‘जूनको जात्रा’ अम्बिका धितालको कृति लघुकथासंग्रह हो । यस कृतिले पाठकका माझमा पुगेर चित्तलाई सूचित बनाइसकेको छ । समाजमा शीतलताका नाममा गरिने जात्रालाई उद्घोष गरिसकेको छ ।
फेसबुकका लर्कासर्कामा लघुकथाकार लेखिका धिताललाई चिनेँ । चिन्दा नवप्रविष्ट लघुकथाकारका रूपमा चिनेँ । उनले प्रस्तुत कृति प्रकाशन गर्दा नै पाण्डुलिपि हेर्न पाउने व्यक्तिमा म एक परेँ । यो सुखद संयोग हो । कृतिलाई शब्दयात्रा प्रकाशनले २०८१ सालमा प्रकाशित गरेको हो ।
कृतिको आवरणमा झन्डै खग्रास देखिने जूनको चित्र छ, त्यसभित्र मधुरा ताराहरू आकाशमा देखिन्छन् । जूनको शीतलता पनि चाहे जति शीतल छैन, बरु यसभित्र भेषी-छद्मभेषी जात्रै जात्रा छ । यही बिम्बमा कृति आवरण सिर्जना गरिएको छ । २०४४ सालमा धुलिखेल, नेपालमा जन्मेकी र शिक्षणलाई पेसा बनाएकी अम्बिका धिताल आफैँ नेपाली भाषा शिक्षा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी स्रष्टा हुन् । उनको यो कृतिमा फेमिनिज्म दृष्टिले हेर्न खोजेको हो । फेमिनिज्म अर्थात् जनानावाद वा महिलावाद ।
फेमिनिज्म अर्थात् महिलावाद एउटा सामाजिक तथा राजनीतिक आन्दोलन हो । महिलावादको जरो राजनीतिसँग जोडिएको भए पनि साहित्यमा भने यसले अलग्गै प्रभाव दिन्छ । स्रष्टाले साहित्यमा प्रयुक्त गरेको भाषा, उखान, टुक्का, पात्र परिचलान तथा केन्द्रीय थिमका आधारमा महिलावादी दृष्टिकोण तय गरिन्छ । महिलावादी दृष्टिकोणबाट कृतिलाई हेर्दा साहित्य तथा इतिहासमा प्रयोग भएको विषय, भाषा, विम्ब, प्रतीक तथा प्रयोजनको रूपमा आउने विभेद माथि दृष्टि दिइन्छ । पुरुष प्रधान समाज भएकाले समाजका प्रायः सबै तहमा महिलामाथि असमानता छन् । यस्तो अवस्थामा साहित्यमा महिलाका लागि प्रयोग गरिने अभिधा, लक्षणा तथा व्यञ्जना शब्द शक्ति वा भाषाले आर्थिक, सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक विभेद गर्छ । किनकि समाज जस्तै साहित्य पनि पुरुष नियन्त्रित लैङ्गिकतामा आधारित छ । यसो भन्नुको तात्पर्य दोषी पुरुष मात्र हुन् भनिएको होइन, महिला सर्जकले पनि महिला विभेदी कुराको प्रयोग गरेका हुन्छन् । त्यसैले फेमिनिज्म भन्नु एउटा सिद्धान्त हो । यही सिद्धान्तका आधारमा कृति भित्र प्रक्षेपित विषय, भाषा, प्रयोजन, थिम आदिको निर्क्योल गरी विरोध गर्नु, गराउनु फेमिनिज्म क्रिटिसिज्मको प्रमुख अभिध्येय हो ।
