काठमाडौं । त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पस नेपाली विभागद्वारा सञ्चालन हुँदै आएको ‘संज्ञान विमर्श’ को एघारौँ शृङ्खलामा जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’ माथि परिचर्चा गरिएको छ ।
विभागीय प्रमुख माधव उपाध्याय लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागीय सदस्य डा. जीवन श्रेष्ठ र डा. हेम भण्डारीले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
डा. श्रेष्ठले ‘धीमहि’ उपन्यासले वर्तमान नेपाली समाजमा देखिएको पलायन र विखण्डनलाई मनोवैज्ञानिक, सामाजिक तथा अस्तित्ववादी दृष्टिबाट प्रभावकारी रूपमा चित्रण गरेको धारणा राख्नुभयो । उहाँका अनुसार उपन्यास उत्तरआधुनिक शिल्प–संरचनामा आधारित रहेर पूर्वीय चिन्तन प्रस्तुत गर्न सफल रहेको छ ।
त्यसैगरी डा. भण्डारीले उपन्यासमा सांस्कृतिक विचलन र उपभोक्तावादी संस्कृतिको प्रभाव उजागर गरिएको उल्लेख गर्नुभयो । उहाँले कृतिले वर्तमान समाजको यथार्थ चित्रण गर्दै पूर्वीय मूल्य र प्रकृतितर्फ फर्किनुपर्ने सन्देश दिएको बताउनुभयो ।
लेखक जयराम तिमल्सिनाले नेपाली समाजका समस्यालाई आख्यानमार्फत प्रस्तुत गर्ने उद्देश्यसहित ‘धीमहि’ को सिर्जना भएको बताउँदै आगामी दिनमा पनि साहित्यको मूल्य र मर्मलाई समेटेर लेखनमा निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा त्रि.वि. मानविकी सङ्कायका प्रा.डा. सञ्जय मिश्र, प्रा.डा. भरत उपाध्याय, प्रा.डा. राजन पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदी, कवि भारती नेउपानेलगायत प्राध्यापक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो ।
उपभोक्तावादी संस्कृतिले सिर्जना गरेको पारिवारिक विखण्डन र पूर्वीय दर्शनको पुनरागमनलाई केन्द्रमा राखिएको ‘धीमहि’ समकालीन नेपाली समाजको सशक्त आख्यानका रूपमा प्रस्तुत भएको छ ।

