साहित्यपोस्ट डट कम

दुई पुस्ताको बीचमा परम्परा र परिवर्तनको सङ्घर्ष : ‘पिता र पुत्र’

दुई पुस्ताको बीचमा परम्परा र परिवर्तनको सङ्घर्ष : ‘पिता र पुत्र’

‘पिता र पुत्र’ (फादर्स एण्ड सन्स) इभान तुर्गेनेभ (९ नोभेम्बर १८१८ – ३ सेप्टेम्बर १८८३) द्वारा लिखित विश्व साहित्यको एउटा कोसेढुङ्गा हो । यो यस्तो कालजयी कृति हो, जसले आफ्नो समयभन्दा अगाडि सोच राख्छ र आज पनि उत्तिकै प्रासङ्गिक छ । तुर्गेनेभको जन्म रूसको ओर्योलमा एक सम्पन्न परिवारमा भएको थियो । उनकी आमा एक जमिन्दार थिइन्, त्यसकारणले बालककालमा नै उनले भूदास प्रथाका क्रूरतालाई महसुस गर्न पाएका थिए, जसले पछि उनको लेखनलाई गहिराईपूर्वक प्रभावित गर्यो ।

तुर्गेनेभ १६ वर्षको हुँदा उनका पिताको मृत्यु भएको थियो । उनी आफ्नी आमाको भयबाट नै हुर्किए । त्यसैले उनी प्रायः एक्लै समय बिताउँथे । यद्यपि उनको स्कूली शिक्षा भने राम्रोसँग पूरा भयो। उनले एक वर्ष मस्को विश्वविद्यालयमा अध्ययन गरे र त्यसपछि सेन्ट पिटर्सबर्ग विश्विवद्यालयमा सन् १८३४ देखि १८३७ सम्म पढे । त्यसपछि उनले बर्लिन विश्वविद्यालयमा दर्शनशास्त्र र साहित्य अध्ययन गरे । पश्चिमी युरोपमा बिताएको समयले उनलाई पश्चिमवादी बनाइदियो । उनको मान्यता अनुसार रूसको विकास पश्चिमी युरोपको वैज्ञानिक र उदारवादी विचारलाई अपनाएर मात्र सम्भव छ भन्ने थियो ।

तुर्गेनेभको मुख्य ध्यान उच्च साहित्य, रूसी साहित्य र दर्शनमा केन्द्रित थियो । उनलाई महान लेखकहरूमध्ये एक मानिन्छ । उनी उपन्यासकार, लघु कथाकार हुनुका साथै एक उच्च श्रेणीका नाटककार पनि थिए । उनको प्रथम प्रकाशित पुस्तक ‘ए स्पोर्ट्समेन स्केचेस’ थियो, जुन सन् १८५२ मा प्रकाशित भएको थियो । रूसी यथार्थवादको श्रेणीमा यो पुस्तकलाई धेरै महत्त्वपूर्ण मानिन्छ । यो पुस्तकमा उनले भूदास किसानहरूको मानवीयता र क्रूरतालाई चित्रण गरे । यो रचना यति प्रभावशाली थियो कि यसले रूसमा भूदास प्रथा अन्त्य गर्नमा योगदान दियो । जार अलेक्जेण्डर द्वितीयसमेत यसको प्रशंसक थिए भनिन्छ ।

तुर्गेनेभले रूसी समाजको उत्कृष्ट यथार्थ र विस्तृत चित्रण दिए । उनका रचनाहरूमा प्रकृतिको सुन्दर र भावपूर्ण वर्णन पाइन्छ । उनका पात्र शिक्षित र आदर्शवादी हुन्छन्, जसले समाजमा आफ्नो स्थान बनाउन सक्दैनन् । तुर्गेनेभको सबभन्दा ठूलो विशेषता भनेको आफ्नो समयको उदीयमान समाजिक र राजनीतिक विचारलाई पहिचान गरेर तिनीहरूलाई साहित्यको विषय बनाउनु हो । ‘पिता र पुत्र’ मा उनले शून्यवादको अवधारणालाई प्रसिद्धि प्रदान गरेका छन् ।

