साहित्यपोस्ट डट कम

पर्यावरणीय चेतनाको साहित्यिक कृति

पर्यावरणीय चेतनाको साहित्यिक कृति

परिचय

परम्परागत साहित्यले मूलतः प्रेम, सौन्दर्य, सामाजिक तथा राजनीतिक यथार्थ, मनोविज्ञान र द्वन्द्वजस्ता मानवकेन्द्रित विषयवस्तु अभिव्यक्त गर्दै आएको सर्वविदितै छ । पछिल्लो समय विकसित पर्यासाहित्यले भने प्रकृति, पारिस्थितिकी र सहअस्तित्वजस्ता पर्याकेन्द्रित (इकोसेन्ट्रिक) विषयवस्तुलाई समेट्छ । मानव, वनस्पति, वन्यजन्तु; तथा वायु, जल, माटो, ताप र आकाशजस्ता पञ्चमहाभूतबीचको अन्तरसम्बन्धमा केन्द्रित साहित्यिक सृजनालाई पर्यासाहित्य भनिन्छ ।

प्रणाम सगरमाथा भवानी खतिवडाद्वारा लिखित यात्रासंस्मरण हो । सगरमाथाको पाउदेखि छातिसम्मको एकल यात्रापश्चात् जन्मेको साहित्यिक कृति हो यो । यसलाई पर्यासाहित्यको दृष्टिकोणबाट अध्ययन गर्दा केवल यात्रा अनुभूतिमा सीमित कृति जस्तो लाग्दैन । यसमा स्पष्टरूपमा पर्यावरणीय चेतना विद्यमान छन् । त्यो के भने, सगरमाथा क्षेत्रको वातावरणमा विकास र पर्यटनले पारेको असरलाई सूक्ष्म तवरले उठान गरिएको छ । प्रदूषण तथा जलवायु परिवर्तनका असरलाई प्रभावकारी ढङ्गले अभिव्यक्त गरिएको छ । त्यतिमात्रै हैन, प्रकृतिको सुन्दरता र पर्यावरणीय संकटबीचको द्वन्द्वात्मक यथार्थ प्रस्तुत गर्दै मानव र प्रकृतिबिचको साइनोलाई पुनर्भाषित गरेको देखिन्छ ।

प्रकृतिको सुन्दरताको वर्णन गर्नु पनि पर्यासाहित्यकै एक रूप हो । यस्ता प्रवृत्ति हाम्रा अग्रज स्रष्टा लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र माधव प्रसाद घिमिरेका सिर्जनामा पनि पाइन्छन् । प्रणाम सगरमाथा मा प्रकृतिको सौन्दर्यचित्रण केवल दृश्यवर्णनमा सीमित छैन । प्रकृतिप्रतिको श्रद्धा, विनम्रता र सहअस्तित्वको भावना लेखक र प्रकृतिबीचको अन्तरसंवादमार्फत उजागर गरिएको छ । यस अर्थमा कृतिको एक प्रमुख विशेषता स्वच्छन्दतावाद (रोमान्टिसिज्म) हो । त्यसो त, भवानीले यस कृतिमार्फत् आफूलाई स्वच्छन्दतावादी प्रवृत्तिकी लेखिकाको रूपमा चिनाएकी छन् भन्दा अत्युक्ति नहोला ।

यसरी मैले यस पुस्तकलाई पर्यासमालोचनात्मक दृष्टिले अध्ययन गरें । सोही अनुसार, प्रस्तुत लेखमा पर्यावरणीय विमर्शलाई केन्द्रमा राखेर विश्लेषण गर्ने प्रयास गरेको छु ।

स्वच्छन्दतावाद

व्यक्तिगत भावनाको प्रधानता, कल्पनाशीलता र आत्मानुभूति स्वच्छन्दतावाद (रोमान्टिसिज्म) का मुख्य विशेषता हुन् । साहित्यको यस धारमा प्रकृतिलाई निर्जीव होइन जीवित र चेतनशील आत्मा मानिन्छ । तर्कभन्दा अनुभूति र संवेदनालाई प्राथमिकता दिइन्छ । प्रणाम सगरमाथा मा भवानीले प्रकृतिलाई मानवीकरण गर्दै पटकपटक संवाद गरेकी छन् । त्यस अर्थमा उनको लेखन स्वच्छन्दतावादी प्रवृत्तितर्फ झुकेको देखिन्छ ।

एकल यात्रामा निस्केकी भवानी बाटोमा भेटिने रुखविरुवा, प्राणी, चट्टान, हिमनदी, र हिमाललाई सहयात्री बनाउदै उकाली ओराली गर्छिन् । कोशीको पानीलाई उनी हतारिएको मान्छेका रूपमा चित्रित गर्छिन् । छङ्छङ् गर्दै बगेको त्यो वेगमा मानौँ कोशी म्याराथन दौडिरहेको छ । “आफ्नो बाटो आफैँ बनाउन सक्ने सामर्थ्य भएको पानीले जोखिमपूर्ण मार्ग किन रोज्यो ?” भन्ने उनको प्रश्नले पाठकलाई सोच्न बाध्य बनाउँछ । वास्तवमा उनी प्रश्नहरूको रूकस्याक बोकेर हिउँको उकालो चढदै गरेकी जस्तो लाग्छ । उत्तर स्पष्ट दिइँदैन, पाठक स्वयंले खोज्नुपर्छ । उनको यही प्रश्नप्रधान शैलीले पाठकमा कौतुहलता जगाउँछ ।

उखु गुलियो किन ? कागती अमिलो किन ? बन्दागोभी बन्द र फूलगोभी खुला किन ? कार्बन, हाइड्रोजन, नाइट्रेट जस्ता तत्त्व उही भए पनि यी फलफूलका आकार फरक किन ? भनेर उनी प्रकृतिको जैविक विविधतामा आश्चर्य व्यक्त गर्छिन् । यस्ता जिज्ञासाले उनलाई विज्ञान र अनुभूतिको दोभानमा उब्याएको छ ।

धुलो प्रदूषणको एक रूप हो । धुलाम्य बाटोमा हिँड्दै पैतालाका डोब छोड्दै गर्दा नजिकै बगिरहेको कोशीलाई लेखकले सोध्छिन्, “के तिमीले कुनै पदछापमा नवीनता देख्यौ र ? तर कोशी बोलिनन्, बोल्दै बोलिनन् ।” प्रकृतिसँग यसरी संवाद गर्न सक्नु लेखकको उच्चस्तरीय साहित्यिक कला हो, जुन सबै लेखकमा सम्भव हुँदैन ।

हाँसजत्रै आकारका वनका चरा हुन् खोङ्मा । एकडेढ सय ग्रामको सानो ज्यान लिएर फिस्टे चरो हिउँमा निर्बाध फुत्रुकफुत्रुक गर्छ भवानी नजिकै । शून्य डिग्री तापक्रममा कसरी बाँच्छन् ? के खान्छन् ? कसरी गुजारा चलाउँछन् ? हामीजस्ता अपरिचितसँग डर पनि मान्दैनन् । यी चरामा यस्तो निडर भाव कसले भरिदियो ? वनका चराले यो तहको आत्मीयता कसरी सिके ? खोइ, हामीलाई जोड्ने भाषा ? यिनीहरूको भाषा जान्न पाए कति कुरा सोधिन्थ्यो ! भवानीका मनमा कौतूहलका यस्ता प्रश्नहरू निरन्तर उब्जिरहन्छन् ।

