आज म अतीत–स्मृतिले बारम्बार आफैंलाई पुकारेको अनुभव गर्दैछु । २०३० सालको कुरा हो म झापादेखि बी एड पढ\न कीर्तिपुर क्याम्पस गएँ । सरकारी कोटामा मोरङ जिल्लाले पठाएर किनभने उसबेला आज जस्तो गाउँ गाउँमा बी.एड. पढ्ने अवसर थिएन । त्यसमाथि २०२८ सालदेखि शिक्षा क्षेत्रमा काम गर्नेका लागि आई एड, बीएड गर्नु अनिवार्य गराइयो । नगरेकालाई तलबमाथि भत्ता नदिने र स्थायी पनि नगर्ने नियम आए । त्यो बाध्यात्मक भयो । त्यसैले त्यो प्रथम अवसर पाएर मैले टिपें ।
काठमाडौं आज जस्तो नजिक र सुगम थियो भने विराटनगर र इटहरीले त्यो अवसर उम्काउने थिएनन् । त्यो दुर्गम भएरै भित्री गाउँका जंगलका शिक्षकलाई चार सीट वितरण गरिए । तिनैमा म एक थिएँ झापा, दमकको सिरान बेलडाँगीको जंगलबाट । एक जना दिदी थिइन जयन्ती खतिवडा विराटनगरकी । उनले सोसिओलोजीमा पाइन्; अंग्रेजीमा ममात्र थिएँ । हाम्रो जिल्ला परेको यो दुई बर्षे वी एडको पहिलो व्याच थियो । त्यसैले म काठमाडौंतिर लागें ।
विशाल शहर काठमाडौं, देखेर म आत्तिएको थिएँ । निर्देशनअनुसार भोलिपल्ट कीर्तिपुर डाँडामा चढेर शिक्षा क्याम्पसमा बी. एड.मा नाम लेखाएँ, केही दिनमा प्रवेश परीक्षा भयो । अंग्रेजी मेजर पढ्न पाउने भएँ । त्यो दिन अरूले नदेख्नेगरी म नाचेको यति होइन किनभने “म अंग्रेजी निकै जान्दछु” भन्ने अभिमानले हृदय भरिएको थियो । त्यसको कारण मैले सम्झनाको सागरमा केही दिन (२०७५) शीर्षक जीवनीपरक कृतिमा खुलाएको छु ।
बी. एड. मा पढाउने अत्यन्तै राम्रा गुरुजन हुनुहुन्थ्यो— चन्द्रवीरसिंह कंसाकार, केदारभक्त माथेमा, कमलराज अधिकारी, रीम प्लान्ट, नारायणप्रसाद राजभण्डारी आदि ।
अंग्रेजी मेजरमा लर्ड अव् द फ्लाइज (उपन्यास), शेक्सपियर र बर्नार्ड शाका ड्रामा, विभिन्न स्रष्टाका एस्से र शर्ट स्टोरीको कलेक्शन अनि एउटा पोएट्री सेलेक्शन थियो— साइरन सङ नामको ।
साइरन् सङ हाम्रा कमलराज अधिकारी सरको भागमा थियो— साइरेन् सङ, वीस जति अंग्रेजी कविताको संग्रह । त्यसमा शेक्सपियर, जोन डन, पोप, रोमान्टिक वर्डस्वर्थ, शेली कीट्स, बाइरनदेखि आधुनिक कालका यिटस्, अडेन, लार्किनसम्मका प्रतिनिधि कवि थिए ।
विशेष गरी ती रोमान्टिक कविता पढाउँदा कमल सर कस्तो निमग्न भएर, आँखा चिम्लेर कतिबेला भावुक हुँदै संसार बिर्सेर पढाउनु हुन्थ्यो । रोमान्टिक कवि शेलीको द स्काइलार्क पढाउँदा ता खोलाका तिरमा उडदै गाउँदै गर्ने जुरेली चरीको सम्झना आउँथ्यो । उहाँ त्यसै गर्नुहुन्थ्यो ।
मेजर अंग्रेजीमा हामी जम्मा १२ जना थियौं तर गुरुको समर्पित चालाप्रति मोहित । म अति प्रभावित थिएँ र एकदिन उहाँसितै पछि लागेर धोवीधारा धरमा पुगें किनभने अनुशासित चाला र कठोर श्रम गर्ने मेरो बानी भएको, उहाँले मलाई बुझ्नु भयो होला । दुईचार कुरा सोधें । मीना गुरुमाले चिया खिलाउनुभो । भुइँ तलामै कोठा, भान्सा, सानो पुस्तकालय थिए ।