तुर्गेनेभ लियो टोस्सटोय र फ्योदोर दोस्तोयेभ्स्कीका समकालीन थिए तर विचारमा उनीहरूको बीचमा मतभेद र प्रतिस्पर्धा थियो । टोल्सटोय र दोस्तोयेभ्स्कीको तुलनामा तुर्गेनेभको लेखन बढी पश्चिमी ढङ्गको र नियन्त्रित थियो । उनले आफ्नो जीवनको अधिकांश समय रूसबाहिर, विशेषगरी फ्रान्स र जर्मनीमा बिताए । उनको मृत्यु पेरिसको नजिकै भयो तर उनको अन्तिको संस्कारको लागि पार्थिव शरीर रूसमा ल्याइयो, जहाँ हजारौं मानिसहरूले उनलाई श्रद्धाञ्जली दिए ।

इभान तुर्गेनेभ रूसी साहित्यको स्वर्णयुगका एक केन्द्रीय लेखक थिए । उनले केवल सुन्दर साहित्यको मात्र रचना गरेनन्, बरु आफ्नो लेखनको माध्यमबाट रूसी समाज र राजनीतिलाई सक्रियतापूर्वक आकार दिए । उनलाई आधुनिक उपन्यासको विकासमा एक महत्त्वपूर्ण योगदानकर्ता मानिन्छ ।

उनको उपन्यास पिता र पुत्र (फादर्स एण्ड सन्स) लाई १९औं शताब्दीको महानतम् साहित्यिक उपलब्धीहरूमध्ये एक मानिन्छ । यो उपन्यास सन् १८६२ मा प्रकाशित भएको थियो । यसले अलग-अलग विचार, विचारधारा र विश्वास भएका दुई अलग-अलग पुस्ताको बारेमा बताउँदछ । उपन्यासका पिता र पुत्रले सम्पूर्ण रूसको प्रतिनिधित्व गर्दछन् । त्यसबेला रूस धेरै आन्तरिक, पारम्परिक, सांस्कृतिक र राजनीतिक सङ्घर्षसँग जुधिरहेको थियो र यसमा अचानक परिवर्तनको आवश्यकता थियो । यस्तो बेलामा तुर्गेनेभले यो उपन्यास लेखेका थिए ।

यो उपन्यासलाई यथार्थवादको पराकाष्ठा मानिन्छ । तुर्गेनेभले समकालीन सामाजिक-राजनीतिक सङ्घर्षलाई साहित्यको विषय बनाए । यसले स्वच्छन्दतावादको प्रतिक्रिया र एक नयाँ वैज्ञानिक दृष्टिकोणको उदयलाई दर्शाउँछ । यो उपन्यासमा विचारधारा, दर्शन र संसारलाई हेर्ने दृष्टिकोणको सङ्घर्षलाई देखाइएको छ । यहाँ पिताले सन् १८४० को दशकको उदार अभिजात वर्गको प्रतिनिधित्व गर्दछन् । तिनीहरू स्वच्छन्दतावादी, कलावादी सुधारमा विश्वास राख्छन् । अर्कोतिर, पुत्र सन् १८६० को दशकको तर्क, वैज्ञानिक प्रमाण र व्यावहारिक उपयोगितामा विश्वास राख्छन् । उनीहरू पुराना मूल्य, परम्परा र स्थापनालाई अस्वीकार गर्छन् । तुर्गेनेभ स्वयं यो सङ्घर्षको बीचमा उभिएका छन् । उनी पिताहरूको इमान्दारिता र संस्कृतिलाई बुझ्छन् तर पुत्रहरूको ऊर्जा र जुझारुपनबाट प्रभावित छन् ।

उपन्यासका पात्र विचारका प्रतीक मात्र छैनन्, उनीहरू जटिल, मानवीय र स्मरणीय छन् । तुर्गेनेभको वर्णन अत्यन्तै जीवन्त र यथार्थपूर्ण छ । पात्रहरूको संवाद, ग्रामीण रूसको दृश्य र सामाजिक अन्तर्क्रिया बिल्कुल वास्तविक लाग्छन् । लेखकले सम्पूर्ण उपन्यासमा सूक्ष्म व्यङ्ग्यको उपयोग गर्दछन् । यसमा पात्रहरूको मनोदशा अनुरूप प्रकृतिको वर्णन गरिएको छ ।

