कवि दिनेश विक्रम थापाको नयाँ कविता कृति ‘जयसिंह धामीको देश’ लोकार्पण गरिएको छ । भूगोल साहित्य समाजद्वारा दरबारमार्गमा आयोजित कार्यक्रममा कृतिको औपचारिक विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं कवि डा. विष्णुविभु घिमिरेले कविता लेखनको गाम्भीर्यबारे चर्चा गर्दै कविता लेख्नु मात्र नभई पाठकको मनमा बस्ने सिर्जना गर्नु चुनौतीपूर्ण हुने धारणा राख्नुभयो । उहाँले थापाका कविताहरू स्पष्ट, मार्मिक र चित्रजस्तै प्रभावशाली रहेको उल्लेख गर्नुभयो ।
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै कवि विधान आचार्यले कृतिमा २५ कवितामार्फत दुई सयभन्दा बढी पात्रहरूको चरित्र चित्रण गरिएको उल्लेख गर्नुभयो । उहाँले कवि थापाको लेखन इमानदार र गहिरो रहेको धारणा व्यक्त गर्नुभयो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा कवि थापाले आफ्नो सिर्जनात्मक यात्रा र कृतिको रचना प्रक्रिया बारे जानकारी गराउँदै निकट भविष्यमा अर्को कृति ल्याउने संकेत गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गजलकार तथा अनुवादक रामबहादुर पहाडीले गर्नुभएको थियो भने स्वागत मन्तव्य समाजका अध्यक्ष विनोद नेपालले राख्नुभएको थियो । कार्यक्रम समाजका सदस्य एलपी पराजुलीले सञ्चालन गर्नुभएको थियो ।
यसअघि कवि थापाका ‘समय रक्तस्नान गरिरहेछ’ (२०६४), ‘ज्योतिका युगीन स्वरहरू’ (संयुक्त) र ‘तेस्रो फूल’ (२०७१) कृतिहरू प्रकाशित भइसकेका छन् ।

