साहित्यपोस्ट डट कम

डा. अनन्त अधिकारी र सरस्वती चिमौरियाको कविता वाचन

डा. अनन्त अधिकारी र सरस्वती चिमौरियाको कविता वाचन

काठमाडौं । आमाको मुख हेर्ने औंसीको अवसरमा सुनकोशी वाङ्मय प्रतिष्ठान को आयोजनामा ठमेलमा सम्पन्न कविता वाचन कार्यक्रममा कविद्वय डा. अनन्त अधिकारी र सरस्वती चिमौरिया ले आ–आफ्ना दश–दश वटा कविता वाचन गर्नुभएकाे छ ।

कार्यक्रममा डा. अधिकारीले ‘नयाँ वर्ष’, ‘भन बकरा’, ‘गनगने लोग्नेको श्रीपेच’, ‘काठमाडौँ र काठमाडौंहरू’, ‘सर्वाइवल नोट’, ‘पाउजु नामको स्वतन्त्रता हुँदैन’, ‘बाससँग आग्रह’, ‘डोर प्रसादको डेरा’ र ‘उप्रान्त मेरो भगवान’ लगायतका कविता प्रस्तुत गर्नुभएकाे थियाे । त्यसैगरी कवि चिमौरियाले ‘आमा’, ‘वर्तमानको सारथी म’, ‘देश त संघीयतातिर जाँदैछ नि’, ‘आउ एउटा पार्टी खोलौं’, ‘ओ मेरो छोराकी प्रेमिका’, ‘आफन्तले’, ‘मैले दिन सकिन’, ‘दुखियाको जिन्दगी’ र ‘म छायाँ खोजी रहेछु’ शीर्षकका कविता वाचन गर्नुभयाे ।

कार्यक्रमकी प्रमुख अतिथि उषा शेरचन ले कविद्वयलाई सम्मानपत्र प्रदान गर्दै प्रस्तुत कविताहरूले मन छोएको बताउनुभयाे । व्यस्त समयबीच पनि कविहरूको उल्लेख्य उपस्थिति हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उहाँले कवितामा प्रयोग भएका बिम्बहरूले रचनालाई सशक्त बनाएको धारणा व्यक्त गर्नुभयाे ।

अग्रज साहित्यकार तथा नेपाल स्रष्टा समाज का अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले कवि चिमौरियाका कवितामा नयाँ वर्ष र आमाको भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै देशप्रतिको चिन्ता, सामाजिक बेथितिप्रति कटाक्ष र युगबोध झल्किने विचार व्यक्त भएकाे बताउनुभयाे । उहाँले डा. अधिकारीका कवितामा मानवीय संवेदना र विविध भूमिकाको गहिरो चित्रण पाइने उल्लेख गर्दै कवित्व चेत उच्च रहेको बताउनुभयाे ।

साहित्यकार लेखनाथ हुमागाईँ ले आफ्ना विद्यार्थीहरूको सिर्जनात्मक सक्रियता देखेर खुशी व्यक्त गर्नुभयाे । प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव प्रदीप सापकोटा ले सहजीकरण गर्नुभएकाे थियाे भने उपाध्यक्ष रामसुन्दर देउजा ले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । अतिथिहरूलाई चिवहाल परिवारका राष्ट्रमान तुलाधर ले खादाद्वारा सम्मान गर्नुभएकाे थियाे ।

चिवहाल परिवार, गौचर ठमेलको सहकार्य तथा इखवर नेटको मिडिया पार्टनरमा सम्पन्न कार्यक्रममा विभिन्न चर्चित कवि–साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.