प्रारम्भ
शोधकर्ता, प्राध्यापक, लेखक तथा साहित्यकार डा. तुलसी आचार्यको नयाँ कवितासङ्ग्रह ‘दिनभरि पानी परिरहन्छ’को डिजिटल प्रति मेरो हातमा प्राप्त भएको थियो ।
मैले आचार्यका यसअघि नै केही चर्चित कृतिहरू जस्तै 'मोचन' र 'स्वप्नभूमि' पढ्ने अवसर पाएको थिएँ । परम्परागत ढङ्गबाट भन्दा पनि केही नयाँ गर्न खोज्ने, भिन्दै लेखनशैली र विषयवस्तुमा एक्सपेरिमेन्टल लेखन रुचाउने उनको अर्को सुन्दर विशेषता भनेको आफ्ना सम्पूर्ण पुस्तकलाई संसारको जुनसुकै कुनामा बसेर जुनसुकै फरम्याटबाट सहजै पढ्न सकिने व्यवस्था मिलाउनु हो । धेरै कम नेपाली लेखकहरूमा पाइने यो अग्रगामी सोच र सहजता साँच्चै मलाई अनुकरणीय लाग्छ ।
सोही व्यवस्था अनुसार मैले पनि यस कवितासङ्ग्रहको डिजिटल प्रति आफ्नो ल्याप्टपमा पढिरहेको छु । संयोग पनि कस्तो परिदियो भने, हाल यो सङ्ग्रह पढिरहँदा यहाँ मिजोरी राज्यको स्प्रिङफिल्डमा केही दिनयता जोडले पानी परिरहेको छ । आज शनिबारको यो झरीको दिन लेखक आचार्यको यसै कवितासङ्ग्रहका पानाहरूमा भिज्न मन लाग्यो र एउटा विशुद्ध पाठकको मनले पुस्तकबारे आफ्ना पाठकीय अनुभूतिहरू लेख्ने जमर्को गर्यो ।
आदरणीय पाठक, मेरो पाठकीय शुरू गर्नुभन्दा अगाडि, यस लेखमा मैले उद्धृत गरेका कविताहरू सिङ्गो कविता नभएर त्यसका केही हरफहरू मात्र हुन् र कतै-कतै छोटा कविताको खण्डमा भने पूरै कविता पनि उद्धृत गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु ।
मेरो ल्यापटप छेउमा चिस्सिँदै गएको कफीको मन्द सुगन्ध अझै पनि बाँकी नै छ, अनि अँ! बाहिर अझै पानी परिरहेकै छ... ।
पुस्तक परिचय
पुस्तक पढिरहँदा लाग्छ आखिर परदेशी मन न हो, त्यो परदेसिएको मनले पनि के-के मात्र सोच्दैन होला र!
जर्जियाका आधुनिक शहरहरू, गगनचुम्बी भवनहरू, खै कुन उद्देश्यले हो आठ लेनमा अनवरत कुदिरहेका गाडीहरू, र पप्लारका नाङ्गा रूखहरूका बीचमा उभिएर पनि कविको मनभित्र भने आफ्नै जन्मदेशका धुलाम्य गोरेटाहरू, बाको पसिनाले भिजेको ढाकाटोपी, र आमाको पोल्टोमा अडिएको बाल्यकाल मुस्कुराइरहन्छ । एउटा मान्छे भौगोलिक रूपमा अमेरिका पुगे पनि उसको जीवनको सम्पूर्णता र मुटुको धड्कन कसरी जन्मभूमिसँगै गाँसिएर रहन्छ भन्ने कुराका साक्षी हुन् यस सङ्ग्रहका कविताहरू ।
