साहित्यपोस्ट डट कम

दिनेश विक्रम थापाको ‘जयसिंह धामीको देश’ लोकार्पित

दिनेश विक्रम थापाको ‘जयसिंह धामीको देश’ लोकार्पित

काठमाडौं । कवि दिनेश विक्रम थापाको कविताकृति ‘जयसिंह धामीको देश’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । बिहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. विष्णुविभु घिमिरे लगायतले कृति सार्वजनिक गर्नुभएकाे हाे ।

प्रमुख अतिथि घिमिरेले कविता लेखन गम्भीर साधना भएको उल्लेख गर्दै कविले पाठकको मनमा बस्ने सिर्जना गर्नुपर्ने बताउनुभयाे । उहाँले दिनेशका कविताहरू मार्मिक, स्पष्ट र चित्रजस्तै प्रभावकारी रहेको धारणा व्यक्त गर्नुभयाे ।

समीक्षक कवि विधान आचार्यले कृतिमाथि टिप्पणी गर्दै २५ पात्रमा आधारित २५ कवितामा दुई सयभन्दा बढी पात्रहरूको जीवनचित्र उतारिएको उल्लेख गर्नुभयाे । उहाँका अनुसार थापाले इमानदारीपूर्वक समाजका यथार्थलाई कवितामा प्रस्तुत गर्नुभएकाे छ ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृतिभित्रका कविताले विशेषतः सुदूरपश्चिमको जनजीवन र सामाजिक अवस्थालाई संकेत गरेको बताउनुभयाे । कवि थापाले आफ्नो रचनागर्भ सुनाउँदै आगामी दिनमा अर्को कविताकृति ल्याउने तयारीमा रहेको जानकारी दिनुभयाे ।

कार्यक्रममा साहित्यकार रामबहादुर पहाडी, विनोद नेपाल, लक्ष्मी पराजुली तथा कविलाई अध्ययन गराउने शिक्षक तुलसीदास गौतमले पनि मन्तव्य राख्नुभएकाे थियाे । सो अवसरमा कवि रीता खत्री, कमला थापा लगायतले कृतिभित्रका कविता वाचन गर्नुभएकाे थियाे ।

समकालीन नेपाली समाजको यथार्थ चित्रण गर्ने यो कृतिले पाठकमाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.