एरिक डेनको हालै निधन भयो । उनी हलिउडका प्रख्यात कलाकार थिए । उनका कलाकारिता बाट उनी धेरै लोकप्रिय र प्रख्यातिको चरणमा थिए ।
प्रख्यात टेलिभिजन एबिसीमा धारावाहिक रूपले आठ वर्षसम्म निरन्तर सञ्चालित टेली चलचित्र ‘ग्रेज एनाटोमी’ मा डाक्टर मार्क स्लोनको अभिनयमा ‘म्याक स्तेमी’को उपनामले उनी निकै प्रख्यात भएक थिए । त्यसरी नै ‘युफोरिया’ चलचित्रमा ‘काल ज्याकोब्सको’ नाम बाट पनि अति नै प्रचलित भए । उनको अन्तिम अभिनय गत अप्रिल महिनामा मात्र ‘ब्रिलियन्ट माईन्ड’ मा ए एल एस रोग भएको वारुण नियन्त्रकको रूपमा अभिनय गरेका थिए । उनले आफ्नो जीवनको अन्तिम समयमा आफूलाई लागेको रोग एएसएलको बारेमा आम सर्वसाधारणको लागि विभिन्न सञ्चार माध्यम मार्फत आफ्नो जानकारीमूलक अभियान जारी राखेका थिए ।
उनी फ्रेबुररी महिनाको १९ तारेखका दिन अति नै जीवनघातक रोग ‘ए एल एस’ (अम्योत्रोफिक लेटरल क्लेरोसिस) बाट निधन भयो । यो रोग लागेको दश महिनाभित्र नै उनको देहान्त भएको थियो । देहान्त हुँदा उनी सिर्फ त्रिपन्न उमेरका थिए । एरिकले आफूलाई यो रोग लागेको खुलासा गत अप्रिल महिनामा मात्र गरेका थिए । यस रोगको लक्षण बढीमा एक डेढ वर्षअघि बाट मात्र शुरू भएको मान्छन् उनी ।
यो एएलएस रोग अहिलेसम्म पनि कुनै उपचार विधि नभएको एक प्राणघातक रोग हो । यो बिरलै लाग्ने रोग हो । रोगको विभिन्न अवस्था अनुसार यस रोगको बिमारीको आयु बढीमा चार या पाँच वर्ष सम्म हुन सक्छ भनी यस रोगका विशेषज्ञ चिकित्सकहरू भन्ने गर्छन् ।
कलाकार एरिक डेनको अन्तिम समयमा उनका साथमा उनकी श्रीमती अभिनेत्री रेबेका गेहार्ट र दुई छोरी बिल्ली र जोर्जिया थिए । उनको आत्माले शान्ति पावस् । हार्दिक श्रद्धाञ्जली !
दिवंगत प्रख्यात कलाकार एरिक डेनको बारेमा लेख्नु मात्र मेरो लेखको मनसाय कदापि होइन । उनको र मेरो जीवन र जगतको परिधि बिलकुलै फरक छ । तथापि उनको जीवनमा मसँग महत्त्वपूर्ण दुई विषय हुबहु मिल्न गएको कारण यो लेख तयार गर्ने जमर्को गरेको हुँ ।
पहिलो उनको देहान्त मेरो जन्मदिन अर्थात् फ़्रेवुररी महिनाको १९ तारेखका दिन भयो । जुन दिन म आफ्नो सत्तरी वर्षको जन्मदिन मनाइरहेको थिएँ ।
दोस्रो हलिउड कलाकार एरिक डेन जुन रोगको कारणले मृत्यु वरण गर्न पुगे त्यस रोगसँग म विगत पाँच वर्षदेखि सङ्घर्षरत छु । यिनै कारणले यो लेख लेख्न अभिप्रेरित बनेको हुँ !