अक्सर अमेरिकाको चिसो हिउँ र एटलान्टाको डाउनटाउनमा बसेर लेख्दालेख्दै पनि कवि एकाएक गाउँको असारे झरी, दशैँ-तिहारको मखमली र सयपत्री, अनि कहिले घरको बार्दलीमा झुल्कने जूनतिर हुत्तिँदै पुग्छन् । परदेशको भौतिक सम्पन्नता र आधुनिकताको आडमा हुर्किएको उराठलाग्दो एकाकीपनलाई बिर्सिन कविले आफ्ना स्मृति र नोस्टाल्जियाका कुचीहरूले संवेदनाको चित्र कोरिरहेका छन् । लाग्छ, लेखक आचार्यले केवल अक्षरका माला मात्र उन्दै छैनन्, उनी त भूगोलको सीमारेखा नाघेर कता हो कता आफ्नै मनले मनलाई नै कोरिएको आत्मीय शब्दचित्रको एउटा मीठो बहकाइमा बेफिक्री बहकिइरहेका छन् ।
१. पहिलो खण्ड: 'परम्परागत' – भाव, सम्बन्ध र परदेशको नोस्टाल्जिया
उक्त खण्डमा साना-तिना अनुभूतिदेखि लिएर पारिवारिक सम्बन्ध, राष्ट्रियता र प्रवासी जीवनका भोगाइहरू अटेका छन् । यसमा प्रायः सबैले लेख्ने गद्य शैलीको काव्य-संरचना छ, जसको नामाकरण लेखकले 'परम्परागत' भनेर गराएका छन । बुबाप्रतिको श्रद्धा र स्वाभिमानको प्रतीक बनेर उभिएको 'मेरा बाको टोपी' कविताका यी हरफहरूले पाठकको मनलाई भावुक बनाउँछन्:
“मेरा बाको शिरमा बसेर उसले
मैले भन्दा बढी घाम तापेको छ
मैले भन्दा बढी हिँडेको छ
मेरा भन्दा बढी वसन्त काटेको छ
मैले भन्दा बढी दुःख बोकेको छ ।
बाका पसिना र दुःखलाई पुछ्दा, पुछ्दा
निथ्रुक्क भिजेको छ ऊ आफैँ पसिना र दुःखले
ऊ धेरैचोटि निचोरिएको छ मेरा बाजस्तै
यद्यपि ऊ ठाँटका साथ हिँडेको छ,
शिरमा बसेर, कहिले निहुरेको छैन,
आफ्नो स्वाभिमान भुलेको छैन !”
सामाजिक अपराध र निर्मला पन्तको ट्र्याजेटीमा लेखिएको 'स्वर्गबाट निर्मलाको पुकार' कविताले पाठकलाई एकैपटक भावुक र आक्रोशित तुल्याउँछ भने त्यसै कविताले महिलाहरूको स्वतन्त्रता, अधिकार र समान हैसियतको मानवीय तथ्यको पनि वकालत गर्छ:
“तिमीले टेकेको धर्ती सुरक्षित छैन
तर म भन्ने छैन
फूलहरूलाई नफुल्न
कोपिलाहरू नफक्रिन
पालुवाहरू नलाग्न
मुटुहरू नधड्किन
म भन्नेछु
अझ बढी फुल्न,
छोरीहरू जन्मन र जन्माउन
जुरमुराउनु यस्तरी कि
तिम्रो वरिपरि घुम्ने हरेक कणकणले
तिमीसम्म आउनुपहिले
एक पटक सोधोस्
तिम्रो अनुमति लिओस् ।”
त्यसै गरी, अर्कातिर ‘खोइ कहाँ छ ईश्वर ?’ कविताले मानवीय सङ्घर्षका अगाडि धार्मिक अन्धविश्वासमाथि गम्भीर प्रश्न खडा गर्छ ।
कवि आचार्य सामाजिक संवेदना, देश, भूगोल र माटोमा मात्र सीमित हुँदैनन्; केही माया-प्रेम र त्यसभित्रका यादका पत्रहरूलाई भूगोलले टाढा तुल्याए तापनि संसारको जुनसुकै बलियो डोरीभन्दा पनि कसिलो प्रेमिल सम्बन्धमार्फत घरदेशसम्म पुर्याउँछन् र ‘तिम्रो याद’ कवितामा लेख्छन्:
“म बस्ने ठाउँमा
तिम्रो अनुहारको उज्यालो
