साहित्यपोस्ट डट कम

दलित दलनको ‘दहाड’

दलित दलनको ‘दहाड’

दहाडले पञ्चायतकालीन समय, समाज र मानवीय संवेदनालाई गहिरो रूपमा छोएको छ । सामाजिक संरचना, अन्याय, दमन र जनजीवनको पीडालाई अभिव्यक्त गरेको छ । राजनीतिक, सामाजिक विभेद, विद्रोहमात्रै होइन मानवीय संवेदनाका कथासमेत दहाडमा छन् । ‘मौलामा बाँधिएको राँगो’, ‘एकात्म’ र ईश्वरको अस्थिपञ्जर’मा भन्न नसकेका र कथामार्फत समाजको कुरालाई भूमिका बाँधेर, पात्रहरूलाई सिंगारेर अझ बृहत् ढङ्गले उनी पोखिएका छन्, दहाडमा ।

पञ्चायतकाल नेपालको एक महत्त्वपूर्ण राजनीतिक कालखण्ड हो । जुन वि.सं. २०१७ सालदेखि २०४६ सम्म कायम रहयो । ३० वर्षसम्म चलेको निदर्लीय र राजतन्त्र शासन व्यवस्थालाई पञ्चायतकाल भनिन्छ । राजा महेन्द्रले संसदीय व्यवस्थामाथि कू गर्दै पञ्चायत लागू गरेका थिए । जहाँ राजनीतिक दल प्रतिबन्धित थिए । सम्पूर्ण शासन व्यवस्था राजाको नियन्त्रणमा थियो । त्यतिबेला अभिव्यक्ति स्वतन्त्रता सीमित थियो । पञ्चायत कालमा समाजले जातीय र वर्गीय विभेद भोग्यो । सामाजिक विसंगतिका पहाड थिए । भय, मौनता र ऐंठनभित्र ज्वाला गुम्सिएर बसेको थियो । असमानता र विभेद भोगेका आम नागरिक रैती भएर बाँचे ।

त्यस कालखण्डको दस्ताबेजका रूपमा कथा संग्रह प्रकाशित भएको छ, ‘दहाड’ । नवीन अभिलाषीकृत ‘दहाड’ नेपाली कथासाहित्यमा एउटा अर्थपूर्ण हस्पक्षेप बनेको छ, जसले पञ्चायतकालीन समय, समाज र मानवीय संवेदनालाई छोएको छ । सामाजिक संरचना, अन्याय, दमन र जनजीवनको पीडालाई गहिरो ढंगले अभिव्यक्त गरेको छ, दहाडले । दहाड पञ्चायतकालीन समाजको भुइँमान्छेको कथा हो । कथा संग्रहमा जम्मा १२ वटा कथा संग्रहित छन् । कृतिमा समावेश भएका कथा पञ्चायतकालीन समयभित्रका हुन् । सबैभन्दा कमजोर स्थानबाट सबैभन्दा तीखा प्रश्नहरूसहित दर्ज गरिएको अभियोगपत्र हो, ‘दहाड’ ।

विषय प्रवेश:

‘दहाड’ शब्द आफैंमा आक्रोश, पीडा र विद्रोहको गर्जन हो । जसमा अत्यन्तै आक्रोशपूर्ण अभिव्यक्ति छन् । जहाँ रोधन छ । आँखामा आँशु छ । एउटा चिच्याहट छ । त्यहीं चिच्याई नै दहाड हो । पञ्चायतकालीन समाज विभिन्न तहमा बाँडिएको थियो । जातकै कुरा गर्ने हो । ब्राह्मण, क्षेत्री वैश्य र शुद्र । वर्गीय दृष्टिले हेर्दा विभिन्न वर्ग थिए । दहाडमा समावेश कथामा ती वर्गको स्पष्ट चित्र भेट्न सकिन्छ । एउटा हुने वर्ग र अर्को नहुने वर्ग । पैसा भएको र नभएको वर्ग । पढेको र नपढेको वर्ग । शक्ति भएको र शक्ति नभएको वर्ग । मूल रूपमा भन्दा हुने वर्गका रूपमा ब्राह्मण र क्षेत्री थिए । अर्को वर्ग हुन्, दलित, महिला मधेशी र मुस्लिमहरू । तराईका बासिन्दाहरू–जो अत्यन्तै गरिबीमा बाँचे । सामाजिक शक्तिका रूपमा पनि अत्यन्तै कमजोर र दयनीय अवस्थामा छन् उनीहरू । यी दुई समूहहरू त्यतिबेलाको समयमा कसरी बाँचे भन्ने कूरा मूल रूपमा कथाहरूमा भेटिन्छन् ।

