साहित्यपोस्ट डट कम

ए कान्छा ! मलाई सुनको तारा झारिदेऊ न !

ए कान्छा ! मलाई सुनको तारा झारिदेऊ न !

जिन्दगीको गनिनसक्नु दुःखलाई भुल्न, रक्सी बेस्मारी पिए । पिउन त अरू कलाकार र गीतकारहरू पनि पिउँथे । तर उनले आफ्नो लिभर कामै नलाग्ने गरी पिए । सरकारी अस्पतालमा उनको अन्तिम घिटघिटो थियो, अम्बर गुरुङलाई भेट्नु । तर अन्तिम इच्छा पूरा हुन सकेन ।

0000

(‘ए कान्छा, मलाई सुनको तारा झारी देऊ न !’…… अजम्बरी र कालजयी गीतका स्रष्टा दिवंगत पासांग वाग्बल ( पासाङ्ग वाङ्गयाल) को स्मृति दिवस १२ मे मा पर्छ । उनी ओझेलमा परेका साहित्यिक व्यक्तित्व हुन् । दुःखको कुरो, उनले सिर्जना गरेको यो कालजयी गीतको स्वामित्व लिने आफन्त धरी देखिएन । यो प्रस्तुति उनको स्मृति दिवस पारेर प्रस्तुत गरेको छु)

ए कान्छा, मलाई सुनको तारा झारी देऊ न

त्यो तारा मात्र नि होइन, जुन पनि झारी दिउँला

प्रत्येक नेपाली पिँढीले, भाका हालेर गाउने यो कालजयी गीतसित गायिका अरुणा लामा र गायक रुद्र गुरुङको नाम जोडिन्छ । अम्बर गुरुङको नाम त जोडिन्छ नै जोडिन्छ । कारण, पुराना अजम्बरी गीतहरूमा धेरैजसो अम्बरले नै सङ्गीत भरेका थिए । नयाँ पिँढीका थुप्रै थुप्रै गायक गायिकाहरूले, यो गीतलाई उस्तै मन लगाएर गाएका थिए, गाउँदैछन् र गाइरहनेछन् । यस गीतको शब्द र लयमा भएको मिठासले गर्दा तिब्बतीहरूले यस गीतलाई उस्तै लयमा तिब्बतीमा पनि गाएका छन् ।

यस गीतको शब्द-रचनाकारलाई चैँ ओझेलमा पारिएको छ । कतिपय ठाउँमा शब्द र सङ्गीत दुवै अम्बर गुरुङकै हो जस्तो गरिएको छ भने, कतिपय ठाउँमा अरुणा लामाकै शब्द पनि भन्न भ्याएका छन् । युट्युबमा राखिएका यस गीतको भिडियो क्लिपहरूमा शब्द-रचनाकारको नामै छैन । अम्बर गुरुङ र अरुणा लामा त्यस गीतको सङ्गीतकार र गायिका भएपछि, गीतकार पनि उतै दार्जिलिङ तिरकै होला भनेर, मेरो नातेदार, दाज्यू, समाजसेवी श्री पासँग धेण्डुपसित सोधखोज गर्दा, एक जना ओझेलमा परेको कवि, गीतकार, कलाकार पो हामीले फेला पार्यौं ।

दार्जिलिङ लेखक जीवन लाबरले लेख्नु भएको ‘हाम्रा व्यक्ति र व्यक्तित्व’ किताब नै यो प्रस्तुतिको श्रोत हो । दार्जलिङ नेपाली भाषामा लेखिएको वर्णनलाई जस्ताको तस्तै राख्न खोजिएको छ । तर कतिपय ठाउँमा अभिव्यक्तिलाई परिष्करण गरी पस्किएको छ । एक जना ओझेलमा परेको, छायामा परेको, बिर्सिएको साहित्यिक व्यक्तित्वलाई, अझ किटेरै भन्दा एक जना सशक्त गीतकारलाई आफ्नो किताबमा ठाउँ दिनुभएकोमा श्री जीवन लाबर धन्यवादका पात्र हुनुहुन्छ ।