गर्दागर्दै कमलसर एकदिन हराउनु भो । आउन छोडनुभो । सोधखोज गर्दा उच्च शिक्षा लिन बेलायत जानु भएछ । प्रस्तुत कृति (अमेरिका : सपना कि विपना) भित्र त्यसको प्रसङ्ग आउँदो रहेछ, त्यसबेला लीड्स युनिभर्सिटी पढन गएको कुरा छ ।
हाम्रो बी.एड. मा चार सेमिष्टर हुन्थे । अन्तिमको सेमिष्टरतिर आउनु भो र फेरि हामी प्रसन्न भयौं । झन् जान्ने, झन् ज्ञानी, नित्य जुरेली चरी जस्ता कमल सर । कक्षामा ल्याएर वर्डस्वर्थ, शेलीका नाममा बनाइएका के के जाति स्मारक–चिनु अथवा सोभनिर देखाउनु भो, दिनु भो । अनि म फेरि एकदिन उहाँको धोवीधारा घर गएँ । अनेक नयाँ पुस्तकहरू प्रदर्शन गर्नु भयो— बेलायत पढेर आउनु भएको सर । मागिहाल्ने त आँट आएन ।
बी. एड. सकेर झापा फर्कें; अर्को चार वर्षपछि म एम. एड गर्न पुनः कीर्तिपुरै पुगें । सोधखोज गर्दा कमल सर यमन देश जानुभयो भन्ने सुनियो । अनि ता कहिल्यै भेट भएन, सुन्न पनि पाइन । पछि अमेरिका पढन जाने मेरा अर्का गुरु जयराज अवस्थी सरले उहाँसित उतै सम्पर्क भएको चर्चा गर्नुहुन्थ्यो । आफ्नो प्यारो जन्मभूमिको अशेष सम्झना, त्यहाँका हजारौं स्वजन र यो स्वर्गभूमिको मायाले तानिएर एकदिन उहाँ आइहाल्नुहुन्छ भन्ने थियो । आश गरेर पश्चिमतिर हेर्दा हेर्दै घाम डाँडाका शिरमा चढीसके पत्तो छैन गुरुको ।
मेरो भने कमलराज सरसित फेरि कहिल्यै भेट सम्पर्क भएन । अमेरिकाको टेक्सस विश्वविद्यालयबाट विद्यावारिधि गरेपछि उतै विविध कर्म गरेका कुरा अलेलि थाहा हुन्थ्यो । उहाँको A Concise English-Nepali-English नामक शब्दकोष आयो, नेपालमा निकै लोकप्रिय भयो । अनुवाद कर्ममा महत्वपूर्ण होला भनी मैले पनि त्यो किनें ।
तर मेरो युवा मस्तिष्कमा एक प्रतिभाशाली गुरुले छोडेको छाप कहिल्यै मेटिएन । धेरै वर्ष पछि सन् २०११ मा मलाई दोस्रोपल्ट बेलायत जाने अवसर मिल्यो । त्यहाँ मलाई स्रष्टा भाइ केदार संकेतले जोन कीटस्को संग्रहालय देखाउन ह्याम्पस्टीड लगे । त्यसबेला मलाई कमल सरको संझनाले छोयो । उहाँले पढाएका ला बेले ड्याम स्यान्स मर्सी र ओड टू नाइटिङ्गेल जस्ता कीटसका कविता यही घरमा बसेर लेखे भन्थे । त्यसैले पछि मेरो दोस्रो बेलायत यात्रा भन्ने साहित्यिक कृतिमा गुरुको सम्झना राखें । अलिक पछि २०१७ मा फेरि पनि बेलायत जाने सुयोग मिल्यो ।
स्कटल्याण्डदेखि दुष्यन्त र उद्धव भतिजहरूले लगेर मलाई महाकवि वर्डस्वर्थको स्मारकस्थल ग्रास्मेयरस्थित डोव् कटेज पुर्याए । जहाँ प्रसिद्ध रोमान्टिक कवि वर्डस्वर्थ र उनकी बहिनी डोरोथी बस्थे । मैले त्यो दिन जति धेरैपल्ट कमलराज अधिकारी सरलाई कहिल्यै सम्झिइन होला । उहाँले पढाउनु भएको टिन्टर्न अबे र ड्याफोडिल्स जस्ता रोमान्टिक कविता, उनको जीवनदर्शन र प्रकृतिका अनुपम प्रस्तुति— एक असल शिक्षक विद्यार्थीको स्मृतिबाट कहिल्यै धूमिल हुन नसक्ने रहेछन् । मेरो दोस्रो बेलायत यात्रा नामक कृतिमा उसैबेलाका कमल सरलाई जोडेर यी सारा कुरा लेखें तर भेट भएन, सम्पर्क थिएन ।
