काठमाडौं । नेपाल स्रष्टा समाज द्वारा प्रदान गरिँदै आएको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ यस वर्ष उदयपुरकी मालावती काफ्लेलाई अर्पण गरिएको छ । नगद २० हजार १ सय ११ रुपैयाँसहितको उक्त सम्मान एक समारोहबीच प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ, समाजका पूर्वअध्यक्ष विधान आचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली तथा पुरस्कार संस्थापक पक्षका प्रतिनिधि इन्द्रकुमारी खनाललगायतले काफ्लेलाई सम्मान प्रदान गर्नुभएकाे थियाे ।
समाजकी पूर्वमहासचिव तथा गीतकार पुष्पा खनाल ले आफ्नी आमा दमन्ता खनालको स्मृतिमा २०७५ सालमा यो सम्मान स्थापना गर्नुभएकाे हाे ।
सम्मानित स्रष्टा मालावती काफ्ले सामाजिक अन्यायविरुद्ध आवाज उठाउँदै झ्याउरे गीत सिर्जना गर्दै आउनुभएकाे छ । ‘संगिनी’ अभियानमार्फत उहाँले महिला सशक्तिकरण र सामाजिक रूपान्तरणका विषय उठाउँदै आउनुभएकाे छ ।
सोही कार्यक्रममा पुष्पा खनालद्वारा रचित गजल ‘पिरतीको गीत’ को लिरिकल भिडियो पनि लोकार्पण गरिएको थियो । उक्त गजलमा गंगा सोनाम को स्वर र नरेन्द्र प्यासी को संगीत रहेको छ ।
समाजका महासचिव प्रकाश घायल को सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष विधान आचार्यले काफ्लेको योगदानबारे चर्चा गर्दै उहाँलाई नारी सशक्तिकरणका लागि सक्रिय स्रष्टाका रूपमा चित्रित गर्नुभयाे ।
सम्मान ग्रहणपछि मन्तव्य राख्दै काफ्लेले आफू निरन्तर समाजसेवामा सक्रिय रहेको र महिलाहरूलाई शिक्षित तथा जागरुक बनाउने अभियानमा संलग्न रहेको बताउनुभयाे । उहाँले विगत तीन दशकमा महिलाको अवस्थामा उल्लेखनीय सुधार आएको पनि उल्लेख गर्नुभयाे ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले काफ्लेलाई सम्मानका लागि छनोट गरेकोमा समाजप्रति आभार व्यक्त गर्दै बधाई दिनुभयाे ।
समारोहको सहजीकरण माधव विडारी चेतनपथ ले गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य शंकर भारती ले व्यक्त गर्नुभएकाे थियाे ।
२०७५ सालदेखि प्रदान हुँदै आएको यस सम्मानबाट यसअघि सिर्जना शर्मा, इन्द्रा गहतराज, डिक्रा वादी, प्रतिमा पोख्रेल, निर्मला मुरारी, लता गिरी, यमुना पराजुली र लक्ष्मी तिवारी (तिवारी आमा) सम्मानित भइसक्नुभएकाे छ ।।