अझ भित्री रूपमा हेर्ने हो भने, त्यतिबेला अत्यन्त कमजोर मानिएका समुदायहरू थिए । तीमध्येको एक हो, दलितभित्र पर्ने नेपालगन्जको किंगरियन समुदाय । जो मुस्लिम हो । मुस्लिम भित्रको पनि दलित समुदाय हो । उनीहरूको पहिचानका रूपमा ‘किंगरी’ भन्ने बाजा छ । किंगरियन समुदाय किंगरी बाजा बजाएर बाँचिरहेको छ । किंगरीलाई किंगरियनहरूको भाषामा ‘चिकारा’ पनि भनिन्छ । यो काठ तथा भेडा, बाख्राको छालाबाट बनाइने सारंगीजस्तै आकार भएको एक प्रकारको बाजा हो । बिहानदेखि बेलुकासम्म किंघरियनहरू किंगरी बजाउँदै गाउँ–गाउँ डुलेर पैसा, अन्न तथा खानेकुरा संकलन गरी ल्याइ परिवारको गुजारा चलाउने गर्थे । अहिले यो बाजा लोप हुँदै गएको छ । उनीहरू तत्कालीन समयका अत्यन्त कमजोर पात्र हुन् । त्यतिबेलाका बलिया पात्र र वर्गहरूले उनीहरूले कसरी प्रयोग गर्छन् भन्ने कुरा शीर्ष कथामा छ । त्यही अत्याचारको विषयमा केन्द्रित छ, दहाड । यो नै शीर्ष कथा हो । त्यही कथाकै नामबाट कथा संग्रहको नाम राखिएको छ ।

दहाड लेखनको रचना गर्भ

कवि, लेखक र पत्रकार नवीन नेपाली उर्फ ‘नवीन अभिलाषी’ दाङमा जन्मिए । तर, हुर्किए प्युठानमा । जहाँ उनको बाल्यकाल बित्यो । हाल नेपाल टेलिभिजन कोहलपुरमा कार्यरत उनी केही वर्ष यता कोहलपुरलाई कर्मथलो बनाएर कर्म गरिरहेका छन् । केही वर्षअघि उनी डकुमेन्ट्री निर्माणका क्रममा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा घुमे । मुस्लिम समुदायको विषयमा डकुमेन्ट्री बनाउनुपर्ने थियो । सो क्रममा उनी तराईका भित्री मधेशतिर छिरे । त्यहाँ उनले यस्तो समाज देखे । त्यहाँको जीवनशैली, गरिबी र अभाव प्रत्यक्ष रूपमा नियाल्ने अवसर पाए । अहिले पनि अभाव र गरिबीको कुरा गर्दा कर्णालीलाई बिम्बका रूपमा प्रयोग गर्ने गरिन्छ । तर घुम्ने बेलामा उनले देखे । कर्णालीमा के दुःख छ र ? कर्णालीका मान्छे के गरिब छन् र ? भन्ने बोध भयो । उनी भन्छन्, “म त अच्चममा परेँ । जहाँ बाटो सजिलै पुर्याउन सकिन्छ, जमिन समथल छ । सिँचाइका लागि पानी प्रशस्त छ । विशाल फाँटहरू छन् । अन्नबाली उम्रिरहेकै छ । तर मान्छेहरू ? यति गरिब छन् कि आम रूपमा भन्ने गरेझैँ तर वास्तविकता त्यस्तो छैन । कर्णालीलाई बिर्साउने गरिबी मधेशमा देखेँ । तराईका मुस्लिमको बस्ती जहाँ सुन्दर मस्जिद बनेका छन् । मन्दिर छन् । घर राम्रो झुपडी मात्रै छ । मिनारले सजिएका, रंगीन ध्वजापताकाहरूले सजाइएका मन्दिरहरू छन् । अहिले पनि महिलाहरू बाहिरका मानिसहरू गाउँ छिर्दा दोहोरो संवाद गर्दैनन्/सक्दैनन् । ती कुराले नवीनलाई घोच्यो अनि दहाड जन्मियो ।

