१. निर्णयको कोठा
कोठाभित्र बैठक सकिन लागेको थियो । टेबलमा रहेका पुराना फाइलहरू बन्द गरियो । उसको नामसँगै “अनियमितता” भन्ने शब्द रातो मसीले घेरिएको थियो ।
बाहिर भीड कुर्दै थियो । सबैको अपेक्षा एउटै थियो । अब नयाँ र सफा अनुहार आउँछ । अध्यक्षले अर्को फाइल खोले । नयाँ नाम सुनाए ।
कोठाभित्र हल्का गाइँगुइँ शुरु भयो ।
नाम नयाँ थियो । तर उनको नाम केही समय अगाडि अखबारमा आएको थियो । एउटा ठगीको घटनामा उनको नाम जोडिएको थियो ।
कसैले आवाज निकाल्यो, “उनलाई त आरोप लागेको छ ।”
अध्यक्षले कुर्सीमा अडेस लागेर भने, “पुरानो त प्रमाणित रूपमा खराब थियो । नयाँलाई मौका दिनुपर्छ ।”
कागजमा हस्ताक्षर भयो । ढोका खुल्यो ।
बाहिर ताली बज्यो । भीडले ‘परिवर्तन’ भन्यो ।
कोठाभित्र भने फाइलको नाम मात्रै फेरिएको थियो, चरित्र त उस्तै रह्यो ।
===
२. नीति
चोकको चिया पसल आज भीडले भरिएको थियो । चिया उम्लिएको थियो तर आवेग त्यो भन्दा बढी उम्लेको थियो ।
“अब सहनु हुँदैन !”
“सडक तताऔँ !”
“सबै श्वास फेर्नुपर्छ !”
नाराले चिया चिसिँदै गयो ।
पसलको कुनामा बसेको वृद्ध चिया साहुले कसैको कुरा काटेनन् । उनी केवल सुन्दै थिए । यो पुस्ताको क्रान्ति, परिवर्तनको आवाज र न्यायको आशा ।
एउटा युवक उठ्यो र जोशका साथ उर्लियो, “आन्दोलनबिना देश बन्दैन ।”
वृद्धले सहमतिमा टाउको हल्लाए । “साँचो हो,” उनले भने । केहीबेर मौन भयो । शायद उनको मौनतामा धेरै कुरा थियो । लामो श्वास तान्दै गम्भीर भएर भने, “तर नीति बन्दा न त नारा चल्छ, न त रिस ।”
भीड हाँस्यो । कसैले फुसफुसायो, “बूढो डरायो ।”
वृद्ध रिसाएनन् । मुसुक्क मुस्कुराए । अनि चिया बाँड्दै उनले थपे, “म डराएको होइन छोरा । मैले त यही पसलमा बसेर तीन पटक देश बदलिएको देखिसकेँ । आज फेरि उही समस्यामा रुमलिएका युवालाई देख्दैछु ।”
एकछिन सबै मौन भए । बाहिर नारा अझै गुञ्जिरहेको थियो । भित्र भने पहिलो पटक प्रश्न उठ्यो, अब चिया तताउने कि देश बनाउने ?