ज्ञात भएको कुरा हो कि लगभग विश्व नै पितृसत्तात्मक आदर्शले घनीभूत छ । यस आदर्शलाई समाजले पछ्याउँछ र घोषित अघोषित रूपमा महिलालाई होच्याउने, अवसर नदिने, हियाउने गर्छ । यो कुरा यति मन्द तर सशक्त रूपले बिछ्याइएको हुन्छ कि कतिपय महिलाले थाहै पाउँदैनन् । अङ्ग्रेजी साहित्यकी प्रखर विदुषी म्यारी एन इभान्स आफू महिला भए पनि समाजमा महिला साहित्यकारलाई त्यति महत्त्व नदिने यथार्थका कारणले पुरुषको नाम जर्ज इलियट (सन् १८१९—१८६०) राखेर सोही नाममा अङ्ग्रेजी साहित्यमा प्रख्यात भइन् । यो कुराले महिलालाई साहित्यमा कति समस्या छ भन्ने कुरा प्रष्ट पार्छ । यही क्रममा बेलायती साहित्यकार भर्जिनिया उल्फ (सन् १८८२—१९४१) ले आफ्ना रचनामा महिलावादको विचार तथा प्रयोगलाई उचाइमा पुर्याइन् । उनी बाइसेक्सुअल थिइन् । उनका ‘अ रुम अफ वन्स’ र ‘प्रोफेसन्स फर ओमन’ नामक निबन्धले फेमिनिज्मको स्वर आकाशमा पुर्यायो ।
वर्तमान अवस्थामा त क्वियर स्टडी अर्थात् एलजीबिटीक्युआइए (लेस्बियन— महिला महिला आकर्षित हुने, गे— पुरुष पुरुष आकर्षित हुने, बाइ सेक्सुअल— एकैमा महिला पुरुष अङ्ग भएको, ट्रान्स जेन्डर— महिलाका रूपमा जन्मे पनि पुरुष हुने, र पुरुष भएर जन्मे पनि महिलाका रूपमा चिनिने, जेन्डर डाइसफोरिक — पुरुष भए पनि महिलाको स्वभाव भएको, महिला भए पनि पुरुषको स्वभाव भएको, असेक्सुअल — लिङ्गको पहिचान नभएको, अरोमान्टिक — जुनसुकै लिङ्ग भए पनि शारीरिक सम्पर्कमा बिलकुल रुचि नभएको) समेतलाई तथा तिनका विशिष्ट संस्कृति सम्मलाई बृहत्तर फेमिनिज्ममा अटाइन्छ ।
नेपाली साहित्यको सन्दर्भमा यस्तो विषयमा भर्खर भर्खर धिमाधिमा लेख्न थालिएको छ । यस्तो परिवेशमा अम्बिकाले आफ्नो संग्रहमा ती कुरा घनीभूत रूपमा उल्लेख हुनु शायद सम्भव छैन । त्यसैले कृतिभित्रका महिला पात्रको उपस्थितिको औचित्य, तिनका बारे कृतिकारको केन्द्रीय विचारको आधारमा कृतिको विवेचना गर्ने प्रयत्न गरिएको छ ।
महिलावादी दृष्टिले कृतिलाई हेर्दा केही लघुकथाले प्रत्यक्ष वा परोक्ष रूपमा महिलाका कथाबेथा बोकेको छ । समाजले महिलालाई खुट्टामा उभिन नदिने, महिला पनि परम्पराका कारणले पतिको सम्पत्तिमा फेसनेबल हुने र आफ्नो अधिकार, अस्तित्व तथा पहिचान गुमाउने परिपाटीको लघुकथा (रहर पृ. ८) पनि यस कृतिमा छ । जसले महिला आफ्नो खुट्टामा नउभिएर विद्रोही नभएर लोग्नेको पैसामा रमाउने गरेको अवस्थाको चित्रण गरिएको छ । यो कुरा महिलावादका लागि एउटा समस्या हो । सभ्रान्त वर्गको पद्धतिले महिलालाई सुखसुबिधा दिएर महिलामाथि विभेद गरेको हुन्छ । यो कुरा स्वयं भोक्ता महिलाले भने थाहै नपाउने हुन्छ । यस लघुकथाको माध्यमबाट यस्तै परिवेशको कुरा बुझ्न सकिन्छ ।
