दर्शनं सत्यमार्गस्य प्रकाशकं मोक्षसाधनम् ।
शिक्षा जीवनमार्गस्य दीपिका संस्कारकारिणी च ॥
(दर्शन सत्यको मार्गलाई प्रकाशित गर्ने साधन हो, जसले मोक्षतर्फ डोर्याउँछ । शिक्षा जीवनमार्गको दीपक हो, जसले संस्कार निर्माण गर्छ ।)
मानव सभ्यताको विकासमा शिक्षा सबैभन्दा शक्तिशाली साधन मानिन्छ । युगौँदेखि मानवले अज्ञानको अँध्यारो फोरेर ज्ञानको उज्यालोतर्फ यात्रा तय गरिरहेको छ । यस यात्राको मूल आधार शिक्षा नै हो । वर्तमान परिवेशमा एउटा गम्भीर प्रश्न उठ्न थालेको छ, “के शिक्षा मात्रै पर्याप्त छ ? के जानकारी, सीप र प्रमाण–पत्रले मात्र मान्छेलाई पूर्ण बनाउँछ ?” यदि शिक्षा केवल जीविकोपार्जनको माध्यममा सीमित रह्यो भने त्यसले मानवलाई ‘यन्त्रभन्दा फरक कसरी बनाउँछ?’ यही प्रश्नको जगमा टेकेर ‘दर्शनको आवश्यकता’ शुरु हुन्छ । महान् दार्शनिक एरिस टोटलले भनेका थिए, ‘Educating the mind without educating the heart is no education at all’ अर्थात् “हृदयलाई शिक्षित नगरी केवल बुद्धिको विकास गर्नु वास्तविक शिक्षा होइन ।” यस भनाइले शिक्षा र दर्शनबीचको गहिरो सम्बन्धलाई स्पष्ट पार्छ ।
शिक्षा सामान्यतः ज्ञान, सीप र व्यवहार सिकाउने प्रक्रिया हो भन्ने बुझिन्छ । यसले व्यक्तिलाई समाजपयोगी बनाउँछ अर्थात् भनौँ समाज, समय र सन्दर्भलाई सापेक्ष बनाउँछ । निर्विकल्प रूपमा मानवलाई आत्मनिर्भर बनाइ जीवनयापन सहज बनाउँछ । वास्तवमा, शिक्षाले बाह्य संसारसँग जुध्न सिकाउँदै ‘मानवको आन्तरिक चेतना, नैतिकता र अस्तित्वबोधलाई कति गहिरोसँग सम्बोधन गर्छ ?’ भन्ने सवाल महत्त्वपूर्ण रहेको महसुस गराउँछ । यदि शिक्षा ‘के गर्ने ?’ भन्ने प्रश्नमा मात्रै सीमित रह्यो भने ‘किन गर्ने ?’ भन्ने मूल प्रश्न सधैँ अनुत्तरित रहन्छ । यही सीमाले शिक्षालाई अधुरो बनाउँछ । यो महान् प्रश्नको जवाफ लिएर गहन विचार अर्थात् ‘दर्शन’ को उठान हुन्छ ।
दर्शन जटिल शब्दहरूको खेल कदापि होइन, न त पुस्तकका पानाभित्र कैद कुनै अमूर्त चिन्तनको स्वरूप हो । दर्शन त जीवनका आधारभूत प्रश्नहरूको खोज हो । ‘म को हुँ ?’ ‘म किन यहाँ छु ?’ ‘जीवनको उद्देश्य के हो ?’ ‘सत्य के हो ?’ ‘सही र गलतबीचको सीमारेखा कहाँ छ ?’ यी गहन प्रश्नहरू मानव अस्तित्वका अर्थपूर्ण आधार हुन् । यी नै सारगर्भित प्रश्नहरूको उत्तर खोज्ने क्रममा मानिसले आफ्नो चेतनालाई बिस्तार गर्छ ।
शिक्षा र दर्शन बीचको अन्तरसम्बन्ध
यथार्थमा शिक्षा र दर्शनबीचको सम्बन्ध शरीर र आत्माजस्तै हो । शिक्षा शरीर हो जसलाई हामी देख्छौँ… प्रयोगमा ल्याउँछौँ र क्रियाशील बनाइरहन्छौँ । यसको ठीक विपरित दर्शन आत्मा हो । यो अदृश्य तर मार्गदर्शक रूपमा हुन्छ । दर्शनविहीन शिक्षाले केवल दक्षता उत्पादन गर्छ, तर चेतनशील मानव निर्माण गर्न सक्दैन । यहाँनेर Malcolm Forbes को भनाइ निकै सान्दर्भिक ठान्दछु, “The purpose of education is to replace an empty mind with an open one.” अर्थात् शिक्षाको लक्ष्य अज्ञानले भरिएको मनमा जानकारी थप्नु मात्र होइन, बरु त्यसलाई नयाँ विचार, प्रश्न र दृष्टिकोणका लागि खुला बनाउनु हो ।