यो अजम्बरी गीत न अम्बर गुरुङले नै लेखेका हुन, न त अरुणा लामाले । यसका गीतकार हुनुहुन्थ्यो दिवंगत पासांग वाग्बल । कहिल्यै नसुनेको वाग्बल थर बारे जिज्ञासा राख्दा, तमाङ जाति भएको पत्तो लाग्यो । पासँग वाग्बलको जन्म १२ मई १९२९ मा सिँगताम चिया कमान, दमाईं बस्तीमा सम्पन्न परिवारमा भएको थियो ।

परिवारमा माइलो छोरो हुनाले छरछिमेकीले ‘माइला बाबु’ भनेर बोलाउँथे । स्थानीय स्कट मिशन (फाटक स्कुल)मा प्राइमरी स्कुल सिध्याएर, सेण्ट रबर्ट्स स्कुल हुँदै टर्नबुल उच्च विद्यालयबाट म्याट्रिक दिए, तर गुल्टे । पाँच फुट पनि नपुग्ने, अलि कालो कालो वर्ण, छरितो बदन, समय अनि परिस्थितिले जीर्ण बनाएको अनुहार, झट्ट हेर्दा बस्तीवाला किसान जस्तै देखिन्थ्यो । अंग्रेजी र साहित्यमा राम्रो दखल थियो । नेपाली, हिन्दी र उर्दूमा पोख्त थिए । नाटक र सङ्गीतमा विशेष लगाव थियो उनको ।

सन् १९५२ ताका प्रसिद्ध सङ्गीतकार, गायक अम्बर गुरुङसित पासँग वाग्बलको भेट गराएको थियो ललित कुमार छेत्रीले । अम्बरले भर्खर भर्खर गीत गाउन थालेको थियो । रहँदा बस्दा दुवै घनिष्ठ भए । पासांग गीत लेख्थे भने अम्बरले त्यसमा सङ्गीत भरेर स्वरले सजाउँथे । पासांगले अम्बरलाई पनि नाटकमा तानेका थिए । पासांग आफैँले भने थुप्रै नाटकहरूमा अभिनय गरेर दर्शकहरूको मन जित्न सफल भएको थियो । पासांग वाग्बल, मूलत गीतकार थिए ।

घाम जुन पञ्च, राखी बाचा मार

मन लि, मन दि, फेरी नफाल

उहिल्यै ताप्लेजुङको तोक्मे डाँडास्थित भानु हाइस्कुलमा पढ्दा हाम्रा घनेन्द्र सरले यो गीत गुनगुनाइ रहनुहुन्थ्यो । यो गीत पासांग वाग्बलले लेखेको हो भनेर यतिका वर्षपछि मात्र थाहा भयो ।

लेखक जीवन लाबर लेख्नुहुन्छ : “५० को दशकताका, कला क्षेत्रमा लागेका व्यक्तिहरूले एउटा आर्ट एकेडेमी खोलेका थिए । १९५८ मा आर्ट एकेडेमीका सबै सदस्य शितकालको समयमा रातीको सिनेमा हेरेर टाइगर हिल गयौँ । आकाशमा तारा निक्कै उज्यालो थियो । हामी, अंबर गुरुङ, गगन गुरुङ, चन्द्रशेखर दीक्षित, कपिलराज सुब्बा, कर्म-गोपाल योञ्जन, शरण प्रधान, रञ्जित गजमेर, नयन प्रकाश सुब्बा आदि थियौँ । आकाशको तारा देखाउँदै गीत लेख्न आग्रह गयौँ पासांग वाग्बललाई, आग्रहलाई स्वीकार गर्दै उनले तुरुन्तै गीत लेखे ” :-

ताराको लाग्यो बारात रे

सुनहरी हुँदैछ रात रे

आकाशमा मानौँ स्वर्ग सजेछ

पातालमा सारा संसार सुतेछ

बाँसुरीले रोइ रोइ

मिलनको घडी निम्त्याइरहेछ

झर झर झरनाको राग रे

बज्दैछन् धड्कन साज रे

बादलको आँचल मन्द पवनमा

चाँदनीसित झुलिरहेछ

उमंगभरी चुपचाप रातमा

पागल नयन डुलिरहेछ

कुहुकुहु कोइलीको राग रे

बज्दैछ मनको यो तार रे ,,,,

यस्तो मर्मस्पर्शी गीत एकै क्षणमा लेखेर हामीलाई छक्कै पारे ।”

