साहित्यपोस्ट डट कम

एकासीवटा पुस्तक लेख्ने मुक्ति बराल अब कथा लेखनतिर

एकासीवटा पुस्तक लेख्ने मुक्ति बराल अब कथा लेखनतिर

यसमा रहेका उनका केही कथामा असमेली परिवेश पनि प्रतिबिम्बित भएको छ । असमको ब्रह्मपुत्र नदी त्यहाँको जनजीवनको आधार बनेको छ । असमेली कृषि, संस्कृति र सभ्यताको आधार बनेको छ ।

00000

१. एकासीवटा पुस्तकका धनी सिलगडीका मुक्ति बराल

सिलगडी भारतका नेपाली साहित्यकारका मौलिक र अनूदित गरी जम्मा एकासीवटा पुस्तक प्रकाशित भएका छन् । यो लरतरो उपलब्धि होइन । फेरि यहाँले संख्या देखेर मात्रात्मक मात्र यत्रो संख्या ठान्नुहुन्छ होला, होला उनका प्राय सबै कृतिहरू गुणात्मक पनि छन् । यसर्थ, मात्रात्मक र गुणात्मक दुवै किसिमबाट उत्कृष्ट कृति समर्पित गर्ने यी मुक्ति बरालको सही मूल्याङ्कन भने भएको छैन । उनी आफ्नो जीवनलाई साहित्यमय बनाउने, साहित्यमा डुब्ने साहित्यमा रमाउने साहित्य सर्जक हुन्छन् ।

मुक्ति बराल एक बहुप्रतिभाशाली साहित्यकार हुन् । उनी नेपाली साहित्यको समृद्धिमा दिनरात लागिपरेका छन् । उनी त वर्षेपिच्छे विभिन्न विधाका पुस्तक प्रकाशित गर्छन्, साहित्यिक गोष्ठी, पुस्तक विमोचन, वार्ता आदिमा सक्रिय रूपमा उपस्थित हुन्छन् । उनी दिनरात साहित्य अध्ययन, मनन लेखन आदिमा सक्रिय छन् । उनी आफ्नो शिक्षकको नोकरीमा छँदा आफ्नो सिर्जनालाई अघि बढाएका हुन् । उनी विद्यार्थीहरूलाई पनि साहित्यिक बनाएका थिए । सेवानिवृत्त भएपछि उनी अझ सक्रिय भएर साहित्य सेवामा लागिपरेका छन् । उनी एक लेखक, सिनेमा कलाकार, नाटककार, नाट्यनिर्देशक भएर काम गरेका छन् । उनले आफ्नो जीवनलाई विभिन्न सिर्जनात्मक काम गरेर सार्थक तुल्याएका छन् ।

लौ त बरु

सन् १९७१ मा ‘आखिर मेरै दिमाग न हो’ भन्ने कविता लिएर साहित्यमा उत्रेका मुक्ति उपाध्याय बरालका युवावस्थादेखि नै नाट्याभिनयमा संलग्न थिए । उनी विद्यालय र कलेज पढ्दा नाटकतिर सक्रिय रूपमा भाग लिन्थे । बेलैदेखि उनी साहित्यिक बन्धुहरूसँग संगत थियो । उनी गुवाहाटीलगायत असमका अन्य ठाउँका साहित्यिक कार्यक्रमतिर भाग लिन जाने गर्थे । अविनाश श्रेष्ठको नेतृत्वमा गठन भएको कोलाज कविता आन्दोलनमा उनी पनि सक्रिय रूपमा परोक्ष रूपमा संलग्न थिए । उनी गुवाहाटी छोडेर सिलगड़ीमा बस्न थालेदेखि पनि अझ सक्रिय रूपमा साहित्य लेखन, नाट्यअभिनय आदिमा संलग्न छन् । उनी साहित्यका निम्ति सदैव मरिमेट्ने, जोसिला, हँसिला, ऊर्जावान् व्यक्तित्व हुन् । मुक्ति बराल असमले गुमाएको तर दार्जिलिङले पाएका साहित्यिक रत्न हुन् ।

