मुक्तक १
सधैँ यादको झल्को दिने चोटै फ्याँकौँ क्यारे
माया गर्न तम्सिने यी ओठै फ्याँकौँ क्यारे ।
जति बिर्सूँ भन्दा पनि लागिरहन्छ माया
धोका दिने बैमानीको फोटै फ्याँकौँ क्यारे ।
मुक्तक २
झुठ बोली जित्नुभन्दा भोटै फ्याँक्देऊ नेता
चश्मा टाइ के लगाउँछौ कोटै फ्याँक्देऊ नेता ।
‘मण्डने’को मातृभूमि डुबाइहाल्यौ क्यारे
भ्रष्टाचारी जिन्दगीको बोटै फ्याँक्देऊ नेता ।
मुक्तक ३
नगरौँ है घमण्ड, एकदिन गलेर जाने हो
बैँसको पनि नगरौँ फुर्ती, ढलेर जाने हो ।
‘मै हुँ’ लाई त्यागे भलाइ यसमै देख्दछु मैले त
यो ज्यान पनि चितामा एकदिन जलेर जाने हो ।
मुक्तक ४
नबाल टायर, मेची र काली सक्छन् सुक्नलाई
डलरेहरूले विकासको कदम सक्नेछन् रोक्नलाई ।
चौटा र लाम्टा काटेर खान्छन् भागबण्डा गरेर
सगरमाथा निहुराई पाउमा सक्नेछन् झुक्नलाई ।