लिएर आउँछ जून र
हरेर लान्छ मेरो मन
तिम्रो मनको कुनासम्म ।
तिमी त्यता, म यता
बिछ्यौनामा पल्टन्छन् मात्र परेलीहरू
च्यापेर एकअर्काको नामका सिरानीहरू
जुन कहिल्यै थाक्दैनन् आँसुले भिजेर पनि ।”
२. दोस्रो खण्ड: 'संस्मरण' – आत्मपरक अनुभूति र नौलो काव्य-प्रयोग
'संस्मरण' दोस्रो खण्ड हो र यो विशेष र नौलो लाग्यो । सामान्यतया संस्मरणलाई निबन्धमा लेखिने परिपाटी छ, तर कविले आफ्ना विगतका अनुभूति, अमेरिकाका क्षण र स्मृतिहरूलाई 'संस्मरानात्मक कविता'को रूप दिने जुन प्रयोगात्मक आँट गरेका छन, त्यो नेपाली साहित्यमा एउटा भिन्न स्वाद त हो नै, त्योभन्दा माथि पाठक र समालोचकहरूबाट प्रतिक्रिया कस्तो आउला भन्ने उत्सुकता मेटिएमा यसले अझ सार्थकता पाउला भन्ने लागेको छ । संस्मरणात्मक कविताहरूसँग अझ आत्मिक अनुभूति दिलाउन हो या आफ्नै रेकर्डका लागि हो, लेखकले अन्त्यमा कविता लेखिएको मिति र स्थान पनि राखेका छन्, जसले मलाई कविताको नजिक पुग्न अझ सहज गराएको महसुस भयो ।
उनका केही संस्मरणात्मक कविताहरूमा अर्ग्यानिक मिठास भरिएको पनि पाइन्छ । यहाँ उनले ‘त्यो दुधचियाको स्वाद’ कवितामा आफ्नी पत्नीसँगको प्रेम र नेपाली चियाभित्र दूध, पत्ती र चिनीसँगै अलिकति नेपालको राजनीतिलाई पनि मीठो ढङ्गबाट घोलेर नयाँ स्वाद निर्माण गरेका छन्:
“टेबुलमाथि म आफैँले भर्खरै बनाएर ल्याएको
दुधचियाको बाफ उडिरहेको छ
जहाँबाट आइरहेछ
ल्वाङ र सुकुमेलको बास्ना हरहरी,
त्यो त्यही धुलो हो
तिमीले 'चियामा हालेर खानू' भनेर
पोहोर साल नेपालबाट फर्किंदा
डिब्बामा पोको पारेर
लगेजको कुनै गोजीमा हालिदिएकी !
सुरुप्प पार्छु
तर किन तिमीले बनाएर दिएको
चियाको जस्तो स्वाद छैन ?
ल्यापटप खोल्छु
नेपाली समाचारमाथि आँखा डुलाउँछु,
राजनीतिप्रति कुनै तृष्णा छैन
यद्यपि लागिरहन्छ किन बनेन नेपाल ?
म आफैँले फर्केर नेपालमा केही गरौँ कि ?
मसँग त्यो आँट छैन ?
'विदेशीको दलाल' भन्देलान् मलाई
र तिनका मान्छेले हो मा हो मिलाउलान्
अनि राजनीति र भागबन्डा उनीहरूकै चम्केला
उनीहरूको भाष्यले मेरो मुटु टुक्राटुक्रा होला ।
मलाई मेरो मुटु दुखाउनु छैन, कति दुखाऊँ ?
पोहोर साल पहिरोले बस्ती लग्यो,
अस्ति बाढीले जिन्दगी बगायो
सर्वहाराको नामको राजनीतिले
देशको ढुकुटी रित्यायो,
गाउँ उजाड बनायो ।
प्रिय पत्नी !
म फेरि एक सुरुप्प लिन्छु
सुकुमेल दूधचियाको
जुन सेलाइसकेको हुन्छ,
जसको स्वाद तिमीले बनाएर दिएको
चियाको जस्तो हुन्न !”
