साहित्यपोस्ट डट कम

संविधानका धारा र अधुरो प्रेम

संविधानका धारा र अधुरो प्रेम

काठमाडौँको पुस महिनाको चिसो । बिहान ठीक साढे पाँच बजे बागबजार र नयाँ बानेश्वरका सडकहरूमा कुहिरो मात्र होइन, लोकसेवाका आकांक्षीहरूका पाइलाको आवाज पनि गुन्जिन्थ्यो । बानेश्वर चोकको भित्र एउटा नामी कोचिङ इन्स्टिच्युटको कोठा नम्बर ४ मा हिउँदे बिहानको कठ्याङ्ग्रिने चिसोलाई मसी र पानाहरूको घस्रणले न्यानो बनाइरहेको थियो ।

 दिनेश सधैँ अघिल्लो लहरको कुनाको बेन्चमा बस्थ्यो । उसको दिनचर्या घडीको सुईजस्तै बाँधिएको थियो । बिहान ६ देखि ८ बजेसम्म निजामती सेवाको प्रथम र द्वितीय पत्रको क्लास, ९ बजे कोठामा पुगेर हतार-हतार भातको सिटी लगाउने, अनि १० बजे अनामनगरको एउटा बचत तथा ऋण सहकारी संस्थामा म्यानेजरको कुर्सीमा बस्ने । सहकारीको हिसाबकिताब, बचतकर्ताको कचकच, र साँझ थाकेको शरीर लिएर फेरि कोठामा फर्किएर ऐन, कानून र प्रशासनिक सिद्धान्तहरूमा घोत्लिनु उसको नियति थियो । गुल्मीको एउटा विकट गाउँबाट काठमाडौँ छिरेको दिनेशका लागि यो सङ्घर्ष बाध्यता पनि थियो, र सपना पनि ।

 त्यही कुर्सीको अर्को छेउमा आएर बसिन्- आरती । स्याङ्जाको एउटा मध्यमवर्गीय परिवारकी आरती, जो विशुद्ध लोकसेवाको तयारीका लागि मात्र काठमाडौँ आएकी थिइन् । उनीसँग दिनेशको जस्तो जागिरको बोझ थिएन, तर समयमै नाम निकाल्नैपर्ने पारिवारिक दबाबको गरुङ्गो भारी भने पक्कै थियो ।

एकदिन, प्रशिक्षकले नेपालको संविधानको धारा १६—'सम्मानपूर्वक बाँच्न पाउने हक' को व्याख्या गरिरहेका थिए । दिनेशले डायरीमा टिप्यो: "प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ र कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन ।"

 क्लास सकिएपछि सबैजना बाहिर निस्कँदै गर्दा दिनेशको हिँडाईले छेउमै बसेकी अन्जान नारी आरतीको कापी भुइँमा खस्यो, जसमा लोकसेवाका नोट र केही थान पेपरहरू थिए । दिनेशले टिपेर दियो ।

"थ्याङ्क यू," आरतीले मुस्कुराउँदै भनिन् । "स्वागत छ । तयारी कस्तो चल्दै छ ?" दिनेशले शिष्टाचारवश सोध्यो । "प्रथम पत्र त ठिकै छ, यो द्वितीय र तृतीय पत्रको कानून र संविधानको पाटो निकै गाह्रो लागिरहेको छ," आरतीले आफ्नो समस्या राखिन् । गफिँदै गर्दा दिनेशले आफ्नो परिचयसहित भन्यो, "म सहकारीमा काम गर्छु, अलि-अलि व्यावहारिक कुरा थाहा हुन्छ । यदि हजुरलाई सजिलो लाग्छ भने, हामी क्लासपछिको आधा घण्टा चिया पसलमा बसेर बुँदाहरू मन्थन गर्न सक्छौँ ।"

त्यही चिसो बिहानको चियाको कपबाट शुरू भयो एउटा यस्तो यात्रा, जसले नेपालको संविधानका धाराहरूलाई किताबको पानाबाट निकालेर दुईटा मुटुको धड्कनमा अनुवाद गर्नेवाला थियो । दिनहरू बित्दै गए । बानेश्वरको एउटा सानो खाजाघर उनीहरूको हरेक बिहान साँझको 'स्टडी सेन्टर' बन्यो । उनीहरूले पढ्ने तरिका अरूको भन्दा फरक थियो । उनीहरू सुख्खा कानूनी परिभाषाहरूलाई जीवन र प्रेमको दर्शनसँग जोडेर पढ्थे, ताकि कहिल्यै नबर्सियोस् ।

