साहित्यपोस्ट डट कम

दुई लघुकथासङ्ग्रहमाथि भर्चुअल लघुकथा परिचर्चा सम्पन्न

दुई लघुकथासङ्ग्रहमाथि भर्चुअल लघुकथा परिचर्चा सम्पन्न

काठमाडौं । वन तथा वातावरण साहित्यिक समूहको आयोजनामा अवदेश सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’ र डा. हिमलाल श्रेष्ठको लघुकथासङ्ग्रह ‘चौतारो चिन्तन’ माथि केन्द्रित लघुकथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

२०८२ पौष १९ गते शनिबार नेपाली समयअनुसार साँझ ८ बजे भर्चुअल माध्यमबाट सुरु भएको कार्यक्रम राति १० बजे समापन भएको थियो। कार्यक्रममा नेपालभित्रका साहित्यकारहरूका साथै अमेरिका, क्यानाडालगायत विभिन्न देशमा रहनु भएका साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवातमा सबै उपस्थित व्यक्तित्वहरूलाई स्वागत गर्दै कमला रुपाखेतीले यस समूहले नियमित रूपमा सञ्चालन गर्दै आएका कार्यक्रमहरूभन्दा फरक ढङ्गले लघुकथाका कृतिहरूमाथि केन्द्रित भएर यो परिचर्चा आयोजना गरिएको बताउनुभयो।

अवदेश सिंहको ‘मरजाद’ माथि परिचर्चा गर्दै भाषा आयोगका पूर्व सदस्य गोपाल अश्कले सङ्ग्रहभित्र समेटिएका लघुकथाहरूको सूक्ष्म विश्लेषण गर्नुहुँदै लघुकथा र कथा लेखनका विविध पक्षमाथि चर्चा गर्नुभयो। उहाँले ‘मरजाद’ तथा ‘इन्द्रेणी’ शीर्षकका लघुकथाहरू सशक्त र प्रभावकारी रहेको उल्लेख गर्नुभयो। साथै “नफुलेका फूलहरूको बीचमा फुलेको फूल राम्रो देखिन्छ” भन्ने पङ्क्तिलाई सुन्दर र दार्शनिक अर्थ बोकेको अभिव्यक्ति भएको टिप्पणी गर्नुभयो।

त्यसैगरी डा. कुसुमाकर शर्माले डा. हिमलाल श्रेष्ठको ‘चौतारो चिन्तन’ माथि परिचर्चा गर्दै कृतिको कभरले नै पर्यावरणीय चासो, चिन्ता र चिन्तनलाई सशक्त रूपमा अभिव्यक्त गरेको बताउनुभयो। उहाँले सङ्ग्रहभित्रका लघुकथाहरूमा विम्ब र अलंकारको प्रयोगमार्फत यथास्थितिमाथि प्रश्न उठाउँदै विद्रोहको स्वर सुन्न सकिने धारणा राख्नुभयो। साथै लघुकथाहरूलाई खण्ड–खण्डमा विभाजन गर्ने लेखकको अभ्यासलाई सकारात्मक प्रयोगका रूपमा उल्लेख गर्नुभयो।

दुवै परिचर्चाकारहरूले यी दुवै कृति सर्जकहरूको पहिलो लघुकथासङ्ग्रह भएकाले आगामी दिनमा अझ परिपक्व र सैद्धान्तिक रूपमा समृद्ध कृतिहरू प्रकाशित होउन् भन्ने शुभकामना व्यक्त गर्दै, देखिएका केही कमजोरीहरूलाई आत्मसात् गर्दै अघि बढ्न सुझाव दिनुभयो।

डा. ऋषि वस्ताकोटीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा प्राज्ञ ध्रुव मधिकर्मी, लोकबन्धु, मीना गुरुङ, विष्णु आचार्य, प्रेम खनाल, डा. चन्द्र गिरी, डा. शेखरकुमार श्रेष्ठलगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रम फेसबुक लाइभमार्फत पनि प्रसारण गरिएको थियो, जसको भिडियो वन तथा वातावरण साहित्यिक समूहको फेसबुक पेजमा हेर्न सकिनेछ।

कार्यक्रमको जुमसहित प्राविधिक पक्ष डा. भरतमान श्रेष्ठले सम्हाल्नुभएको थियो भने डा. रोशन शेरचनले कार्यक्रमको सारांश प्रस्तुत गर्दै सर्जकद्वय, परिचर्चाकारद्वय तथा उपस्थित सबै साहित्यकारप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.