बेलायत । विश्व नेपाली साहित्य महासंघ, मिडल्याण्ड शाखा बेलायतद्वारा आयोजित नियमित काव्यिक शृङ्खला तथा साहित्यिक व्यक्तित्वसँगको साक्षात्कार कार्यक्रम कोभेन्ट्रीमा सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष भरतकुमार श्रेष्ठ ‘विवश’को सभापतित्व तथा नेपालबाट बेलायत भ्रमणमा रहनुभएका रेडियोकर्मी, साहित्यकार तथा उद्घोषक अच्चुत घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न साहित्यिक स्रष्टाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अच्चुत घिमिरे, अध्यक्ष भरतकुमार श्रेष्ठ ‘विवश’ तथा विशिष्ट अतिथिहरूद्वारा पानसमा दीप प्रज्वलन गरी गरिएको थियो । नेपाली राष्ट्रिय गानसँगै शुरू भएको कार्यक्रममा महासंघका सचिव डा. प्रदीप लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्दै आफ्ना सिर्जना वाचन गर्नुभयो ।
महासंघका उपाध्यक्ष बाबुराम भुसाल ‘शील’ले सञ्चालन गर्नुभएको कार्यक्रममा मोहन आचार्य ‘जलद’, लुनिभा श्रेष्ठ, कला पोखरेल, मनोज आचार्य, एलिना सङ्ग्रौला, सीता पौडेल, प्रकाश आचार्यलगायतका स्रष्टाहरूले कविता, गजल तथा अन्य साहित्यिक रचना प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतिथि अच्चुत घिमिरेले विभिन्न स्रष्टाका सिर्जनाबाट चयनित अंशहरू सस्वर वाचन गर्नुभयो । उहाँले विश्व नेपाली साहित्य महासंघका केन्द्रीय उपाध्यक्ष विजय हितानको कविता, अध्यक्ष भरतकुमार श्रेष्ठ ‘विवश’को कृति ‘अपहरण’ अन्तर्गतको ‘पुत्रमोहका जिजीविषाहरू’ शीर्षकको अंश तथा डा. सुधा शाहीका गजलहरू वाचन गर्नुभएको थियो । साथै बेलायतमा रहेका नेपाली साहित्यकारका सिर्जनासमेत प्रस्तुत गर्नुभएको थियो ।
मन्तव्यका क्रममा अच्चुत घिमिरेले नेपाली साहित्यको विकास र विस्तारमा सञ्चारमाध्यम, विशेषगरी रेडियोको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भाषा, साहित्य र संस्कृतिप्रति समर्पित स्रष्टा तथा श्रोताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष भरतकुमार श्रेष्ठ ‘विवश’ले प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा महासंघ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बेलायतका विभिन्न पुस्तकालयमा नेपाली पुस्तक हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिँदै नयाँ पुस्तामा नेपाली भाषा र साहित्यप्रति आकर्षण बढाउन घर–घरमा नेपाली पुस्तक पढ्ने संस्कृतिको विकास आवश्यक रहेको बताउनुभयो ।
देश, भाषा र मातृभूमिप्रतिको प्रेम अभिव्यक्त गर्ने कविता वाचनसँगै सम्पन्न कार्यक्रमले प्रवासी नेपाली समुदायमा साहित्यिक चेतना, भाषिक गौरव र सांस्कृतिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन् ।