त्यसो त म पनि सन् २००६ देखि दुईपल्ट अमेरिका गएँ तर हानेको बाण जस्तो भएर, लक्ष्यमा पुग्यो, कर्म गर्यो, फिर्यो । सन् २०२२ मा हामीलाई भूटानी नेपाली साहित्यिक समाजका दुईवटा संस्था (नेपाली साहित्य परिषद् तथा ग्लोबल भूटनिज लिटरेरी अर्गनाइजेशन) को निमन्त्रणा आयो । एक महीना अघि र पछि दुईवटा विशेष प्रकृतिका अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने भए । अनि की नोट स्पीकरका रूपमा मैले कार्यपत्र बनाएँ, एकजना सेसन प्रस्तोताको रूपमा अञ्जनाले र हामी दुवै अमेरिका जाने भयौं । जुलाईदेखि अगष्ट सम्मको दुई महीने यात्रा हुने भयो । कमल सर टेक्सासमा हुनुहुन्छ भन्ने सुनेको थिएँ । टेक्सास राज्यको ह्युष्टनमा मेरा भाइ–बुहारी (नारायण) को पनि घर भएकाले हामीलाई त्यहाँ जानु थियो । त्यसबेला मैले मेरा अर्का अति आदरणीय गुरु जयराज अवस्थी सरलाई सोधें र कमलराज सरको टुंगो लगाएँ ।
तेस्पालि टेक्सासको घरमा निकै दिन बस्यौं, कमलसरसित फोन सम्पर्क ग¥यौं र समय मिलायौं । एकदिन हाम्रो भतिज आशिषले हामीलाई त्यहाँ लगिदिने भए । नभन्दै २५ जुलाई २०२२ का दिन बेलुकी उहाँको गृह–मन्दिरमा भोजन गर्न पुग्यौं । सो अभूतपूर्व क्षणको अनुभव मैले आफ्नो यात्रा साहित्य नयाँ भूटानको छाया–चित्र भन्ने कृति (सन् २०२४) को पृ. १२१–१२८ मा प्रकाशित “आष्टिन शहर पुगेर आफ्ना गुरुको दर्शन गर्यौं” मा प्रस्तुत गरेको छु ।
झन्डै आधा शतक परदेशमा जीवन व्यतीत गरेका गुरु दम्पतिको अनुहार कति भिन्न थियो । तर पनि त्यो हार्दिकता र प्रेमिल स्वभाव एक बालकको जस्तो सङ्लो र निश्छल थियो । आफूले लगेको मेरो दोस्रो बेलायत यात्रा कृति उहाँलाई उपहार चढाएँ । उहाँले आफ्नो शब्दकोषको नयाँ संस्करण निकाल्नुभयो । मैले ‘आफूसँगै छ’ भनें ।
त्यसपछि ता हामी नेपाल फर्कियौं । यदाकदा हाम्रो सम्पर्क हुन थाल्यो । उसैबेला सरले मलाई सुनाउनु भएको थियो— म आफ्नो संस्मरण लेख्तैछु, गोविन्दजी ! अनि डायरी निकालेर एक पाठ पढेर सुनाउनु भएको थियो । राम्रो, सुनौं सुनौं लाग्ने परिष्कृत लेखाइ थियो एक स्थापित विद्वान्, भाषा साहित्यका अध्येता, विद्यावारिधि गरी भाषाकै अर्थहरूको कार्यव्यापार गर्दै एक दूर भूमिमा बसेर जीविकोपार्जन गर्दै रहेका डा. कमलराज अधिकारी । त्यसै पनि उहाँको लेखन सुन्दर रहेछ ।
अन्त्यमा मैले भनें— यसलाई पूरा गरौं, प्रकाशित गरौं । नेपाली जातिका लागि यो एक अमूल्य दस्तावेज हुनेछ सर ! किनभने एक तिहाई जसो हाम्रा नागरिक उत्पत्ति भूमि छोडेर जगतभरि छरिएका छन् । यसमा धेरै धेरैको साझा पीडा वा प्राप्ति होला ।
हामी फर्केर स्वदेश आयौं । त्यसको दुईवर्ष पश्चात चितवनकी अध्यापिका–स्रष्टा गायत्री श्रेष्ठको फोन आयो । उहाँ बेलायत गएको समय थियो । कमलराज सरले उहाँलाई पनि पढाउनु भएको रहेछ र कुराको प्रसङ्गमा सरले भन्नु भएछ— यो संस्मरणको कृति तयार हुन लाग्यो, एकपल्ट हेरिदिने, मिलाएर आवश्यक सल्लाह दिने कोही भए हुने ।
