साहित्यपोस्ट डट कम

डा. बशीर बद्र : बडी आरजू थी मुलाकात की !

डा. बशीर बद्र : बडी आरजू थी मुलाकात की !

उजाले अपने यादों के हमारे साथ रहने दो

नजाने किस गली में जिन्दगी की शाम हो जाये ।

हो, यही शेर थियो सनतकुमारले झन्डै पचास वर्ष अगि सुनेको बनारसमा ।

प्रातः स्मरणीय निर्गुण गुरुले पढाउँदै गर्दा खै कुन्नि कुन सन्दर्भमा कहनुभएको ।

उबेला सनतकुमार भरखर जुँगारेखी बस्दै गरेको, सुन्दर, शान्त कुनै अज्ञात अदम्य चुम्बकीय ख्वाब–दुनियाँमा तैरिँदै गरेको किशोरावस्थाको उत्कर्षमा पुगेको केटो ।

गुरु आत्मीय स्नेहभावले सनतकुमारलाई अर्धनिमीलित नयनले हेर्दै र कुनै कल्पनालोकमा विचर्दै यो शेर सुनाउनुहुन्थ्यो । अनि उस्को मुहारमा खै के भाँप्नुहुन्थ्यो – शायद यो शेर त्यहाँ कहाँ पुग्यो भनेर नियाल्नुहुन्थ्यो ।

सनतकुमार आफ्नो समझ–पूँजी अनुसार यसलाई आफूमा उतार्दथ्यो –

तिमी आफ्ना उज्याला यादहरूलाई मसँग रहन देऊ, थाहा छैन – कुन गल्लीमा जिन्दगीको साँझ पर्ने हो ।

अनि, कतै मनोलोकमा एउटा दृश्य झुल्किन्छ– बनारसको साँगुरो गल्लीमा साधुबेलाबाट मणिकर्णिका कुण्डको आठ बट्टा दश परमार्थ भवनमा आउँदा राती बत्ती गएको छ, अनि गोजीबाट सानो टर्चलाइट बालेर साढे गोरु र त्यसका गोबरका थासबाट बच्न बाटो पहिल्याउँदै एउटा केटो अगि बढिरहेको छ ।

. . . .

तेतिबेला भरखर अठार बीस बर्षको सनतकुमारलाई के थाहा – यो डा. बशीर बद्रको शाश्वत कविवाणी हो भनेर ।

शनैः शनैः गुरुकृपाले, आन्तरिक प्रेरणाले, अन्तर्मनको अज्ञातप्रति प्रेरित खोजले सनतकुमार गजल जगत्मा आइपुगेथ्यो । विशेषतः जगजीत बाबूको रोमान्सिक आवाजको जादूको खेलौनाजस्तो गजलको अनौठो दुनियाँमा विचरण गर्न आइपुगेको थियो ।

धेरै सुनिएका, दिलमा घर बनाएका अनेक गजलहरू थिए ।

पछि, धेरै पछि, पछिल्लो चरणमा पो बल्ल थाहा भयो, वस्तुतः जीवनको उत्तरार्धमा– ती रचनाहरू डा. बशीर बद्र साहबका रहेछन् ।

गुरुले सुनाउनुभएको त्यस्तै अर्को शेर सम्झन्छु :

तेरी यादें हैं, और जिन्दगी की राहें हैं

भटक रहा हूँ अँधेरों मे रोशनी लेकर ।

यो शेर कसको हो– आजसम्म था पाएको छैन ।

. . . .

यसरी आधा शताब्दी अगि नै मशहूर शायर बशीर बद्र सनतकुमारको जेहनमा पसिसकेका रहेछन्, बसिसकेका रहेछन्, अहिले पो बल्ल था भयो ।

त्यसै गरी पछि था भयो– उनै बशीर बद्र जगजीतका स्वरमा धेरै सुनिएछन् !

मुहब्बतों मे दिखावे की दोसती न मिला

अगर गले नहीं मिलता तो हाथ भी न मिला ।

यो शेर सनतकुमारले धेरै पटक धेरै जनालाई सुनाएको छ, किन होला ?