 एकदिन धारा १८ 'समानताको हक' पढ्दै गर्दा आरतीले भनिन्, "दिनेशजी, कानूनको नजरमा सबै समान छन् भनिन्छ । तर व्यावहारिक रूपमा के यो सम्भव छ ?" दिनेशले आरतीको आँखामा हेर्दै भन्यो, "आरती, तिमी र म दुई फरक भूगोलबाट आएका हौँ । तिम्रो पृष्ठभूमि र मेरो संघर्ष फरक छ । तर यो लोकसेवाको हलमा र मेरो मनको अदालतमा तिमी र म एकदम समान छौँ । धारा १८ को उपधारा (१) ले भन्छ नि—'सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् ।' मेरो प्रेमको कानूनमा पनि तिम्रो स्थान र मेरो समर्पण बराबर छ । यहाँ कोही अघि वा पछि छैन ।"

 आरती अलिकति लजाइन् र विषय मोड्दै भनिन्, "अनि धारा २० को न्याय सम्बन्धी हक नि ?"

"त्यो त झन् झल्झली हाम्रै लागि लेखिएको जस्तो लाग्छ," दिनेशले चियाको चुस्की लिँदै भन्यो, "जसरी उपधारा (२) ले भन्छ —पक्राउ परेको व्यक्तिलाई आफूले रोजेको कानून व्यवसायीसँग परामर्श गर्ने र अभियोजनबाट आफ्नो प्रतिरक्षा गर्ने अधिकार हुनेछ । त्यस्तै, जब तिमी मेरो नजिक भयौ, मैले मेरो मनको सारा सुरक्षा तिमीलाई सुम्पिदिएँ । तिमीसँग सल्लाह नगरी अब मेरो जिन्दगीको कुनै पनि मुद्दा अगाडि बढ्दैन ।"

 उनीहरूको यो पढ्ने शैलीले अचम्मको काम गर्‍यो । आरतीको स्मरण शक्ति तीव्र हुँदै गयो । उनीहरूले धारा २४ को छुवाछूत तथा भेदभाव विरुद्धको हक लाई समाजको कुरुप पाटो मात्र मानेनन्, बरु दुई मन मिल्नका लागि जात, वर्ग र भूगोलको भेदभाव हुनुहुँदैन भन्ने प्रेमको सर्वमान्य सिद्धान्तका रूपमा बुझे ।

 "आरती, हेर त धारा २५ मा सम्पत्तिको हक छ," दिनेशले ठट्टा गर्दै भन्यो, "प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ । तर मेरो हकमा भने, यो मुटु तिम्रो नाममा 'रजिष्ट्रेशन' भइसक्यो । अब यसको भोगचलन गर्ने पूर्ण अधिकार तिम्रो मात्र हो ।" "भयो, धेरै गफ नजाँद्नुस्," आरतीले कापी बन्द गर्दै भनिन्, "यदि एक्जाममा नाम निस्किएन भने यो सबै 'सम्पत्तिको हक' खारेज हुनेछ, बुझ्नुभयो ?"

 हाँसो र ठट्टाकै बिच उनीहरूलाई थाहै भएन कि कहिले उनीहरू पढ्दापढ्दै एकअर्काको परिपूरक बनिसकेका थिए । काठमाडौँको अभाव र संघर्षको बिचमा दिनेशका लागि आरती एउटा शीतल छहारी थिइन्, र आरतीका लागि दिनेश एउटा दह्रो भरोसा ।

दुई वर्षसम्म उनीहरूले लगातार प्रयास गरे । खरिदार, नायव सुब्बा, शाखा अधिकृत जुनसुकै विज्ञापन खुलोस्, दुवैले फर्म भर्थे । सँगै परीक्षा केन्द्र जान्थे, सँगै फर्कन्थे । असफलताका कयौँ श्रृंखलाहरू उनीहरूले सँगै झेले । एउटाको नाम ननिस्कँदा अर्कोले सम्हाल्थ्यो । तर, समय सधैँ एकैनास रहँदैन ।

त्यस वर्ष लोकसेवा आयोगले नायव सुब्बा पदको अन्तिम नतिजा प्रकाशन गर्‍यो । दिनेश सहकारीको काउन्टरमा बसेर हिसाब मिलाउँदै थियो । आरतीको म्यासेज आयो, "मेरो नाम निस्कियो, दिनेश ! योग्यताक्रमको ५ नम्बरमा सिफारिस भएँ !"