यो उपन्यास प्रकाशित हुँदा एउटा आँधी नै आएको थियो । रूढीवादीहरूले यसलाई युवा पुस्तामा विद्रोहको भावना बढाउने कृति माने । युवा पुस्ताले यसलाई धेरै रूचाए । यो विवाद नै उपन्यासको सफलता र महत्त्वको प्रमाण थियो । लेखकले यसमा सामाजिक घटनाक्रमलाई मात्र पक्रिएका छैनन्, बरु त्यसलाई यति शक्तिशाली बनाएका छन् कि त्यसले समाजलाई नै पूर्ण रूपमा प्रभावित गरिदियो ।

‘पिता र पुत्र’ एउटा यस्तो उपन्यास हो, जसले विचारधारा र मानवताको बीचको दूरीलाई मेटाउने प्रयास गर्छ । यसको स्थायी महानता कुन तथ्यमा निहित छ भने यसले कुनै एउटा पक्षलाई सही वा गलत सावित गर्ने प्रयास गर्दैन, बरु यसले मानवीय स्थितिको जटिलतालाई दर्शाउँछ । यसले विचारले मानिसलाई अलग गर्न सक्छ तर अन्ततः प्रेम, नोक्सान र मृत्यु जस्ता मौलिक मानवीय अनुभूतिहरू सबै विचारधाराभन्दा माथि छन् भन्ने देखाउँछ । तुर्गेनेभले दार्शनिको रूपमा भन्दा पनि मानवतावादीको रूपमा यो उपन्यास लेखेका छन् । यही कारणले गर्दा यो अहिलेसम्म पनि प्रासङ्गिक र मार्मिक छ ।

यो उपन्यासले समाजका दुई पुस्तकहरूको बीचमा गहिरो सङ्घर्ष र वैचारिक विरोधलाई चित्रित गर्छ । यसमा राजनीतिक एवम् सामाजिक विमर्शहरूको बीचमा प्रेम कथा पनि चल्छ । यसले वैचारिक सङ्घर्षका साथसाथै जीवनका जटिलताहरूलाई पनि उजागर गरेको छ । यसलाई राजनीतिक र भावनात्मक जटिलताहरूको रूपरेखा मानिन्छ । यसमा पुरानो र नयाँ पुस्ताको बीचमा गहिरो मनोवैज्ञानिक र सामाजिक टकराव सँगसँगै परिवर्तनको अनिवार्यता पनि उजागर भएको छ । यो उपन्यास सामाजिक र दार्शनिक विमर्शहरूको समृद्ध स्रोत हो, जसमा प्रसिद्ध पात्रहरूको माध्यमबाट जीवनको गहन अन्दृष्टि पाइन्छ ।

उपन्यासको सम्पूर्ण कथा सङ्क्षिप्तमा

उपन्यासको कथाको शुरुवात सन् १८५९ बाट हुन्छ । अर्कडी किरसानोभ नामको एक युवकले भर्खरै पिटर्सबर्ग विश्वविद्यालयबाट स्नातक गरेको छ र आफ्नो एक असल मित्रसँगै आफ्ना पिताको सम्पत्तिमा फर्किएर आएको छ । अर्कडीको पिता निकोलाई किरसानोभले दुवै युवकहरूलाई खुशीपूर्वक स्वागत गर्छन् तर बाजारोभ एक शून्यवादी थियो; जसानुसार ऊ कुनै पनि पूर्वनिर्मित विचारधारा, रीतिरिवाज वा परम्परामा विश्वास गर्दैनथ्यो । उसको शून्यवादी विचार नै निकोलाईको भाई पाभेलसँग उसको सङ्घर्षको कारण बन्छ । पाभेल एक विशिष्ट परम्परावादी अभिजात विचारधारासँग सम्बन्ध राख्छ ।