“सरको आफ्नै विद्यार्थी हुनुहुन्छ साहित्यमा समर्पित गोविन्दराज भट्टराई, उहाँले सहयोग गर्नुहुन्छ भन्नुहोस् सर ।”
“म अवश्य गर्छु सकेको आफ्ना गुरुलाई सहयोग गर्नेछु ।” मैले भरोसाका वाणी पठाएको थिएँ ।
त्यो भावनाको सञ्चार भएछ र एकदिन गुरुले फोन गर्नुभो, हाम्रा बीच वार्ता भए । सोही अनुसार इमेलमा १५६ किलो बाइट युनिकोड अक्षर आइपुगे । तिनलाई छापें र उत्साह औ श्रद्धाले पढन बसें । यो डायरी, भ्रमण, संस्मरण र लामो जीवन संघर्षका क्रममा अमेरिकाले छोडेका छाप र प्रभावको अनुभव संग्रह रहेछ । सुन्दर भाषामा लेखिएको यो विवरण अनेक दृष्टिले अत्यन्तै पठनीय रहेछ ।
सर्वप्रथम यसको महत्व चाहिँ ‘डायास्पोरा स्टडिज’ का अनुसन्धाता र अध्येतालाई छ । आजभन्दा पचास वर्ष अघि प्रथम पुस्ताका नेपालीको अमेरिका जाने सपना, जानुका कारण र पुग्नु, पुगेपछिका क्रमिक उद्योग, परिश्रम र चिन्ताले भिजेको जिन्दगी कसरी व्यतीत हुँदैछ भन्ने कुरा एक बौद्धिक व्यक्तित्वको भोगाइ र अनुभूतिले बताएका कुरा । आज झण्डै पचास वर्षपछि हेर्दा मैले के पाएँ के गुमाएँ भने अन्तद्र्वन्द्वहरू समेटेर आएको रहेछ यो ग्रन्थ ।
कति तौले पनि नमिल्ने जीवन छ । यता बस्ता त्यो डाँडापारि के होला भन्यो; उता जाँदा म आफ्ना जरा भएको ठाउँमा कैले फिरौंला भन्यो, भन्दा भन्दा आधी जति नेपालीहरू अतीतदेखि निरन्तर उखेलिएका छन् । फेरि धपिएका छन । रामशाहको पालामा भूटान पुर्याइएका नेपाली ४०० वर्षपछि खेदिए । आसाम, शिलाङ, वर्मा, मनिपुर, हङकङ, सिंगापुर जस्ता ‘पुराना डायास्पोरा’ मा पनि सदा अस्थिर मनले बस्छन अझ न्यू डायास्पोराको मनोभाव कस्तो होला !
आज आएर हाम्रा विश्वविद्यालयमा बसाईं सर्ने प्रकृयाको अध्ययन “माइग्रेशन स्टडिज” अन्तर्गत गर्दछन् भने नयाँ ठाउँमा पुगेकाहरूको अस्थिर जीवन “डायास्पोरा स्टडिज” ले गर्दछ । नयाँ ठाउँमा बसाइँ सरेर, शरीर मात्र पुर्याएर नहुने रहेछ; भाषा, धर्म, संस्कृति, इष्टमित्र, चालचलन बेगर शरीर सधैं सधैं तिनकै सम्झनामा पीरले सुसाइरहन्छ । नेपाली विश्वविद्यालयमा पनि यी विषयमा विद्यावारिधि तहसम्मका अध्ययन हुन थालेका छन् । किनभने हाम्रा जातिको देश छोडने काम (स्वभाव) कहिल्यै रोकिएन; झन् बढेको छ । सधै धारो छ, पहाडका गाउँ रित्तै हुन थाले । एकदिन देशै रित्तो हुनेछ यसो गर्दागर्दै ।
के यो आर्थिक कारण मात्र हो ? अथवा राजनैतिक कारण मात्र हो ? कि हाम्रो जातीय स्वभाव नै यही हो ? हामी मातृभूमिमा बस्नेहरू दिनमा एकपल्ट मनलाई संसार डुलाउँछौं— आसाम, सिक्किम, भूटान, वर्मा, खाडी मुलुक, यूरोप, अष्ट्रेलिया, अमेरिका । आघि नातागोता बाहिरै त्यतै कतै छन् । उनीहरूको पनि नेपालभूमि नसम्झेको दिन छैन, नेपालको सपना नदेखेको रात छैन, भन्छन । ए किन भयो हाम्रो यस्तो नियति ?