उनका मौलिक सृजनात्मक, अनुवाद र सम्पादन गरी एकासीवटा पुस्तक प्रकाशित छन् । यसमा अट्ठाइसवटा मौलिक, बीसवटा अनुवाद र तीसवटा सम्पादनका पुस्तक सामेल छन् । मौलिकभित्र कथा, उपन्यास, नाटक निबन्ध, समीक्षा, नियात्रा, संस्मरण रहेका छन् ।

उनी केही अनुवाद, बालसाहित्य, भाषिक कार्यशाला आदिमा पनि सक्रिय रूपमा उपस्थित हुन्छन् । उनी साहित्य अकादमी, भारतीय पुस्तक न्यास, भारतीय भाषा संस्थान- मैसूर, सिलगढी देवकोटा सङ्घ, बालकृष्ण समिति- शास्त्रीनगर, समाजसेवा समिति, शास्त्रीनगरतिर धेरै सामाजिक, साङ्गीतिक, नाट्य आदिमा सक्रिय रूपमा कार्य गरेका थिए । उनी असममा छँदा ‘असम गोर्खा सम्मेलन’, सांस्कृतिक सचिव रही त्यसमा नाटक मञ्चन गरेका थिए । ‘अल गुवाहाटी नेपाली विद्यार्थी सङ्गठन’का कोषाध्याक्ष थिए । त्यसका माध्यमबाट पनि नाट्य मञ्चन गरेका थिए । प्रेमसिंह सुवेदी, गोपाल नेवार आदि मिलेर गठन गरेको ‘नेपाली कला परिषद’ मा पनि उनी नाट्य मञ्चन गरेका थिए । अविनाश श्रेष्ठ गुवाहाटी छँदा उनीसित पनि केही नाट्य र साहित्यिक कार्यमा सक्रिय भूमिका खेलेका थिए । सिलगडीमा उनीहरू मिलेर ‘एसोसियसन अव नेपाली ड्रामाटिस्ट’ खोलेका थिए । त्यसमा कृष्ण प्रधान, मुक्ति उपाध्याय, गणेश छेत्री आदिले केही नाटक मञ्चन गरेका छन् ।

यसरी हेर्दा उनी एक नाटककार नाट्यकलाकार, नाट्यनिर्देशक, नियात्राकार, निबन्धकार, गीतकार, समीक्षक, कथाकार अनुवादक आदि हुन् । उनी चलचित्रका अभिनेता, निर्देशक र पटकथा लेखक, संवाद लेखक पनि हुन् । उनी प्राज्ञिक रूपमा अघि देखिन्छन् । उनले आफ्नो जीवनको शिक्षणकालमा पनि आफ्नो धेरै विद्यार्थीलाई पनि नाट्य अभिनयको प्रशिक्षण दिएका छन् । उनको प्रतिभा एक प्रकारले भन्नु हो भने विभिन्न विधामा छरिएको छ । यद्यपि सबैभन्दा माथि उनको प्रतिभा नाट्यविधामा केन्द्रित देखिन्छ । सबैभन्दा बढी उनी नाटक विधामा रमेका र जमेका छन् ।

२. कथासङ्ग्रह ‘लौ त बरु’

उनको कथासङ्ग्रह भने प्रकाशित भएको थिएन । यो अपूर्णता पनि पूर्ण पूर्ण भएको छ । यसै वर्षको अप्रेल ५ का दिन सिलगड़ीमा एउटा भव्य अनुष्ठानका बीच उनको लौ त बरु भन्ने कथासङ्ग्रहको विधिवत् लोकार्पण भयो । यसमा रहेका एघारवटा कथाले बाह्रै किसिमका भाव, कथ्य, विषयवस्तु र सामाजिक यथार्थलाई समातेका छन् । कथाहरू पाठकप्रिय रोचक बान्कीमय छन् । प्राय छोटा छोटा कथाहरूमा पाठकलाई मन पर्ने विषयवस्तु पाउन सकिन्छ । धूर्तता, भ्रष्टाचार, यौनचाहना, स्वार्थता, दुराचार, आदि विषयलाई समातिएको छ । यसमा रहेका एकेक कथाले विविध कथ्यकथन, परिवेश चित्रण, चरित्राङ्कन, भाषिक सिप आदि प्रस्तुत गरेका छन् ।

