साहित्यपोस्ट डट कम

डा. बालकृष्ण साहका दुई लघुकथा

डा. बालकृष्ण साहका दुई लघुकथा

१. निर्णयको कोठा

कोठाभित्र बैठक सकिन लागेको थियो । टेबलमा रहेका पुराना फाइलहरू बन्द गरियो । उसको नामसँगै “अनियमितता” भन्ने शब्द रातो मसीले घेरिएको थियो ।

बाहिर भीड कुर्दै थियो । सबैको अपेक्षा एउटै थियो । अब नयाँ र सफा अनुहार आउँछ । अध्यक्षले अर्को फाइल खोले । नयाँ नाम सुनाए ।

कोठाभित्र हल्का गाइँगुइँ शुरु भयो ।

नाम नयाँ थियो । तर उनको नाम केही समय अगाडि अखबारमा आएको थियो । एउटा ठगीको घटनामा उनको नाम जोडिएको थियो ।

कसैले आवाज निकाल्यो, “उनलाई त आरोप लागेको छ ।”

अध्यक्षले कुर्सीमा अडेस लागेर भने, “पुरानो त प्रमाणित रूपमा खराब थियो । नयाँलाई मौका दिनुपर्छ ।”

कागजमा हस्ताक्षर भयो । ढोका खुल्यो ।

बाहिर ताली बज्यो । भीडले ‘परिवर्तन’ भन्यो ।

कोठाभित्र भने फाइलको नाम मात्रै फेरिएको थियो, चरित्र त उस्तै रह्यो ।

===

२. नीति

चोकको चिया पसल आज भीडले भरिएको थियो । चिया उम्लिएको थियो तर आवेग त्यो भन्दा बढी उम्लेको थियो ।

“अब सहनु हुँदैन !”

“सडक तताऔँ !”

“सबै श्वास फेर्नुपर्छ !”

नाराले चिया चिसिँदै गयो ।

पसलको कुनामा बसेको वृद्ध चिया साहुले कसैको कुरा काटेनन् । उनी केवल सुन्दै थिए । यो पुस्ताको क्रान्ति, परिवर्तनको आवाज र न्यायको आशा ।

एउटा युवक उठ्यो र जोशका साथ उर्लियो, “आन्दोलनबिना देश बन्दैन ।”

वृद्धले सहमतिमा टाउको हल्लाए । “साँचो हो,” उनले भने । केहीबेर मौन भयो । शायद उनको मौनतामा धेरै कुरा थियो । लामो श्वास तान्दै गम्भीर भएर भने, “तर नीति बन्दा न त नारा चल्छ, न त रिस ।”

भीड हाँस्यो । कसैले फुसफुसायो, “बूढो डरायो ।”

वृद्ध रिसाएनन् । मुसुक्क मुस्कुराए । अनि चिया बाँड्दै उनले थपे, “म डराएको होइन छोरा । मैले त यही पसलमा बसेर तीन पटक देश बदलिएको देखिसकेँ । आज फेरि उही समस्यामा रुमलिएका युवालाई देख्दैछु ।”

एकछिन सबै मौन भए । बाहिर नारा अझै गुञ्जिरहेको थियो । भित्र भने पहिलो पटक प्रश्न उठ्यो, अब चिया तताउने कि देश बनाउने ?

साझा गर्नुहोस्:
डा. बालकृष्ण साह

लेखकको बारेमा

डा. बालकृष्ण साह

वरिष्ठ चिकित्सक डा. बालकृष्ण साह स्त्री-रोग विशेषज्ञ हुन् । विगत १० वर्षदेखि स्वास्थ्यको क्षेत्रमा कलम चलाउँदै आएका साहका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.