काठमाडौं । कवि तथा प्राज्ञिक व्यक्तित्व डा. पुष्पराज आचार्य को अङ्ग्रेजी कविता सङ्ग्रह ड्रेपरी अफ टाइम सार्वजनिक गरिएको छ। फागुन ८ गते काठमाडौंको ठमेलस्थित बज्र बुक्सको रुपटप गार्डेनमा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो।
बज्र पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित यस कृतिको विमोचन समारोहमा साहित्यकार, समालोचक तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहजीकरण गर्दै डा. शिव रिजालले कवि आचार्यसँगको दीर्घकालीन साहित्यिक सहकार्य र अनुसन्धान अनुभव प्रस्तुत गर्दै उहाँको सिर्जनात्मक साधनाको चर्चा गर्नुभयाे ।
आदिकवि भानुभक्त आचार्य को वंशमा जन्मिएका डा. आचार्यले पूर्वीय दर्शन र पाश्चात्य साहित्यिक चेतनाको समन्वय गर्दै अङ्ग्रेजी भाषामा नेपाली संवेदनालाई अभिव्यक्त गर्नुभएकाे छ । कार्यक्रममा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले डा. आचार्यको बहुभाषिक दक्षता र साहित्यिक योगदानको प्रशंसा गर्नुभयाे ।
समालोचक अभि सुवेदी ले कृतिमा समावेश कविताहरू छोटा तर गहिरो अर्थयुक्त रहेको उल्लेख गर्दै तिनलाई जापानी हाइकू शैलीसँग तुलना गर्नुभयाे । उहाँका अनुसार कविताहरूले पाठकलाई स्वतन्त्र रूपमा अर्थ खोज्न प्रेरित गर्छन्।
ड्रेपरी अफ टाइम डा. आचार्यको तेस्रो कृति हो। यसअघि उहाँका छायाँकाल (२००६) र ड्रिम क्याचर (२०१२) प्रकाशित भइसकेका छन्। कृतिले समय, स्मृति र सांस्कृतिक पहिचानका विषयलाई केन्द्रमा राख्दै नेपाली डायस्पोरिक साहित्यमा नयाँ विमर्श सुरु गर्ने अपेक्षा गरिएको छ।
हाल क्यानडामा रहेर प्राध्यापन तथा अनुसन्धानमा संलग्न डा. आचार्यले परदेशमा रहँदा पनि नेपाली समाज, संस्कृति र अनुभूतिलाई आफ्नो सिर्जनाको केन्द्रमा राख्दै आउनुभएकाे छ । उहाँका अनुसार यस कृतिमा नेपाली मनका भावनालाई अङ्ग्रेजी भाषामार्फत अभिव्यक्त गरिएको छ।

