फागुनको अन्तिम हप्ता मधेसमा चर्को गर्मी हुनु स्वभाविक थियो । तर आज मेरो गाउँमा, मेरो मतदान केन्द्र शनिश्चरे मा.वि., डुम्राहा (रामधुनी–९) मौसमले भन्दा चुनावी माहोलले तातिएको थियो । त्यो चर्को गर्मीमा पनि एउटा सुन्दर दृश्य देख्न पाएको थिएँ । यहाँ धैर्य, संयम र लोकतन्त्रको जीवित अभ्यास थियो ।
दिउँसो घामको उज्यालो र धुलोले मलाई घेरिरहेको थियो । मतदान केन्द्रअगाडिको लाइन लामो थियो । बाँसले बनाएको अस्थाई पर्खालमा लामबद्ध भएका हामीमध्ये कोही बोतलका पानी पिइरहेका थिए अनि कोही पसिना पुछ्दै अगाडि बढ्दै थिए । मतदान केवल अधिकार होइन रहेछ । यो त हरेक नागरिकको जिम्मेवारी, कर्तव्य, विश्वास र सम्मानको अभ्यास रहेछ भनेर मैले महसुस गरेँ ।
को धनी, को गरिब ? को मालिक, अनि को नोकर ? सबैका लागि एउटै लाईन, एउटै मताधिकार…। मानवीय मूल्यका आधारमा गर्भवती, बिमारी, वृद्धहरूलाई लाइन बस्नु नपर्ने वातावरण थियो । मतदान त मैले पहिले पनि गरेको थिएँ । तर यसपटक सानो सानो कुराले मनमा फरक अनुभूत गर्दै थियो । लाइनको गति निकै सुस्त भए पनि म धीरताका साथ अघि बढ्दै थिएँ । मेरो अनुहारमा चर्को घामको ताप थियो, तर मन उत्साहपूर्ण थियो । महिलाहरूको लाइनमा अलिक बढी भीड थियो । कतिपय महिलाहरूले आफ्नो असहजता स्पष्ट गर्दै भने, “छिटो भए हुन्थ्यो, यो गर्मीमा उभिन गाह्रो छ ।” तर त्यही भीडमा कसैले मुस्कुराउँदै अनि मतिर ईशारा गर्दै भने, “डाक्टर पनि लाइनमा शान्त उभिनुभएको छ, हामी किन आत्तिनु ?”
त्यो शब्दले वातावरणलाई नै सजिलो बनायो । अनि नियमपूर्वक लाइनमा सहभागी हुँदा समाजलाई सम्मान गरेको अनुभूति भयो । सबै धीरतापूर्वक अगाडि बढ्न थाले । म पनि सर्दै गएँ । मतपत्र लिनुअघि विभिन्न दलका स्वेमसेवकहरू सँगै बसेका थिए । दल फरक थिए तर मिलेर काम गर्दै थिए । मलाई धेरैले चिन्थे, नमस्कार गरे । म पनि औपचारिकता पुरा गर्दै अगाडि बढे । मतदान अधिकृतलाई मतदानको गति बढाउन आग्रह गरेँ । मेरो भावना बुझेर होला, अधिकृत आफैँले सक्रियता देखाए । मतदान प्रक्रियामा केही तीव्रता आएको पाएँ ।
हाम्रो गाउँ सानो छ । सबैले एकअर्कालाई चिन्छन् । सबैको मतमा भिन्नता छ, वैचारिक विविधता छ । तर त्यसलाई सहजै स्वीकार गरेका छन् । त्यहाँ कुनै विवाद, झगडा वा असहिष्णुता देखिएन । यहाँ मानिसहरूले आफ्नै मत प्रयोग गरे । शान्त, संयमित र सम्मानजनक तरिकाले मतदान गरे । त्यो दृश्यले मलाई लोकतन्त्रको वास्तविकता देखायो । लोकतन्त्रमा कानुनको मात्र अभ्यास होइन, सहानुभूति, धैर्य र सामाजिक समझदारी पनि हुँदो रहेछ । मत हाल्दा औँलामा नीलो–पर्पल रंगको मसीले चिह्न लगाइएको थियो । त्यो चिह्न केवल औँलामा मात्र सीमित थिएन । यो मेरो जिम्मेवारी, मेरो गाउँको विश्वास र लोकतन्त्रको वास्तविक अभ्यासको प्रतीक थियो ।
