साहित्यपोस्ट डट कम

‘एक साँझ युवा माझ’ को सातौँ शृङ्खलामा राज लम्साल ‘यात्री’

‘एक साँझ युवा माझ’ को सातौँ शृङ्खलामा राज लम्साल ‘यात्री’

झापा । झापाली साहित्य समाजको आयोजनामा सञ्चालन हुँदै आएको ‘एक साँझ युवा माझ’ कार्यक्रमको सातौँ शृङ्खलामा मोरङका गीतकार तथा गजलकार राज लम्साल ‘यात्री’ प्रस्तुत हुनुभएको छ ।

बिर्तामोडस्थित अग्रज स्रष्टा केशव आचार्यको निवासमा सम्पन्न कार्यक्रममा गजलकार यात्रीको हालै प्रकाशित गजलकृति ‘यात्री’ माथि विमर्शसमेत गरिएको थियो ।

कार्यक्रममा गजलकार विवश बलिभद्र कोइरालाले कृतिमाथि आफ्नो धारणा प्रस्तुत गर्दै सङ्ग्रहमा समावेश दुई गजल वाचन गर्नुभएको थियो । उहाँले कृतिका विषयवस्तु, अभिव्यक्ति र गजल संरचनाबारे टिप्पणी गर्नुभएको थियो ।

स्रष्टा यात्रीले कृतिको नामकरण, रचनाको पृष्ठभूमि तथा सिर्जना प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा अग्रज स्रष्टाहरू केशव आचार्य, कृष्ण बराल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, लीला अनमोल, तुलसीप्रसाद भट्टराई, डिल्लीराम चापागाईँ ‘परदेशी’, कृष्ण काश्यप, हरि पराजुली, ज्ञानु बुढाथोकी, मिलन सङ्ग्रौला, रोमा निरौलालगायत तीन दर्जनभन्दा बढी स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्देश्यबारे विवेक निशानीले प्रकाश पार्नुभएको थियो । केशव आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन झापाली साहित्य समाजका अध्यक्ष हरि बरालले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.