार गैरकानूनी भए तापनि कानूनको फन्दामा नपरुन्जेल भ्रष्टाचारी आफूलाई इमान्दार नै ठान्छ । केही गरी भ्रष्टाचार गरेका कारण ऊ समातियो भने उसले आफ्नो भाग्यलाई नै दोष दिन्छ । उसको भाग्य राम्रो भए कानूनकै छिद्रबाट फेरि उम्कन्छ ।
तलब वा पारिश्रमिकले नपुग्दा गरिबी र अभावका कारण मानिस भ्रष्टाचारी हुन्छ भन्लान् कसैले तर त्यसो होइन । गरिबी र अभावले त मानिसलाई संघर्षशील, परिश्रमी र आत्माभिमानी बनाउँछ । यसबाहेक अन्य धेरै कारण छन् जसले मानिसलाई भ्रष्टाचार गर्न अभिप्रेरित गर्छ । हाम्रो जस्तो मुलुकमा भ्रष्टाचार एउटा संस्कार हो । यो शताब्दियौँदेखि हाम्रो समाजमा मौलाउँदै आएको छ । व्यक्तिको पदीय अधिकारसँग यो आबद्ध हुन्छ । जहाँ शक्ति र पदीय अधिकारको प्रयोगमा व्यक्तिगत आर्थिक लाभको गुञ्जायस रहन्छ, त्यहाँ भ्रष्टाचारले जाल फिँजाउँछ । त्यस जालभित्र आकर्षित सबै प्रकारका मानिसहरू भ्रष्टाचारको भासमा फस्छन् । मानिस एक पटक भ्रष्टाचारमा फसेपछि नैतिक, अनैतिक, इमान्दार, बेइमान, ठीक, बेठीक केही छुट्याउन सक्तैन । बिस्तारै मानिसमा यो एउटा सामान्य परम्परा वा संस्कार बन्न जान्छ ।
भ्रष्टाचार भन्ने शब्द सुन्दा जति अलोकप्रिय लाग्छ, दक्षिण पूर्वी एसियाली मुलुकहरूमा यो त्यतिनै सामान्य भैसकेको छ । घुस दिनेले खुशीसाथ दिनुपर्ने र लिनेले पनि सामान्य लिनुपर्ने एउटा वातावरण तयार पारिएको हुन्छ । कार्यालयहरूमा पद्धति र नियन्त्रणको दुरुपयोग, पद्धतिलाई मिच्ने तोक आदेश, दलगत दबाब, धेरैजसो कर्मचारीमा जवाफदेहिताको अभाव, लालच, आदिका कारण भ्रष्टाचार फष्टाउन पाएको हो । भन्सार, मालपोत, अन्तःशूल्क, कर जस्ता कार्यालयहरूमा के कस्तो स्थिति छ, त्यो त जगजाहेर नै छ, तर स्थानीय निकायमा समेत घरजग्गा कर तिर्दा खुद्रा नभएको भनी एक, दुई रुपैयाँ फिर्ता नदिने कस्तो चलन हो ! कर्जा स्वीकृत गर्न बैङ्कका कर्मचारीले ३ देखि ५ प्रतिशतसम्म छुट्टै माग गर्छन् भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ! यो सबै यथार्थ हो तर यसको प्रमाण कहीँ कतै भेटिँदैन । त्यसैले यो लोकतान्त्रिक मुलुकमा पनि बिना प्रमाणको कुरा बोल्नु हुन्न भनिन्छ । त्यसो त मल र खाद्यान्न खरीद, निर्माण, जमानत, स्वीकृति, सिफारिस जताततै भ्रष्टाचारको कुरा सुनिन्छ ।
घर जग्गाको रजिष्ट्रेशन पास गराउँदा नियमानुसार लाग्ने राजश्वको दोब्बर जति अदृश्य खर्चहरू व्यहोर्नु पर्दछ । खर्च नगरी काम बन्दैन तर गुनासो गर्ने ठाउँ कहीँ पनि छैन । हुँदा हुँदै अब त यस्तो भैसक्यो, एउटा इमान्दार कर्मचारी पनि सर्वसाधारणका अगाडि भ्रष्ट देखिन्छ । कुनै कर्मचारीले कसैलाई नियमको पालना गराउने प्रयास गर्यो भने पनि उसलाई घूस खोजेको आरोप लाग्न सक्छ । यसै सन्दर्भमा प्रसिद्ध अर्थशास्त्री गुनार मिर्डलले एक भारतीय प्रहरी अधिकृतसँगको वार्तालाप यसरी प्रस्तुत गरेका छन् –
“तपाईंहरू ट्याक्सी ड्राइवरलाई ट्राफिक नियम लागू गराउन किन सक्नुहुन्न ?”