ती कुरा कतै न कतै कथाहरूमा भेटिन्छन् । अभाव, गरिबीका प्रतिबिम्बहरू कथाले समेट्न खोजेका छन् । ती कथामा त्यतिको राजनीति, सामाजिक हैसियत, शिक्षा स्वास्थ्यका कुरा समेटिएका छन् । दहाडका कथामा मुख्य पात्रहरू अत्यन्त कमजोर छन् । उनीहरूले आन्दोलन गर्न सक्दैनन् । विरोध गर्न सक्दैनन् । मुखिया, जमिनदार र बाबु साहेब जस्ता पात्रहरूसँग प्रत्यक्ष लडाइँ गर्न सक्दैनन् । कुटिएका छन्, लुटिएका छन् । मारिएका छन् । शोषित छन् । तर उनीहरू विरोध र विद्रोह गर्दैनन् । किनभने पञ्चायतकालीन समय जो थियो । पञ्चायतकालीन समाज यस्तो थियो । दहाडमा उठाइएका मुद्धा र पात्रहरू त्यहीं समयकाल र समाजका उत्पादनहरू हुन् । बहुदल, २०५२ मा शुरु भएको सशस्त्र द्वन्द्व, २०६२/०६३ को जनआन्दोलनका कारणले लोकतन्त्र, गणतन्त्र हुँदै अहिलेसम्मको अवस्थामा नेपाली समाज छ । आम नेपालीको चेतनास्तर अपेक्षाकृत भन्दा धेरै माथि उठेको छ । मान्छेहरू अहिले अधिकारका कुरा गर्न सक्ने भएका छन् । आफूलाई अन्याय पर्दा प्रतिरोध गर्न सक्छन् । तर, त्यतिबेलाको समयमा यी सब कुराहरू असम्भव जस्तै थिए । त्यो बेलामा मुस्लिम दलित र महिलाहरू अत्यन्त दमित थिए । मधेशमा त झन् छँदै थिएन नागरिक सर्वोच्चता ।

राज्य विहीनता र नागरिक सर्वोच्चताको सवाल

उनी तत्कालीन समाज पढ्दै, खोज्दै गए । त्यहाँ उनले नागरिक सर्वोच्चता भेटाएनन् । राज्य विहीनता भोगिरहेको समाज देखे । जहाँ उनीहरूमा मानव हुनुको कुनै मूल्य थिएन । जिउँदा थिए, तर मरिरहेका थिए । समाज थियो त केवल मृतप्राय । पञ्चायतकालीन समय राज्य विहिनताको अवस्था थियो । अविलाषी, प्रश्न सुनेपछि एकछिन टक्क अडिन्छन् । भन्छन्, “उनीहरूका लागि राज्य थिएन । उनीहरूका लागि राज्य भनेकै गाउँका पञ्चहरू थिए । तर ती पञ्चहरूले कहिल्यै राज्यको अनुभूति गराएका थिएनन् । उनीहरूलाई अधिकतम रूपमा प्रयोग गरिएको थियो ।