यो वर्ष मात्रै मैले छ वटा कृति पढें— महेशराज पन्तको अमेरिकी संस्कृतिमा नेपाली हराएको कथा, गोविन्द गिरीको त्यहाँको संस्कृतिकै डरलाग्दा चित्र (हाम्रा लागि), सीता पाण्डेका अत्यन्तै गहिरा डायास्पोरिक टेन्सनका कविता, लालगोपाल सुवेदीको देशको संझनाले मन बिकल भएको क्षणमा रचित काव्य, हरि उप्रेती र गान्धीराज काफ्लेका एक एक यात्रा वर्णन यस्तै यस्तै यस्तै ।
नेपाली साहित्यमा ल्याएर मैले सर्वप्रथम डायास्पोरा अध्ययन भन्ने विषय चिनाएँ । त्यस्तो प्रकृतिको प्रथम आख्यान अमेरिकाका होम सुवेदीको यमपुरीको महललाई भनियो । यसमा मैले भूमिका लेखेँ । यद्यपि धेरै नै सन् १९९८ को सेज जर्नलमा माइकल हटले लेखेका छन्— भूटानी नेपालीको जीवनलाई लिएर लेखिएको प्रथम डायास्पोरिक उपन्यास हो गोविन्दराज भट्टराईको मुगलान ।
गद्य संस्मरण तर्फ हालै मैले पढेको भारती गौतमको अमेरिकामा आमा हो भने प्रस्तुत कृति ‘अमेरिकाः सपना कि विपना’ सबैभन्दा लामो समयको अनुभव समेट्ने संस्मरणात्मक विवरणहरूको संग्रह हो । यस कृतिमा विविध दृष्टिकोण वा अनुभूतिका पाटा छन् । मानिस किन र कसरी अमेरिका जाने सपना देख्न थाल्छन्, कसरी जान्छन्, जाने क्रममा के कसो हुन्छ ? गएपछि अडिन स्थापित हुन के कस्तो परिस्थिति आउँछ इत्यादि । यसमा लेखकको एउटै अडान छ— इमान्दार र परिश्रमी व्यक्तिले सिक्छ, काम पाउँछ, यथाशक्य नाम कमाउँछ । सानादेखि ठूला ठूला पदमा पुगेका, प्रतिष्ठा कमाएका प्रतिष्ठित नेपालीहरूका दृष्टान्त पनि प्रस्तुत गर्नु भएको छ ।
दोस्रोमा छ त्यहाँको समाजमा मानिसको एक्लोपनबाट गुज्रेको स्थिति । किनभने समाज पूर्ण रूपले यान्त्रिक हुन गयो । नेपालीहरूले पनि शुरुमा जाँदा भोग्नु परेको एकाकीपन, असंगतता, वियोगको भावले कति विरामी परे होलान् । लेखकले आफ्नो पनि अनुभव सुनाउनु भएको छ । टेक्सास परिवेशमा जम्मा चारजना नेपाली थिए आज त्यही ठाउँमा १२ हजार नेपाली वरिपरि भरिए । क्रमिक रूपले ठूलो समूह बन्यो, समिति निर्माण गरे, बुद्ध, पशुपतिको मन्दिर स्थापनासँगै जातीय सांस्कृतिक केन्द्र स्थापित भयो । अब चाड, पर्व र सांस्कृतिक अनुष्ठानहरू सामूहिक रूपले सम्पन्न गर्न थाले । तर यसरी अलिकति तङ्ग्रिन पचास वर्ष लाग्यो । यो एक स्टेटको कुरा, पचास स्टेटमा यस्तै भावका सानाठूला खाले प्रतिकृति कर्म भइरहेका होलान् ।
सम्पूर्ण कृति संघर्षको गाथा हो, एक सचेत बौद्धिक नागरिकको मनमा उम्लेर उठने चिन्ता, सन्देह, अपूरणीय क्षतिको भाव, त्यसलाई चित्त बुझाउने केही क्षतिपूर्तीका गणना आदि पढ्न पाइन्छ । यस कृतिको पठनले हृदयमा छोडने अमेट प्रभाव के छ भने आफ्नो उत्पत्ति भूमिको परिवेश नै अतुलनीय कुरा रहेछ । भगवान् रामले लक्ष्मणलाई भनेका थिए—