पहिलो कथा ‘लौ त बरु’ मा मानिसको स्वार्थी प्रवृत्तिमाथि व्यङ्ग्य कसिएको छ । चारजना मायाहरूले कसरी आफ्नो घरअघिको मरेको गोरुका समस्याको युक्तिपूर्वक समाधान गर्दछन् । आफूले भोट हालेर जिताएकी नगरअध्यक्षा र अन्य सरकारी निकायहरूले कुनै सहयोग नगरेपछि यो चलाख र धूर्त समाजका निम्ति आफू पनि उस्तै धूर्तता गरेर नै आफ्नो काम बनाउन सकिन्छ नत्र कसैले हेर्दैन । मान्छे नै सबैभन्दा दुष्ट जाति हो । समाज र युग जतिसुकै विकसित भए पनि मान्छेभित्रको कल्मष र स्वार्थपन कैल्यै मेटिँदैन । कार्यालयको ढिला-सुस्ती, अकर्मण्यता, चाप्लुसीपन, राजनैतिक आडम्बर, गलत मान्छेहरू राजनीतिमा लाग्दा समाजले बेहोर्नुपरेको कठिनाइ आदिलाई यथार्थ रूप देखाइएको छ । मानिस कसरी आफ्नो काम बनाउन विभिन्न युक्ति लगाउँछन्, कतिसम्म गिर्छन्, नैतिकता हराउँछन् भन्ने देखाइएको छ । हाम्रो समाज नै यस्तै स्वार्थप्रेरित बनेको कुरालाई कथामा समेटिएको पाइन्छ । प्रत्येक कथामा एकेकवटा कथ्यलाई विभिन्न उपकरण, उपकथ्य, घटना-उपघटना आदिलाई संयोजन गरिएको छ ।

म अनि कर्म कथामा भने दाम्पत्य जीवनको उतारचढावलाई देखाइएको छ । धर्म र कर्मको सही तालमेल संयोजन हुनुपर्छ । धर्म गर्ने नाममा घरका कर्म र कर्तव्य निभाउन पनि अनिवार्य छ । बसन्तले घरमा पूजा गर्ने बहाना र बसन्तीले बुढाको रिसले नानी नहेर्दा नानी लडेको अवस्था छ ।

डर कथामा मान्छेका स्वार्थी स्वभावलाई दर्शाइएको छ । मान्छेलाई कतै जान हतार भए पनि आपतविपतका बेलामा त्यो हतार सबै विलुप्त हुन्छ । रातको समयमा एउटा अभर परेको बसगाडीका यात्रुहरूमा देखिएको उद्विग्नता, मानिसहरूको वास्तविक परिचय देखाइएको छ । जवान र हेर्दा बलवान हुनेको मनभित्र डर बढी हुने देखाइएको छ । मनको डर नै मानवीय कमजोरी हो ।

ब्वाँसो कथामा पनि मानवीय लोभ, लुच्चापन, चोरी कामुक्तता आदिजस्ता कमजोरी बढी रहेका छन् । अहिले मान्छे ब्वाँसो र जङ्गली जनावरभन्दा हिंस्रक कुटिल, असंवेदनशी बनेको छ भन्ने दर्साइएको छ । गाउँको कुखुरा चोर्न अब जङ्गलबाट स्याल र ब्वाँसाहरू आउन पर्दैन बरु गाउँकै मान्छेलाई केहीले नपुगेर अर्काको कुखुरो चोर्छन्, धन लुट्छन्, धुत्छन्, खोस्छन् । मान्छेले नै जङ्गल सखाप पारे, वन्यप्राणी मासेर आफैं मात्र बाँच्ने उपक्रमम गरे, रूख काटेर वन-जङ्गल र हरियो सम्पदा ध्वस्त बनाए । मान्छेभित्रको लोभ, चोरी-चकारी, हिंसा, कामुकता आदि रहेकाले मान्छे जङ्गली पशुभन्दा नीच बन्न पुगेको छ ।

