बाल्यकालमा एक जना बुज्रुकले मेरो दिमाग भरिदिएका थिए— “अमेरिका पुगेपछि ह्याछ्यु गर्दा पनि, खोक्दा पनि अङ्ग्रेजीमै गर्नुपर्छ ।” र त्यो भ्रम चिर्न मलाई वर्षौं समय लाग्यो ।
नियात्रा-सर्जक छवि रमण सिलवालको कृति “अमेरिकाको घाम” हातमा पर्नासाथ त्यो अतीतको स्मृति जाग्यो, “अमेरिकामा लाग्ने घाम डलरको हुन्छ, नेपालको भन्दा महँगो …l”
सर्जक सिलवालको सिर्जनामा निजात्मक यात्रा-स्मृतिदेखि प्रवासी समाजप्रति अनुभूतिको गहिरो संयोजन भेटिन्छ । जटिल भावनालाई सरल भाषाले प्रभावकारी रूपमा प्रस्तुत गर्ने लेखकको शैलीले पाठक समेत उनको अनुभूतिसँग सहजै जोडिन सक्छन् । पुस्तकमा समेटिएका यात्राहरूले लेखकको यात्रानुभवको दायरा फराकिलो, सामाजिक र सांस्कृतिक मूल्यमा ज्ञात र जीवनप्रतिको संवेदनशील दृष्टिकोणमा सुविचारित देखिन्छन् ।
यात्रा साहित्यमा यात्रा-वर्णनलाई लालित्यपूर्ण ढङ्गले आख्यानीकरण गर्नु आवश्यक हुन्छ । केवल भूगोल, घटनाक्रम, मौसमी दृश्य वा क्रियाकलापहरूको सिलसिलेवार टिपोटले मात्र यात्रा साहित्य पूर्ण बन्दैन । यात्रासँग सम्बन्धित अनुभवलाई आख्यानीकरण गरेरै स्रष्टा स्थापित हुन्छन् र स्रष्टाको अनुभूति तथा दृष्टिकोण नै यात्राको अलङ्कार बनेर प्रकट हुन्छ । आफू अमेरिकामा पुगेपछि बेहोरेको चर्को घामलाई लालित्यपूर्ण ढङ्गले आख्यानीकरण गर्दै शीर्षक पुस्तक बनाएका लेखकले पाठकलाई भने त्यही घाममा खिचेर शब्द-शिल्पले पिल्साउने ध्याउन्नमा छन् भन्दा अत्युक्ति नहोला ।
शीर्ष-लेख तथा केही नियात्राहरू अमेरिकाको परिवेश र भूगोलमा केन्द्रित भए पनि यात्राको दायरा त्यतिमै सीमित भने छैन । उनले अन्य मुलुक, समाज र संस्कृतिलाई नियात्रामा समेट्दै यात्रानुभवको क्षितिजलाई अझ फराकिलो बनाएका छन् । “अमेरिकाको घाम” को शीर्षक पुस्तकमा युरोप हुँदै ब्रह्मपुत्र नदीसम्मको तट समेटिनु कति न्यायोचित हो, त्यो प्रश्नको उत्तर दिने दायित्व पाठकलाई सुम्पेको छु ।
“अमेरिकाको घाम” बाट शुरू हुने पुस्तक “खानाको सहरमा भोक भोकै” सम्म आइपुग्दा पाठकले केवल भौगोलिक यात्रा मात्र होइन अनेकौँ अनुभव, आधुनिक समाज र सामाजिक भावनाको विभिन्न कोणले नियाल्न पाउँछन् । पुस्तकका शीर्षकहरू नै अत्यन्त आकर्षक र जिज्ञासामूलक छन् जसले पाठकको मनोभावलाई पुस्तकप्रति आकर्षित गरिरहन्छ । लस भेगासको रङ्गीन रात, हुवर ड्याममा तीस मिनेट, युनिभर्सल स्टुडियोको भव्यता जस्ता शीर्षकले आधुनिक पश्चिमी सभ्यता, कला-मनोरञ्जन र विकासको चमकलाई चित्रण गरिरहेको छ । स्लोभेनियामा दश दिन, युरोपको नाट्यशालामा वृद्ध निर्देशक, स्लोभेनियन कलाकार योजेसँग ‘नजरावें’ जस्ता शीर्षकले साहित्य र पश्चिमी कला-संस्कृतिको अन्तरसम्बन्ध प्रस्तुत गर्ने जमर्को पुस्तकमा भएको छ ।
लेखकको शैली सरल, अवलोकनशील र अनुभवप्रधान देखिन्छ । नियात्रा कृति लामो हुन्छ भन्ने बुझाइलाई मिथ्या साबित गर्दै पुस्तक सानो आकार मै गहन बनेको छ । पुस्तक दृश्य वर्णनमा मात्र सीमित नभई त्यसभित्रका भावना, सामाजिक यथार्थ र सांस्कृतिक अन्तरलाई खोतल्न लेखकले आफ्नै सिर्जना शक्तिको विशिष्ट अनुप्रयोग समेत गरेका छन् । ‘हिउँ पर्दैछ, स्विमिङ चल्दैछ’ ले विरोधाभासभित्रको सौन्दर्य देखाउने कलात्मक क्षमता झल्किएको छ । त्यस्तै ‘खानाको शहरमा भोक भोकै’ ले व्यङ्ग्यात्मक तथा भिन्न सामाजिक चेत बोकेको सङ्केत दिन्छ ।