“कसरी लागू गर्ने, कुनै प्रहरी ट्याक्सी ड्राइवरको छेउमा पुग्यो भने ड्राइवरले सोझै भन्ने छ, ‘तपाईं हट्नु हुन्छ कि, यसले दश रुपैयाँ घुस माग्यो भनिदिऊँ’ !”
सारा पत्रपत्रिकाले भ्रष्टाचारविरुद्ध लेख्छन्, राजनीतिक नेताले भ्रष्टाचार उन्मूलनका कुरा बोल्छन् अनि भ्रष्टाचारको आरोपमा ओहदाका ठुल्ठूला मानिसहरूले कुर्सी छोड्छन् र मुद्दा लामो अवधिसम्म चल्छ । त्यति हुँदा हुँदै पनि भ्रष्टाचार किन व्यापक हुँदै गएको छ ? झन्झटिलो प्रशासनिक प्रक्रिया, निर्णय प्रक्रियामा ढिलासुस्ती, स्पष्ट नियमको अभाव र ओहदामा बस्ने मानिसको विवेक तथा स्वेच्छाचारिता जस्ता कुराले यसलाई मौलाउने मौका दिएका हुन् ।
अझ भ्रष्टाचारको सबैभन्दा ठूलो कारण त सर्वसाधारणमा नियम, कानूनको अनभिज्ञता, जनचेतना तथा शिक्षाको अभाव नै हो । त्यसैले भ्रष्टाचार निर्मूल पार्न ठूलो प्रयास र धैर्य आवश्यक छ । भ्रष्टाचारविरुद्ध उर्लेको जनआन्दोलनले ल्याएको प्रजातन्त्रमा पनि भ्रष्टाचारले मलजल पाउनु विडम्बना नै हो । अझ लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि भ्रष्टाचारले निरन्तरता पाइरहनु अर्को विडम्बना ! त्यसैका विरुद्धमा २०८२ को भदौ २३ र २४ गते विध्वंसक जेन्जी आन्दोलन समेत भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा भ्रष्टाचारका मुद्दा बढेका बढ्यै छन् । आन्दोलनले विध्वंस मच्चाउँछ तर भ्रष्टाचारका टुसा पलाउन छोडेका छैनन् । त्यसैले यसलाई निर्मूल पार्न सरकारको कठोर नीतिका साथै आम नागरिकमा नैतिकता तथा उच्च मनोबलको खाँचो छ । अशिक्षा, अज्ञानता, गरिबी, लोकतन्त्रका नाउँमा कमजोर अनुशासन र उत्तरदायित्वहीन प्रवृत्तिसँग भ्रष्टाचारको सम्बन्ध छ । मुलुकमा खुलापन मात्र भएर पुग्दैन परिष्कृत राजनीतिक संस्कार, उच्च मनोबल भएको कठोर सरकारी संयन्त्र र आम जनतामा सुशासनको प्रत्याभूति हुनु आवश्यक छ ।
खाँचो छ, माटो र जनताप्रति समर्पित नैतिक रूपमा जिम्मेवार, उच्च राजनीतिक संस्कार र प्रशासन यन्त्रको । स्पष्ट नीति र पद्धतिभित्र बसेर छिटो छरितो सेवा गर्ने अवसर प्राप्त नहुन्जेल अथवा राष्ट्र सेवकहरूमा उच्च मनोबल र निस्वार्थ भावनाको विकास नहुन्जेल भ्रष्टाचारमा कमी आउने सम्भावना देखिँदैन । भ्रष्टाचार संसारभरिको सरुवा रोग भएकाले यसलाई निमिट्यान्न पार्न कठिन होला तर ओहदामा बसेका शक्तिशाली व्यक्तिहरूबाट इमान्दारीपूर्वक साँचो प्रयास भएमा यो कम हुँदै जाने कुरामा शंका गर्न सकिँदैन ।