शायद आफ्नै स्वभागसँग मिल्ने भएर होला । लाग्दछ उसैका लागि यो कहिएको हो ।

जीवनपथमा भेटिएका थोरै मानिससँग मात्र लगाव हुने । तर, लगाव भइसकेपछि गहिरो हुने । हात मिलाउन मन नलाग्ने, गले मिलाउन मन लाग्ने । यो सहजभावमा घोलिएर आएको स्वभावलाई यसरी भन्दा राम्ररी अरु कसरी व्यक्त्याउन सकिएला ? त्यो कल्पनातीत छ ।

तर, यसको ठीक विपरीत पछि तिनै शायरले फेरि गुनगुनाए :

कोई हाथ भी न मिलाएगा, जो गले मिलोगे तपाक से

ये नये मिजाज का शहर है, जरा फासले से मिला करो ।

मनमा गहन जिज्ञासा जाग्दछ, ती महान् शायरलाई किन यसो भन्नुपरेको होला ?

अनि हठात् झसंग हुन्छ सनतकुमार । आफ्नै जीवनमा पनि यही चरितार्थ भएको छैन र ?

कति मानिससँग आत्मीयताको अभिव्यक्तिमा लम्किएका हातहरू विफलताको बोझले लत्रिएका छन् । शायद गले मिल्नु तिनलाई राश आएन । गले मिल्नु गलत सन्दर्भ भैदियो शायद । खुला दिलको आत्मीयता–आवाहन नाकाम दुआ जस्तो, बैरंग पत्र जस्तो विफलीभूत फिर्ता आइदियो ।

कति ठीक र सटीक भनेछन् शायरले –

कसैले तिमीसँग हात मिलाउन पनि मन पराउने छैन यदि फट्टै अँगालो मार्‍यौ भने, यो नयाँ मिजाजवाला शहर हो, यहाँ मानिसहरूसँग अलिकति दूरी कायम राखेर मिल्ने गर ।

कति पर परसम्म यसको प्रहार पुग्दछ ।

पूर्वीय आबोहवामा पल्लवित यो आत्मीयताको आलिंगन अधुना पश्चिमेली तातो हावाको तीव्र प्रहारले तहस–नहस भइसकेको छ, पुरुषालिंगन शंकास्पद बनेको छ । नैतिकताको चपेटामा परेको छ । लाज शरम र शंकाको घेरोमा तानिएको छ ।

विस्मयापन्न हुन्छ मन– शायरको संकेत कस्तो अपार छ, कति अनन्त छ !

. . . .

डा. बशीर बद्रको यो गजल कतै अन्तःस्तलमा अक्सर तरंगित भइरहन्छ –

परखना मत, परखने मे कोई अपना नहीं रहता

किसी भी आइने मे देर तक चेहरा नहीं रहता ।

जीवनपथमा अनेकवार यस्तो नाजुक पलसँग जम्काभेट भइरहन्छ जसमा हामी कोही आत्मीयजनसँग संशयापन्न बन्दछौं । अतीतदेखि सततः प्रवाहित सम्बन्धसूत्रका ताना–बानाहरूतिर हाम्रो नजर जान्छ । जहाँ अनेक सन्देहावेगका धक्काहरूले कोमल नाजुक विमूढतापन्न मन क्षत–विक्षत बन्दछ । तर्कशीलताले आलोडित बनेको मति, विमतिको पलडामा परीक्षणका तहहरू जमाउन थाल्दछ । यसरी आत्मीयताको, प्रेमशुद्धिको र अनुरागोत्कटताको साक्ष्य खोज्न थालेपछि परीक्षकले साक्ष्य त प्रशस्त जमा गर्न सक्दो हो, तर परीक्षार्थी पेपर हाँपेर परीक्षा–हलबाट बाहिरिइसकेको हुन्छ ।

वस्तुतः प्रेम परमानन्दमय हृत्कमलबाट बहने मगमगाउँदो सुवास हो, जो स्वच्छन्द बहन्छ अनि समग्र परिवेशलाई सुवासित उल्लसित र आनन्दित तुल्याउँछ । प्रीति–सौरभको प्रमाण खोज्नु घामको न्यानोमा बसेर सूर्यनारायणको तलाश गर्नु र उनको उपस्थितिलाई सिद्ध गर्ने बूँदाहरू पेश गर्नुजस्तै हास्यास्पद कुरो हो ।

यहाँ शायर भन्दछन् : कसैलाई न परख्नू, परख्न लागेपछि कोही पनि आफ्नो, आफ्नो रहँदैन ।

अनि कति दिलचस्प विम्ब उतार्दछन् : कुनै पनि ऐनामा चेहरा धेरै वेर अडिएर बस्दैन ।

यो अद्भुत दृष्टान्त देखेर सनतकुमार यस्ता कलमकारको फ्यान बन्दछ । वाह वाह बशीर साहब !