मेरो गाउँमा रहेको शनिश्चरे मा.वि., डुम्राहा मतदान केन्द्रमा कुल १०४० मतदातामध्ये महिला ३९१ र पुरुष ३२६ गरी जम्मा ७१७ मत खसेको छ । जुन ६८.९४% (झण्डै ६९%) हो । रामधुनी नगरपालिका वडा नम्बर ९ को अर्को मतदान केन्द्र चन्द्रकमल मा.वि., मर्चैयामा भने ३१०० मतदाता थिए । त्यहाँ करिब २०५५ मत खसेको थियो । यसरी रामधुनी–९ का दुई मतदान केन्द्रमा जम्मा ४१३० मतदातामध्ये २७७२ मत खसेका थिए, जुन करिब ६७% मतदान प्रतिशत हो । तथ्याङ्कले मात्र होइन, अनुभवले पनि देखायो—लोकतन्त्र यहाँ जीवित छ ।
लाइनमा उभिँदा मैले आसपासका गाउँलेहरूसँग कुराकानी गरें । केहीले चुनावी प्रक्रिया र भोटको महत्त्वबारे आफ्ना विचार राखे । कतिपयले भने—“मत फरक पर्न सक्छ तर हामी सबैले आफ्नो पालो धैर्यपूर्वक कुरौँ ।” मैले महसुस गरेँ कि यो सानो गाउँ मात्र होइन, यहाँको सामूहिक चेतना र सामाजिक जिम्मेवारी पनि लोकतन्त्रको बल हो । ठ्याक्कै मध्यभागमा उभिँदा महिलाहरूको लाइनमा मैले देखेँ, केही महिलाहरू हातमा पानी बोकेर पसिना पुछ्दै थिए । अनि केहीले बालबालिका समातेर लाइनमा अगाडि बढिरहेका थिए । उनीहरूको अनुहारमा थकान थियो, तर आँखामा निर्णयको दृढता थियो । त्यहाँ उपस्थित सबैले मतदान केवल व्यक्तिगत अधिकार होइन, यो समुदाय, समाज र भविष्यको निर्माण हो भनेर बुझेका थिए ।
त्यस दिन गर्मी, धुलो र थकानले कतिपयलाई असहज बनाएको थियो । तर धीरता र संयमले शान्तिपूर्ण वातावरण सिर्जना गरेको मैले महसुस गरे । गाउँलेहरूले आफ्नो मत प्रयोग गर्दा मलाई फेरि याद भयो कि लोकतन्त्र केवल अधिकारको मात्र कुरा होइन, सकारात्मक सोच, सहिष्णुता र आपसी सम्मान पनि हो । मतदान केन्द्रको वातावरण साँच्चै सुन्दर थियो । कतिपय हल्का हाँसो गुञ्जाउँदै अगाडि बढे । कतिपय आफ्नो पालो कुर्दा लाइनमा भएका साथीहरूसँग गफिँदै थिए । चर्को गर्मीमा पनि धैर्यपूर्वक लाइनमा उभिने मनोबल देख्दा मलाई महसुस भयो, लोकतन्त्र सानो गाउँमा पनि वास्तविक छ ।
मैले त्यहाँ उपस्थित स्थानीय नेता र स्वयंसेवकहरूको प्रयासलाई पनि देखेँ । उनीहरूले मतदान प्रक्रिया व्यवस्थित राख्न प्रयास गरिरहेका थिए । प्रत्येक मतदाता सहज, सुरक्षित र सम्मानजनक तरिकाले आफ्नो मत प्रयोग गर्दै थिए । यसले देखायो कि सहज र सुव्यवस्थित लोकतन्त्रको अभ्यास केवल कानूनी व्यवस्था मात्र होइन, मानवीय समझदारी, समर्पण र प्रतिबद्धताको परिणाम पनि हो । मैले मतदान पूरा गर्दा मेरो मनमा एउटा भावनात्मक हलचल आयो । आज मैले मेरो मत प्रयोग मात्र गरेको छैन; मेरो गाउँ, समाज र लोकतन्त्रसँगको मेरो सम्बन्ध पनि पुष्टि भएको छ । लोकतन्त्र केवल संविधान र कानुनमा सीमित छैन । मानिसहरूको दैनिक अभ्यास, धैर्य, सम्मान र आपसी समझदारीमा पनि निहित छ ।
धैर्य, संयमता र सम्मानका साथ मतदान गर्दा लोकतन्त्र पूर्ण र जीवित रहन्छ भन्ने सन्देश आजको अनुभवले पुष्टि भएको छ । गर्मी, धुलो र भीडले कठिनाइ ल्याए पनि, जब गाउँलेहरू शान्त, संयमित र जिम्मेवार व्यवहार गर्छन् तब लोकतन्त्र केवल शब्दमा सीमित रहँदैन, यो अनुभूत हुन्छ । लोकतन्त्र केवल कानुन वा व्यवस्था नभई सामूहिक चेतना, धैर्य र एकअर्काप्रतिको सम्मानमा पनि निर्भर छ । सानो गाउँ, सानो मतदान केन्द्र तर ठूलो मनोबल ।

