काठमाडौँ । लेखक तथा कवि डा. दामोदर पुडासैनी ‘किशोर’को अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ बजारमा आएको छ । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको उक्त कृति लेखकको जीवन–मृत्यु संघर्षबीच जन्मिएको सिर्जना हो ।
नेजोफेरेन्जियल कार्सिनोमा (क्यान्सर) को गम्भीर आक्रमणसँग जुध्दै गर्दा डा. पुडासैनीले रेडियोथेरापी, किमोथेरापी लगायतका उपचार सहनुपरेको थियो । उपचारका क्रममा शारीरिक रूपमा अत्यन्त कमजोर अवस्थामा पुगे पनि उहाँले आत्मबल र वैज्ञानिक प्रगतिप्रतिको विश्वासलाई सम्हाल्दै मृत्यु विरुद्ध संघर्ष गर्नुभयो । सोही कठिन समयका अनुभूति र विचारलाई उहाँले ‘कालो आँधी’ शीर्षकमा कृतिका रूपमा प्रस्तुत गर्नुभएको हो ।
कृतिमा जीवनप्रतिको आशा, पीडासँगको जुधाइ र अस्तित्वबोधको गहिरो विमर्श अभिव्यक्त भएको छ । यसलाई केवल पढ्ने मात्र होइन, अनुभूत गर्ने कृतिका रूपमा व्याख्या गरिएको छ ।
कृतिको भूमिका समालोचक तथा कवि प्रा. डा. नेत्र एटमले लेख्नुभएको छ । उहाँका अनुसार ‘कालो आँधी’ छटपटी, मनस्ताप र मृत्युको निकट अनुभवबाट जन्मिएको आत्माभिव्यक्ति हो, जसले लेखकको गहन जीवनदृष्टि र सामाजिक चिन्तनलाई उजागर गर्छ । उहाँले कृतिलाई ‘मृत्युनिकटको सङ्कल्पना’ जस्तै प्रामाणिक अभिव्यक्ति भन्दै यसले पाठकलाई पुनर्विचार गर्न बाध्य बनाउने उल्लेख गर्नुभएको छ ।
प्रकाशक रत्न पुस्तक भण्डारले यस कृतिलाई जीवनसंघर्षको सशक्त अभिलेखका रूपमा व्याख्या गर्दै पीडा, अभाव र रोगसँग जुध्दै जीवनलाई नयाँ दिशातर्फ डोर्याउने साहसिक प्रयासको कथा भनेको छ । काव्यिक भाषा, भावनात्मक गहिराइ र दार्शनिक दृष्टिकोणको संयोजनले कृतिलाई विशिष्ट बनाएको प्रकाशकीयमा उल्लेख छ ।
स्वयं लेखक पुडासैनीले यस कृतिलाई जीवन र मृत्युबीचको सङ्घर्षको मझधारमा लेखिएको मनको आलापका रूपमा चित्रण गर्नुभएको छ । उहाँका अनुसार यसमा रोगलाई केन्द्रमा राखेर समाज, मान्छे र जीवनका मूल्यहरूको दार्शनिक विश्लेषण गरिएको छ ।
‘कालो आँधी’ डा. पुडासैनीको एक्काइसौँ कृति हो । यसअघि उहाँका एघार कविता सङ्ग्रह, सात नियात्रा सङ्ग्रह, एक दर्शन सङ्ग्रह र एक आर्थिक व्यवस्थापनसम्बन्धी कृति प्रकाशित भइसकेका छन् । उहाँका ‘सिमानाका रङ्ग’, ‘सिमानाका तरङ्ग’ र ‘ग्रीष्मको नीलो बतास’ मदन पुरस्कारको श्रेष्ठ सूचीमा परिसकेका कृतिहरू हुन् ।
रत्न पुस्तक भण्डारका प्रमुख गोविन्द श्रेष्ठ तथा प्रवन्ध निर्देशक सुरेश श्रेष्ठका अनुसार कृति प्रकाशनको पहिलो दिनमै उल्लेख्य बिक्री भएको छ र हाल देशका प्रमुख बजारहरूमा उपलब्ध छ । निकट भविष्यमा स्वदेश तथा विदेशका पाठकमाझ समेत विस्तार गरिने जनाइएको छ ।