लघुकथाकारले महिलालाई यौन शोषण गर्न खोज्ने आर्थिक तथा सामाजिक पुरुषकीय प्रवृत्तिमाथि विद्रोह (साहस पृ. ११) गरेको अवस्था पनि लघुकथाभित्र छ । लघुकथा मूल रूपमा पितृसत्तात्मक शक्तिले महिलामाथि गर्ने विभेद र शोषणलाई उजागर गरेको छ । यस सन्दर्भमा महिलाहरूमाथि गरिने अर्को शोषण वा विभेद यौनसम्बन्धी कुरा हुन् । यौनसम्बन्धका मानकहरू महिला र पुरुषका लागि फरक फरक हुन्छन् । यौन महिलाको निजात्मक अधिकार रहन्न । यसलाई दायित्वको परिभाषा दिएर वा सुन्दर धार्मिक लेप लगाएर भए पनि विभेद गर्ने गरिन्छ । यौनका मामलामा समाजले महिलालाई भोग्या र पुरुषलाई भोक्ता मानिने यो परिपाटी पितृसत्तात्मक समाजको कडी हो । प्रस्तुत लघुकथामा यस्तै खाले धिमा यौन विभेद वा शोषण देखाउने प्रयास गरिएको देखिन्छ ।
आधुनिक युगमा श्रीमान श्रीमतीका बीचमा पारपाचुके गर्ने चलन चलेको छ । पश्चिमा देशमा पारपाचुके गर्न पाउने परिवेशले महिलालाई एक हदसम्म विभेदबाट मुक्त गरेको छ । तर नेपाल जस्तो देशमा सर्वप्रथम त पारपाचुके त्यति सजिलो छैन, अर्कोतिर धनी लोग्नेले कानूनअनुसार पैसा दिएर श्रीमतीसँग पारपाचुके गर्ने र अर्को बिहे गर्न बाटो खुलाउने अवस्था बेहोर्नु परेको हुन्छ । खासगरी परम्परागत महिला पारपाचुके गर्न चाहन्नन् । तर लोग्नेले कानूनअनुसारको पैसा दिएर श्रीमतीलाई शोषण गर्ने गरेकोतिर लघुकथाकारले ध्यान आकृष्ट गरेको देखिन्छ । पारपाचुके गर्न लगाउने श्रीमानको माखेसाङ्लोमा परेकी महिलाको मनोवैज्ञानिक चित्र (नसोचेको उपहार १९) लघुकथामा उजागर गरिएको छ ।
फेमिनिस्ट विचारमा महिलालाई विभेद गर्ने तथा लौङ्गिक विभेद गर्ने अनेकन सामाजिक कारण छन् । परम्परागत, संस्कारगत कारण छन् । अम्बिकाले ऋण काढेर नै भए पनि महिलाले तीज मान्ने गरेको सामाजिक यथार्थ (ऋण १९) पस्किएको देखिन्छ । महिलावादी दृष्टिबाट हेर्ने हो भने यसरी तीजका नाममा तीजकै अन्तर्यभित्र पस्ता यसले पनि सहुलियत तथा सुविधाको व्यवस्था गरेर महिलामाथि विभेद गरिएको हुन्छ । यस कुरालाई पनि लघुकथाकार अम्बिकाले सूक्ष्म रूपमा अभिव्यक्त गरेको देखिन्छ ।
महिला भएकै कारणले हुने विभेदको अन्त्य महिलावादको नारा हो । महिलालाई पुरुषले मात्र होइन, महिलाले नै पनि लैङ्गिक विभेद गर्ने गरेको चित्र यो कृतिभित्र परेको छ । बुहारीले सासूलाई गरेको अपहेलना र विभेद अर्थात् महिलाले नै महिलाको विभेद गर्छन् भन्ने कुरामा जोड दिइएको लघुकथा (विडम्बना ३६) पनि कृतिमा रहेका छन् । यो कुराले महिलावाद एउटा विचार हो, आन्दोलन हो भन्ने कुरा दर्शाउँछ । त्यसैले महिलावाद भन्नु पुरुषको विरोध गर्नु होइन, पुरुषसत्ताको विरोध हो । पुरुषसत्ता चलाउन वा अक्षुण्ण राख्न पुरुष जत्तिकै महिलाको पनि हात छ । यो सामाजिक पद्धति तथा समस्या हो भन्ने कुरा पनि अभिव्यक्त भएको छ ।