त्यस्तै, ‘नेपाल फर्कने प्रतिज्ञा’ कवितामा १० वर्ष पुरानो निसान अल्टिमा कार गुडाउँदै गर्दाको लेखकको यो भावुक क्षणले सम्पूर्ण प्रवासी नेपालीको साझा मनस्थितिलाई झल्काउँछ:
“म जर्जियाको डाउनटाउनबाट अगाडि बढ्छु
‘आई एट्टी फाइभ’ बाटोमा ड्राइभ गर्दै जाँदै छु
मेरो निसान अल्टिमा जुन मैले १० वर्षअघि किनेको थिएँ
सिल्भर रङको 'ब्रान्ड न्यू, अहिले पनि उस्तै नयाँ देखिन्छ
यद्यपि ड्यासबोर्डमा एक लाख माइल कुदिसकेको छ –
सम्भव हुँदो हो त त्यति माइलमा पाँच चोटिभन्दा बढी
नेपाल-अमेरिका ओहोरदोहोर गरिसकेको हुने रहेछु –
म केही बेर कल्पनातीत हुन्छु
बिचमा महासागर नहुँदो हो त,
कुनै भिसाको आवश्यकता नपर्दो हो त,
एकोहोरो सिधा गाडी दौडिने बाटो हुँदो हो त
बास बस्दैबस्दै, म पटक पटक यही कारमा
नेपाल-अमेरिका गरिराखेको हुन्थेँ
म फिस्स हाँस्छु - मनका लड्डु खान कति सजिलो !”
३. तेस्रो खण्ड: 'प्रबन्ध' – वैचारिक मन्थन र दर्शन
तेस्रो खण्ड 'प्रबन्ध'का कविताहरूमा विचार, तर्क र निजात्मक मन्थनको गहिरो सन्तुलन भेटिन्छ । कवितामा निबन्ध र प्रबन्धको गुण मिसाएर लेख्ने यस शैलीले पाठकलाई वैचारिक रूपमा सोच्न बाध्य त बनाउँछ नै, साथै यो शैली पनि अर्को प्रयोगात्मक शैली भएकाले यसमा थप पाठकहरू र समालोचकहरूको दृष्टिकोण कस्तो रहला भन्ने एउटा जिज्ञासा भने बाँकी रहेको छ ।
“तिनीहरूका लागि जसले मलाई 'तैँले देश बिर्सिस्' भने” शीर्षकको प्रबन्धनात्मक कवितामा लेखकले देश छोड्नुको बाध्यता र भित्री देशप्रेमलाई यसरी प्रस्तुत गरेका छन्:
“परदेश किन जान्छ मान्छे ? तिमीले कहिल्यै सोधेनौ ! सोध्यौ, तर उत्तर सुन्न चाहेनौ र भनिदियौ मलाई भूगोलको माया छैन ।
देखेनौ भूगोललाई मुटुमा चराले बचेरालाई च्यापेझैँ च्यापेर उड्दा म कति चोटि बिथोलिएँ !”
त्यस्तै, ‘आवेशमाथिको नियन्त्रण’मा एउटा कमिलालाई मार्न हात उठाएर पनि रोक्दाको क्षणमार्फत जीवन र विवेकको मझधारमा उभिँदाको दर्शन पोखिएको छ:
“ऊ मृत्युको मुखबाट छुटिसकेको थियो । मैले एक सेकेन्ड पनि हात नरोकेको भए उसका जीवनका सारा सपनाहरू समाप्त हुने थिए । म फर्किहाल्छु है भनेर आफ्नी प्रेयसीलाई वाचा दिएको हुन सक्थ्यो उसले, उसैको बाटो हेरेर उसकी प्रेयसी कुरेर बसिरहेकी पनि हुन सक्थी । मेरो आवेगमा उसका अभिलाषाहरूको मात्र अवसान होइन, ऊसँग जोडिएका अरू धेरै पात्रहरूको जीवन र सपनालाई पनि मैले निमोठिसकेको हुन सक्थेँ । आवेशमाथिको नियन्त्रणले म धन्य भएँ ।”
यसै खण्डमा समावेश अर्को कविता ‘तिमीलाई छोडेपछि’ शीर्षकको रचना आफैँमा विचारोत्तेजक छ, जसले यो प्रबन्धनात्मक शैलीका कविताहरूलाई जस्टिफाई गर्ने कोशिश गरेको पाइन्छ:
“तिमीलाई माया गर्ने मेरो मन असहाय हुने गरी तिमीले दुखाएपछि मैले तिमीलाई नै छोडिदिएँ जसरी एउटा नागरिकले आत्महत्या गर्न नसकेर आफ्नो देश छोड्छ!