यही सन्दर्भसँग सम्बन्धित दहाडमा एउटा कथा छ ‘एक्का’ शीर्षकको । एक्का तराईमा चल्ने एउटा सवारी साधन हो । लडियाको अर्को रूप हो । जहाँ मानिसहरू बस्छन् । त्यस कथामा एउटा पात्र छ, इन्दल । श्रीमतीको नाम हो, साबरी । इन्दल उक्त गाउँको प्रधानपञ्चको बडिगार्डका रूपमा काम गरिरहेको छ । पछि ऊ त्यो कामबाट निकालिन्छ । उनलाई निकाल्नुका थुप्रै कारणहरू छन् । त्यहाँबाट निकालिएपछि ऊ रक्षात्मक अवस्थामा पुग्छ । बाँच्नै नसक्ने अवस्थासम्म पुगेपछि उसले एक्का किन्ने सोच बनाउँछ । जुन उनका लागि धेरै ठूलो सपना थियो । त्यो एक्का किन्ने आर्थिक हैसियत ऊसँग हुँदैन । एउटा एक्काका लागि सम्पूर्ण बल लगाउँछ । तर किन्न सक्दैन । त्यही बेला जनमत संग्रह हुन्छ । शारीरिक रूपमा बलियो भएका कारण त्यसबेला राजनीतिक पात्रहरूले उनलाई प्रयोग गरे । तर, एकाएक उनी मारिए । अवस्था यस्तो पनि आयो । मरे पनि घाटसम्म लैजान उनले बाटो पाएनन् । किनभने उसको घरबाट घाटसम्म लैजाने बाटो प्रधानपञ्चको थियो ।

पञ्चायतकालीन समयमा अहिलेको जस्तो जात, वर्ग, लिङ्ग, धर्म र सम्प्रदायका आधारमा विभेद थियो । यसमा अविलाशी भन्छन्, “यस विषयलाई मैले अलि नजरअन्दाज गरेको छु । केही काम गर्नुपर्नेछ ।” तर, ब्राह्मण र क्षेत्रीहरूले दलितमाथि गर्ने विभेद रोक्नका लागि पहिला दलितभित्र पनि कामी र सार्की, गन्धर्व र वादीहरूको बीचमा हुने विभेद हटाउ भन्ने स्वर अहिले पनि अलि चर्को रूपमा सुनिन्छ ।

वास्तवमा अहिले पनि नेपाली समाजको सबैभन्दा बलियो वर्ग ब्राह्मण र क्षेत्रीहरू नै हुन् । सबैभन्दा बढी शिक्षित वर्ग पनि उनीहरू नै हुन् । उनीहरू लामो कालखण्डदेखि बौद्धिक चेतनामा काम गर्दै आए । ठिक त्यही समयदेखि नै कानुनी, धार्मिक, सामाजिक रूपमा बहिस्करणको सिकार भएको अर्को वर्ग छ । जसलाई अशिक्षित र गँवारको संज्ञा दिने गरिन्छ । व्यक्तिसत्ता होस् वा राज्यसत्ता, अदालत होस् वा सुरक्षा । धर्मशाला होस् वा विश्वविद्यालय चलाएका बौद्धिकहरू पनि वर्गीय विभेद छ । लामो कालखण्डदेखि राज्यविहीनता, अवसरबाट वञ्चित र अशिक्षितको बिल्ला भिराइएको समुदायबीच विभेद हुनु उनी कुनै नौलो कुरा नभई सामान्य ठान्छन् । मुख्य कुरा त ब्राह्मणले दलितमाथि गरिरहेको विभेद । पुरुषसत्ताले महिलामाथि गरिरहेको विभेद । भूगोलको हिसाबमा केन्द्रियताले मोफसललाई गरिरहेको विभेदको अन्त्य अहिलेको अपरिहार्य सत्य हो ।

