साहित्यपोस्ट डट कम

ध्रुबकृष्ण ताम्राकारको ‘दह’ उपन्यास लोकार्पित

ध्रुबकृष्ण ताम्राकारको ‘दह’ उपन्यास लोकार्पित

काठमाडौं । साहित्यकार ध्रुबकृष्ण ताम्राकारको नविनतम् उपन्यास ‘दह’ एक समारोहका बीच लोकार्पण गरिएको छ ।

उपन्यासको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. विष्णु एस राई, साहित्यकार सूर्यप्रसाद लाकोजू, समालोचक डा. हरिप्रसाद सिलवाल, कथाकार तथा समालोचक ध्रुब मधिकर्मी र कृतिकार ध्रुबकृष्ण ताम्राकार लगायतले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको हो ।

लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि राईले ‘दह’ लाई प्रेम–उपन्यासका रूपमा व्याख्या गर्दै प्रेममा पीडा, आनन्द, मिलन र बिछोड सबै पक्ष रहने उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रेम पूर्णतामै मात्र होइन, अधुरोपनमै पनि यसको सार्थकता रहने हुन्छ, जसलाई लेखकले उपन्यासमा कुशलतापूर्वक प्रस्तुत गर्नुभएको छ ।

समालोचक डा. सिलवालले ‘दह’ शीर्षक आफैँमा प्रतीकात्मक रहेको धारणा राख्नुभयो भने ध्रुब मधिकर्मीले उपन्यासलाई नेपाली समाजको प्रतिबिम्बका रूपमा चित्रण गर्नुभयो । साहित्यकार सूर्यप्रसाद लाकोजूले जीवन सधैं बग्ने नदीजस्तो नहुने भन्दै कहिलेकाहीँ ‘दह’ जस्तै स्थिर र जम्ने अवस्थाको संकेतका रूपमा कृतिलाई व्याख्या गर्नुभयो । उहाँले उपन्यासमा आम नेपालीको दुःख र पीडा प्रतिबिम्बित भएको उल्लेख गर्नुभयो ।

कृतिकार ताम्राकारले ‘दह’ नेपाली जीवनको यथार्थ चित्रण गर्ने प्रयास भएको बताउनुभयो । यसअघि उहाँका आँसुको कथा र मिराज कथासङ्ग्रह, प्रारम्भ र हृदयका उद्गार कवितासङ्ग्रह, स्पन्दन मुक्तकसङ्ग्रह तथा भावनाका उत्सर्गहरू गीतसङ्ग्रह प्रकाशित भइसकेका छन् । ‘दह’ उहाँको पहिलो उपन्यास हो, जसलाई अक्षरमार्ग ले प्रकाशन गरेको हो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.