साहित्यपोस्ट डट कम

धनकुटामा ‘चियासँग कविता’को ५५औँ शृंखलामा ‘कविता कन्सर्ट’

धनकुटामा ‘चियासँग कविता’को ५५औँ शृंखलामा ‘कविता कन्सर्ट’

धनकुटा । धनकुटामा नियमित रूपमा सञ्चालन हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमको ५५औँ शृंखलामा ‘कविता कन्सर्ट’ आयोजना गरिएको छ । साहित्य र संगीतलाई एउटै मञ्चमा प्रस्तुत गरिएको कार्यक्रमले सहभागीहरूलाई फरक सांस्कृतिक अनुभव प्रदान गरेको आयोजकले जनाएको छ ।

मदनचोकस्थित बहुमुखी पाठशालामा आयोजित कार्यक्रममा सहभागीहरूले कविता सुन्नकै लागि शुल्क तिर्नुभएकाे थियाे । कार्यक्रममा कवि उत्तम तुम्सा लिम्बू र डीआर फुयाल ले करिब एक दर्जन कविता वाचन गर्नुभयाे । उहाँहरूले समाजका समसामयिक घटना, व्यक्तिगत अनुभूति, प्रेम, पीडा र जीवनका विविध आयामलाई कवितामार्फत प्रस्तुत गर्नुभएकाे थियाे ।

यसैगरी भोजपुरका कलाकार तेजेन्द्र गन्धर्व ले सारङ्गीको धुनमा आधा दर्जनभन्दा बढी गीत प्रस्तुत गर्नुभयाे, जसले कार्यक्रमलाई थप सजीव बनाएको थियो ।

कार्यक्रमको आयोजना रेडियो धनकुटा एफएम १०६.२ ले गरेको हो । रेडियोका अध्यक्ष गोपाल बराइली का अनुसार एक वर्षदेखि सञ्चालन हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमलाई यसपटक कन्सर्टका रूपमा विस्तार गर्दै ओझेलमा परेका प्रतिभालाई उजागर गर्ने प्रयास गरिएको हो ।

२०८१ माघदेखि सुरु भएको ‘चियासँग कविता’ कार्यक्रम २०८१ फागुन २ गतेदेखि हरेक शुक्रबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ, जहाँ कविता, गजल, मुक्तक र गीत प्रस्तुत गरिँदै आएका छन् ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्याे । उहाँले कार्यक्रमले धनकुटा मात्र नभई देशभर सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै यसको निरन्तरताका लागि ‘चियासँग कविता अक्षयकोष’मा १० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.