 दिनेशको खुशीको सीमा रहेन । उसले तत्कालै आरतीलाई फोन गर्‍यो, बधाई दियो । तर, जब उसले आफ्नो रोल नम्बर लिस्टमा खोज्यो, त्यहाँ शून्यता मात्र थियो । दिनेश फेरि असफल भएको थाहा पाउँदा पनि उसले आफ्नो दुःख लुकाएर आरतीको सफलताको उत्सव मनायो । उसले बानेश्वरको त्यही होटलमा आरतीलाई उसको मनपर्ने केक खुवायो ।

 "अब त तिमी 'सुब्बा साप' भयौ है आरती," दिनेशले हाँस्दै भन्यो । "यो सब तिम्रो साथले गर्दा हो दिनेश । तिमीले मलाई कानूनका धाराहरू जसरी बुझायौ, त्यसले गर्दा मेरो लेखन शैली सुध्रियो," आरतीले भनिन् । तर, उनको आँखामा पहिलेको जस्तो निश्चल प्रेम भन्दा पनि एउटा नयाँ वर्गको अहम् बिस्तारै पलाउन थालेको दिनेशले महसूस गर्‍यो ।

 नियुक्ति लिएर आरतीको पदस्थापन काठमाडौँकै एउटा मन्त्रालयमा भयो । बिस्तारै, परिस्थिति फेरिँदै गयो । अब आरतीको समय दिनेशका लागि घट्न थाल्यो । बिहानको क्लास सकिइसकेको थियो । दिनेश अझै पनि त्यही सहकारीको म्यानेजर थियो, जसको तलब सीमित थियो । जिम्मेवारी दिन प्रतिदिन थपिँदै थियो  । आरती अब निजामती सेवाको 'सिस्टम' भित्र छिरेकी थिइन् । उनको उठबस अब अधिकृत, उपसचिव र प्रतिष्ठित कर्मचारीहरूसँग हुन थाल्यो ।

 दिनेशले फोन गर्दा आरती प्रायः भन्थिन्, "म मिटिङमा छु, दिनेश ।" या "आज फाइलहरू धेरै छन्, फुर्सद छैन ।" एकदिन दिनेशले आरतीलाई भेट्न मन्त्रालयकै बाहिर पर्खियो । आरती बाहिर निस्कँदा उनका साथमा केही सहकर्मीहरू थिए । दिनेशले अगाडि बढेर बोलाउन खोज्दा आरतीले उसलाई यसरी हेरिन्, मानौँ ऊ कोही अपरिचित वा सामान्य सेवाग्राही हो । उनले अरूका अगाडि दिनेशको परिचय मात्र एउटा "पुरानो चिनजानको साथी" को रूपमा गराइन् ।

 त्यो दिन दिनेशको मनमा धारा १६ को 'सम्मानपूर्वक बाँच्न पाउने हक' को धज्जी उडेको महसूस भयो । सम्बन्ध पातलिँदै गयो । म्यासेजका उत्तरहरू 'उम्', 'ओके' मा सीमित हुन थाले । अन्त्यमा, एक साँझ आरतीले स्पष्ट शब्दमा भनिन्, "दिनेश, मलाई लाग्दैन अब हाम्रो भविष्य सँगै हुन्छ । तिमी अझै त्यही सहकारीमा छौ, लोकसेवा निस्कने टुङ्गो छैन । तिम्रो पहिचान र मेरो हैसियत फरक बनिसक्यो । हामीबिच अब 'ग्याप' धेरै भयो ।"

दिनेशले स्तब्ध हुँदै सोध्यो, "आरती, के तिमीले धारा ४८ का नागरिकका कर्तव्यहरू बिर्सियौ ? हामीले पढेका थियौँ नि —राष्ट्रप्रति वफादार हुनु । के प्रेमप्रति वफादार हुनु तिम्रो कर्तव्य थिएन ?"

आरतीले चिसो स्वरमा जवाफ दिइन्, "दिनेश, व्यावहारिक बन । संविधान र जीवन फरक कुरा हुन् ।"

त्यसपछि आरतीले आफ्नो बाटो तताइन् । दिनेश नयाँ बानेश्वरको सडकमा एक्लै उभिएर आफ्नो रित्तो गोजी र भत्किएको मुटु हेरिरह्यो ।