बगरमा हिँड्दै गर्दा किनाराका पहराहरूले पार्श्वधून सुसाउँदै गरेको अनुभव हुन्छ । जसलाई उनले “हृदयरञ्जक धून” भनेर मिठासका साथ व्यक्त गरेकी छन् । “नीरवता बोल्छ” भन्ने सुनेकी भवानीलाई ती धूनहरू आपसमा वार्तालाप गरिरहेको जस्तो लाग्छ । ती धूनहरूले भवानीजस्ती पदयात्रीको खबर सोधेका हुन् कि आफ्नै खुसी साटिरहेका ? मानिसले बुझ्दैनन् नीरवताको भाषा । जतिसुकै सुने पनि त्यसको अर्थ लगाउने सामर्थ्य भवानीले राख्दिनन् ।

यहाँ चरा र नीरवताको भाषाको सन्दर्भ जोडिँदा मलाई देवेन सापकोटाद्वारा सिर्जित ‘डिकोडिङ् मसिन’ कविताको सम्झना आयो ।

खुसीले गद्गद छ विज्ञानी

व्याख्या गर्न

उसको आविष्कार डिकोडिङ् मसिनको

प्राणीको बोली तत्काल रूपान्तरण गर्ने

मानिसको भाषामा ।

…कोइली गाउँछे वसन्तलाई निम्त्याई

आफ्नै भाकामा

मसिनले सुनायो मानिसको भाषामा

“कति सुन्दर हरियाली वर्षदिनमा आयो ।”

उता प्वाँख फिँजाई नाच्छ मजुर

प्रेयसीलाई फकाई

उसको गीतलाई मसिनले सुनायो

“तिमी मेरी हृदयकी रानी, आऊसँगै नाचौँ रमाई ।”….

आशा गरौँ, एआईजस्तो प्रविधिले भवानीका प्रश्नहरूको उत्तर छिट्टै दिनेछ भविष्यमा । मैले माथि नै भनिसकेँ, प्रकृति चित्रणमा उनी माहिर लाग्छिन् । त्यसका केही पङ्क्ति यहाँ जस्ताको त्यस्तै उद्रित नगरि म रहन सकिनँ ।

-टाढाबाट नाङ्गा देखिने लेक नजिक जाँदा फूलले सजिएका बगैँचा झैँ खुल्छन् ।

-घामले छुँदा इन्द्रेणी फुलाउने हिमाल चन्द्रमाको स्पर्शमा झन् उज्यालिन्छन् ।

-सेतो हिउँबीच नीलो मसी खन्याएजस्तो पोखरी, सिङ्गमरमरझैँ पत्रेचट्टान, हिमछ्यान्द्राले बनेको बाटो ।

-हिमाल केवल उचाइले नापिने भौतिक संरचना होइनन् । ती अंकमा अटाउँदैनन्, अक्षरमा सीमित हुँदैनन् । हिमाल त पढिरहँदा पनि नसकिने आदिम रहस्य हुन्; जानिरहँदा पनि नटुङ्गिने कल्पनातीत रचना । ती प्रकृतिका मौन दार्शनिक, समयका महागुरु हुन् ।

हिमालको सौन्दर्यता मात्र होइन, विरूपता पनि उनको दृष्टिबाट छुट्दैन । थाप्लाभरि हिउँ र छातीभरि वन बोकेको पहाडको फेदीमा हिमनदीले कोत्रेको घाउ देख्दा उनी व्यथित हुन्छिन् । हिमाल अजरा अमरा देवा छैनन्; तिनलाई घाम, पानी र हावाले क्षय गरिरहेका छन् । आज देखिएको तिनको रूप भोलि फेरिन सक्छ, अपक्षय वा टेक्टोनिक उथलपुथलले अझ अग्लो वा जीर्ण पनि बन्न सक्छ ।

उचाइ बढ्दै जाँदा वनस्पति होचिँदै जान्छन् । बोनसाइजस्ता धुपी, भुइँफूलका गलैँचा, अक्करमा ठोक्किँदै अघि बढेका पानीका छाल- यी सबैले कठोर वातावरणसँग जुधेका आ-आफ्ना जीवनको कथा सुनाउँछन् । थकानले कमजोर हुँदै गएकी, एकल यात्रामा रहेकी महिला भए पनि; प्रकृतिबाट साहस बटुलेर; हठ र आत्मबलले उनी नदीजस्तै बगेर त्यो कठिन यात्रा तय गरेरै छोड्छिन् ।

घर फर्किने क्रममा भुइँफूलले उनलाई रोक्न खोजे । पखेराका गुराँसले अल्झाउन खोजे । हिमढिस्काले केही दिन अझ यतै बस न प्रिय भने । भोटेकोशीले मायालु नजरले हेर्‍यो । चउरमा चर्दै गरेका चौँरीले घाँस चपाउँदै आश्चर्य भावमा हेरे । लेकबाट झर्दै गरेको छहराले छमछम पाउजू बजाउँदै उनको ध्यानाकर्षण गर्‍यो । झारलले चिनेजस्तै टुलुटुलु हेरे, आफैँले पालेका बाख्राजस्तै आत्मियता प्रकट गरे । तर भवानी, “सबै ठिकठाक छ” भनेर असमर्थतामा जम्लाहात जोडदै बाटो लाग्छिन् ।

राति विश्राम गर्दा दूधकोशीको सुसाइ मधुरो हुँदै जान्छ । उनलाई लाग्छ, नदी पनि आधा जागा र आधा निद्रामै छ । जो उनीजस्तै ढाड लेच्याउँदै, गोडा कमाउदै, कतै जम्दै कतै पग्लँदै घस्रिरहेको छ । मध्यरात भएपछि बल्ल बगिरहेको दूधकोशी बरफ भएर जम्छ । बग्नु छोडेर चुपचाप निदाइबस्छ । भवानी पनि त्यसपछि निद्रादेवीको शरणमा पर्छिन् । अनि चारैतिर चकमन्नता छाउँछ । केहीछिन पछि जाग्छिन् र भन्छिन्, “हे प्रकृति ! तिम्रो लीला कल्पनातीत होइन त ? म प्रकृतिले धारणा गरेको मौनतासँग डराउन थालेँ । लाग्यो, मौनताभन्दा डरलाग्दो आवाज अरु केही हुनै सक्दैन ।” कस्तो प्रतीकात्मक बिम्ब पाइन्छ यहाँ ।

लेक लागेर ‘हाइपोक्सिया’ हुँदा सास फेर्न गाह्रो हुन्छ । यस्तो जीवन र मरणको स्थितिमामा पुगेको बेला उनी मनमनै सोच्छिन्, “पहिलो उपाय भूगोलको उचाइ घटाउनु, दोस्रो आत्मबलको उचाइ बढाउनु ।” यो कथन स्वच्छन्दतावादी आत्मविश्वासको सशक्त उदाहरण हो ।

स्थानीय र विदेशी पर्यटकसँगको संवाद पनि रोचक छ । इटालियन पिटर नामको एक व्यक्तिमार्फत् उनले सगरमाथा क्षेत्रमा पाइने पोर्चिनी च्याउ, गुरिल्ला प्लान्ट, सल्ला, भोजपत्र, सुनपाती, गुराँस र पैयुँबारे जानकारी दिन्छिन् । नेपालका हिमाली भूभागलाई औषधीय वनस्पतिको जीवित सङ्ग्रहालयका रूपमा प्रस्तुत गरेकी छिन् ।

