दाङ । घोराहीमा साहित्यकार एकराज शर्मा अधिकारीको चौथो कृति ‘रचना कुसुम’ (असतोमा सत्गमय) विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित विशेष समारोहबीच कृति सार्वजनिक गरिएको हो ।
कार्यक्रममा लोकसाहित्य अनुसन्धानकर्ता डा. गोविन्द आचार्य प्रमुख अतिथि तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै पदमप्रसाद शर्माले ‘रचना कुसुम’ लाई नेपाली साहित्यको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार कृतिले मानवीय संवेदना र आध्यात्मिक चेतनालाई सरल तर गहिरो शैलीमा प्रस्तुत गरेको छ । उपशीर्षक ‘असतोमा सत्गमय’ ले पाठकलाई सत्यतर्फ डोर्याउने सन्देश दिने उहाँको धारणा थियो ।
कार्यक्रममा दीपक शर्मा ‘समीर’, डा. लोकराज पराजुली तथा पत्रकार सबिन प्रियासनले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिको सफलताको कामना गर्नुभयो । वक्ताहरूले लेखकको दीर्घ साधना र अनुभवको प्रतिफलस्वरूप कृति आएको उल्लेख गर्नुभयाे ।
लेखकका तर्फबाट ईश्वरीप्रसाद शर्मा अधिकारीले कृतिको पृष्ठभूमि प्रस्तुत गर्दै उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रम राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
आध्यात्मिक चेत र मानवीय मूल्यलाई उजागर गर्ने कृतिका रूपमा ‘रचना कुसुम’ले पाठकमाझ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

