साहित्यपोस्ट-नपढी सुखै छैन...

डिल्लीराम अम्माईको कविता सङ्ग्रह ‘निरपेक्ष अस्तित्वको खोज’ गृहविमोचन

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–२, दमेकमा साहित्यकार डिल्लीराम अम्माईको नयाँ कविता सङ्ग्रह ‘निरपेक्ष अस्तित्वको खोज’को गृहविमोचन गरिएको छ ।

वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय साहित्यप्रेमी, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । कृतिको विमोचन गर्दै वक्ताहरूले साहित्य समाजको चेतना, संस्कार र मानवीय मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रभावकारी माध्यम भएको बताउनुभएकाे थियाे।

कार्यक्रममा नन्दलाल सापकोटा, ऋषिराम सापकोटा, विमला सुवेदी सापकोटा, अस्मिता राना, रविप्रसाद सापकोटा र भगवती सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै अम्माईको साहित्यिक योगदानको प्रशंसा गर्नुभयो । वक्ताहरूले कविता सङ्ग्रहले मानवीय जीवन, सामाजिक यथार्थ, संवेदना र अस्तित्वका विविध आयामलाई सशक्त रूपमा अभिव्यक्त गरेको धारणा राख्नुभएको थियो ।

लेखक अम्माईले आफ्नो सिर्जनात्मक यात्राबारे चर्चा गर्दै साहित्य समाजको यथार्थलाई शब्दमार्फत अभिव्यक्त गर्ने माध्यम भएको बताउनुभयो । उहाँले पाठकको माया, सुझाव र रचनात्मक प्रतिक्रियाले आगामी दिनमा अझ सशक्त सिर्जना गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा लेखककी धर्मपत्नी तारा अम्माईको पनि उपस्थिति रहेको थियो । सहभागीहरूले स्थानीय तहमा यस्ता साहित्यिक गतिविधिले पठन संस्कृतिको विकाससँगै नयाँ स्रष्टालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएकाे थियाे।

कार्यक्रमको सञ्चालन धनबहादुर थापाले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.