हो ! कुनै क्षणमा चित्त–दर्पणमा उत्रिएको त्यो मनोमोहक प्रीति–विम्ब नितान्त क्षणभंगुर हुन्छ, अर्को पल फेरि त्यही चेहरा त्यहाँ प्रतिविम्बित कसरी हुन सक्दछ र ?

मनोदर्पणमा पल–पल प्रतिविम्बित र परिवर्तित भइरहने जिन्दगीका सुखद दुःखद छायाछविहरू, संयोग वियोग, प्रेम घृणा र मति विमति एवम् अनुकूलता र प्रतिकूलताका रंगहरू कति क्षणभंगुर छन्, यो शेर पढेपछि सहसा चेतनालोकमा आलोकित बन्न पुग्दछन् ।

अगाडिको शेर यस्तो छ :

बडे लोगों से मिलने में हमेशा फासला रखना

जहाँ दरिया समन्दर से मिला, दरिया नहीं रहता ।

ठूला मान्छेसँग भेट्दा हमेशा आवश्यक दूरी कायम राख्नू, जब नदी समुद्रलाई भेट्न जान्छ, नदी रहँदैन ।

कति सरल र सहजभावले जीवनार्थ प्रतिध्वनित गर्दछ यस शेरले, अनि यति सजिलै ख्यालख्यालमा यति गहन चिन्तन पनि प्रस्तुत गर्न सकिन्छ केवल दुई हरफभित्र, यो जानेर अनायास विस्मयशील बन्दछ– मन ।

शेर संकेत गर्दछ :

उच्च ऊर्जाशील व्यक्तित्वका सान्निध्यमा सामान्य व्यक्तित्व अनायास विलीन बन्न पुग्दछ । आफ्नोपन गुमाउन चाहन्नौ भने निजताको व्यक्तिनिष्ठ घेरो अतिक्रमण नगर, नगराऊ । नितान्त निजी र एकान्त व्यक्तिनिष्ठता सदैव कायम राख ।

मैले कतै सुनेको छु : महात्मा गान्धी बहुधा त्यही पर्वतको तलमार्गबाट गुज्रिरहन्थे अरे– जसका शिखरमा रमण महर्षिको निवास थियो, तर उनी ती शुद्धात्मा सन्तको दर्शन गर्न कहिल्यै माथि उक्लेनन् रे ! यो शेर पढेपछि लख काटिन्छ : शायद खोलो समुद्र भेट्न गयो भने त्यतै विलीन हुने हो कि ? भन्ने प्रबल भय गान्धीको चेतनामा अवश्यै सल्बलाएको हुँदो हो । तर, गान्धीले बशीर साहबको यो शेर अवश्यै पढेनन्– किनभने यो रचिएकै थिएन ।

यसैसँग गाँसिएर सनतकुमारको मनमा यो शेर पनि बहुधा सल्बलाइरहन्छ :

कौन कहता है कि मौत आई तो मर जाउँगा

मैं तो दरिया हूँ, समन्दर में उतर जाउँगा ।

फेरि यसै गजलको अर्को अत्यन्त हृद्य शेर याद आउँछ –

मुहब्बत एक खुशबू है, हमेशा साथ चलती है

कोई इन्सान तनहाइ में भी तनहा नहीं रहता ।

प्रेम त्यो मगमाउँदो दिव्य सुवास हो जो हमेशा सँगसँगै चलिरहन्छ, कुनै प्रेमापन्न मानिस एक्लोपनमा कदापि एक्लो हुँदैन ।

यो दिव्य अभिव्यक्ति पढ्नासाथ तनमन सारा पुलकित हुन्छ । एउटा सिंगो शास्त्रले पनि झल्काउन नसक्ने जीवनालोक अनायास झलमलाउँदछ चित्ताकाशमा ।