 धोका र असफलताको त्यो दोहोरो मारले दिनेशलाई भित्रभित्रै जलायो । तर त्यो आगोलाई उसले आफ्नो विनाशको हतियार बनाएन, बरु संकल्पको इन्धन बनायो । उसले सहकारीको जागिरबाट राजीनामा दियो । कोठामा ताला लगायो र बाहिरी संसारसँगको सबै सम्पर्क विच्छेद गर्‍यो । सामाजिक सञ्जालहरू बन्द भए । साथीभाइ छुटे । उसले आफ्नो कोठाको भित्तामा नेपालको संविधानको एउटा ठुलो चार्ट टाँस्यो । अब दिनेशका लागि लोकसेवा केवल एउटा जागिर थिएन, त्यो उसको अस्तित्व र आत्मसम्मानको लडाइँ थियो । उसले सिधै 'शाखा अधिकृत' मात्र होइन, आफ्नो अनुभव र योग्यता पुग्ने भएकाले 'उपसचिव' (Under Secretary) को खुला तथा आन्तरिक प्रतिस्पर्धाको तयारी शुरू गर्‍यो । उसले पढ्ने शैलीलाई झन् धारिलो बनायो । हरेक रात, जब काठमाडौँ सुत्थ्यो, दिनेश धारा ३० (स्वच्छ वातावरणको हक) देखि धारा ५१ (राज्यका निर्देशक सिद्धान्त र नीतिहरू) सम्मका हरेक बुँदाहरूलाई केलाउँथ्यो । उसले सोच्थ्यो —आरतीले मलाई धोका दिएर मेरो धारा ३१ (शिक्षाको हक) र मेरो ज्ञानलाई चुनौती दिएकी छिन् । अब म राज्यको नीति निर्माण गर्ने तहसम्म पुगेर देखाउँछु ।

 उसले खाना खान बिर्सियो, सुत्न बिर्सियो, तर पढ्न बिर्सेन । उसको मनमा आरतीका ती अन्तिम शब्दहरू बजिरहन्थे: "हामीबिच अब 'ग्याप' धेरै भयो ।" "म यो ग्यापलाई यति ठूलो बनाउनेछु आरती, कि तिमीले मलाई भेट्न फेरि कयौँ वर्ष लोकसेवा धाउनुपर्नेछ," दिनेशले आफैँसँग कसम खायो ।

 लगातार डेढ वर्षको कठोर तपस्या, भोक र अनिँदा रातहरूको परिणाम स्वरूप, लोकसेवा आयोगले उपसचिव पदको नतिजा निकाल्यो । खुला प्रतियोगिताबाट देशैभरिबाट थोरै संख्यामा नाम निस्कने त्यो कठिन परीक्षामा दिनेशको नाम योग्यताक्रमको पहिलो नम्बरमा—मुख्य सिफारिस मा अंकित थियो । गुल्मीको त्यो ठिटो, जसलाई एकदिन एउटी सुब्बाले "हैसियत" को पाठ सिकाएकी थिइन्, आज सिधै राजपत्रांकित द्वितीय श्रेणीको ओहोदामा—उपसचिव (हाकिम) बनेर निस्किएको थियो ।

 नियुक्ति र कडा प्रशासनिक तालिमपछि उपसचिव दिनेश थापाको पदस्थापन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै गृह मन्त्रालय मातहतको एउटा विशिष्ट विभागमा भयो । उनी त्यहाँको 'महाशाखा प्रमुख'का रूपमा हाजिर हुन जाँदै थिए । उता, आरती सरुवा भएर त्यही विभागको कर्मचारी प्रशासन शाखामा नायव सुब्बाकै रूपमा कार्यरत थिइन् । उनलाई केवल यति थाहा थियो कि आज नयाँ 'उपसचिव साप' हाजिर हुन आउँदै हुनुहुन्छ ।

बिहानको ११ बजे । कार्यालयका कर्मचारीहरू नयाँ हाकिमको स्वागतका लागि बुके र खादा लिएर लहरै उभिएका थिए । आरती पनि हातमा मन्त्रालयको दर्ता-चलानी र हाजिरी रजिस्टर लिएर अघिल्लो लहरमा थिइन् । जतिबेला गाडीबाट ओर्लिएर सुट-बुटमा सजिएका, अनुहारमा एउटा गम्भीर तेज र प्रशासनिक गरिमा बोकेका उपसचिव कोठामा प्रवेश गरे, आरतीको हातबाट फाइलहरू भुइँमा खस्न मात्र बाँकी रहे । ती अरू कोही नभएर—दिनेश थिए । दिनेशले आरतीलाई हेरे । उनको आँखामा कुनै रिस थिएन, न त कुनै बदलाको भावना । त्यहाँ केवल एउटा शान्त समुद्र जस्तो गम्भीरता थियो । दिनेशले सबैको स्वागत स्वीकार गरे र आरतीको अगाडि पुगेर रोकिए ।

