काठमाडौं । डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीका अवसरमा तीन जना स्रष्टालाई ‘डायमनशमशेर राणा साहित्यिक पुरस्कार/सम्मान’ प्रदान गरेको छ ।
प्रतिष्ठानले राणामाथि विद्यावारिधि गर्नुभएका डा. टीकाराम पोखरेल, राणाका विषयमा ‘डायमनश्री’ महाकाव्य लेख्नुभएका डा. माधव वियोगी तथा राणामाथि खोज–अनुसन्धान गर्नुभएका उपप्रा. डा. विष्णु न्यौपानेलाई सम्मान गरेको हो । तीनै जनालाई जनही २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले डायमनशमशेर राणाले ऐतिहासिक उपन्यास लेखनका साथै नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनामा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । ऐतिहासिक उपन्यास लेखनमा राणासँग तुलना गर्न योग्य उपन्यासकार नेपालमा अरू नभएको उहाँको धारणा थियो।
राणा साहित्य सिर्जनासँगै नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय रहँदै प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि क्रियाशील रहेको वक्ताहरूले स्मरण गर्नुभएकाे थियाे । उहाँ २००८ सालदेखि २०३७ सालसम्म नेपाली कांग्रेस ललितपुरको सभापति रहनुभएको थियो । त्यसपछि उहाँ काठमाडौं उपत्यकाका तीनवटै जिल्ला हेर्ने गरी कांग्रेस नेतृत्वमा सक्रिय रहनुभएको थियो ।
साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले प्रजातन्त्र स्थापनाको आन्दोलनमा लाग्दा राणाको तराई क्षेत्रमा रहेको ५०० बिघा र काठमाडौं उपत्यकामा रहेको १०० रोपनी जग्गा सर्वस्वहरणमा परेको उल्लेख गर्नुभयो । त्यस्तो योगदान हुँदाहुँदै पनि राणाको चर्चा र प्रभाव कायम रहेको उहाँले बताउनुभयो ।
समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले डायमनशमशेरको ‘गृहप्रवेश’ उपन्यास चामत्कारिक यथार्थवादमा आधारित रहेको बताउनुभयो। उहाँले राणाले नेपाली साहित्यमा नयाँ आख्यानतत्त्व भित्र्याएको धारणा राख्नुभयो ।
साहित्यकार अनिता कोइरालाले अन्धकार र अराजकता हटाउन आफ्नै पारिवारिक शासनविरुद्ध लेख्ने र बोल्ने साहित्यकारका रूपमा डायमनशमशेर स्थापित भएको बताउनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व डा. माधव वियोगी, उपप्रा. डा. विष्णु न्यौपाने र डा. टीकाराम पोखरेलले डायमनशमशेर राणाको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।