यसरी प्रकृतिसँग आँखा, हृदय र पाइतलाका स्पर्शले संवाद गर्ने कला नै भवानीको स्वच्छन्दतावादी लेखनको सार हो ।

प्रदूषण

भवानी स्वच्छन्दतावादी मात्र होइन वातावरणीय संकटप्रति सचेत संरक्षणवादी लेखकका रूपमा पनि प्रस्तुत भएकी छिन् । पारिस्थितिक चेतनासहित लेखिएको उनको यो कृतिले प्रकृतिको सौन्दर्यतासँगै संकटलाई समेत उजागर गर्छ ।

हामीले भोगिरहेका प्रमुख वातावरणीय संकटमध्ये प्रदूषण एक हो । यसलाई दुई खण्डमा विभाजन गर्न सकिन्छ- जल, जमिन र वायु प्रदूषण; अनि दृश्य, ध्वनि र प्रकाश प्रदूषण । यिनै आयाममा केन्द्रित लेखन पर्यालेखनको अर्को महत्त्वपूर्ण पक्ष हो । प्रणाम सगरमाथा मा यी यस्ता विषयलाई केही हदसम्म समेटिएका छन् ।

उनको यात्रा काठमाडौँबाट हेलिकप्टरमा उडेर शुरु हुन्छ । आकाशमा उड्दा इँटा भट्टाबाट निस्किएको धुवाँधुलोको दृश्यले उनलाई झस्काउँछ । वायु प्रदूषणप्रति उनी गहिरो चिन्ता व्यक्त गर्छिन् । डोजरे विकासले पहाड चिरेर बनाइएका नुडलका त्यान्द्राझैँ खैरा सडकहरू माथिबाट स्पष्ट देख्न सकिन्छ । यस्ता निर्माण कार्यले पहिरो निम्त्याउनुका साथै नदीको स्वच्छन्दतामा ह्रास ल्याएको छ ।

हेलिकप्टरबाट लुक्ला अवतरण गर्दा उनी उत्साहित देखिन्छिन् । तर स्याङ्बोचे विमानस्थल वरिपरि चराजस्तै उडिरहेका हेलिकप्टरहरूले सिर्जना गरेको कर्कश आवाजले उनको मनलाई विचलित पार्छ । ध्वनि प्रदूषणले मानिस मात्र होइन, पशुपक्षी, र वनजंगलको एकाग्रता भङ्ग गरेको अनुभूतिलाई उनले व्यक्त गर्छिन् । चट्याङ् परेपछिको आकाश गर्जनझैँ लाग्ने आवाजबाट जोगिन कान थुन्दै गर्दा उनी आफ्नो छटपटि यसरी व्यक्त गर्छिन, “दुई दिनका पाहुनालाई त यस्तो सास्ती, यहाँ सधैँ बस्नेहरूलाई कस्तो असर पर्ला ?”

त्यो भेगमा पहाडका खोँचैखोँच र कोशी नदीका किनारैकिनार हेलिकप्टरहरू चिलझैँ उड्दा रहेछन् । माथि सवार पर्यटक हिमालको दृश्यावलोकनमा रमाउँदा हुन्, तर तल पदयात्रामा निस्केका यात्रुलाई कानको जाली नै फुटाउलाजस्तो आवाजले कति दिक्क पार्दो हो ! यसरी खलबलिँदो पर्यावरणीय शान्तिप्रति कसको ध्यान पुगोस् ! आवाजविहीन हिउँचितुवा, घोराल, र रेडपाण्डा जस्ता वन्यजन्तुमा ध्वनि प्रदूषणले पार्ने प्रभावबारे प्रश्न उठाउन छोडदिनन् भवानी । यो समस्यालाई सगरमाथा निकुञ्ज र स्थानिय सरकारले नउठाएको भने हैन, हेलिकप्टरको उडानलाई निषेध गरिनुपर्छ भन्ने उनीहरूको माग थियो तर नागरिक उड्ड्यन प्राधिकरणले त्यस मागलाई कार्यान्वयन गर्न स्वीकारेन ।

अझ ध्वनि, वायु, र जल प्रदूषणले हिमाली पारिस्थितिमा पार्न सक्ने संभावित असर या पारिसकेको असरबारे थप जानकारी दिइएको भए राम्रो हुन्थ्यो । पाठक र सरोकारवाला दुवैलाई सन्देश पुग्थ्यो । तथापि, किताबमा आएका वायु तथा ध्वनि प्रदुषणका केही प्रसङ्गले लेखकमा रहेको संरक्षणवादी चेत उजागर गरेको छ ।

पर्याध्यात्म

पर्यासाहित्यमा विद्यावारिधि गरेका डा. देवचन्द्र सुब्बाले ‘पर्याध्यात्म’लाई हरित आध्यात्मिकता भनेर व्याख्या गरेका छन् । ‘पर्यावरण’ र ‘आध्यात्म’को संयोजनबाट बनेको यस शब्दले धर्मलाई समेत समेट्छ । पर्यासाहित्यको यस आयामले हाम्रा धार्मिक ग्रन्थमा पर्याचेतनाको स्तर कस्तो छ र धार्मिक क्रियाकलापले पर्यावरण संरक्षणमा कस्तो भूमिका खेलेका छन् भन्ने कुराको अध्ययन गर्छ । हाम्रा केही संस्कारले पर्यावरण संरक्षणमा योगदान पुर्‍याएका छन् भने केहीले क्षयीकरण पनि बढाएका छन् । त्यसैले पर्याध्यात्मिक लेखनमा धार्मिक तथा आध्यात्मिक अभ्यासका सकारात्मक र नकारात्मक दुवै प्रभाव समेटिनुपर्छ । धर्मसंस्कार र अध्यात्मसँग सम्बन्धित इकोराइटिङलाई नै पर्याध्यात्म भनिन्छ ।

यस कृतिमा पनि यस्तो चेत अमूर्त रूपमा प्रकट भएको देखिन्छ । भवानी कतै वायु र ध्वनि प्रदूषणका कुरा गर्दै त, कतै हिमाली भूभागमा पर्याध्यात्मिक चिन्तन गर्दै अघि बढ्छिन् । एक ठाउँमा उनी लेख्छिन्, “बोन धर्मको मान्यता अनुसार ईश्वर मूर्तिमा होइन, प्रकृतिका अंशमा छन् ।” यो पर्याध्यात्मिक चिन्तनको स्पष्ट अभिव्यक्ति हो । मन्दिरभित्रको मूर्ति होइन, बाहिरको प्रकृतिलाई पूजा गरौँ भन्ने सन्देश यसमा निहित छ । जगतको भलो मूर्ति ठड्याएर होइन, प्रकृति जोगाएर हुन्छ भन्ने आशय प्रकट हुन्छ ।

यात्राको दोस्रो दिन भवानी ब्रह्ममुहूर्तमा दिवंगत पितालाई सम्झँदै जाग्छिन् । उहाँ ब्रह्ममुहूर्तमै स्वर्गेवास हुनुभएको रहेछ । लेख्छिन्, “हामीले सप्ताहको फूलपातीसँगै उहाँको पार्थिव देहलाई वैजनाथ खोलामा सेलाएका थियौं ।” मलाई लाग्छ लास जलाएर खोलामा बगाउने संस्कार समयानुकूल परिवर्तन गर्नुपर्छ । किनकि यसले हावा पानीलाई प्रदूषित बनाउँछ । बरु जमिनमा गाड्ने वा विद्युत् शवदाहगृह प्रयोग गर्ने विकल्प उपयुक्त हुन सक्छ । यस्तै सन्दर्भमा मैले ‘म मरेपछि मलाई आर्यघाट लगेर नजलाउनू’ कविता लेखेको छु । त्यसको एक अंश यस प्रकार छ-

म मरेपछि

मलाई आर्यघाट लगेर नजलाउनु

किनकि, मलाई जलाउने दाउराको चिताबाट

हावामा उत्सर्जन हुनसक्ने विषालु कार्वनले

म तिम्रो फोक्सो जलाउन चाहन्नँ

मेरो मृत्युमा

तिमी बॅाच्नेहरूलाई अक्सिजन दिने रुखहरूको पनि

म मृत्यु देख्न चाहन्नँ ।…….

