सिलगढ़ी। पूर्वी हिमालयको ऐतिहासिक स्मृति, पहिचान र यात्राको बहुआयामिक कथालाई बोकेको कृति दार्जीलिङ टु डिस्ट्यान्ट डेस्टिनेसन्सको विमोचनसँगै बुक–आण्ट पब्लिकेशन हाउस, सिलगढ़ीको नयाँ प्रकाशन एकाइ स्यालमेण्डर इम्प्रिन्ट्सको औपचारिक शुभारम्भ सम्पन्न भएको छ।
बेस्टसेलर इतिहासकार डा. सोनाम बी. वाङ्ग्यालद्वारा लिखित उक्त कृतिको विमोचन ११ जनवरीका दिन सिलगढ़ीस्थित गुरुङ नगरको किताब क्याफेमा सम्पन्न भयो। कार्यक्रमको केन्द्रमा डा. वाङ्ग्याल र सहजकर्ता डा. सत्यदीप एस. छेत्रीबीच भएको अर्थपूर्ण संवाद रह्यो। सो अवसरमा इब्न बतुत्ताको प्रसिद्ध भनाइ— “नयाँ ठाउँमा जाँदा मानिस मौन हुन्छ, अनि पछि ऊ कथाकार बन्छ”— उद्धृत गर्दै डा. छेत्रीले डा. वाङ्ग्याललाई त्यस भनाइको जीवित उदाहरणका रूपमा प्रस्तुत गर्नुभयाे ।
आफ्नो मन्तव्यमा डा. वाङ्ग्यालले ‘ब्रान्ड दार्जीलिङ’ र ‘ब्रान्ड गोर्खा’ को विश्वव्यापी प्रयोगमाथि चर्चा गर्दै समुदायले आफ्नै ब्रान्ड मूल्यको सही उपयोग गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयाे । उहाँले यस कृतिलाई दार्जीलिङ क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र आर्थिक चेतनालाई पुनःजागृत गराउने ‘आँखेखोल्ने पुस्तक’को संज्ञा दिनुभयाे ।
पुस्तकको औपचारिक विमोचन डा. पी. के. छेत्री, डा. रिन्जी इडेन वाङ्दी, ज्ञानेन्द्र खतिवडा तथा डा. सत्यदीप एस. छेत्रीको करकमलबाट सम्पन्न भयो। सो अवसरमा स्यालमेण्डर इम्प्रिन्ट्सद्वारा लेखक डा. वाङ्ग्याललाई सम्मान पनि प्रदान गरियो।
कार्यक्रममा प्रमुख अतिथि डा. पी. के. छेत्री तथा विशिष्ट अतिथि डा. रिन्जी इडेन वाङ्दीले यात्रावृत्तान्त लेखनले विश्वव्यापीकरणको युगमा स्थानीय पहिचान र कथालाई कसरी विश्वसँग जोड्छ भन्ने विषयमा प्रकाश पार्नुभयाे ।
स्यालमेण्डर इम्प्रिन्ट्सका संस्थापक–निर्देशक राजा पुनियानीले स्वागत मन्तव्यमा इम्प्रिन्टको नाम पूर्वी हिमालयमा पाइने ‘जीवित जीवाश्म’ मानिने स्यालमेण्डरबाट प्रेरित रहेको बताउनुभयाे । उहाँले आगामी दिनमा अनुसन्धानमूलक कृति, इतिहास तथा ऐतिहासिक उपन्यासहरूमा इम्प्रिन्टले विशेष ध्यान दिने जानकारी दिनुभयाे ।
यस अवसरमा केक काट्दै स्यालमेण्डर इम्प्रिन्ट्सको औपचारिक शुभारम्भ गरियो। बुक–आण्ट तथा स्यालमेण्डर इम्प्रिन्ट्सका लोगो डिजाइनर तथा द कर्ड भारतका सीईओ राहुल सम्भवी सिन्हालाई सम्मानित गरियो। कार्यक्रमको सञ्चालन श्रद्धा शर्माले गर्नुभएकाे थियाे भने धन्यवाद ज्ञापन नरेश के. शाहीले गर्नुभएकाे थियाे ।
दार्जीलिङको स्थानीय अनुभव र विश्वव्यापी यात्राको संगम प्रस्तुत गर्ने दार्जीलिङ टु डिस्ट्यान्ट डेस्टिनेसन्स समकालीन यात्रासाहित्यमा एक महत्वपूर्ण योगदानका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