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।
कमलराज सरले एक ठाउँ लेख्नु भएको छ— “म अमेरिकामा छु तर कतिपल्ट त्यही बाल्यकालमा पाल्पाको बारीका कान्लामा सुतेर निधाएको सपना देख्छु ।”
धेरै ठाउँ लेख्नु भएको छ— “नेपालको सम्झना नगरेको दिन छैन, सपनामा नदेखेको रात छैन ।” धेरै विद्वानले यस्ता अनुभवहरूलाई नेपाल बेगरको नेपाली हुँदा (बिइङ नेपाली विदाउट नेपाल) थीममा लेख्दैछन् ।
आज विश्वभरि छरिएका नेपालीको संख्या करोड पुग्यो । तीमध्ये पहिलो पुस्ता रातोदिन देश सम्झेरै एकदिन फिर्नेछु भन्ने भ्रम पालेरै बसेका हुनन । दोस्रो पुस्ताले नदेखेको उत्पति भूमिलाई आघि मात्र माया गर्न सक्लान, आफ्ना बाबु–आमाको हत्ते देखेर । तेस्रोदेखि आफ्नो उत्पत्तिको देश ‘नेपाल’ मात्र मनमा राख्छन किनभने अन्य समाजले पनि सुनाउँछ । ती टाढाटाढा हुँदै जान्छन् । देश बाहिरका एक करोड नेपालीको जीवन स्थिति यस्तै हुन्छ । सानामा हामी सुन्थ्यौं— बनतिर जाँदा घरतिर मुख घरतिर जाँदा वनतिर मुख— के हो ? उत्तर हुन्थ्यो— बञ्चरो ।
पछि अनुवाद अध्ययन विषयमा विद्यावारिधि गर्ने क्रममा अध्ययन गर्दैलाँदा थाहा भयो अनुवादलाई ग्रीसेली देवता जानससित तुलना गरिँदो रहेछ । जानस देवका दुईवटा शीर हुन्छन्, दुईतिर फर्केका दुई मुखे । डायास्पोरिक भूमिमा पुगेका व्यक्तिलाई खालि आफ्नु उत्पत्तिभूमिको सम्झना भइरहने त्यस मूलभूमिमा रहेकालाई उता कतै जानपाए सपना पूरा हुन्थ्यो भन्ने लागिरहने । सपना र यथार्थमा घुम्दाघुम्दै हाम्रा दिन सकिन्छन् । दुवैतिर अतृप्त छन । आज
बिहानै मेरा प्रिय विद्यार्थी एवम् साहित्यकार (हाल बेलायत निवासी) श्री विश्वासदीप तिगेला लिम्बुले पठाएका यी शब्दहरू टिप्न चाहन्छु— सर नमस्ते । ढिला भएँ हुँला, छुटेँ हुँला, कति कोशिश गरेपनि समयमा लेख्न सकिन । त्यहाँको पुस्तकमा छुटेँछ भने पनि म आफ्नै ब्लगमा राख्नेछु । अस्ति नेपाल आएको बेला पनि हावा उडे झैं उडें । प्रत्येक पटक जन्म भूमिको माटो टेक्दा मेरो जन्मघर (धनकुटा) पुगेर घरको माटोको टीका लगाई आशीर्वाद लिने मेरो परम्परा रहेकाले गाउँ (पाख्रीबास) पनि पुगेर फर्कें; बीचमा सम्पर्क गर्नै सकिन माफ पाउँ ।
मानव जाति त्यस्तै रहेछ । दुखबाट बच्न, सुख पत्ता लाउन, ज्ञान–शिक्षा–सुरक्षा पत्ता लाउन भन्दै घर छोडेर कहाँ कहाँ उडेका छन् । फेरि फर्केर आउने बाटो मेटिदै जाँदो रहेछ । हाम्रा पिताजीले पनि भूटान पुगेर दुई दशक व्यतीत गर्नु भयो । आफ्नी माताको देहान्त भएपछि २०१४ सालमा बारी सिरानको रातो घर, तलको बारीमा मकै लह लह, तल बाँझो जोतेको टारी खेत यसै छाडेर हामी झर्यौं ओरालै ओरालो । अनि धेरै दिनमा नेपाल प्रवेश गर्यौं । धन्य नत्र पछि भूटानी राजाको जातीय उच्छेदनमा परिनेरहेछ ।