हरिबहादुर कथामा समाजका कुतत्त्वहरू कसरी दुई नम्बरी धन्धा गरेर रातारात धनी हुन्छन् । जमिनको दलाली गरेर धेरै सम्पत्ति कमाइहाल्छन् अनि वेतन थोरै हुने इमानदार शिक्षकलाई पनि कहिलेकाहीँ निराश भएर म पनि यस्तै चाँडै धन कमाउने धन्धा समात्नुपर्ला भन्ने भावना उब्जिने गर्दछ । यद्यपि शिक्षकले यस्तो कुरामा विचलित हुनुहुँदैन । शिक्षक भनेपछि समाजले जुन आदर्श र सत्कारका रूपमा हेर्छ त्यो नै अमूल्य छ जुन स्थायी हो । छोटो बाटोबाट धन कमाउनेको धन अडिँदैन र पछि त्यो समस्यामा पर्न सक्दछ । दुई नम्बरी धन्धा गर्ने कामको घुसको सहयोगले पुलिसले पनि ढाकछोप गरिदिने व्यवस्थाप्रति ठुङ मारिएको छ । अर्को कथा अतृप्त को मूल विषयवस्तु यौन हो । मान्छेलाई भोक तिर्खा जस्तै आधारभूत आवश्यकता हो । मान्छेले यौनतृप्तिका लागि जुनै नैतिक अनैतिक जे काम गर्न पनि सक्छन् । कथामा गीता भन्ने युवती बिहा भएर पनि लोग्नेबाट यौन असन्तुष्टि भएर त्यसलाई पूर्ति गर्न विभिन्न युक्ति लगाउँछे । गीताले राती नुहाउनु, बाल उमेरको अमरलाई आफूसित सुताउनु, आफू नाङ्गै सुत्नु, अमरलाई खोलामा लानु र उसको लुगा खोलिदिनु, नजानिँदो गरी गुप्ताङ्ग छोइदिनु आदि क्रियाकलाप गर्छे । अन्तमा मनिष भन्ने आफ्नो पहिलेको सहपाठी युवकसित पोइल जान्छे । उसको यौन अक्षम लोग्ने माधवबाट उसको यौन चाहना पूरा नहुँदा अन्तमा उ अर्कोसित पोइला गएर पूरा गर्छे । रामकुमार कथामा रामकुमार र पवनलालका बिचमा मानसिक, चारित्रिक, सांस्कारिक भिन्नता देखाइएको छ । रामकुमार आडम्बरी, धूर्त, चलाख दुर्जन स्वभावको छ तर यता पवनलाल भने सोझो, सज्जन शिक्षित सुसंस्कारको छ । रामकुमारको व्यक्तिगत जीवन भने राम्रो भएन । उसकी स्वास्नी पोइल गई, उ पनि कुटपिटको शिकार भयो । उनी कथालाई विभिन्न तरिकाले कथ्यको सिर्जना गरेका छन् ।

कथाभित्र लेखक लुकेका छन्-

मुक्ति बरालका यी कथाहरूलाई समग्रमा अध्ययन गर्दा यसमा लेखक प्रायःजसो कथाभित्र कुनै न कुनै पात्रको आडमा लुकेका छन् । कुनै न कुनै पात्रको विचार लेखकीय आदर्श विचार छरिएका छन् । यथार्थवादभित्र नै लेखकीय आदर्शवाद लुकेका छन् । यसमा यथार्थवादका पनि विशेषगरी विकृतावस्था देखिएका छन् । वर्तमान समयको विखण्डित घर-परिवार, व्यक्ति चरित्रचित्रण, सामाजिक, आर्थिक, भौगोलिक, सांस्कृतिक अवस्थालाई यथार्थवादका रूपमा प्रस्तुत गरिएको छ । अतृप्त कथामा गीताको गतिविधिलाई यौनमनोवैज्ञानिक कथाका रूपमा मान्न सकिन्छ । मानिसलाई यौन पनि एउटा अति आवश्यक कुरा हो । यसको अभावमा मान्छे कुण्ठित हुन्छ । यो एक प्रकारको उर्लँदो भेल जस्तै हो जसलाई ठिकसित तह लाएन भने यो पोखिएर अनैतिक पनि बन्न सक्छ । हाम्रै देश र समाजको राजनैतिक, नैतिक आदिमा आएको ह्रासलाई राम्ररी केलाइएको छ । उनका यी कथाहरू पढ्दा अचेल दिनानुदिन मान्छे चलाक, धूर्त, स्वार्थी, स्वकेन्द्रित, धन लम्पट, चरित्रहीन, संवेदनहीन बन्दै गएको अवस्था देखाइएको लाग्छ । सामाजिक यथार्थभित्रका विभिन्न सकारात्मक र नकारात्मक पक्षहरूलाई कथाका विषयवस्तु बनाइएको छ । समाज र व्यक्तिबिचको सम्बन्धलाई विभिन्न कोण-प्रतिकोणबाट हेरिएको छ ।