स्वजात प्रेम, आशा-निराशा, एकांकीपन, माया मिलनको उद्वेग, बिछोडको वेदना, यौवन तृष्णा आदि कै बारेमा पासांग वाग्बलद्वारा गीत रचिएको पाउँछौँ । उनका गीतहरूमा शब्द जटिलता कहीँ छैन, सरल र प्रभावशाली छन् उनका गीतहरू :

मेरो सपना पिर भरेको बिरानो छ संसार

सरगम रहित छ बिना मनको लुप्त संसार ।

फुल्दछ फुल कली मेरो बाग उजाड छ

मेरो प्यार ओइली गयो तर याद आलो छ ।

आँसु नसम्झ यसलाई,यो त कसैको प्यार हो

शरीर शरीरको मिलन होइन मुटु मुटुको प्यार हो

मानवले रचेको होइन,महान् दैविक उपहार हो

“पासाँग वाग्बलबारे डा. लक्खिदेवी सुन्दासले यस प्रकार लेख्नु भएको छ : दार्जिलिङको रंगमञ्चमा, सुरुमा अम्बर गुरुङले पासांग वाग्बलकै गीत लिएर आए र अरुणा लामाले गाइन र गायिकाको रूपमा उनी चिनिएको थिइन् । तर समयको परिवर्तन यस्तो ,,,, उनीहरू चोटिका कलाकार छन्, तर उनीहरूका गीत लेखक बिर्सिइएका छन् । अम्बर गुरुङको सङ्गीतले सजिएको उनका यो गीतहरू” :

‘सुन्दर जग सारा, मेरो रात बिरानो छ

चम्कन्छन् तारा ती, मेरो रात बिरानो छ

‘झर्नै लाग्यो मेरो जोवन

खिली देऊ मेरो मनमा’

श्रीमती अम्बर गुरुङको विशेष आग्रहमा पासांग वाग्बलले यो गीत रचेका थिए रे । यस गीतलाई शीर्षथ सङ्गीतकार र गायक कपिलराज सुब्बाले स्वरबद्ध गरी गाएका थिए :

उम्लने माया पोखिन्छ, गम्भीर पिरती रोजन

माया सबैलाई एउटै हो, एउटै मायालाई रोजन

राम्ररी रोजी फूल टिप, टिपेर पछि नपछताऊ

फूलको रंग धेरै छ, नजर धेरै नडुलाऊ

सुरुमा, पासांग र अम्बरको नङ र मासु जस्तै मिल्ती थियो । पासांग गीत लेख्थे भने अम्बर त्यस्लाई सङ्गीतले सजाउँथे । पछि के कारणले हो, उनीहरू बीच मनमुटाव भयो । दुवैले यसबारे केही बोलेनन् । पछि पछि पासांग साथी भाइहरूबाट एक्लिए । उनी आफू एक्लिएको नभएर, साथी भाइहरूले उनलाई एक्लाएको आभास पाएर यस्तो गीत लेख्छन् :

पथको साथी पाएँ हजार

मनको कोही पाइन्न

हृदय लिने आयो गयो

दिन चाहने आएन

रुन चाहने आएन

मिलनसार पासँग वाग्बलले बिहे गर्न कहिल्यै मानेनन् । उनको कला व्यक्तित्वभन्दा अर्थोकै के के कुरा मुछेर उनलाई संगी साथीहरूले पन्छाए । पासँग वाग्बलको एक्लोपन पनि दयनीय थियो । प्राय लेखक कलाकारको जीवन यस्तै हुन्छ । उ दुनियाँ देखी अलग थलग हुन्छ, दुनियाँले उसलाई बुझ्दैनन् । यसरी आफ्नो एक्लोपनमा गितकार ब्याकुल बन्छ ।

शीर्षस्थ गीतकार, कलाकार, अभिनेता पासांग वाग्बलले प्रताप सुब्बाद्वारा निर्देशित नेपाली चलचित्र ‘परालको आगो’मा पनि अभिनय गरेका थिए ।

जीवनमा पासांग वाग्बलले जस्तो दु:ख कसैले पाएनन् । भ्याक्सिनेटरको काम गरे, हिमालयन माउन्टनेरिङ इन्स्टिच्युटमा साधारण कारिन्दाको काम गरे । क्यारियर बनाउने पट्टि ध्यानै दिएनन् । अलि अलि भएको सम्पत्ति, खेतिबारी, व्यापार आदि पनि बाबु-आमाको मृत्‍यु र आफ्नो सोझोपनले गर्दा सिद्धियो ।