हुन त आफ्नै देशलाई सरापेर परदेश हिँडेको व्यक्तिको पनि परदेशमा स्वदेश धड्किन्छ मुटुभित्र जब वह्वारवारती आउँछ आगोको लप्काझैँ अग्लिएर आफू हुर्किएको भूगोल ।
उसै गरी तिमीलाई छोडेपछि नआएको कहाँ हो र तिम्रो याद ।”
यो कविता आफैँमा डायस्पोरिक मनोविज्ञानको सुन्दर नमूना हो । प्रबन्धकीय शैलीमा लेखिएको यसले पाठकलाई मानवीय सम्बन्धका जटिलतामाथि गम्भीर भई सोच्न बाध्य बनाउँछ ।
४. चौथो खण्ड: 'शब्दचित्र' – दृश्यात्मकता र कङ्क्रिट पोइट्री
'शब्दचित्र' नेपाली कवितामा एउटा सुन्दर चित्रणात्मक प्रयोग हो । यहाँ कविले शब्दलाई मात्र होइन, दृश्य र संरचनालाई पनि काव्यिक माध्यम बनाएका छन् ।
म आफू दृष्टिविहीन व्यक्ति भएकाले पनि यस खण्डका कविताहरूलाई रुचिकर मानेर पढ्दा यहाँ हरेक दृश्यको वर्णन गरिएको पाइन्छ, जसले एउटा दृश्य-वर्णन (Visual Description) प्रदान गर्छ; जुन नेटफ्लिक्समा अडियो डिस्क्रिप्शन (Audio Description) इनेबल गरेर चलचित्र हेरेको जस्तो महसूस हुन्छ । यो आफैँमा पहुँचयुक्तता (Accessibility) को अर्को सुन्दर नमूना हो भन्दा फरक पर्दैन ।
लेखक आचार्यको यस खण्डमा उल्लिखित कविता ‘क्यानभासमा एक सुन्दर महिलाको चित्र’मा प्राकृतिक सौन्दर्यको क्यानभासभित्र उकालो चढिरहेकी आमाको आकृति कोर्दै सीमान्तकृत वर्गको ओझेल परेको दुःख र राज्यविहीनताको गहिरो पीडालाई दृश्यात्मक रूपमा यसरी कोरिएको छ:
“धौलागिरी र माछापुच्छ्रे छन् पृष्ठभूमिमा
पश्चिममा झर्दै गरेको जून र उड्दै गरेका चरा, रूखका बुट्यानहरू पहाडको काख हुँदै बग्दै गरेको नदी, निलो आकाश, आकाशमा बादलका वर्णहरू
यी सबैले सोधेझैँ लाग्छ तमाखु तान्दै उकालो चढ्दै गरेकी एक आमालाई
उनका मुखबाट फणा फुलाउँदै उडिरहेछ बिँडीको धुवाँ, धुवाँजस्तै छ उनको कपाल, पहाडे कागजजस्ता छन् उनका हात दुधको छालीजस्ता छन् उनका आँखा निधारभरि छन् वक्ररेखा
प्रश्न गर्ने साहस छैन उनीसँग, उनलाई थाहा छैन देशमा सरकार छ, पोतिएको छ यसरी सदियौँदेखि हेपिएर बसेको सीमान्तकृतको रङ्ग उनका अनुहारमा !”