उनका लघुकथामा महिलाले अनावश्यक रूपमा चरित्रको अप्टी खानुपर्ने परिवेशलाई पनि चित्रण गरिएको छ (चरित्र ४५) । महिलामाथि लैङ्गिक आधारमा विभेद हुने गाढा आधार भनेको महिलाको चरित्रलाई दाउमा लगाउनु हो । सामाजिक सन्दर्भमा महिलाको चरित्र भनेको यौनसँग सम्बन्धी चरित्र भन्ने बुझिन्छ । तर खासमा यौनसँग सम्बन्धी कुरा महिला वा पुरुषको निजी कुरा हो । यसलाई विकसित देशमा त्यसरी चरित्रसँग जोडिन्न । किनकि ती देशमा चरित्र भनेको मानिसको खराब व्यक्तित्व, चोर्नु, घुस खानु, अमानवीय हुनु जस्ता कुरा चरित्रमा गनिन्छन् । यस सन्दर्भमा लघुकथाकार अम्बिकाले धिमा रूपमा महिलाको यौनिक चरित्रलाई देखाएर पनि विभेद तथा शोषण हुने गरेको सामाजिक यथार्थ पस्किएको अवस्था रहेको छ ।
कृतिकार अम्बिकाले महिला मुक्तिको सवालमा महिला सशक्तीकरणको मुद्दा पनि उठाएको ‘सफलता ४९’ देखिन्छ । समाजमा महिलाको सशक्तीकरण गरियो भने लैङ्गिक विभेद हट्छ भन्ने एउटा मान्यता छ । यही मान्यताका आधारमा पनि लघुकथा लेखिएको छ । तर पनि महिलावादले सशक्तीकरण मात्रलाई महिलामुक्ति मान्दैन । किनभने लैङ्गिक विभेद आर्थिक व्यवस्थाभन्दा सामाजिक व्यवस्था हो । अझ सामाजिक व्यवस्थाभन्दा धार्मिक व्यवस्था हो । समाजमा महिलाको स्थानलाई धर्मसँग लगेर जोडिएको हुनाले सशक्तीकरण र सामाजिक सुधार मात्रले यो समस्या हल हुने होइन । बरु महिलाका सवाललाई धर्मबाट झिकेर अलग गरिनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । किनभने समाजले छोरीलाई नै लक्ष्मीको रूपमा मानेको सामाजिक यथार्थ एकातिर छ भने (साक्षात लक्ष्मी ५९) अर्कोतिर तिनै छोरीलाई बाबुआमा वा समाजले लैङ्गिक विभेद गरिरहेको हुन्छ । यसैगरी सामाजिक धार्मिक परिपाटीले महिलाले वालविधवा भएर बिताउनु पर्छ । पुनरविवाहको व्यवस्था त्यति दर्बिलो र समान छैन । यही कुरालाई लघुकथा (दबिएको इच्छा ६५) का रूपमा प्रष्ट पारिएको छ । महिलामुक्तिको सवाल आर्थिक होइन भन्ने कुरा उनले अभिव्यक्त गरेको देखिन्छ । धनसम्पत्ति भए पनि परिवारमा महिला आफ्नै मान्छेबाट असुरक्षित हुने परिवेश (कुबाटो ६८) देखाइएको छ । महिलावादले उठाउनु पर्ने यो एउटा विषय हो ।