मान्छेलाई जीवन र जगतले यसरी छोपेको हुन्छ कि कतिपय कुरालाई नजरअन्दाज गर्न कदापि सकिँदैन ! ती व्यावहारिक कुराले जन्मदेखि मृत्युसम्म नै बाँधिराखेको हुन्छ । कतिपय आफ्नै व्यक्तिगत हुन्छन् त कतिपय पारिवारिक र सामाजिक बन्धन पनि हुन्छन् । जुन चाहेर र जति कोशिश गरे पनि निदान हुने नाम नै लिँदैनन् ।
आम मान्छेका बाँकी जीवनका बचत भएको समयमा पनि यी नै व्यावहारिक अलमल र सम्बन्धका विविध आयामले आनन्द र शान्ति चुँडिँदै गएको महसूस हुन्छ ! के कुनै मान्छे समाज र व्यवहारदेखि पन्छन मिल्दैन र ? तब किन समाज उसको एकान्तता र नितान्त एक्लो जीवन जिउनको लागि सहयोग गर्दैन । कस्तो बाध्यता र निर्ममता हो । व्यावहारिक र सामाजिक नियम र बन्धनहरू ! यी अलिकति निजीपना पनि हुन सक्छन् तर सामाजिक बन्धनमा अलिकति बाँधिन पुगे पछि पछाडि फर्कन या एकाकीपन जीवन जिउन अलिकति गाह्रो अवश्य पर्छ नै !
यस रोगसँग संघर्षरत म विगत धेरै वर्ष देखि यी नै माथिका हरेक कुरासँग आपसी द्वन्द्व, सम्झौता र त्वम् शरणमा बाँचिरहेको हुन्छु । कतिपय मेरो चाहना मेरो हुँदै हुँदैन कतिपय निर्णय पनि आफ्नो हुँदै हुँदैन । सिर्फ परिवार, समाज र परिवेशहरूसँग सम्झौता । सिर्फ अन्तहीन सम्झौता !
शुरूमा दाहिने हातका औंलाहरू राम्रोसँग चल्न छाडेपछि भर्जिनिया अस्पतालका चिकित्सकले ‘अर्थ राईटिस’ को उपचार शुरू गरेका थिए । करीब छ महिनासम्म पनि उनको उपचारले लछार पाटो नलागे पछि अर्कै चिकित्सक सम्पर्क गर्नु परेको थियो । ती चिकित्सकले यो नशा सम्बन्धीको रोग भएको कारण नसा सम्बन्धी विशेषज्ञ कहाँ पठाइदिए ।
त्यसैले नसाको समस्या होला भनी सम्बन्धित चिकित्सकसँग सल्लाह लिन थालें । नसा विशेषज्ञ डा. न्वानेरीले वरिष्ठ नसा चिकित्सक डा. जोसेफ चोईसँग सल्लाह लिन पठाए ।
पछिल्लो चरणमा काइजर पर्मानन्टेका न्यूरो सर्जन डा. जोसेफ चोई थिए मेरा चिकित्सक । उनले उपचारका विभिन्न चरण शुरू गरे । डा. चोईले विभिन्न माध्यमबाट विभिन्न कोणबाट मेरो नसाको उपचार विधि शुरू गरे । उनले नसामा इन्फ्युजन उपचार गर्ने सल्लाह दिए ।
सो उपचार विधि अत्यधिक महँगो भए पनि गर्नै पर्ने इन्फ्युजन उपचार विधि शुरु गर्न सल्लाह दिए ! एक पटकको बाह्र हजार डलरको उपचार विधि मैले पाँच पटक लिनु पर्ने सिफारिस गरे । सो उपचार रकम मेरो इन्सुरेन्स कम्पनीले अस्सी प्रतिशत र मैले बीस प्रतिशत तिर्नुपर्ने थियो ।
सो उपचार विधि ईन्फ्युजन चार पटक लिइसके पछि पनि केही सुबिस्ता या भनौं केही कमी महसूस नभएको र प्रगति शून्य भएको कारणले डा. जोसेफ चोईले सो उपचार विधि रोक्ने निर्णय गरे ।