लेक लागेर निदाउन नसकेकी भवानीको कानमा चरा, कुकुर, मानिस र हावाका स्वर गुञ्जिन्छन् । नजिकैको गुम्बाबाट निस्किएको ‘ॐ मणिपद्मे हुँ’ को धुनले ती स्वरलाई श्रुतिमधुर कोलाजमा रूपान्तरित गरी उनको व्याकुलता शान्त हुन्छ । अर्को प्रसंगमा बुद्धको वाणी उद्धृत गर्दै उनी भन्छिन्, “आफ्नो उन्नति र दुर्गतिको कारण आफैँ हौँ । चैत्यमा फहराउने लुङ्ताका पाँच रङ्ग पञ्चतत्त्वका प्रतीक हुन्- नीलो आकाश, सेतो वायु, रातो अग्नि, हरियो पानी र पहेँलो पृथ्वी ।” यसरी स्थानिय समाजका संस्कार र संस्कृतिलाई पर्यावरणसँग जोड्दै पर्याध्यात्मिक संवेदना प्रकट गरेको पाइन्छ ।

हिमाली प्रकृतिलाई हेर्ने हाम्रा दृष्टिकोण फरक फरक हुन्छन् । प्राचीन ऋषिमुनिले हिमालमा देवताको बास हुन्छ भन्ने ठानेर मान्छेलाई आरोहणबाट दूर राखे । अझै पनि केही हिमाल आरोहणका लागि बन्द छन् । भवानी हिमबिरुवालाई मूर्तिजस्तै देख्छिन् । पर्वतलाई सेता स्तूपाको स्वरूपमा अनुभूत गर्छिन् । त्यस्तो पवित्र भूमिमा पाइलाले टेकेकोमा पछुताउँदै रुख, बिरुवा, वायु, ढुंगा र माटोलाई पूजा गर्ने परम्परालाई रूढिवाद ठान्नु गलत हो भन्ने सन्देश दिएकी छिन् । आधुनिक मानवले प्रविधिको सहारामा प्रकृतिमाथि अतिक्रमण गर्दै आएको छ । यस्तो अवस्थामा भवानी हिमाललाई अक्षत राख्नुपर्ने धारणा व्यक्त गर्छिन् । उनको पदयात्राको लक्ष्य सगरमाथा आधारशिविरमा पुग्नु थियो । त्यहाँ पुगेर “म पृथ्वी, जल, वायु वा आकाश होइन; म प्रकृतिभन्दा माथि अनुभूत हुने अद्वैत चेतना हुँ ।” भन्ने भाव व्यक्त गरेकी छिन् । यी हरफहरू गहन पारिस्थितिकीय दृष्टिकोणबाट व्यक्त पर्यादर्शनका सशक्त उदाहरण हुन् । सचेत पाठकले मात्र त्यसको गहिराइ अनुभूत गर्न सक्छ भन्ने मलाई लागेको छ ।

यसरी यो युगमा हाम्रो लेखन पर्याध्यात्मिक हुन आवश्यक छ । धार्मिक कर्मले पर्यावरणको रक्षा गर्न के योगदान दिन्छ र के नकारात्मक असर पनि पारेको छ भन्ने प्रश्न सम्बोधन गर्दै साहित्यिक सिर्जना गरिनुपर्छ ।

पशु अधिकार

पशु अधिकार र वन्यजन्तु चोरी सिकारीको विषय समेटिएको लेखन पनि इकोराईटिङ्को अर्को पक्ष हो । प्रणाम सगरमाथामा मा चोरी सिकारीका कुरा उठाइएको त पाइँदैन । तथापि स्नो लेपर्ड, कस्तुरी मृग, रेड पांडा जस्ता जीव अवैध शिकारको मारमा परेको समाचार बेलाबेलामा सुन्नमा आउँछन् । तर पशु अधिकारको कुराचाहिँ यस नियात्रासंग्रहमा सशक्त रूपमा उठाइएको देखिन्छ । त्यो कसरी भने, प्रतेक जोक्पेका डडाल्नामा चार थानका दरले सिलिन्डर कसिएका हुन्छन् । तिनलाई भोक, प्यास, र थकाई लागेको हुँदो हो । बिचरा जोक्पे, हिँडिरहेका हैनन् घस्रिरहेका छन् जस्तो प्रतीत हुन्थ्यो । ती प्राणीको त्यस्तो कष्ट अवलोकन गरेर साहित्यकार सरुभक्तले भनेको एउटा कुरा सम्झिन पुग्छिन् । त्यो के थियो भने- जो मान्छे पशुलाई पशु सम्झन्छ ती पशु हुन्, जो पशुलाई पशु सम्झँदैनन् ती मान्छे हुन् । कस्तो गहन पारिस्थितीय दर्शन बोकेको भाव हो यो ! यसरी भारी बोक्ने गधाप्रति पटक पटक करुणा व्यक्त छ उनको लेखाइमा । त्यो लेखकले उठाएको पशु संवेदना र अधिकारको कुरा हो ।

डा. देवचन्द्र सुब्बाका अनुसार गहन परिवेश (डीप ईकोलोजी) ले के भन्छ भने- पशुपक्षी त के, बोट बिरुवाको पनि शान्तिपूर्वक बाँच्ने अधिकार मान्छेले खोसिदिन हुन्न । बोटबिरुवाले हामीले बुझ्ने अर्थमा संवेदना पोख्दैनन् तर तिनीहरूले प्रकाश, ताप, स्पर्श, र रसायनप्रति प्रतिक्रिया जनाएर आफ्नो वरिपरिको वातावरणसँग अनुकुलन हुन्छन् । यसले उनीहरू संवेदनशील छन् भन्ने दर्साउँछ तर साहित्यको भाषामा त्यो एक भावना मात्रै हो भने विज्ञानको भाषामा जैविक प्रतिक्रिया हो ।

भवानीले बाटोमा भेटेकी एक सहयात्री हुन् सपना । सपनाले गुराँसको फूल सुम्सुम्याउन पुग्दा भवानीलाई लाग्छ- सपना गुराँसको फूल चुँडाउन लागेकी छिन् । त्यस क्षण भवानीको संवेदना यसरी पोखिएको छ- फूल चुँडिनु फूलको हत्या हुनु हो । गुँरासको वंशपरम्परा फूलबाटै धानिन्छ । फूल बोटमै छिप्पिएर वनमै झर्न पाए भने यसका सन्तान फैलिन पाउँछन् । नफक्रिँदै टिप्न थालिए, गुराँस मासिन बेर लाग्दैन ।

