साहित्यपोस्ट डट कम

दोलखाबाट प्रकाशित ‘प्रदेय’ साहित्यिक पुस्तकको १५औँ अङ्क सार्वजनिक

दोलखाबाट प्रकाशित ‘प्रदेय’ साहित्यिक पुस्तकको १५औँ अङ्क सार्वजनिक

दोलखा। दोलखाबाट वार्षिक रूपमा प्रकाशन हुँदै आएको साहित्यिक पुस्तक ‘प्रदेय’ को १५औँ अङ्क सार्वजनिक गरिएको छ। कविता, कथा, गजल, मुक्तक, गीत, नाटक तथा यात्रा संस्मरणलगायत विविध साहित्यिक विधा समेटिएको उक्त पुस्तकलाई विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति, दोलखाले निरन्तर प्रकाशन गर्दै आएको छ।

पुस्तक सार्वजनिक कार्यक्रम मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा पुस्तकका प्रकाशक तथा सम्पादक चिरञ्जीवी मास्केले ‘प्रदेय’ २०६७ सालदेखि निरन्तर रूपमा प्रकाशन हुँदै आएको जानकारी गराउँदै दोलखाबाट नियमित रूपमा प्रकाशन हुने साहित्यिक पुस्तकमध्ये ‘प्रदेय’ महत्वपूर्ण कृतिका रूपमा स्थापित हुँदै गएको बताउनुभयाे । उहाँले अर्को साहित्यिक कृति ‘दोलखा साहित्य यात्रा’ पनि हरेक वर्ष असारमा प्रकाशन हुने गरेको उल्लेख गर्नुभयाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष तामाङले साहित्यले समाज निर्माणमा विशिष्ट भूमिका खेल्ने बताउनुभयाे । पछिल्लो समय साहित्यिक गतिविधि केही सुस्ताएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले सामाजिक चेतना, संस्कार र विकासमा साहित्यको योगदान उल्लेखनीय हुने भएकाले यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तहहरूले समेत सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयाे ।

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति, दोलखाका संरक्षक चिरञ्जीवी मास्केको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्णबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, पत्रकार जीवन लामा, गोकर्ण भण्डारी, प्रगतिशील लेखक संघ दोलखाका अध्यक्ष तारा बहादुर महत तथा साहित्यकार सुशीला शर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

यस संस्करणको ‘प्रदेय’ पुस्तकमा ४३ जना स्रष्टाहरूका विविध विधाका साहित्यिक रचनाहरू समेटिएका छन्। पुस्तकले दोलखाली साहित्यको समृद्ध परम्परा, सिर्जनात्मक चेतना र स्थानीय साहित्यिक सक्रियतालाई सशक्त रूपमा उजागर गरेको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.