मनुवादी नेपाली समाजमा हिजो पनि विभेद थियो । आज पनि विभेद कायम छ । कथित तल्लो जात भएका कारण चुलो छोएको निहुँमा, धारा छोएको आरोपमा ज्यानै जाने घटना हामीले देख्दै र भोग्दै आएका छौँ । कथाकार अभिलाषी पञ्चायतकालीन समाज र अहिलेको समाजको चरित्र लगभग उस्तै देख्छन् । अहिले पनि विभेदको मूल चरित्रमा कुनै पनि किसिमको बदलाव नआएको ठान्छन् । तर बाहिरी स्वरूपमा परिवर्तन भने आएको छ । हिजो धारा छुन दिइँदैन थियो । छुट्टै हुन्थ्यो । मन्दिर प्रवेशमा रोक थियो । हिजोको जस्तो धारामा जान पाइन्छ । मन्दिरमा जान पाइन्छ । तर, विवाहको प्रसङ्ग, राज्यबाट प्राप्त सुविधा, समानुपातिक प्रतिनिधित्वको सवालमा विभेद कायम छ । जनसांख्यिक दृष्टिले हेर्दा पनि वडा र गाउँपालिका, सुरक्षा, प्रशासनिक क्षेत्रमा नेतृत्व, अवसर र प्रतिनिधित्वको सवालमा ब्राह्मण र क्षेत्रीहरूको एकाधिकार कायम छ ।

पञ्चायतकालीन समयमा अस्तित्वको लडाइँ लडिरहेको वर्ग र समुदायले अहिले अधिकारको लडाइँ लड्ने तहसम्म आइपुगेको छ । त्यसो त दहाडमा तत्कालीन राज्यसत्ताविरुद्ध विद्रोहको विगुल फुकेका पात्रका प्रसङ्ग पनि छन् । त्यतिमात्रै होइन विद्रोह गर्न खोज्दा तत्कालीन समाजले आवाज नै दबाइदिएको सामाजिक रूपमा बहिस्कृत हुनुपरेका उदाहरणसमेत छन् । कथा संग्रहभित्र संग्रहित ‘आफैँ’ नामक कथा एउटा दृष्टान्त हो । कथामा फलामको काम गर्ने कामी थरको एउटा युवा छ । ऊ निकै प्रतिभाशाली छ । कथा रुकुम पश्चिमको कालागाउँमा घटेको सत्य घटनामा आधारित छ । उनी एक दिन बाटोमा हिँड्दै जाँदा एउटा चाँदीको सिक्का देख्छन् । सिक्का देखे पछि उनलाई लाग्छ, “त्यो सिक्का म आफैँ बनाउन सक्छु ।” उनले सिक्का बनाउँछन् । वि.सं. २०२२/०२३ सालतिरको कुरा हो, ती युवाले बनाएको पैसा छाप्ने मेसिन प्रधानपञ्चले खोसीदिन्छन् । दुभाग्र्यवश पछि उनलाई कुष्ठरोग लाग्छ । उनी समाजबाट बहिस्कृत हुन्छन् । अर्कातिर त्यो युवाबाट प्रधानपञ्चले खोसेको पैसा छाप्ने मेसिन अर्कैको हातमा पुग्छ । त्यसपछि सिर्जना हुने द्वन्द्व र त्यस युवाको अवसानको निकै लामो प्रसङ्ग कथामा छ ।

गन्धर्व समुदायको सास्ती र दुःखान्त

कूल १२ वटा कथा समावेश गरिएको संग्रहमा अन्तरजातीय विवाहपश्चात् भोग्नुपरेका दुःख र सास्तीसमेत भेटिन्छ । गन्धर्वका आर्तनादका कुराहरू समेटिएका छन्, कथा संग्रहमा । यसै सन्दर्भमा अभिलाषी गन्धर्व समुदायमा हिजो र आज तात्विक भिन्नता देख्दैनन् । हिजोको समाजमा गन्धर्वसहित दलित समुदायलाई खुल्ला रूपमा विभेद हुन्थ्यो । कथामा अन्तरजातीय विवाहसँग सम्बन्धित एक गन्धर्व युवाको कथा समावेश छ । कथाको शीर्षक हो, ‘ताना’ । त्यो गन्धर्व गीत गाउनमा अत्यन्तै सिपालु छ । उसको उपल्लो जातकी केटीसँग प्रेम विवाह हुन्छ । विवाहपछि उनीहरू गाउँबाट भाग्छन् । टाढाको गाउँ नजिकैको खोला नजिक छाप्रो बनाएर बस्छन् । निकै प्रतिभाशाली ऊ गीतका माध्यमबाट शास्त्रीय कुराहरू अभिव्यक्ति गर्छ ।