यो अभिव्यक्ति पढदै गर्दा लाग्छ, भवानी फूललाई औधी प्रेम गर्छिन् । फूलप्रति कसको पो प्रेमभाव जाग्दैन होला र ! फूलप्रेमी मात्रै हैन, उनीमा वनस्पति सम्बन्धी विज्ञता पनि छ भन्ने कुरा झल्किन्छ । किताबको यो अनुच्छेद भएर मेरा आँखा बग्दै गर्दा मेरो कविमन भने पर्याकवि कृष्ण बाउसेको ‘फूलको प्रश्न’ कविता उपर बग्न पुग्छ । जुन कविताको एक अंश यस्तो छ-

…भर्भराउँदो यौवनको मिठास लिन नपाउँदै

टिपेर मन्दिरमा पुर्‍यायौ

र हुर्यायौ मूर्तिको पाउमा मलाई ।

कसैका देवता खुसी हुन्छन् भने ठीकै छ

भनेर सहिदिएँ ।

माला बनाउने भन्दै

धागोसहितको तीखो सियोले मुटुमै घोच्यौ

र बन्दी बनायौ मलाई ।

कसैको खुसीको लागि पीडा सहनु पनि धर्मै हो

भनेर सहिदिएँ ।

तर,

हदै पार गरेर

सेलाएको भन्दै

फेरि किन मिल्कायौ मलाई नदी-किनारमा लगेर ?

र त्यसपछि

किन आफैँ थुक्न थाल्यौ मलाई

दुर्गन्धित फोहरको विशेषणले आभूषित गरेर ?…

पर्याज्निति

राजनीतिकर्मीले सरकारमा पुगेपछि निर्माण गर्ने नीति तथा कानुनले वातावरण संरक्षणमा सकारात्मक भूमिका खेल्न सक्छ । यस्ता नीतिहरूले प्राकृतिक स्रोतसाधनको दिगो उपयोग, जैविक विविधताको संरक्षण तथा प्रदूषण नियन्त्रणमा टेवा पुर्‍याउने अपेक्षा गरिन्छ । तर कहिलेकाहीँ स्वार्थपरक विकासमुखी नीतिहरूले वातावरणलाई संकटमा पार्ने खतरा हुन्छ । यस्तो अवस्थामा प्राकृतिक स्रोतको दोहन बढछ, वातावरणीय सन्तुलन खलबलिन्छ र मानव जीवनमै दीर्घकालीन प्रतिकूल असर पर्न सक्छ । सडक निर्माणका नाममा डोजर चलाएर पहाड उधिन्ने, भ्यु टावर जस्ता कङ्क्रिटका संरचना उठाएर कमिसनमुखी विकास गर्ने प्रवृत्ति यही सोचको परिणाम हो । यस्तो मानसिकतालाई सम्बोधन गर्दै गरिने साहित्यिक सिर्जनालाई ‘पर्याज्निति’ (इको-पोलिटिक्स) भन्ने गरेका छौँ । अर्थात् पर्यावरण र राजनीतिलाई केन्द्रमा राखेर गरिने साहित्यिक लेखनलाई पर्याज्निति भनेर बुझौं । भवानीको यस पुस्तकमा पनि पर्याज्नितिक चेतका अनेक बिम्बहरू भेटिन्छन् ।

जब उनि खुम्बु पासाङल्हामु गाउँपालिका पुग्छिन् त्यहाँको बजेट ढल निर्माणमा प्रयोग भैरहेको पाउँछिन् । त्यो वर्षापानीको ढल हो कि फोहोरपानीको, स्पष्ट छैन । यदि फोहोरपानी व्यवस्थापनका लागि ढल निर्माण गरिएको हो भने त्यो सकारात्मक कदम मान्न सकिन्छ । यसले त्यहाँका जनप्रतिनिधि आधुनिक सोचविचार राख्ने नेता भएको देखाउँछ । जनप्रतिनिधि, नेता, र सरकारले कस्ता वातावरणमैत्री नीति ल्याएर लागू गर्नुपर्छ भन्ने दृष्टिकोण प्रस्तुत गर्नु नै पर्याज्निति हो । पुस्तकमा यस्ता विषयको उठानले लेखकमा पर्या-राजनीतिक चेत रहेको संकेत दिन्छ ।

आधारशिविरमा सरकारले ‘सगरमाथा प्रदूषण नियन्त्रण समिति’ गठन गरेको कुरा पनि नियात्रामा उल्लेख छ । माइला नामका स्थानीयसँगको संवादमार्फत् फोहोर व्यवस्थापनबारे केही जानकारी दिइएको छ । आधारशिविर क्षेत्र खुला दिसा निषेधित क्षेत्र रहेछ । दिसालाई ड्रममा सङ्कलन गरी प्रतिकिलो ५० रुपैयाँका दरले भरियामार्फत् लोबुचे पुर्‍याइँदो रहेछ । त्यहाँ खाडल खनी विसर्जन गरिँदो रहेछ । यस्ता प्रयास सराहनीय भए पनि दिगो व्यवस्थापनको विकल्प भने होइन । आज विश्वबजारमा वातावरणीय रूपमा सुरक्षित सेप्टिक ट्याङ्क तथा साना ढल प्रशोधन संयन्त्र उपलब्ध छन् । पिजा, कोक, बिजुली, सोलार र इन्टरनेट पुर्‍याउन सकिने स्थानमा यस्ता प्रविधि लगेर किन जडान गर्न नसकेको ? मानव सुविधाका लागि तत्पर तर प्रकृति संरक्षणमा ढिलासुस्ती किन ? यदि भवानीले यस्ता प्रश्न पनि गरेको भए स्थानीय योजनाकार सचेत हुने थिए कि ?

सगरमाथा सरसफाईको कुरा उठदा सन् २०१८ मा म सिक्किमको लाचेन हुँदै कञ्चनजङ्घा हिमश्रृङ्खला घुम्न गएको याद आयो । उक्त संरक्षित क्षेत्रमा प्लास्टिक बोतल लैजान प्रतिबन्ध रहेछ । नियमको उल्लङ्घन गरे ५०० रुपैयाँ जरिवाना लाग्ने व्यवस्था थियो । मैले बोतललाई तलै जाँच चौकीमै बुझाउनु परेको थियो । नेपाली सेना र स्वयंमसेवीहरूले सगरमाथा क्षेत्रबाट टनका टन फोहोर सरसफाई गरेको देख्दा यस्तै कडाइ आवश्यक देखिन्छ । उता अन्टार्कटिकामा उत्रँदा, फोहोर त परै जाओस् कपडाको धुलोसम्म खस्न नदिने नियम रहेको कुरा जिवा लामिछानेले आफ्नो कृति अक्षत अन्टार्कटिकामा उल्लेख गरेका छन् ।

सन् २००९ मा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले कालापत्थरमा मन्त्रिपरिषद् बैठक राखेका थिए । उक्त बैठकले हिमाली राष्ट्रहरू जलवायु परिवर्तनको चपेटामा परेको सन्देश दिएको थियो । त्यसपछि उनी जलवायु सम्मेलन कोप १५ मा सहभागी हुन पेरिस गएका थिए । यात्राका क्रममा भवानीले बैठक बसेको स्थानबारे सोध्दा एक पथप्रदर्शकले आक्रोशपूर्वक भनेका छन्, “मन्त्रिपरिषद् नामको झुन्डले बैठकको नाटक मञ्चन गरेको ठाउँ त्यही हो ।” यो उत्तरले लेखिकामा अर्को प्रश्न जन्माउँछ, “तिम्रो काखमै आएर राष्ट्रनिर्माणको एजेन्डामाथि मन्थन गर्नेका मनमा देशभत्तिको भाव किन हुलेनौ, सगरमाथा ?” यहाँ प्रकृतिको मानवीकरण गर्दै स्वच्छन्दतावादी शैलीमा पर्याज्नितिका मुद्दा उठाइएको छ । यसरी पर्याज्नितिक साहित्यले सरकार तथा समाज दुवै वातावरणका मुद्दाबारे सचेत गराउने, प्रश्न उठाउने, र पर्यावरणीय संरक्षणको बाटो अपनाउन प्रोत्साहन गर्नेजस्ता महत्त्वपूर्ण भूमिका निभाउँछ ।