सबैको जीवनमा यस्तै अनिश्चित संभावनाहरूले ढुकिरहेका हुँदा रहेछन । आज त ठूला ठूला डायास्पोरिक समुदाय बनेका छन् तर पाँचसय हजार वर्ष बसेपनि राष्ट्रिय भित्तामा टालेका ठाउँहरू प्रष्टै देखिन्छन् । किनभने जुन देशमा पुगे पनि आफूलाई आफ्नो जातिको नामले चिनून् भन्ने हुन्छ । त्यो पहिचानको निम्ति अमेरिकामा हाम्रा जातिले कत्रो त्याग, योगदान, लगानी गरेका, बेलायत हङकङ, सर्वत्र उही इतिहास छ । यस कृतिले त्यो पक्ष पनि देखाउँछ, साथै नेपालीले राष्ट्रिय आँगनमा चिनिने प्रयत्न गरेका केही दृष्टान्तहरू पनि थाहा पाइन्छन् ।
मुख्य ता त्यहाँका (अमेरिकाका) कतिपय सुन्दर दर्शनीय स्थानहरू अनि त्यहाँको सामाजिक व्यवस्था, छरछिमेकी र जीवन पद्धतिका संक्षिप्त झल्काहरू छन् । आकाश–पाताल फरक छ, त्यसमा कसरी समायोजन गर्ने ? ती कुरा छन यस कृतिमा ।
यो जीवनीपरक कृति हो ता पनि सिंगो परिवार छ, समाज छ र देश छ— पुरानो देश सधैं सधैं हृदयमा नयाँ देश साथैमा । त्यसो त यतिखेर ग्लोबलाइज्ड विश्वबजार छ, पुराना सीमाहरू मेटिएका छन । यतिखेर अर्को एउटा शब्द ‘सर्वदेशीयता’ (कज्मोपोलिटानिजम्) चल्तिमा छ, मानिसले सर्वदेशीय स्थान प्राप्त गरेको अवस्था छ । अब उसलाई फर्काएर आआफ्नो पूर्वस्थितिमा ल्याउन सकिन्न होला । कसले फर्काउने सबै छोडने छन् अब ।
केही पंक्तिहरूको उद्धरण :
१. त्रिचन्द्र कलेजमा पढदा म अति नै मेहनती विद्यार्थी थिएँ । म बृटिश लाइब्रेरी र अमेरिकन लाइब्रेरी लगातार जान्थें । गएको बेला “स्वतन्त्र विश्व” सधैं नै पढथें । त्यो पत्रिकामा अमेरिका सम्बन्धी रोचक लेखहरू हुन्थे ।
२. अमेरिकामा छोराछोरी कलेजमा गएपछि बूढा बूढी मात्र भएको घरलाई चराचुरुङ्गीले आफ्ना बचेराहरू उडाएर बसेको गुँड जस्तो “रित्तो गुँड” भन्ने चलन छ । हाम्रो पनि त्यस्तै भएको थियो । दुईजना बच्चाहरू घर बाहिर थिए । ठूलो बाबु घरैबाट कलेज गइरहेका थिए । तै पनि कहिले घर आउँथे कहिले साथीहरू सँगै बस्ने ।
३. सुमी भाउजूले देखाउनु भएकी केटी साँच्चिकै राम्री थिइन् । सुलुक्क परेको जीउ । सुलुक्कको नाक, मीठो मुस्कान । हामी दुवैजनाले यो नानीलाई हाम्रा दुई छोरामध्ये एक जनालाई विवाह गराउन पाए र हुने भन्यौं । तर उनका बाबु आमासँग सोधिहाल्ने आँट गर्न सकेनौं । तथ्याङ्क हेर्ने हो भने अमेरिकामा नै हुर्केर सानैदेखि चिनिराखेका नेपाली केटा र नेपाली केटीको विवाह भएको धेरै कम देखियो । यहाँका धेरैजसो नेपाली केटाहरूले यतैतिरका केटी विवाह गरेको देखिन्छ । त्यस्तै धेरैजसो केटीहरूले पनि यतैको केटासँग विवाह गरेको देखिन्छ । बाबु आमाको चाहना छोरीहोस या छोरा होस नेपालीसँग विवाह गरिदिए हुने भन्ने हुन्छ ।