माथि उल्लिखित लघुकथाहरूले कतै प्रखर तथा कतै धिमा स्वरले महिलाका विषय, समस्या, विभेद तथा विद्रोहलाई प्रतिबिम्बित गरेका छन् । यति भए तापनि एउटी शिक्षित तथा सङ्घर्षशील महिला लेखक अम्बिका धितालद्वारा लेखिएको ‘जूनको जात्रा’ मा पनि पर्याप्त मात्रामा महिलावादका मुद्दाहरू उठाइएको भने छैन । सामान्य घरायसी विभेद मात्र उल्लेख गरेर कृति तुरिएको छ । महिलावादका चुरो कुरा बोकेर यो कृति नलेखिएको सन्दर्भमा हेर्दा एलजीबिटीक्युआइए का विषय उठ्ने सम्भावना नै छैन ।
कृतिभरि समाजका अन्य विषय समावेश छन् । महिलाका अधिकार तथा महिलासँग हुने विभेदलाई केन्द्रमा राखेर लेखिएको कृति होइन यो । सामाजिक, शैक्षिक, राजनीतिक, नैतिक, महँगी, सांस्कृतिक जस्ता विषयको बाहुल्य छ । वैचारिक हिसाबले परम्परावादमा सुधार खोजिएको छ ।
अब आलेखको अन्तिमतिर छु । यो बेला मैले फ्रान्सेली लेखिका सिमान दे बुआ (१९०८—१९८६) लाई सम्झेको छु । उनले सन् १९४९ मा ‘द सेकेन्ड सेक्स’ भन्ने पुस्तक लेखेर फेमिनिज्मको दार्शनिक व्याख्या गरिन् । उनले महिलामाथि हुने विभेदको कारण समाज भएको कुरा विस्तारमा बताइन् । उनको महिला जन्मिँदैनन्, जन्माइन्छन् भन्ने उक्ति नै फेमिनिज्मको सार हो । नेपाली लेखकहरूमा ज्यादातर लेखक–लेखिका फेमिनिज्मको अर्थ पुरुषको विरोध भन्ने बुझ्छन् । पुरुषसत्ता भन्नु र पुरुष भन्नु नितान्त अलग विषय हो । समाजले जन्मँदै पहिलो सेक्स र दोस्रो सेक्सका रूपमा प्रस्तुत गर्छ । यस कुरालाई नेपाली साहित्यकारले बुझ्न जरूरी छ । तर नेपाली सन्दर्भमा हेर्दा वर्तमानमा पनि फेमिनिज्म बुझ्न–बुझाउन, सुन्न–सुनाउन, लेख्न–लेखाउन निकै कठिन छ । सामाजिक बारबेर भत्काएर खास गरेर महिला साहित्यकार तथा अभियन्ताले महिलावादका लागि अगाडि बढ्नु आवश्यक छ । यदि जनावावाद वा महिलावादका वैचारिक कुरालाई प्राप्त गर्नु छ भने समाजले महिलाका लागि बनाएको सांस्कृतिक तथा परम्परागत नामको रुखलाई जरैदेखि उखेल्नु आवश्यक छ । हाँगा छिमल्ने प्रवृत्ति नेपाली साहित्य संसारमा देखिन्छ । यो हाँगा छिमल्ने प्रवृत्तिले पुरुषसत्ताबाट महिलाको समानता प्राप्त गर्नु सम्भव छैन । यो कुरा महिलाका विषयमा लेख्ने समग्र साहित्यकारहरूले बुझ्नु जरूरी छ ।
अब अन्त्यमा, म लघुकथाकार धितालको ‘जूनको जात्रा’ का माध्यमबाट समग्र लेखक लेखिकालाई भन्छु कि महिला समानताको जरोसम्म पुगौँ र निर्मूल पारौँ । अर्को कृति यही रूपमा आउने विश्वास पनि गरेको छु । कृतिकार तथा कृतिको लागि हार्दिक शुभकामना अर्पण गर्छु ।
सान मार्कोस, अमेरिका