पर्यानारीवाद

प्रणाम सगरमाथा नारीद्वारा लेखिएको यात्रासंस्मरण हो । यसमा नारीसंवेदना प्रकट हुनुलाई स्वाभाविकै ठान्नुपर्छ । पर्यावरण र नारीसंवेदनाको मिश्रणबाट जन्मिने लेखनलाई पर्यानारीवादी लेखन भनिन्छ । पर्यासमालोचक डा. गीता त्रिपाठीका अनुसार जब प्रकृतिलाई नारीविम्बका रूपमा प्रस्तुत गरी साहित्यिक अभिव्यक्ति दिइन्छ त्यसलाई पर्यानारीवाद भनिन्छ । नेपाली साहित्यमा पर्यानारीवादले छुट्टै पहिचान बनाइसकेको र यसको उपस्थिति क्रमशः सशक्त बन्दै गएको छ ।

भवानीको यस कृतिमा पर्यानारीवाद झल्कने अभिव्यक्ति प्रशस्त मात्रामा भेटिन्छन् । उदाहरणका लागि गुराँस फुलेको वनलाई उनी “फागुका रङ दलेकी युवती”सँग तुलना गर्छिन् । त्यस्तै “हिउँकै टोपीधारी पहाड, ती पहाडका खोँचबाट झरेका सेता हिमछहरा जादुमय नृत्यमग्न नर्तकीझैँ देखिन्छन्” भन्ने पंक्ति पर्यानारीवादी दृष्टिकोणको सुन्दर उदाहरण हो ।

चराहरूको एकनास चिरबिर सुन्दा मनमा ‘आमा’ बोकेर हिँडिरहेकी भवानीलाई- गुँडमा छोडिएका बचेराको सम्झना पो गर्दै थिए कि- जस्तो लाग्छ । यदि लेखक मजस्तो पुरुष हुन्थे भने शायद चराका ती स्वरलाई गीत ठान्थ्यो कि ! ऊ यदि चराविद् हुन्थ्यो भने भालेले पोथिको इच्छा विपरित यौनक्रीडा गर्न खोज्दाको पिडा व्यक्त गरेको भनी अडकल काट्थ्यो कि ! तर मातृभावले भरिएको दृष्टिकोणले हेर्ने हो भने ती ध्वनिमा सन्तानप्रतिको चिन्ता पाइन्छ ।

सगरमाथालाई तिब्बतीहरू चोमोलोङ्मा अर्थात् ‘हिमालकी आमा’का रूपमा लिन्छन् । हिउँ पातलिँदै काला पत्थरमा रूपान्तरित हुँदै गएको चोमोलोङ्माको अवस्थालाई देखेर लेखिका चिन्तित हुन्छिन् । तर छिमेकी ल्होत्से, नुम्चे र पुमोरीमा टल्किएको हिउँ देखेर उनी लेख्छिन्, “आफ्नो जीउको हिउँ आफ्नै सन्तानलाई पहिराइदिएर जुरुक्क उठेकी आमा सगरमाथा !” कालोपनलाई समेत सौन्दर्यका रूपमा ग्रहण गर्दै उनी भन्छिन्, “कालै रूपमै विचित्र सुहाएकी शालिग्रामझैँ टल्किएकी छिन् सगरमाथा ।” यसरी उनका सुन्दर अभिव्यक्तिका पाखामा बारम्बार मातृचेतनाका लहर बहकिएको पाइन्छ ।

उपनिषद्ले दिएको शिक्षा “चरैवेति” अर्थात् “निरन्तर अघि बढिरहनु”लाई पनि लेखिकाले प्रकृतिसँग जोडेकी छिन् । मानिस, चरा या जनावर मात्र होइन; झरना, खोला र नदीहरू पनि निरन्तर बगिरहन्छन् । नदीको यात्रा अन्ततः सागरमा पुगेर विलीन हुन्छ । त्यहाँ कुन पानी गण्डकीको, कुन कर्णालीको, कुन अरुणको, कुन तमोरको, र कुन दूधकोशीको हो भनेर छुट्याउन सकिँदैन । यही सन्दर्भमा लेखिका आफ्नो अस्तित्व खोज्दै प्रश्न गर्छिन्, “म नेपालकी छोरी हुँ कि आमादब्लमकी ? उदयपुरकी कि कञ्चनजङ्घाकी ?”

यी प्रसङ्गले भवानीको लेखनमा पर्यानारीवादी चेत स्पष्ट रूपमा झल्किन्छ । यसरी प्रकृति, मातृत्व र आत्मपहिचानको अन्तरसम्बन्धलाई संवेदनशील शब्दमा अभिव्यक्त गर्नु नै यस कृतिको अर्को मूल विशेषता हो ।

दिगोविकास

विकासलाई दिगो रूपमा अवलम्बन गरिएन भने त्यसले पर्यावरणमा गम्भीर असर पार्छ । हामीलाई विकास चाहिएको छ तर वातावरणको विनाश नगरी । जानिराखौं, अव्यवस्थित विकासले पारिस्थितिक असन्तुलन निम्त्याउँछ ।

पश्चिमी राष्ट्रहरूले वातावरणको विनाश गर्दै औध्योगिक क्रान्तिमार्फत विकास हासिल गरेका थिए । आधुनिक विकासको डाडुपञ्यू त चाटे तिनले तर जल, जमिन र वायु प्रदूषित पारे, वनजंगल सखाप बनाए र जैविक विविधतामा ह्रास ल्याए । कालान्तरमा बिग्रँदो वातावरणको परिणामले उनीहरूलाई पछुताउन पर्‍यो । विकास मात्र सबै चिज होइन सन्तुलित पर्यावरण पनि मानव जीवनका लागि अपरिहार्य रहेछ भन्ने बोध भएपछि दिगोविकास (सस्टेनेबल डेभलपमेन्ट) को अवधारणा ल्याए । जुन उत्तरआधुनिक चिन्तनको एउटा उपज थियो । त्यसलाई सिद्धान्तकै रूपमा प्रतिपादन गरी विकासका मोडेलमा लागू गरियो । त्यसैले आज पश्चिमी मुलुकमा वातावरणीय सुधार भएको देखिन्छ र संरक्षणसम्बन्धी कार्यहरू सक्रिय रूपमा सञ्चालन भइरहेका छन् । नेपालको प्राकृतिक वातावरण अझै धेरै हदसम्म सन्तुलित छ तर हामीले बेलैमा सचेत भई दिगो विकासको सिद्धान्त अपनाउँदै विकास निर्माणका परियोजना अघि बढाउनुपर्छ । नत्र पश्चिमी मुलुकले भोगेको पर्यावरणीय असन्तुलन हामीले पनि भोग्नुपर्ने अवस्था आउन सक्छ । यही चेतना प्रदान गर्ने उद्देश्यले ‘दिगोविकास’ भन्ने पर्यासाहित्यिक आयाम अघि सारिएको हो । ‘प्रणाम सगरमाथा’मा पनि दिगोविकास, विकास र विनाशका दृष्टिकोणले केही सन्दर्भ समेटिएका छन् ।