आफ्नो छेमाको ‘हिमालयन बार’ होटेलमा निकै वर्ष काम गरे । १९७१ मा दार्जिलिङमा भएको भीषण आगलागीमा छेमाको होटेल पनि डढ्यो । उनको समाउने हाँगो र टेक्ने धरती पनि रहेन बाँकी । बाँच्नका लागि सिंहमारी लोकल चल्ने जिपमा खलासीको काम गरे । प्रसिद्ध गीतकार पासांग वाग्बललाई गाडीहरूको भीडमा ‘सिंहमारी, सिंहमारी, सिंहमारी जानुहुन्छ ?’ भन्दै प्यासेन्जर खोज्दै गरेको पनि दार्जिलिङले देख्नुपर्‍यो ।

जिन्दगीको गनिनसक्नु दुःखलाई भुल्न, रक्सी बेस्मारी पिए । पिउन त अरू कलाकार र गीतकारहरू पनि पिउँथे । तर उनले आफ्नो लिभर कामै नलाग्ने गरी पिए । सरकारी अस्पतालमा उनको अन्तिम घिटघिटो थियो, अम्बर गुरुङलाई भेट्नु । तर अन्तिम इच्छा पूरा हुन सकेन । एक जना सशक्त कलाकार तथा गीतकारको पहिचानै निमिट्यान्न हुनेगरी भएको दुखद अवसानको जिम्मेवारी को त ?

अम्बर गुरुङ, अरुणा लामा, रणजीत गजमेर आफ्ना कला क्षेत्रमा उपल्लो ठाउँमा पुगे । तिनले पासांगलाई बाटो देखाइ दिएको भए पनि हुन्थ्यो नि भन्ने कतिलाई लाग्ला । तर उनको जीवनी पढ्दा, पासांग आफैँमा कमी कमजोरी देखियो । क्यारियरलाई लात मारेर बिन्दास बाँचेको अनुभूति भयो । उनले आफ्नो ट्यालेन्टलाई ठम्याउनु सकेनन्, बिन्दास बाँचे ।

पासांग वाग्बल मात्र होइन, रक्सीमा चुर्लुम्म डुबेका एक जना अर्का सशक्त गीतकार हरिभक्त कटुवाललाई जिँग्रिङ्ग केश लिएर पुतली सडकस्थित पुष्कर सेकुवा अगाडि मसला पिँध्दै गरेको मेरो खुद आँखाले देखेको छु । हरिभक्तले पनि पासांगकै नियति भोगे । दुखद अवसान भयो । तर उनका आफ्नाहरूले उनको व्यक्तित्व र कृतित्वलाई गुगलमा दर्ज गरेका छन् ।

तर पासांगले त्यो सौभाग्य पनि पाएनन् । गुगलमा उनको नाम दर्ज हुनुको त कुरै छोडौं, उनीद्वारा रचित कालजयी गीत ‘ए कान्छा मलाई सुनको तारा खसाइ देऊ न’ युट्युभमा छरपष्ट छन् । तर शब्द रचनाकारको नामै उल्लेख छैन । पासांग वागबलको देहावासन भएको यतिका वर्ष भए पनि त्यो कालजयी, अजम्बरी गीत ‘ए कान्छा,,,, ले संधै उनलाई सम्झाइ रहोस् । मेरो यो प्रस्तुतिको बटम लाइन नै यही हो ।

यो प्रस्तुतिलाई प्रस्तुत गर्न सहयोग पुर्‍याउनु हुने दार्जिलिङ निवासी श्री पासांग धेण्डुप, श्री जीवन लाबर, धन्यवादका पात्र हुनुहुन्छ ।

अन्तमा, पासांग वाग्बलको गीतको दुई हरफ राख्दै मेरो यो प्रस्तुतिलाई यहीँ बिट मार्न चाहन्छु ।

बिन्ती छ मेरो दुई कर जोडी, यो बिन्ती नतोड

यस्लाई तोडे पाप है लाग्ला, यसलाई नतोड ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.