यसमा रहेका कथाहरूलाई सर्सर्ती एकपटक अध्ययन गरे मात्रै पनि वर्तमान युगमा मान्छे बाँच्नुपर्दा चलाक, धूर्त भएर बाँच्नुपर्दछ नत्र युगको चपेटामा परेर बाँच्नै कठिन हुन्छ भन्ने तीतो यथार्थ प्रस्तुत गरिएको छ । लौ त बरु कथामा अबका जनता नेताभन्दा बाठा र धूर्त बन्नुपरेको बाध्यता देखाइएको छ । डर कथामा व्यर्थका कामकुराभन्दा ज्यान ठुलो बन्छ, धर्म कथामा धर्मका नाममा पाखण्डलाई अघि लाउने प्रवृत्ति देखाइएको छ । ब्वाँसो कथामा जङ्गली जनावर ब्वाँसोभन्दा मान्छे डरलाग्दो, चोर फटाहा बनेको स्थिति देखाइएको छ । अतृप्त कथामा मानिसमा दमित यौनकुण्ठालाई परिपूर्ति गर्न पहिलेको लोग्नेलाई छाडेर दोस्रो लोग्ने खोजेर निकासको मार्ग अवलम्बन गरेको देखाइएको छ । हरिबहादुर कथामा पनि फटाहा पात्र हरिबहादुरलाई बाध्यतावश साथी बनाउन परेको र कसरी उसले मित्रताको फाइदा उठाएर सोझा सज्जन मास्टरलाई प्रयोग गरेको, पुलिससित पारा मिलाएर उसले कुटपिट गरेको मुद्दा समेत सामसुम पारेको यथार्थ छ । रामकुमार कथामा पनि राकुमार भन्ने फटाहा, धूर्त मान्छेले अनेक अनैतिक क्रियाकलाप गरेको तर समाजका मान्छेले यस्तै मान्छेलाई समाजसेवकको पदवी दिने गरेको बिडम्बना देखाइएको छ । तलतल कथामा पनि बिँडी पिउने लत लागेकालाई अबदेखि कहिले खान्नँ भन्ने कसम र वाचा कसरी तोडिन्छ भन्ने देखाइएको छ । कोठा नं. ११३ कथामा कसरी मानिस अविश्वासिला, कुत्सित मनोभावका, डाँका फटाहा हुन्छन् भन्ने देखाइएको छ । सन्तुष्टि कथामा भने एउटा आदर्श परिवारको आदर्शता प्रस्तुत गरिएको छ भने तामुमा भएको प्रेमकथा भने म्यानमारकी माया र मणिपुरका गगनका बीच वार्तालापका सिलसिलामा प्रेम बसेको र म्यान्मारको सरकारको आँखा छलेर दुईजनाको विवाह भएको रमाइलो कथा बुनिएको छ ।

यसमा रहेका कथाहरू प्रायः ग्रामीण परिवेशको रहेका छन् । यसले सिलगडी, दार्जिलिङ, डुवर्स, असमका विभिन्न स्थलहरूलाई समेटेको पाइन्छ । लेखकको किशोरावस्थासम्म गुवाहाटीतिर जीवन बितेको थियो । उनको कृतित्व र व्यक्तित्वमा समेत असमीय प्रभाव पाइन्छ । यसमा रहेका उनका केही कथामा असमेली परिवेश पनि प्रतिबिम्बित भएको छ । असमको ब्रह्मपुत्र नदी त्यहाँको जनजीवनको आधार बनेको छ । असमेली कृषि, संस्कृति र सभ्यताको आधार बनेको छ । यसमा रहेका केही कथामा ब्रह्मपुत्र नदीको प्रभाव झल्किएको छ । यसमा भौगोलिक र मानसिक परिवेशलाई राम्रोसँग उतारेका छन् । पात्रका मनभित्र भएका करुणा, उद्वेग, क्रोध, हास्य, उद्विग्न आदिलाई मानसिक परिवेशका रूपमा मान्न सकिन्छ ।

