साहित्यकार प्रार्थना खनालको लघुकथासङ्ग्रह ‘शान्तविजय’ असार १४ गते काठमाडौंमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ ।
हाम्रो लघुकथा केन्द्र, नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठको सभापतित्व रहेको थियो । कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व ९३ वर्षीय विजय खनाल रहनुभएको थियो । कार्यक्रममा नन्दकृष्ण जोशी, श्रीओम श्रेष्ठ ‘रोदन’, खेमराज पोखरेल, डा. अमरराज जोशी, प्रा. पुरुषोत्तम दाहाल, कथाकार लता केसी तथा समीक्षक मन्दिरा मधुश्रीलगायतको उपस्थिति रहेको थियो ।
मञ्चासीन अतिथिहरू र कृतिकार प्रार्थना खनालले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो । आफ्ना दिवङ्गत आमा शान्ता र बुबा विजयको सम्मानमा समर्पित कृतिको शीर्षक पनि उहाँहरूकै नामबाट जुराइएको कृतिकारले बताउनुभयो ।
प्रमुख आमन्त्रित व्यक्तित्व विजय खनालले छोरीले आफ्नो नामसँग जोडेर कृति प्रकाशन गरेकोमा खुशी व्यक्त गर्दै आशीर्वाद दिनुभयो । मन्तव्यका क्रममा उहाँले एक हिन्दी गीतसमेत प्रस्तुत गर्नुभएको थियो ।
सभाध्यक्ष डा. शेखरकुमार श्रेष्ठले पूर्वदेखि पश्चिम र पहाडदेखि तराईसम्मका स्रष्टाहरूको सहभागितामा नयाँ कृति विमोचन गर्न पाएकोमा खुशी व्यक्त गर्दै यसले हाम्रो लघुकथा केन्द्रको गरिमा अझ उचो बनाएको बताउनुभयो ।
कृतिमाथि समीक्षा गर्दै कथाकार मन्दिरा मधुश्रीले ‘शान्तविजय’का लघुकथाहरू सरल, सकारात्मक र मानवीय संवेदनाले भरिपूर्ण रहेको बताउनुभयो । उहाँले कथाहरूमा पौराणिक तथा धार्मिक प्रसङ्ग, समसामयिक घटना, अध्यात्म, दर्शन, ज्ञान–विज्ञान, आधुनिक प्रविधि, मानवीय सम्बन्ध, मौलिक संस्कृति र चाडपर्वका विषय समेटिएको उल्लेख गर्नुभयो । कतिपय कथामा शारीरिक अङ्गलाई समेत पात्रका रूपमा प्रस्तुत गरिएको उहाँको टिप्पणी थियो ।
कार्यक्रममा श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. पुरुषोत्तम दाहाल, खेमराज पोखरेल, लता केसी, भानुभक्त जोशी, रामचन्द्र कुशवाह र डा. अमरराज जोशीले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिकारको व्यक्तित्व र सिर्जनात्मक योगदानबारे चर्चा गर्नुभएको थियो ।
देउडा संस्कृतिका अभियन्ता नन्दकृष्ण जोशीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई पारिवारिक जमघटका रूपमा चित्रण गर्नुभयो । उहाँले बझाङको संस्कृति झल्काउने ‘बल्याजातो’ र ‘पडिम्याइत्’ शीर्षकका कथाको चर्चा गर्नुभयो । मन्तव्यका क्रममा उहाँ दिवङ्गत बुबा, आमा र दाजुको स्मरण गर्दै भावुक बन्नुभएको थियो भने श्रोताको आग्रहमा देउडा गीत प्रस्तुत गरेर वातावरणलाई उल्लासमय बनाउनुभयो ।
कार्यक्रममा वन्दना घिमिरेले ‘प्रेम’, शान्ता तिमिल्सिनाले ‘अन्तर्दृष्टि’ र सुनिता निरौला पौडेलले ‘गुनासो’ शीर्षकका लघुकथा वाचन गर्नुभएको थियो । केन्द्रकी उपाध्यक्ष सत्या अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कृतिकार प्रार्थना खनालले आफ्नी दिवङ्गत आमाको स्मरण गर्दै भावुक हुँदै लेखकीय मन्तव्य व्यक्त गर्नुभयो । सानैदेखि लेखनमा रुचि भए पनि प्रकाशनमा ढिलाइ भएको उल्लेख गर्दै उहाँले आफ्ना श्रीमान् नन्दकृष्ण जोशीलाई लेखन यात्राको प्रमुख प्रेरणास्रोत र पहिलो पाठकका रूपमा स्मरण गर्नुभयो । साथै हाम्रो लघुकथा केन्द्रप्रति आभार व्यक्त गर्नुभयो ।
उक्त अवसरमा हाम्रो लघुकथा केन्द्रका तर्फबाट कथाकार प्रार्थना खनाललाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो । पुतलीसडकस्थित ग्रिनलिफ रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रकी सहसचिव मिसु श्रेष्ठ थपलियाले गर्नुभएको थियो ।