आजको शिक्षा प्रणालीलाई नियाल्दा हामी एउटा यान्त्रिक संरचना देख्छौँ । विद्यार्थीहरू अङ्कका लागि दौडिरहेका छन् । अभिभावकहरू प्रमाण–पत्रका लागि चिन्तित छन् र हरेक शैक्षिक संस्थाहरू परिणामका आधारमा मूल्याङ्कन भइरहेका छन् । यद्यपि यस सम्पूर्ण प्रक्रियामा थुप्रै महत्त्वपूर्ण मानवीय पक्षहरू जस्तै, सोच्ने क्षमतामा कमी, गहन प्रश्न गर्ने साहसमा ह्रास, र सत्यको खोजी गर्ने पूर्वीय संस्कारमा तीव्र रूपमा लोप भइरहेको छ । खोजी गर्ने संस्कारको पिँध पुरिँदै गएको छ । शिक्षा त केवल क्रमशः औपचारिक प्रक्रिया बन्दै गएको छ । बेरोजगारी उत्पादन गर्ने थलो भएको छ ।
दर्शन र दिशाको खोज
दर्शनले मानवलाई ‘के ?’ भन्दा अघि ‘किन ?’ र ‘कसरी ?’ भन्ने प्रश्न सोध्न सिकाउँछ । यसले ज्ञानको सही लक्ष्य, शक्तिको प्रयोग र जीवनको अर्थबारे मार्गदर्शन दिन्छ । भनिन्छ, शिक्षा ‘साधन’ हो भने दर्शन ‘दिशा’ हो । साधन बिना यात्रा सम्भव हुँदैन, तर दिशा बिना यात्रा अर्थहीन हुन्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ ‘दर्शन बिना शिक्षा अन्धो’ हुन्छ र ‘दिशा बिना दर्शन लङ्गडो’ हुन्छ । दुवै मिलेर मात्र जीवनलाई सन्तुलित, अर्थपूर्ण र उद्देश्यपूर्ण बनाउँछ । होइन र ?
आजको समाजमा उच्च शिक्षित व्यक्तिहरू नै अनैतिक क्रियाकलापमा संलग्न छन्, भ्रष्टाचार मौलाएको छ, र व्यक्तिगत स्वार्थ सामूहिक हितभन्दा माथि राखिएको छ । यसले देखाउँछ– ‘शिक्षाले बुद्धि विकास गर्यो, तर विवेक विकास गर्न सकेन । ज्ञान बढ्यो, तर चेतना विस्तार भएन । ‘सा विद्या या विमुक्तये ।’ यस श्लोकले स्पष्ट रूपमा भन्छ, ‘शिक्षाको उद्देश्य केवल बन्धन (अज्ञान, स्वार्थ, अहंकार) बढाउनु होइन, बरु मुक्त गर्नु हो । यदि शिक्षा प्राप्त गरेपछि पनि मानिस लोभ, अहंकार र अन्यायमै बाँधिरहन्छ भने त्यो शिक्षा होइन, केवल जानकारीको बोझ मात्र हो ।
दर्शनविहीन शिक्षाको परिणाम आजको समाजमा स्पष्ट देखिन्छ । उच्च शिक्षित व्यक्तिहरू नै अनैतिक क्रियाकलापमा संलग्न छन्, भ्रष्टाचार मौलाएको छ, र व्यक्तिगत स्वार्थ सामूहिक हितभन्दा माथि राखिएको छ । यसले देखाउँछ—शिक्षाले केवल बुद्धि विकास गर्यो, तर विवेक विकास गर्न सकेन । ज्ञान बढ्यो, तर चेतना विस्तार भएन ।
शिक्षा र दर्शनको समन्वय मानव विकासको आधारभूत आवश्यकता हो । शिक्षा, ज्ञान, सीप र व्यवहार सिकाउने प्रक्रिया हो भने दर्शनले त्यही ज्ञानलाई दिशा, अर्थ र मूल्य प्रदान गर्छ । जब यी दुई एकअर्कासँग समाहित हुन्छन्, तब व्यक्तिमा बौद्धिकता मात्र होइन, विवेक र नैतिकताको पनि विकास हुन्छ । यस्तो समन्वयले मानिसलाई केवल सफल मात्र होइन, सचेत र जिम्मेवार नागरिक पनि बनाउँछ । त्यसैले शिक्षा र दर्शनको एकता नै समृद्ध समाज र सुसंस्कृत मानव निर्माणको मूल आधार हो । यसै सम्बन्धमा Albert Einstein को भनाइ अत्यन्त सान्दर्भिक छ “Education is not the learning of facts, but the training of the mind to think.”
निष्कर्ष
शिक्षा र दर्शनको सम्बन्ध अपरिहार्य र अविभाज्य छ । शिक्षा बिना दर्शन व्यवहारहीन हुन्छ, र दर्शन बिना शिक्षा दिशाहीन । शिक्षा हात हो भने दर्शन आँखा हो । हातले काम गर्न सक्छ, तर आँखाले दिशा देखाउँछ । यदि हामीले केवल हातलाई मात्र बलियो बनायौँ र आँखालाई बेवास्ता गर्यौँ भने त्यो शक्ति नै विनाशको कारण बन्न सक्छ ।
त्यसैले आजको सबैभन्दा ठूलो चुनौती भनेको शिक्षा र दर्शनबीचको सन्तुलन पुनः स्थापना गर्नु हो । यही सन्तुलनले मात्र मानवलाई पूर्णता, समाजलाई नैतिकता, र सभ्यतालाई दिगोपन प्रदान गर्न सक्छ ।