शून्यवाद एक युवा आन्दोलन, एउटा दार्शनिक प्रवृत्ति र एउटा क्रान्तिकारी आवेग थियो । यो प्राकृतिक विज्ञानको मूल्याङ्कन थियो । यो एक विशिष्ट फेसन शैली वा सौन्दर्यशास्त्र, आलोचना र नैतिकताप्रति एक नयाँ दृष्टिकोण थियो । यो अध्ययन गरिएको भौतिकवाद र सामाजिक व्यवस्थालाई नष्ट गर्ने इच्छाको बीचमा अन्तर्विरोध थियो । यो जारवादी सुधार र दमनको स्थितिप्रति विशेष रूपले रूसी प्रतिक्रिया पनि थियो । यो आफ्नो मूल्यप्रणाली, अभ्यास र निष्कर्षहरूको व्यापक प्रकृतिको कारणले मूल रूपमा जति सक्षम हुन सक्थ्यो, त्योभन्दा धेरै बढी भएको छ । शून्यवादको प्रभावलाई अराजकतावादको इतिहास, आतङ्कवादको गठन र आधुनिक अभ्यास तथा विघटनदेखि लिएर अस्तित्ववादसम्मका दार्शनिक विचारहरूको माध्यमबाट हेर्न सकिन्छ ।

निकोलाई शुरूमा आफ्नो छोरालाई घरमा पाएर खुशी भयो तर विस्तारै उसले असहज महसुस गर्नलाग्यो । आफ्नो छोराप्रति उसको सम्बन्धमा एक निश्चित आश्चर्य विकसित हुन्छ । किनभने बाजारोभबाट धेरै प्रभावित अर्कडीको कट्टरपन्थी विचारले निकोलाईका आफ्ना विश्वासहरूलाई दैनिक महसुस गराउँदछन् । निकोलाईले आफ्नो छोरालाई स्कूल जाने जस्ता काम गरी जति सम्भव हुन्छ त्यति सक्रिय राख्ने कोशिस गरे, ताकि दुवै एक-अर्कोसँग निकट रहन सकून् । तर निकोलाई यसमा असफल भयो । यसलाई अझ जटिल बनाउनको लागि उसले आफूसँग रहनको लागि एक नोकर फेनेच्कालाई आफ्नो घरमा ल्यायो र उसको पहिलेदेखि नै मित्या नामको एउटा छोरो छ । यद्यपि अर्कडी सम्बन्धमा दुःखित छैन, यसको विपरीत ऊ खुला रूपमा आफ्नो भाइसँग सङ्घर्षको उत्सव मनाउँछ ।

दुई युवक केही हप्ताको लागि मेरिनोमा बस्छन्, त्यसपछि छिमेकी प्रान्तमा अर्कडीको एउटा नातेदारसँग भेट गर्ने निर्णय गर्दछन् । त्यहाँ उनीहरू स्थानीय जेन्ट्रीको निरीक्षण गर्दछन् र मेडम अन्ना सर्गेभना ओडिन्ट्सोभासँग भेट गर्दछन् । उनी धनी र स्वतन्त्र साधनहरूकी एक सुन्दर महिला हुन्, उनी आफ्ना वरिपरिका प्रान्तीय समाजका भद्र वा नीरस प्रकारले र आकर्षक रूपले अलग आकृति बनाउँछिन् । उनी आफ्नी बहिनी कात्यासँगै बस्छिन् । दुवै युवक उनीप्रति आकर्षित छन् । र, ती महिला बजारोभको विलक्षण तरीकाबाट चकित भएर तिनीहरूलाई आफ्नो सम्पत्ति भएको ठाउँ निकोलस्कोयमा केही दिन बिताउनको लागि आमन्त्रित गर्छिन् । जबकि बाजारोभ पहिले त अन्नाको लागि केही पनि महसुस गर्दैन, अर्कडी उनको प्रेममा पागल हुन्छ ।

निकोल्सकोयमा उनीहरूले अन्ना सर्गेभनाकी बहिनी कात्यालाई पनि भेट्छन् । यद्यपि उनीहरू केवल थोरै अवधिको लागि मात्र त्यहाँ रहन्छन्, दुवै महत्त्वपूर्ण परिवर्तनबाट गुज्रिन्छन् : एक-अर्कोसँग उनीहरूको सम्बन्ध विशेष रूपले परिवर्तन हुन्छ । किनभने अर्कडीले स्वयंलाई खोज्न शुरू गरिदिएको छ र ऊ बाजारोभको अनुयायीको स्थितिबाट टाढा भएको छ ।