जस्तै, भत्केको पुल देखेर भवानीले- कोशीले आफ्नै किनारमा धक्का हानेर पुललाई तहसनहस बनाएको छ । लाखौँ खर्चेर निर्माण गरिएको पुल यसरी ढलेपछि विकासको अर्थ के रह्यो ? नदीले पनि यति कुरा बुझिदिए हुन्थ्यो- भन्ने भाव व्यक्त गरेकी छिन् । यात्रुको गन्तव्यकालागि सेतु बनेको बिचरो पुल बेवारिसे कंकालझैँ ढलेको, करङ उछिट्टिएर क्षतविक्षत भएको दृश्यले उनको मन अमिलो हुन्छ । बाढीको प्रकोपलाई यति संवेदनशील ढंगले अभिव्यक्त गर्ने लेखन शैली पढदा आनन्ददायी महसुस हुन्छ ।

कोशीको एउटा विद्युतगृहमा डङ्डङ गर्दै पुरै परिवेश थर्काउँदै पानी बगिरहेको हुन्छ । त्यो उज्यालोको गर्जन थियो, दुर्गम बस्तीमा बस्ने बासिन्दाकालागि आशा र ऊर्जाको ध्वनी थियो । पानीको अथाह भण्डार भएको देशका प्रत्येक गाउँमा यस्ता गर्जन गुन्जिरहुन् भन्ने कामना व्यक्त गरेकी छिन् भवानीले । यी पंक्ति पढ्दै गर्दा मलाई उज्यालोका दूत कुलमान घिसिङको सम्झना आउँछ । जसले लामो लोडसेडिङको अँध्यारोबाट नेपाली जनतालाई मुक्त गराएका थिए तर जलविद्युत् आयोजनाले माछाको पारिस्थितिक सन्तुलन बिगारेको हुन्छ । खोलाबाट पानी डाइभर्सन गरिदा सिँचाइ प्रभावित भएको हुन्छ । यस्ता आयोजनाको नकारात्मक पक्षतर्फ भने भवानीको दृष्टि त्यति पुगेको देखिँदैन ।

सोलर प्यानल जडान गरी बत्ती बालिएको अवस्था विकासको अर्को नमुना हो । सौर्य ऊर्जा जलविद्युतभन्दा वातावरणमैत्री मानिन्छ किनकि यसको कार्बन फुटप्रिन्ट कम हुन्छ । लेखकलाई वातावरणका यस्ता विषयबारे जानकारी भए पनि अलि सुक्ष्मरूपमा यसबारे लेखेको पाइन्न । ऊर्जा उत्पादन र इन्धन उत्खननजस्ता गतिविधिले जलवायु परिवर्तनमा तीव्रता ल्याउँदै प्रकृतिको क्षयीकरण गरिरहेको छ । यस्ता विषयमा साहित्यकारले अझ गहिरिएर ध्यान दिनपर्ने देखिन्छ ।

सडक, विमानस्थल, भ्यू टावर, या ड्याम निर्माण मात्र विकास होइनन्; वैज्ञानिक अध्ययन, अनुसन्धान र आविष्कार गर्नु पनि दिगोविकासकै एउटा पक्ष हो । सगरमाथा क्षेत्रमा “एभरेष्ट काराकोरम सेन्टर फर नेसनल रिसर्च” नामको यस्तै संस्था रहेछ । हिमाली क्षेत्रमा अक्सिजनको कमीले पार्ने असर, कति मात्रामा प्रदुषण छ, कुन दरले बढदै छ, र यसले कस्तो असर पार्दैछ भन्नेबारेमा अध्यन अनुसन्धान गरिँदो रहेछ त्यहाँ । टेक्टोनिक प्लेट मुभमेन्टका कारण जमिन कति मात्रामा सरिरहेको छ, सगरमाथाको उचाई बढदै छ कि घटदै छ जस्ता कुराचाहिँ आएका छैनन् । ‘छालबाटो’ नियात्रा संग्रह लेख्ने रमेश भुसाल भएका भए शायद सगरमाथाको उत्पतिको इतिहास, वर्तमान, र भविष्यनै उल्लेख गर्थे होलान् । जसरी गरेका छन् तिनले हिम श्रृङ्खलाको उत्पतिको कथा ‘छालबाटो’मा ।

पर्यटकले तिरेको रकम स्थानियस्तरमै पदमार्ग निर्माण र त्योसको स्तरोन्नतिमा खर्चिँदो रहेछ । यो एउटा पर्यापर्यटन र हरित अर्थतन्त्रको उदाहरण हो । यस्ता नीतिलाई दिगोविकासको नीति भनिन्छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जको नर्सरीमा स-साना बिरुवा हुर्काइँदै गरेको दृश्य वर्णन गर्दै भवानी लेख्छिन्, “आजका नर्सरी भोलिका वन हुन्; जहाँ वन हुन्छ, त्यहाँ स्वस्थ पर्यावरण हुन्छ ।”

यसरी पर्याचेत नहुँदो हो त शायद उनले यस्ता विषयलाई छुँदैन थिइन् होला ।

जलवायु परिवर्तन

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे पनि लेखक अत्यन्त सचेत देखिन्छिन् । तीस वर्षअघि सोनामले देखेको पाटन क्षेत्रमा अहिले ग्लेसियर हलचलको कारण दूधकोशी बगिरहेको छ । पहिले धेरै पर बग्ने खुम्बु हिमनदी अहिले मोरेन र ढिस्का उठाउँदै, जमिन उधिन्दै बस्तीको छेउसम्म आइपुगेको चित्रण गरिएको छ । यही गतिमा ग्लेसियर अघि बढिरहे अबको दस बीस वर्षमा फेरि चेवासीको उठीबास हुन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

जलवायु परिवर्तनको सबैभन्दा संवेदनशील सूचक हिमनदीको अस्वाभाविक पग्लाइ हो । परिणामस्वरूप नयाँ हिमतालहरू निर्माण भैरहेका छन् । तिनको तीव्ररूपमा बिस्तार भैरहेको अवस्थामा जुनसुकै पनि बेला फुट्न सक्छन् तर आफ्नै स्वार्थपूर्तिकालागि भौँतारिरहेको मानवजातिले जलवायु संकटलाई गम्भीरताका साथ लिएको देखिँदैन । लेखकका यस्ता अभिव्यक्तिले उनलाई जलवायु सचेत स्रष्टाका रूपमा प्रस्तुत गर्दछ ।

सगरमाथा क्षेत्रमा हिमनदीको मार्ग कहिले मेटिन्छ, कहिले मोडिन्छ- यसको निश्चितता हुँदैन । वैज्ञानिक दृष्टिले हिमनदी दीर्घकालसम्म जमेको हिउँको विशाल संरचना हो, जुन आफ्नै तौल र गुरुत्वाकर्षणका कारण अत्यन्त धीमा गतिमा सरिरहेको हुन्छ । ग्लेसियर भन्ने कुरा जमिन मुनिको भोल्क्यानो जस्तो हुँदो रहेछ कुनै बेला पनि विस्फोटन हुन सक्ने । असार २०८२ मा भोटेकोशीमा आएको बाढी र मितेरी पूलको विनाश यस्तै गतिविधिले भएको होला भन्ने लाग्छ मलाई । हिमनदी के हो भन्ने विज्ञानले प्रमाण गरेको कुरालाई साहित्यिक जलप लगाएर यसरी व्यक्त गर्छिन् भवानी- वर्षौंदेखि जमेर बसेको हिउँमाथि थुप्रिएका ढुङ्गा, माटो, पोखरी, नदी र बगरको साझा बिम्ब रहेछ । हिमनदीले जमिनभित्रका विशाल ढुङ्गालाई जुरुक जुरुक उचालेर सतहमा पल्टाइदिँदो रहेछ । पहाडजत्रा ढिस्का उठाइदिँदो रहेछ । जमिनको सतहलाई पट्ट फुटाएर पोखरी जन्माइदिँदो रहेछ । सर्पले भ्यागुतो निलेसरि सर्लक्कै निलेर धर्तीभित्र लुकाइदिँदो रहेछ । समथर जमिन उधिनेर पहाड उभ्याइदिँदो रहेछ ।