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकको अर्को विशेषता यसको विविधता हो । एउटै कृतिभित्र यात्रा, कला, प्रकृति, आधुनिकता, मानवीय सम्बन्ध, विकासको अन्तिम सीमा र समाजका अनेक पक्षहरू समेटिनु पाठकका लागि रोचक पक्ष बन्न सक्छ । पुस्तक मार्फत पाठकले केवल जानकारी मात्र नभई, नियात्राकारसँगै विदेश सयर गरिरहेको अनुभूति सँगाल्ने देखिन्छ ।
स्रष्टाले लेखनमा सिर्जना शक्ति, तार्किक क्षमता तथा विषय र प्रसङ्गप्रति विविध निजात्मक दृष्टिकोण प्रस्तुत गर्न सक्नुपर्छ । यो दृष्टिकोणमा यस अगाडि पनि ग्रीनविचको साँझ लगायतका नियात्रा लेखिसकेका लेखक अमेरिकी घामको रापले झन् खारिएका छन् । नियात्राकारभन्दा कविको रूपमा बढी चिनिएका स्रष्टा यो कृति मार्फत नियात्राकारहरूको लाइनमा अग्रपङ्क्तिमा छन् भन्न धक मान्नु पर्दैन । पेशागत रूपमा व्यापारमा सफल लेखक स्वयंले शब्दका खेलहरूमा झन् धेरै समय व्यतित गरिरहेका छन् भन्न पनि अर्को धक मान्नु नपर्ने देखिन्छ ।
यात्रा लेखनमा स्रष्टा उच्च नैतिकवान् रूपमा प्रस्तुत हुनु आवश्यक हुन्छ । आफू पृथक् समाज र भूगोलको द्रष्टा भए पनि उच्च नैतिक मर्यादाका अतिरिक्त पृथक् सामाजिक मूल्य मान्यता उपर निरपेक्ष हुनुपर्छ स्रष्टा सामाजिक चालचलन, रीतिरिवाज, धर्म परम्परा, क्षेत्रगत सहिष्णुता एवं जातीय सद्भावको सम्मानका साथै वर्ग विभेद-मुक्त र लैङ्गिक-मैत्री हुनु आवश्यक छ । पुस्तकमा पनि स्रष्टाले आफ्नो दृष्टिकोणमा सामाजिक निरपेक्षता, निष्पक्षता र नैतिक इमानदारिता प्रदर्शन गरेको प्रतीत हुन्छ ।
लेखकले नियात्रा स्थान, दृश्य र घटनाको वर्णनमा आफूलाई सीमित नराखी व्यक्तिगत सम्बन्ध र पारिवारिक अनुभूतिलाई संवेदनशील रूपमा समेटेका छन् । विशेषतः छोरासँगको पुनर्मिलन, साथीहरूसँग भएका आत्मीय अन्तर्मिलन तथा पारिवारिक निकटताका प्रसङ्गहरूमा कृतिले भावनात्मक उचाइ चुमेको छ । लेखक यात्रालाई बाह्य संसारको अवलोकन मात्र नभई अन्तर्मनको यात्रा समेत बनाइदिन्छन् । लेखकले प्रवास जीवन, सम्बन्धप्रतिको मोह र पुनर्मिलनको क्षण पाठकले समेत आनन्दमय अनुभूति गर्ने प्रकारले वर्णन गरेका छन् ।
कताकति लेखक निजात्मक प्रसङ्गहरूमा बढी बगेको पनि देखिन्छ । पारिवारिक सम्बन्ध र संवेदनात्मक सम्प्रेषणको प्रस्तुतिमा लेखकले पटक-पटक एकै अभिव्यक्ति दिइरहेको भेटिन्छ । व्यक्तिगत प्रसङ्गहरूको प्रस्तुतिको विस्तार र दोहोरिएको महसूस भने हुन सक्छ । भलै आफ्ना अनुभवलाई प्रस्तुत गर्दा आत्म केन्द्रित प्रशंसा वा आत्मश्लाघालाई कतै पनि स्थान भने दिएका छैनन् ।
निचोडमा कृति यात्राका बाह्य दृश्यभन्दा बढी मानिसका अनुभूति, समाज र संस्कृतिका तहहरू उजागर गर्ने नियात्रा सङ्ग्रहका रूपमा देखिन्छ । लेखकले यात्रालाई भावनात्मक स्पर्श, प्रवासी जीवनको यथार्थ र आधुनिक सभ्यताका विविध आयामलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । सरल भाषा, गहिरो अवलोकन र आकर्षक शीर्षकहरूले पाठकलाई आरम्भदेखि अन्त्यसम्म बाँधिराख्न सफल देखिन्छन् । नियात्राभित्र संवेदना र सौन्दर्य बोधको सन्तुलित प्रयोगले कृतिलाई थप प्रभावशाली बनाएको छ ।