४ दाँतको उपचारको अति महंगो हुन्छ र बीमा भएपनि केही भाग आफैले तिर्नु पर्छ । त्येसैले कति नेपाली साथीहरू, दाँतको उपचार अति खर्चिलो हुने देखेपछि नेपालमै गएर उपचार गराएर फर्कनु हुन्छ । उहाँहरूको भनाई अनुसार दुईटा दाँतको अमेरिकामा रुट कनाल गर्ने पैसाले नेपाल जान आउन र नेपालमा उपचार गराउन पनि पुग्छ ।
५ सानाह, यमन अरब रिपब्लिकमा संयुक्त राष्ट्र संघमा स्वयंसेवक हुँदाको पैसा वचत थियो, आठ हजार डलर । त्यो पैसाले एक वर्ष त पक्कै पुग्छ भन्ने आँटले म टेक्सास गएँ । ८००० डलरको भरले गएको, हरेक दिनको खर्च तर आमदानी छैन । त्यसो हुँदा त केही काम त खोज्नै पर्ने थियो । यहाँको अध्यागमन नियम अनुसार विद्यार्थीले विश्वविद्यालय बाहिर काम गर्न नपाइने, विश्वविद्यालयभित्रै काम पाउनै गाह्रो किन भने काम सिमीत हुने । तर अमेरिकामा पढाउने प्रोफेसरले आफ्ना विद्यार्थीलाई सकेसम्म मद्दत गर्ने । मलाई पढाउने एकजना प्रोफेसरले पनि मलाई कामको बाटो देखाइदिएर ठूलो मद्दत गर्नु भयो । उहाँको नाम डक्टर वान अल्फेन हो । उहाँसँग मैले विभिन्न कोर्सहरू लिएको थिएँ साथै ‘अङ्ग्रेजी–नेपाली–नेपाली अङ्ग्रेजी’ शब्दकोश पनि तयार पार्दै थिएँ । यही गरेको हुनाले पढ्दै गरेको विश्वविद्यालयको मूख्य पुस्तकालयमा काम पाएँ, जसले गर्दा मेरो विश्वविद्यालयको फी आधा माफी भयो । त्यो मात्र हैन मेरी श्रीमतीले मास्टर गर्दै थिईन् । उनको फी पनि आधा माफी भयो । यसले हामीलाई ठूलो सहयोग भयो ।
आरम्भिक दिनको बयान छैन भनेको थिएँ, ती कुरा समावेश गर्न उहाँलाई अनुरोध गरें । नभन्दै दशैंपछि आएको पाण्डुलिपिमा एक छोटो अध्यायमा आफ्नो पाल्पामा हुर्केको बाल्यकाल थपी, सकेसम्म करेक्सन गरी मलाई इमेल गर्नुभयो । त्यसलाई फेरि मनोयोगसाथ पढेर यति कुरा लेखी तयार पारेको कुरा उहाँका कान्छा छोरा कञ्चनले अमेरिका पुर्याउनुभयो । अघिल्लो पालिको पाण्डुलिपि जेठा पुत्र कामेशले लग्नु भएको थियो ।
यस घरी अलिकति भए पनि गुरु ऋण तिरेँ भन्ने भावले मेरो मन आनन्दमा छ । कृति प्रकाशित भइसकेछ । म संसारभरि छरिएका, नेपालमा रहेका मेरा प्रिय विद्यार्थी वर्गलाई यो कृति पठनीय छ, एकपल्ट जसरी पनि पढौं भन्छु । जीवन जे जसरी जहाँ भोगिन्छ, बिताइन्छ त्यसबारे अर्थात् ती दिनको अनुभव सँगालेर लेख्ने गरौं, यसरी लेखौं । यस्तो सत्य लेख्न सिकौं । हाम्रा जीवनका घाम अस्ताएपछि हामीसँग जगतले यिनै अक्षरमा मात्र भेट्नेछ, बोल्नेछ । हामी ता एकदिन अदृश्यमा मिल्ने हो । आफूले गरे–भोगेका कुरा यसरी साकार बनून् । डा. कमलराज अधिकारी सरको यो कृति एक प्रेरणा स्रोत हो । यो बौद्धिक-शिक्षित नेपाली जातिको वर्तमानकालीन दर्पण हो । कीर्तिपुरका हाम्रा गुरुहरूमध्ये यस्तो सुन्दर जीवनीमूलक कृति लेख्नेहरूमा कमलराज सर पहिलो हुनुहुन्छ । धन्यवाद ।
सुकर्मटोल, कीर्तिपुर

