साहित्यपोस्ट डट कम

दाङमा वादी समुदायको अवस्था र रूपान्तरणका चुनौतीबारे प्राज्ञिक गोष्ठी

दाङमा वादी समुदायको अवस्था र रूपान्तरणका चुनौतीबारे प्राज्ञिक गोष्ठी

दाङ । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राप्ती साहित्य परिषद् दाङको सहआयोजनामा घोराहीमा “दाङमा वादी समुदायको सामाजिक, सांस्कृतिक अवस्था र रूपान्तरणका चुनौती” विषयक प्राज्ञिक गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा वादी समुदायले भोग्दै आएका सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक समस्याहरू र तिनको समाधानका उपायबारे गहन छलफल गरिएको थियो।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान सामाजिक शास्त्र विभाग प्रमुख प्रा. डा. कौशिला रिसाल प्रमुख अतिथि तथा परिषद्का पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यपत्र प्रस्तुत गर्दै अनुसन्धानकर्ता जनक विकले वादी समुदायले यौन व्यवसाय अपनाएको भन्ने स्थापित धारणालाई चुनौती दिँदै उनीहरू ऐतिहासिक रूपमा यौन उत्पीडनमा पारिएका समुदाय भएको उल्लेख गर्नुभयो। यही उत्पीडनका कारण वादी समुदाय सामाजिक, आर्थिक तथा शैक्षिक रूपमा पछाडि परेको उहाँको निष्कर्ष थियो।

कार्यपत्रमाथि टिप्पणी गर्दै वादी समुदायका अगुवा निर्मल वादीले समुदायको वास्तविक उत्थानका लागि उनीहरूको समाजमा पुनःस्थापना, सम्मानजनक पहिचान र सशक्तीकरण आवश्यक रहेको बताउनुभयो। यसका लागि स्थानीय तहदेखि केन्द्र सरकार र सरोकारवाला निकायहरूले ठोस नीति र कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो।

गोष्ठीमा राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटा, नेपाल पत्रकार सङ्घ केन्द्रीय सचिव सविन प्रियासन, सिस्नोपानी नेपाल दाङका अध्यक्ष लोकराज पराजुली, वादी समुदायकी जनप्रतिनिधि सितारा नेपालीलगायतले शुभकामना मन्तव्य राख्दै वादी समुदायप्रतिको विभेद अन्त्य गरी समावेशी समाज निर्माण गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको सुरुआत राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रम सञ्चालन परिषद्की कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो।

ट्याग: यम रेग्मी
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.