करीब तीन महिना सम्मको विविध उपचारले कुनै उपलब्धि हासिल नगरे पछि अन्ततः उनले मेरो रोगको घोषण गरे ।
दिनाङ्क अक्टोबर महिनाको २७ तारेख २०२२ का दिन डा. चोईले विभिन्न परीक्षण पश्चात् मेरो रोगको घोषणा गरिदिए । बडो नमीठो मान्दै उनले मलाई सूचित गरे नसा सम्बन्धी धेरै बिरलै लाग्ने रोग मोटर न्यूरोन डिजिज (Motor Neuron Disease) भएको ठहर्याए । या रोगलाई आम रूपमा ‘एएसएल’ भन्ने गरिन्छ । अझ थप्दै उनले भने यस रोगको कुनै औषधी पनि छैन र निदान हुँदैन ।
सो रोगले शरीरका विभिन्न मांसपेशी या भनौं हात खुट्टाका मांसपेशीलाई कमजोर बनाउँदै लगेर अन्तिममा अपाङ्ग बनाउने रहेछ । त्यस निश्चित नसाको निष्क्रियता गर्दा बोलीमा, श्वास प्रश्वासमा, शरीरका मुख्य मुख्य अङ्गहरूमा नसामा रक्तनली सञ्चालन सुचारु रूपले नभएर शरीरको मांसपेशी बेकम्मा बनाउँदै लाने रहेछ ।
यस प्रकारको रोगको कारण जीवन जिउने अवधि तीनदेखि पाँच वर्ष सम्मको मात्र हुने रहेछ । अहिले मलाई एउटा ‘Riluzole’ औषधी दिएको छ जसले रोगको पूर्ण निदान गर्ने नभई रोगको तीव्रतालाई शिथिल बनाई जीवन जिउने समय अवधि लम्ब्याउने मात्र रहेछ ।
रोगको निदान नहुने र रोगीले के कसरी आफ्नो जीवनयापन गर्न सक्छन् भनेर नसा सम्बन्धी विशेष चिकित्सक डा. शमिमले अहिलेसम्म प्रत्येक छ छ महिनामा सर सल्लाह र सुझावहरू दिई नै रहेका छन् । डा. शमिमले नै मलाई पहिलो पटक आफ्नो इच्छा, चाहना र जीवनका अधुरा कामहरू यथासक्य सम्पन्न गर्नु भनेर सुझाव दिएका थिए ।
चिकित्सक शमिमको प्रत्यक्ष सुपरिवेक्षणमा मेरो हाल चिकित्सा चलिरहेको छ । प्रत्येक पटकको मेरो अवस्था र मेरो दृढ मनोबलको ऊ निकै अचम्मित बनेको पाउँछु । मेरो शरीरले मेरो रोगको प्रभावकारिताको गतिलाई निस्तेज बनाएको चिकित्सक शमिमको ठहर छ ।
उनी हरेक पटकको भेटमा मेरो शारीरिक अवस्था देखेर निकै अचम्मित बन्न पुग्छन् । र भन्ने गर्छन्, ‘बसन्त यस्तै स्थिति केही समय रह्यो भने तिम्रो स्वस्थ स्थिति र रोगको बारेमा अनुसन्धान र अध्ययन गर्नु पर्ने हुन्छ’ । म त्यही दिनको लागि प्रयासरत बनेर प्रतीक्षारत छु । यही अवस्थामा नै रहनको लागि अझ बढी जीवन जिउन संघर्षरत नै छु ।
कोरोना र यो एएलएसले पनि जीवन जिउने अधिक समय प्राप्त गरेकोमा आफूलाई अझ केही आवश्यक कार्य सम्पन्न गर्नको लागि समयको उदारता प्राप्त भएको हो कि भन्ने म ठान्दछु ।
यस अर्थमा म पनि आफू मानसिक र भौतिक रूपमा आफ्नो अन्तिम गन्तव्यको लागि आफूले आफूलाई नै तयार पार्न शुरू गर्न थालिसकेको छु । यस रोगले कुनै पनि समय थला पर्न सक्ने भएको कारण मैले पनि दुई चार कुराहरू शुरू गर्न थालिसकेको छु ।
हेरौं भाग्य विधाताले के कसो भन्छ ।
भर्जिनिया, अमेरिका