बाजारोभ विशेषगरी प्रेममा पर्ने कुराबाट हैरान हुन्छ किनकि यो कुरा उसको शून्यवादी विश्वासको विरूद्ध हुन्छ । अन्ततः अडिन्ट्सोभाको आकर्षणको सतर्क भावबाट प्रेरित भएर उसले उनीसँग प्रेम गर्ने घोषणा गर्‍यो । अन्नाले उसको घोषणामाथि खुलेर प्रतिक्रिया दिइनन्, यद्यपि उनी पनि बाजारोभप्रति गहिराइपूर्वक आकर्षित हुन्छिन् । तर अन्नाका बाजारोभप्रति केही भावनाहरू छन्, उनीहरू प्रेममा समान छैनन् र अन्ना उसको लागि स्वयंलाई खोल्न सक्दिनन्, किनकि उनले उससँग राम्रो भविष्यको सम्भावना देख्दिनन् । आफ्नो प्रेमको घोषणापछि र एक समान घोषणा गर्नमा उसको असफलतापछि बाजारोभ आफ्ना आमाबाबुको घर जान्छ र अर्कडीले पनि ऊसँगै जाने निर्णय गर्दछ।

बाजारोभको घरमा उसका आमाबाबुले उत्साहपूर्वक उनीहरूको स्वागत गर्दछन् । र, उनीहरूका छोराले पालनपोषण गर्ने आमाबाबु दुवैको परम्परावादी रीतिरिवाज, उदासीन आदर्शवादी वर्णन र सरल मूल्य तथा गुणलाई उसको तीव्र रूप लोप हुने संसारसँग चित्रित गर्दछन् । उनीहरूले बाजारोभको प्रेम प्रस्तावलाई पनि अस्वीकार गरेकोले बाजारोभ भ्रमित र तनावग्रस्त थियो।

बाजारोभको सधैं बाहिरी मान्छेसँग प्रदर्शित हुने सामाजिक कुटिलता अझै पनि बिल्कुल स्पष्ट छ, किनभने ऊ आफ्नो परिवाको माहौलमा फर्किएको छ । आफ्नो बाबुलाई रोक्दै ऊ अर्कडीसँग कुरा गर्दछ, त्यसपछि ऊ आफ्नो आमाबाबुको निकट भएर पनि अचानक र अझै पनि ध्यानको शक्तिशाली केन्द्र सावित हुन्छ । बाजारोभको पितालाई उसको छोराको भविष्य उज्ज्वल छ भनेर आश्वासन दिएर खुशी बनाउने अर्कडीले अब आफ्नो मित्रलाई उसको क्रूरताको लागि गाली गर्दछ ।

बाजारोभसँग लडाइँको बारेमा मजाक गरेपछि उसले अर्कडीलाई कुटपिट गर्न लाग्दछ । यसले एकपटक फेरि अर्कडी र बाजारोभको सम्बन्धभित्रको दूरी र परिवर्तनलाई दर्शाउँदछ । किनभने अर्कडी बाजारोभका आदर्शहरूको विरूद्धमा धेरै उदण्ड हुन्छ । एक सङ्क्षिप्त प्रवासपछि आमाबाबुको निराशाको लागि उनीहरूले मेडम ओडिन्ट्सोभालाई हेर्ने मार्गमा रोकिंदै तीन दिनपछि मेरिनो फर्किने निर्णय गर्दछन् । उनीहरू तुरून्तै निस्किन्छन् र अर्कडीको घर फर्किन्छन् ।

अर्कडी केही दिन मात्र बस्दछ र पुनः कुनै कामको लागि निकोल्सकोय जाने बहाना बनाउँदछ । एक पटक त्यहाँ उसलाई के थाहा हुन्छ भने ऊ ओडिन्ट्सोभालाई प्रेम गर्दैन, बरू उसकी बहिनी कात्यासँग प्रेममा छ । बाजारोभ केही वैज्ञानिक शोध गर्नको लागि मेरिनोमा नै रहन्छ । त्यहाँ उसको र पाभेलको बीचमा तनाव बढ्दछ ।

एकदिन पाभेलको सामु बाजारोभले फेनेच्कालाई चुम्बन गर्दछ र उसको कार्यमा पाभेल क्रोधित हुन्छ । पाभेलले बाजारोभलाई लडाइँको लागि चुनौति दिन्छ । लडाइँमा पाभेलको जाँघमा घाउँ हुन्छ । र, बाजारोभले मेरिनो छोड्छ । अन्तिम पटक लडाइँको बारेमा बताउनको लागि आफ्नो साथीलाई भेट्न जान्छ । ऊ लगभग एक घण्टाको लागि मेडम ओडिन्ट्सोभाकोमा रोकिन्छ, त्यसपछि आफ्ना आमाबाबुको घरमा जान्छ ।