बुढ्यौली उमेरतिर उनीहरूको एउटा छोरा जन्मिन्छ । कालान्तरमा उसले गीत गाउन छोड्छ, तर सांरगी बोक्न भने छोड्दैन । उसको लक्ष्य भने छोरालाई गायक बनाउने हुन्छ । छोरालाई गायक बनाउनकै लागि वर्षौँ पुराना गीतहरूको संग्रह गर्छ । छोराका लागि नयाँ सांरगी बनाउँछ । छोरा पनि हुर्कँदै जान्छ । बिडम्बना, छोरो ठूलो त हुन्छ तर लाटो जन्मिन्छ । त्यो स्थितिमा गन्धर्वले आफ्नो सपनामाथिको वज्रपात कसरी सह्यो होला ?

अभिलाषीका कथामा वर्ग, समाजबाट मात्रै होइन राज्य र नियतिले समेत ठगेका पात्र भेटिन्छन् । राजनीतिक, सामाजिक विभेद तथा विद्रोहमात्रै होइन मानवीय संवेदनाका कथासमेत दहाडमा छन् ।

नलेखिएका र नभनिएका कथा छन् दहाडमा ?

नेपाली भाषाको विकासक्रमका मुख्य गरी तीन चरण देखिन्छन् । प्राचीन, मध्यकालीन र आधुनिक नेपाली भाषा । एघारौँ शताब्दीदेखि (१०३८) प्रारम्भ भएर विक्रमको सोह्रौँ शताब्दीको मध्य, झण्डै १५५५ सम्मको नेपाली भाषालाई प्राचीन भाषा भनिन्छ । १६औँ शताब्दीको (१५५५) को मध्यदेखि २० औँ शताब्दीको (१९५८)को मध्यसम्मको अवधि नेपाली भाषाको मध्यकाल हो । यसैगरी, नेपाली भाषाको आधुनिक काल वि.सं. १९५८ सालमा गोरखापत्रको प्रकाशनसँगै प्रारम्भ भएको हो ।

यसैगरी, नेपाली कथाको शुरुवात दन्त्यकथा, पुराण, धार्मिक, आख्यान, उखान, टुक्का र गाउँघरका किस्साहरूबाट भएको मानिन्छ । पछि नैतिक, सामाजिक, आदर्श र सुधारवादी सोचबाट अघि बढ्दै सामाजिक यर्थाथवाद, मनोवैज्ञानिक, अस्तित्ववादी, प्रगतिवादी तथा परिवर्तनमुखी हुँदै समकालीन अवस्थासम्म आइपुग्दा बहुआयमिक विधाको मानक नेपाली कथाले बनाएको छ । नेपाली कथा लेखनको वर्तमान प्रवृत्तिबारे अभिलाषी आफ्नो संयोग सुनाउँछन् । उनी पत्रकारिताको शिलशिलामा कोहलपुर आएपछि २०७९ मा उनी बाह्रखरी कथा लेखन प्रतियोगितामा प्रथम भए । त्यसपछि उनलाई कथाको बारेमा सोध्न थालियो । अन्तर्वार्ताका क्रममा नेपाली कथा लेखनको अवस्थाबारे प्रश्नहरू सोधिन थालेपछि सरसरी आफूले पढेका र जानेका आधारमा उत्तर त दिए । तर, उनलाई भित्र–भित्रै लाग्न थाल्यो–मैले त कथाका बारेमा धेरै कुरा जान्न र पढ्न अझै बाँकी नै रहेछ । नेपालमा कथा लेखन कसरी शुरु भयो ? पहिला कस्ता कथा लेखिएका थिए ? अहिले कथा लेखिँदैछन् ? भन्ने बुझ्न थालेपछि उनले गम खाए–लेख्न त धेरै कथा लेखिएका रहेछन् । उनी भन्छन्, “ती कथाहरू कहाँँबाट लेखिए भन्ने कुरा मुख्य हुँदो रहेछ । उनलाई कथामा जे कुरा आउनुपर्ने थियो त्यो आएकै छैन रहेछ भन्ने लाग्यो । नेपाली कथामा मधेश, महिला, दलित, वादी, गन्धर्वका कथा त लेखियो, तर त्यो कुरा कसले लेखेका हुन् भन्ने कुरा प्रमुख हुँदो रहेछ ।