कास ! एक भूगोलविदले भवानीले जस्तै पृथ्वीको भूगर्भलाई अभिव्यक्त गर्ने कला होस् ताकि साधारण पाठकमाझ भूगर्भीय ज्ञान बाँड्न सकियोस् ।

आजकल क्लाइमेट फिक्सन (क्लाइ–फाइ) विश्वव्यापी रूपमा विकसित हुँदै गएको साहित्यिक प्रवृत्ति हो । यस अनुसार जलवायु परिवर्तनले पारेको वर्तमान संकट वा भविष्यका सम्भावित असरलाई साहित्यिक सिर्जना- विशेष गरेर कथा, उपन्यासमार्फत् अभिव्यक्त गरिन्छ । नेपाली साहित्यमा यस धारको प्रयोगको सम्भावना ज्यादै देखिन्छ । भवानीले जलवायु परिवर्तनसम्बन्धि यस्ता विषय प्रणाम सगरमाथा मा उठाइरहँदा उनले भविष्यमा क्लाइमेट फिक्सन लेख्ने प्रचुर सीप, ज्ञान र अनुभव पनि संकलन गरिसकेकी छिन् जस्तो लाग्छ ।

पर्यावरण र आदिवासी

तीव्र आर्थिक विकाससँगै विश्वको जैविक विविधता ह्रासोन्मुख बन्दै गएको छ । सन् १९७० यता स्तनधारी, चराचुरुङ्गी, माछा र सरीसृपहरूको संख्यामा करिब ७० प्रतिशतसम्म गिरावट आएको तथ्यांकले संकेत गर्छ । यस्तो सङ्कटको घडीमा विश्वका करिब ८ प्रतिशत आदिवासी समुदायले पृथ्वीको ८० प्रतिशत जैविक विविधता जोगाउन उल्लेखनीय भूमिका खेलेका छन् भनिन्छ । यसको मूल कारण उनीहरूको सरल जीवनशैली हो । उनीहरू प्रकृतिबाट आवश्यकताभन्दा बढी लिँदैनन् । विकसित राष्ट्रका संवृत्त मानिसहरूजस्तो उपभोक्तामूखि हुँदैनन् । प्रकृति र मानिस दुवैको सहअस्तित्वमा विश्वास राख्छन् । प्राकृतिक प्रकोपसँग जुध्न उनीहरूले जैविक र आफ्नै स्थानीय उपाय अपनाएका हुन्छन् । वातारणमा अनुकुलन हुँदै आफ्नो सुरक्षित बसोबासका लागि प्रकृतिको विनाश गर्दैनन् । त्यसैले समकालीन साहित्यले प्रकृति संरक्षणमा आदिवासी योगदानलाई सम्बोधन गर्नु अपरिहार्य देखिन्छ । यस नियात्रासंग्रहमा भवानीले यस्ता जीवनबोधलाई पनि साहित्यिक संवेदनासहित अभिव्यक्त गरेकी छन् ।

ब्वाँसोले चौरी, याक, घोडा, राति गोठमा आएर खाइदिँदो रहेछ । ब्वाँसोलाई तर्साउन उज्यालो नछर्ने रातो बत्ती गोठमा झुण्ड्याइँदो रहेछ । यो देखेर भवानीले कौतुहलता पुर्वक एकजना स्थानियसंग गरिएको संवाद बडो रोचक छ । स्थानिय आदिवासीहरू कस्तो सहअस्तित्वमा बाँच्न जानेका ! ब्वाँसोलाई बन्दुकले मार्नु या पासोमा पार्नुभन्दा यस्तो वातावरणमैत्री जुक्ति प्रयोग गर्दा रहेछन् ।

झारललाई स्थानियहरू वनबाख्रा भन्दा रहेछन् । यो ब्वाँसोको आहारा रहेछ । ब्वाँसोबाट जोगिन झारलहरू बस्तीनजिक आउँदा रहेछन् । मान्छेकै समीपमा बस्दा सुरक्षित महसुस गर्दा हुन् । जसरी चितवनमा गैँडा बजारतिर बरालिएको देखिन्छ, त्यो उनीहरू जीवित रहन गरिएको अनुकूलनको अभ्यास हो । यसरी आदिवासी बस्तीमा उनले देखेका यस्ता ज्ञानलाई उपदेशका रूपमा बाँड्न लेखिका सफल देखिन्छिन् ।

निष्कर्ष

पर्यासमालोचनाको दृष्टिले हेर्दा ‘प्रणाम सगरमाथा’ पर्यावरणीय चेतना र सौन्दर्यबोधको संगम हो । यसले प्रकृतिको रमणीयता मात्र चित्रण गरेको छैन, पाठकमा संरक्षण चेतना र उत्तरदायित्व जगाउने प्रयत्न पनि गरेको छ । त्यसैले यो कृतिले समकालीन नेपाली पर्यासाहित्यमा उल्लेखनीय स्थान ओगटेको छ ।

पर्यावरणीय मुद्दालाई भाव र बिम्बका कोमल स्पर्शले सजाएर अभिव्यक्त गर्ने कला नै यस कृतिको शक्ति हो । प्रकृतिको सुन्दरता होस् या त्यसको कठोरपना- दुवै पक्षलाई हृदयस्पर्शी संवेदनाका शब्दहरूले सजाएर लेखिएको यो नियात्रा रोमान्टिसिज्मको जीवन्त उदाहरण हो । सगरमाथा क्षेत्रको प्राकृतिक छटा, हिमाली जैविक विविधता, हिमनदीको अस्तित्व र पारिस्थितिक संवेदनशीलताको जीवन्त चित्रणले कृतिलाई प्रकृतिकेन्द्रित बनाएको छ । सगरमाथाको केवल भौगोलिक उचाइ मात्रै नभई यसको सौन्दर्यात्मक उचाइलाई पाठकले हृदयङ्गम गर्नेगरि प्रस्तुत गरिएको छ । यस अर्थमा भवानी एक स्वच्छन्दतावादी लेखिकाका रूपमा आफूलाई उभ्याएकी छिन् ।

भविष्यमा अझ गहिरो पर्याचेतनाले भरिएका कृतिको अपेक्षासहित भन्छु- ‘प्रणाम सगरमाथा’ स्वच्छन्दतावादी अभिव्यक्तिले सिङ्गारिएको एक पर्यासंवेदनात्मक नियात्रासंग्रह हो ।

नेपाली साहित्यमा यति सुन्दर कृति समर्पण गरेकी सगरमाथाकी पुजारी भवानीलाई मेरो सलाम छ !

प्रणाम छ उनको ‘प्रणाम सगरमाथा’लाई !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.