सुललित भाषा प्रयोग

मुक्ति उपाध्याय बराल एक भाषा र शिल्प सचेत साहित्यकार हुन् । उनी आफ्ना कृतिमा ठेट नेपाली शब्दलाई बढी प्राथमिकता दिन्छन् । जतिसक्दो चलनचल्तीको भाषा र शब्दलाई प्रयोग गरिएको पाइन्छ । पाठकलाई कथाको बारेमा सुनाउँदा पाठकले बोल्ने आम भाषामा अभिव्यक्ति गरिएको छ । यसमा व्याख्यापरक शैली अपनाइएको छ । कथाहरू सरल, सुललित र साधारण ढङ्गबाट अघि बढाइएको छ । कुनै कथामा मुख्य घटना घटना कहाँनेर घटाउने भन्ने कुरामा उनी सचेत छन् । अधिकांश कथामा अन्तमा मुख्य घटना घटाइएको छ । यसमा सरल भाषामा प्रभावकारी प्रस्तुति गरिएको छ । सरलतामा सरसताले गर्दा पाठकलाई उनका कथाहरू रुचिकर लाग्छन् । यसमा मूलतः दुई किसिमको भाषाको प्रयोग भएको छ- लेखकीय र पात्रगत । यसमा लेखकले जतिसक्दो मानक र स्तरीय नेपाली भाषाको प्रयोग भएको छ । अर्को पात्रगत भाषा हेर्दा पात्रको मानसिकता, शैक्षिक स्तर, संस्कारस्तर, सामाजिक परिवेश आदिका आधारमा प्रयोग भएको छ । लौ त बरु, डर आदि जस्ता कथाहरूमा संवाद योजना राखिएको छ ।

मूल्याङ्कन र उपसंहार–

नेपाली साहित्यमा एक बहुप्रतिभाशाली सर्जक मुक्ति उपाध्याय बराल अब कथा साहित्यमा पनि देखा परेका छन् । परम्परागत कथागत प्रवृत्ति र पद्धतिभन्दा केही भिन्न खालका कथाहरू रहेकी लौ त बरु कथासङ्ग्रह देखा परेका छन् । यसमा रहेका एघारवटा कथाहरूमा भिन्नाभिन्नै स्वाद र बान्कीका छन् । यसमा रहेका प्रत्येक कथाहरूले केही न केही सन्देश दिएका छन्, समाजभित्र दिनदिनै घटिरहने साना ठुला घटना र प्रसङ्गलाई राम्रोसँग बुनेर राम्रा राम्रा कथा सिर्जना गरिएको छ । समग्रमा हेर्दा मुक्ति उपाध्याय बरालको कथासङ्ग्रह ‘लौ त बरु’ नयाँ ढाँचा, शैली, विषयवस्तु, सन्देश बोकेर पाठक सामु आएको छ । यसलाई पाठक समाजले अवश्य नै रुचि लिएर पढ्नेछन्, रसास्वादन गर्नेछन्, आफ्नो समाजभित्रका कुरालाई नियाल्ने छन्, रमाउने छन् कतै गम्भीर हुनेछन् ।

मुक्ति उपाध्याय साहित्यिक सिर्जनामा सक्रिय छन् । उनको प्रस्तुत कथासङ्ग्रहका जम्मा एघारवटा कथाहरूमा जीवनका विभिन्न पक्षहरूलाई केलाएको छ । कथाका कथावस्तु, पात्रविधान, संवाद योजना, परिवेशविधान, भाषा र शैली आदि सबै पक्षमा कथाकार सचेत छन् । पाठकका निम्ति यसमा भएका सबै कथा रोचक र नौला लाग्छन् । कथाको रसास्वादन गरेर पाठकले जे जे अनुभूत गर्छन्, त्यही नै यस सङ्ग्रहको प्राप्ति हो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.