कम्तीमा मेरा लागि यो कविता मात्र नभई कसैले क्यानभासमा कोरिएको सुन्दर चित्रकलालाई शब्दमार्फत व्याख्या गरिदिएजस्तो जीवन्त महसूस हुन्छ ।
अर्को कविता ‘कोही बाँचोस् त धुपीको बोटजस्तो’मा धुपीको व्याख्या मात्र नभएर, सिङ्गो जीवनलाई धुपीको बोटसँग तुलना गर्दै जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो अडान र स्वाभिमान नगुमाई मस्तसँग बाँचिनुपर्छ भन्ने जब्बर जीवन-दर्शन पोखिएको छ:
“मेरो घरको पहरेदार भएर बसेको छ एउटा धुपीको रूख, म जर्जिया राज्यमा बसेको वर्षौं भयो, यसले आफ्नो रङ्ग फेरेको छैन हरेक ऋतुमा ऊ त्यसरी नै तैनाथ देखिन्छ जसरी पल्टनमा सिपाही हातमा बन्दुक बोकेर उभिन्छ घरी ऊ देखिन्छ उड्न लागेको अन्तरिक्ष यानजस्तो, घरी ऊ देखिन्छ काठमाडौँको सुन्धाराजस्तो कि मेरी आमाले सिउन ठिक पारेको सियोजस्तो ऊ प्रचण्ड तापमा पनि मुस्कुराएकै हुन्छ, मेरा बाको झैँ ठाडो शिर गरेर । हिउँको सिरक ओढेका बेला पनि अलिकति टाउको निकालेर चियाएकै हुन्छ आकाश बरु उखेलिन्छ, काटिन्छ, भाँचिन्छ, टुक्रिन्छ तर फेर्दैन ऊ आफ्नो जवानीको हरियो जब्बर रङ्ग अन्तिम घडीसम्म पूरा जीवन बाँच्छ मस्त बाँच्छ, कोही बाँचोस् त धुपीको बोट जस्तो ।”
त्यस्तै, 'गर्भभित्रकी छोरीलाई बाउको सम्बोधन'मा आमाको पाठेघरभित्र रहेको भ्रूणको रेखाचित्रसँगै कविताका हरफहरू समायोजन गरी कङ्क्रिट पोइट्रीको आकर्षक नमुना पस्किएको छ ।
५. पाँचौँ खण्ड: 'छोटा कविता' – संक्षिप्तता र विचारको प्रहार
म आफैँ पनि संक्षिप्त र छोटा आकारका कविताहरू लेख्न रुचाउने र मन पराउने भएकाले यो अन्तिम खण्ड मेरा लागि अझ बढी रुचिकर बन्यो । मलाई लाग्छ, छोटा कविताहरूमा शब्दको सङ्ख्या होइन, त्यसको भित्री प्रहार (Punch) र विचारको सघनता मुख्य हुन्छ । थोरै शब्दमा दार्शनिक, सामाजिक वा राजनीतिक मर्म पोख्न सक्नु नै छोटा कविताको वास्तविक सामर्थ्य हो । आचार्य यस खण्डमा लामा गन्थनहरूलाई पन्छाएर एकदमै चोटिला र सुगठित कविताहरू पस्किने कोशिशमा छन् ।
राजनीतिज्ञहरूको बदलिँदो चरित्र, सत्ताको स्वार्थ र नागरिकप्रतिको बेवास्तामाथि तिखो प्रहार गर्दै ‘ऊ’ शीर्षकको कवितामा कवि लेख्छन्:
“रत्नपार्कमै भाषण गरेर
पुगेको हो ऊ शक्तिको केन्द्रमा
उसले भनेको हो –
'तिम्रो साथले म त्यहाँ पुग्छु
र म त्यहाँ पुगेपछि
तिम्रो अधिकारको रक्षा गर्छु'
आज, त्यही रत्नपार्कमा ऊसँग
न्यायको भिख माग्दै गर्दा
आँखैअगि अनसनमै अस्ताए
नन्दप्रसाद अधिकारी
सदाका लागि !!”
त्यस्तै, भौतिक संरचनाको विकास भए पनि मानवीय अभावहरूलाई विम्बात्मक रूपमा नहेरूँ भनेर अग्लेको 'धरहरा' कविता झनै मर्मस्पर्शी छ:
“वरिपरिका चाटुकार
र मगन्तेहरू माझ
द्रुत गतिमा अग्लिएको
धरहरालाई मैले सोधें –
'आकाशतिर किन हेरिरहेछस् ?'
उसले उत्तर दियो –
'रोग, गरिबी, अभाव, छुवाछुत,
अशिक्षा, बेरोजगार हेर्न नसकेर, हजुर !”