हृदयकमलमा मगमगाइरहने प्रीति–सौरभले सुरभित जन कहिल्यै एक्लो हुँदैन, सदा एक मोहनीदार अनुरागसुवास उसको प्रिय सुहृद् बनिरहन्छ । वस्तुतः प्रीत्यनुभूति नितान्त हार्दिक हुने गर्दछ, भौतिक होइन भन्ने अनुभूति–सत्यलाई कति कोमल, कति मोहक र कति प्रीतिकर पाराले पेश गरेका छन् शायरले । पढेर दिल बाग–बाग हुन्छ ।

. . . .

१५ फेब्रुअरी १९३५ मा भारतको उत्तर प्रदेश, अयोध्यामा जन्मिएका सैयद मोहम्मद बशीरले सातै वर्षको उमेरदेखि शायरीको श्रीगणेश गरेको बुझिन्छ । अलीगढ मुस्लिम विश्वविद्यालयबाट उर्दू साहित्यमा स्नातकोत्तर र विद्यावारिधिको उच्च शिक्षा सम्पन्न गरेर मेरठ कलेजमा उर्दू विभागाध्यक्ष पद अलंकृत गर्दै १७ वर्षसम्म अध्यापनमा संलग्न डा. बशीर बद्रका इकाइ, आमद, आहट, छवि, कुल्लियाते बशीर बद्र आदि अनेक काव्यसंग्रह प्रकाशित रहेका छन् । उर्दू शायरीमाथि रचिएका समालोचनात्मक दुई ग्रन्थ पनि मशहूर छन् : आजादी के बाद उर्दू गजलों का तनकीदी मुताला एवम् बीसवीं सदी मे गजल ।

देवनागरी लिपिमा प्रथमतः प्रकाशित उजाले अपनी यादों के गजल संग्रहबाट उनी हाम्रा बीच अझ सुपरिचित बनेका हुन् । १८ हजार भन्दा बढी शेरहरूका स्रष्टा डा बशीर बद्रका अनेक शेरहरू दुनियाँभर मशहूर रहेका छन् । यथा :

लोग टूट जाते हैंं एक घर बनाने मे

तुम तरस नहीं खाते बस्तियाँ जलाने मे ।

. . .

सर झुकाओगे तो पत्थर देवता हो जायेगा

इतना मत चाहो उसे, वो वेवफा हो जायेगा ।

. . .

दुश्मनी जम कर करो, लेकिन ये गुन्जाइश रहे

हम कभी फिर दोस्त हो जायें तो शर्मिन्दा न हों ।

. . .

हर धडकते पत्थर को लोग दिल समझते हैं

उम्रें बीत जाती हैं दिल को दिल बनाने में ।

. . .

मुसाफिर हैं हम भी, मुसाफिर हो तुम भी

किसी मोड पर फिर मुलकात होगी ।

पद्मश्री, र भारतीय साहित्य अकादमी जस्ता विशिष्ट सम्मानद्वारा यशोमण्डित बनेका डा बशीर अस्ति भरखर २८ मे २०२६ मा भारतको मध्यप्रदेशस्थित भोपालमा ९१ वसन्तको यात्रा गर्दागर्दै यस धराधामबाट विदा भएका छन् ।

वैचारिक गहनतालाई सरल सुलभ भाषामा प्रस्तुत गरी काव्यीय कौतूहलको जादूगरीका साथ जनमानसमा शायरीको सुवास फैलाउने डा. बशीर बद्रप्रति हृदयतः आत्मीय श्रद्धाञ्जलि !

. . . .

हे कवि ! भरखरै त जानपहिचान हुदै थियो । किन हतार गर्‍यौ । किन पो यति चाँडै महाप्रयाण गर्‍यौ ?

तिमी नै भन्थ्यौ, अहिले तिम्रा कविवाणीमै सनतकुमार तिमीलाई सम्झन्छ :

ना जी भर के देखा, न कुछ बात की

बडी आरजू थी मुलाकात की ।

: चन्दन दास ।

……………….

२०८३ आषाढको पहिलो दिन,

ॐअक्षरालयः ।

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.