भारतका साहित्यकार ओमप्रकाश वाल्मिकीले भनेका छन्, “लेख्न त जसले पनि लेख्छ । त्यो मात्रै लेखनको स्वाद हुन्छ । अनि मात्रै प्रमाणित अभिव्यक्ति हुन्छ ।” उनी बडो विश्वासका साथ दाबी गर्छन्, “म एउटा सार्की हुँ । एउटा सार्कीको दलन र उत्पीडनको कथा सार्कीले भन्यो र लेख्यो भन्ने प्रमाणित अभिव्यक्ति हुन्छ । महिलाको कथा महिला, वादीको कथा वादी र गन्धर्वको कथा गन्धर्वले भन्नुपर्छ । त्यो प्रमाणित अभिव्यक्तिले घन बजारेझैँ दिमागमा बजारेपछि कम्तीमा गन्धर्व समुदायले भोगेको पीडा प्रमाणित रूपमा भन्न सक्दिनँ होला तर निकै नजिकसम्म पुगेर लेख्न सक्छु भनेर अघि बढेको हुँ ।

उनले आफ्नो कथामा वि.सं २०२१ देखि २०२९ सम्मको समयावधिमा झण्डै ६० प्रतिशत थारुहरू किन ?, कसरी ? र के कारणले ? विस्थापित भए भन्ने बारेमा उनले खोतल्ने प्रयास गरेका छन् । थारु समुदाय त्यतिबेलाको जमिनदार, मालिक र प्रधानपञ्च र भूमिपतिहरूको चरम सिकार भयो । राणाकालीन समयसम्म आइपुग्दा थारु समुदायले दाङमा जंगल फाँडेर खेत बनाए । बस्ती बसाले । तर जब सल्यान, रुकुम र रोल्पाबाट बसाइँ सरी आएर काठमाडौँ पुगेर थारुहरूको जग्गा नाममा बनाएर लालपूर्जासहित लालमोहर लिएर आएपछि उनीहरू बुह्रान आउने भए । ‘सिंहुर’ नामक कथामा थारुमाथि भएको अत्याचारको कथा छ । त्यतिबेलाको समयमा जमिनदारबाट यौन उत्पीडनमा परेकी महिलामार्फत नेपाली लोकगीतको संवादशैलीमा कथा भनेर उनले नयाँ प्रयोगसमेत गर्ने प्रयास गरेका छन् । संग्रहमा ‘ऋतु’ शीर्षकको एउटा कथा छ । त्यो महिलामाथि हुने उत्पीडनको कथा हो । गाउँको कटवाल पुरुष पात्र छन् । उनको श्रीमती छैनन् । उनको छोरी छन् । तिनका ९ वर्षीय बालक छन् । गाउँले बाउलाई, बाउले छोरीलाई, छोरीले बच्चा र बच्चाले गोरुलाई टोकल्छ । कथाको अन्तिमसम्म पाठकका आँशु झर्छन् । मौलामा बाँधिएको राँगो, एकात्म र ईश्वरको अस्थिपञ्जरमा भन्न नसकेका र समाजको कुरा कथामार्फत भूमिका बाँधेर, पात्रहरूलाई सिंगारेर अझ बृहत् रूपमा उनी पोखिएका छन्, दहाडमा ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.