निष्कर्ष
यति भनिसकेपछि, के तुलसी आचार्यको 'दिनभरि पानी परिरहन्छ' आलोचनामुक्त छ त ? त्यसो पक्कै होइन । एउटा तटस्थ पाठकको नजरबाट नियाल्दा सङ्ग्रहभित्र केही सीमाहरू स्पष्टै देखिन्छन् ।
सबैभन्दा पहिलो कुरा, सङ्ग्रहभरि विषयवस्तु र भावको दोहोरोपन अलि बढी नै छ । दशैँ जस्ता चाडपर्वहरूको न्यास्रो, आमा-बाको सम्झना, परदेशको एकाकीपन, अनि हिउँ र पप्लारका नाङ्गा रूखहरू सङ्ग्रहका धेरै खण्डमा दोहोरिएर आउँछन् । झट्ट सोच्दा लाग्छ— कवि सधैँ एउटा उराठलाग्दो र विरक्तिएको 'परदेशी मन'को चक्रव्यूहबाट बाहिर निस्कनै सकेका छैनन् । परदेशी जीवनमा यस्तो छटपटी र नोस्टाल्जिया हुनु स्वाभाविक भए तापनि, एउटै रोदन र कुण्ठामा पटक-पटक ठोकिँदा पाठकलाई कता-कता मनोटोनस लाग्न पुग्छ ।
दोस्रो कुरा, संस्मरण र प्रबन्धजस्ता खण्डहरूमा कवितालाई नयाँ प्रयोग दिन खोज्दा कतिपय ठाउँमा विचार र कथात्मकता अलि बढी हाबी भएको हो कि जस्तो लाग्छ, जसले गर्दा कवितामा हुनुपर्ने सूक्ष्म काव्यिक लालित्य र विम्बको साटो गद्यात्मक भार अलि बढी पोखिएको भान हुन्छ ।
तेस्रो, छोटा कविताहरूको सन्दर्भमा हेर्दा, यस विधाको मूल शक्ति थोरै शब्दमा गहिरो अर्थ, तीक्ष्ण विम्ब र प्रभावकारी काव्यिक प्रहार सिर्जना गर्न सक्नुमा रहन्छ । विश्व साहित्यमा छोटा कविताले संक्षिप्तता, बहुअर्थी संकेत र अन्त्यमा रहने गहिरो प्रभावमार्फत पाठकलाई लामो समयसम्म सोच्न बाध्य बनाउने परम्परा बोकेका छन् । आचार्यका छोटा कविताहरूले पनि विषयलाई छोटो संरचनामा प्रस्तुत गर्ने सफल प्रयास नगरेका होइनन्, यद्यपि केही कवितामा विचारको सघनता, विम्बको संयोजन र अन्तिम प्रभाव अझ बढी परिष्कृत हुन सक्ने सम्भावना देखिन्छ । कतिपय ठाउँमा विचार स्पष्ट रूपमा अभिव्यक्त भए पनि छोटा कविताले अपेक्षा गर्ने त्यो आकस्मिक काव्यिक झट्का केही कम महसूस हुन्छ ।
तर पनि, केही सीमा र दोहोरोपनका बाबजुद प्रयोगात्मकता, आत्मअभिव्यक्ति र मानवीय संवेदनाका दृष्टिले कविको यो प्रयास सराहनीय छ । आफ्ना अनुभूतिहरूप्रति इमानदार हुनु र प्रचलित काव्य-विधाभन्दा बाहिर निस्किएर पाँचवटा फरक ढाँचामा कविता पस्कने यो प्रयोगात्मक आँट नेपाली साहित्यका लागि एउटा नयाँ र समृद्ध अभ्यास हो ।
आदरणीय पाठक, यता मेरो ल्यापटप छेउको कफी अझै चिस्सिएछ, बाहिर झरी अझै रोकिएको छैन, र मेरो मनभित्र भने यस कवितासङ्ग्रहले सिर्जना गरेको अनुभूतिको झरी अनवरत परिरहेकै छ । कवितामा नयाँ स्वाद र फरक प्रयोग रुचाउने पारखीहरूका लागि ‘दिनभरि पानी परिरहन्छ’ एउटा पठनीय र सङ्ग्रहणीय कृति बनेको छ ।

