काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का निवर्तमान कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ लोकार्पण गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङमा आयोजित ‘बागलुङ मिडिया मेला, २०८२’का अवसरमा उक्त कृतिको विमोचन गर्नुभएकाे हाे ।
साहित्यमा ‘धर्मेन्द्र विह्वल’ उपनामले परिचित झाले पुस्तकमा हिमालपारिको मुस्ताङस्थित मुक्तिनाथदेखि समुद्र किनारास्थित जगन्नाथसम्मको यात्रालाई समेट्नुभएकाे छ । हिन्दू र बौद्ध धर्मावलम्बीका लागि साझा आस्थास्थल मुक्तिनाथ र जगन्नाथको यात्रालाई आधार बनाएर लेखिएको कृतिले धार्मिक तथा सांस्कृतिक पक्ष उजागर गरेको छ ।
लेखक झाले मुक्तिनाथसम्बन्धी मैथिली भाषामा लेखिएको यो पहिलो कृति भएको दाबी गर्दै यसले मैथिली भाषी पाठकलाई मुक्तिनाथको महत्व बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले पछिल्लो समय मुक्तिनाथ दर्शनमा जाने मैथिली भाषीको सङ्ख्या बढ्दै गएको पनि उल्लेख गर्नुभयाे ।
१०२ पृष्ठमा समेटिएको उक्त पुस्तकमा यात्राका क्रममा देखिएका विविध विषयवस्तुका साथै महत्वपूर्ण तस्वीरहरू समेत समावेश गरिएको छ ।
झाका यसअघि ‘रस्ता तकैत जिनगी’, ‘एक सृष्टि एक कविता’, ‘एक समयक बात्’, ‘शहरक भीडमे एसगर हम’, ‘व्योमक ओहि पार’, ‘मिथिला मिथक’, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’, ‘भ्रमरका उत्कृष्ट नाटकहरू’ (अनुवाद) र ‘गोनु झाका कथाहरू’लगायत कृति प्रकाशित भइसकेका छन् ।