यही बीचमा अर्कडी र कात्याको बीचमा प्रेम हुन्छ र उनीहरूले इन्गेजमेन्ट गर्दछन् । अन्ना आफ्नी बहिनीसँग विवाह गर्ने अर्कडीको अनुरोधलाई स्वीकार्नमा सङ्कोच मानिरहेकी छिन्, तर बाजारोभले उनलाई विवाहको अनुमति दिनको लागि मनाउँदछ ।

घर फर्किएको बेलामा बाजारोभ धेरै बदलिन्छ । आफ्ना प्रयोगहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा ऊ आफ्ना पितालाई एउटा स्थानीय डाक्टर बन्नमा मद्दतको लागि मोडिन्छ । बाजारोभले घरमा आफ्नो दिमाग आफ्नो काममा लगाउन सक्दैन र शब परीक्षण गरेको बेलामा उचित सावधानी अपनाउनमा असफल हुन्छ । उसले एकदिन गल्तीपूर्वक आफ्नै शरीरको अङ्ग काट्दछ र रक्त विषाक्ताको कारणले ऊ बिरामी हुन्छ । आफ्नो मृत्युशैय्यामा ऊ मेडम ओडिन्ट्सोभालाई बोलाउँछ । भोलिपल्ट बिरामीको कारणले उसको मृत्यु हुन्छ ।

अर्कडीले कात्यासँग विवाह गर्दछ र आफ्नो पिताको सम्पत्तिको व्यवस्थापन आफ्नो हातमा लिन्छ । उनको पिताले फेनेच्कासँग विवाह गर्छन् र अर्कडीलाई घरमा पाएर खुशी हुन्छन् । पावेलले देश छोड्छ र आफ्नो बाँकी जीवन ड्रेसडेन, जर्मनीमा बिताउँदछ । यसरी उपन्यासको अन्त हुन्छ ।

सन्दर्भ स्रोतहरू

1. https://www.gw2ru.com/arts/3956-turgenev-fathers-sons-short-summary

2. https://www.supersummary.com/fathers-and-sons/summary/

3. https://www.litcharts.com/lit/fathers-and-sons/summary

4. https://www.cliffsnotes.com/literature/f/fathers-and-sons/book-summary

5. https://www.learncbse.in/father-to-son-summary/

6. https://mirtitles.org/page/6/?archives-list=1

7. https://channelmountain.com/360/

8. https://archive.org/download/fatherssons00turg/fatherssons00turg.pdf

9. Study and Research of various websites, blogs, online portals, youtube channels, etc.

साझा गर्नुहोस्:
नारायण गिरी

लेखकको बारेमा

नारायण गिरी

ओखल्ढुङ्गामा जन्मनु भएका नारायण गिरी इतिहास, राजनीतिशास्त्र, नेपाली इतिहास, संस्कृति र पुरातत्त्वशास्त्र; सार्वजनिक प्रशासन गरी चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर हुनुहुन्छ । उहाँ दर्शन, इतिहास, संस्कृति तथा अन्य विषयमा अध्ययन-अनुसन्धान, लेखन र अनुवादको कार्यमा लामो समयदेखि संलग्न हुनुहुन्छ । गिरीका दुई दर्जनभन्दा बढी अनूदित पुस्तकहरू प्रकाशित छन् । तीमध्ये भलेरी अलेक्सेयेभको 'मानव जातिको उत्पत्ति', एच.जी. वेल्सको 'विश्व इतिहास', राहुल सांकृत्यायनको 'विश्वको रूपरेखा', टी.एस. कुनको 'वैज्ञानिक सिद्धान्तको विकास प्रक्रिया', कार्ल मार्क्सको 'दर्शनको दरिद्रता', पाउलो फ्रेरेको 'उत्पीडितहरूको शिक्षाशास्त्र', लुइस हेनरी मोर्गनको 'प्राचीन समाज', क्रिस हर्मनको 'विश्वको जन‑इतिहास' प्रमुख छन् । उहाँले थुप्रै पुस्तकमा सहअनुवादकका रूपमा काम पनि गर्नु भएको छ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.