 "नमस्ते, म दिनेश थापा । आजैबाट यस विभागको प्रमुखको रूपमा कार्यभार सम्हाल्दै छु," दिनेशले गम्भीर तर नम्र स्वरमा भन्यो । आरतीको ओठ कामिरहेका थिए । उनले मुस्किलले भनिन्, "न... नमस्ते, सर ।"

दिनेश आफ्नो कार्यकक्षमा पस्यो । हाकिमको कुर्सीमा बस्ने बित्तिकै उसले टेबलमा रहेको नेपालको संविधानको किताबलाई ढोग्यो । आज उसले बुझ्यो कि कानून र न्याय ढिलो हुन सक्छ, तर प्रकृतिको न्याय अकाट्य हुन्छ ।

 महाशाखा प्रमुखको रूपमा दिनेशको कार्यशैली उदाहरणीय थियो । उसले विभागमा व्यापक सुधारहरू ल्यायो । आरती सधैँ डराउँथिन् कि दिनेशले पुरानो बदला लिनेछ, उसलाई दुःख दिनेछ । तर दिनेशले धारा २४ (छुवाछूत तथा भेदभाव विरुद्धको हक) को मर्मलाई आत्मसात् गर्दै आरतीलाई कहिल्यै कुनै पूर्वाग्रह राखेन । उसले आरतीलाई एक कुशल कर्मचारीकै रूपमा व्यवहार गर्‍यो ।

 एकदिन कार्यालयको समय सकिएपछि, बेलुकाको साढे पाँच बजे, दिनेशले आरतीलाई आफ्नो कार्यकक्षमा बोलाए । कोठामा कोही थिएन । आरती फाइल बोकेर भित्र पसिन् । उनको अनुहारमा पश्चात्तापको कालो बादल स्पष्ट देखिन्थ्यो । "सर, यो आजको टिप्पणी फाइल हो," आरतीले भनिन् । दिनेशले फाइलमा हस्ताक्षर गर्‍यो र पेन बन्द गर्दै भन्यो, "आदरणीय आरती मिस, अब अफिसको समय सकियो । अहिले म हाकिम होइन । के हामी पुराना साथीको हैसियतले ५ मिनेट कुरा गर्न सक्छौँ ?" आरतीका आँखाबाट आँशुको पहिलो थोपा फाइलमा खस्यो । उनले भनिन्, "दिनेश... मलाई 'आदरणीय मिस' भनेर अझ बढी लज्जित नबनाउनुस् । म हजुरको प्रेमको अपराधी हुँ ।"

 दिनेश कुर्सीबाट उठेर झ्यालतिर गयो, जहाँबाट काठमाडौँको साँझको बत्तीहरू देखिन्थे । उसले भन्यो, "आरती, तिमीलाई याद छ ? हामीले बानेश्वरको चिया पसलमा धारा ३४ को श्रमको हक पढेका थियौँ । प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ । मैले तिम्रो प्रेम पाउनका लागि मेरो भावनाको उचित श्रम गरेको थिएँ । तर तिमीले मेरो त्यो उचित श्रमको शोषण गर्‍यौ ।" आरतीले रुँदै भनिन्, "दिनेश, म बहकिएकी थिएँ । मलाई लाग्यो लोकसेवा नै सबथोक हो र तिमी पछि पर्‍यौ । मैले तिम्रो क्षमता चिन्न सकिनँ ।"

"क्षमता त समयले देखाउने कुरा हो आरती," दिनेशले संयमित हुँदै भन्यो, "हामीले धारा ३५ मा स्वास्थ्यको हक पढेका थियौँ नि ? प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ । जब तिमी मबाट टाढा भयौ, मेरो मानसिक स्वास्थ्य यसरी बिग्रियो कि मलाई लाग्थ्यो म कहिल्यै बाँच्ने छैन । तर तिम्रो त्यो धोका मेरा लागि एउटा यस्तो 'औषधि' बन्यो, जसले मलाई यो कुर्सीमा ल्याएर पुर्‍यायो ।" आरती दिनेशको नजिक आइन् र हात जोड्दै भनिन्, "दिनेश, के मलाई माफ गर्न सकिँदैन ? के हाम्रो सम्बन्धको पुनर्स्थापना हुन सक्दैन ? के संविधानमा संशोधन भए जस्तै हाम्रो प्रेममा संशोधन हुन सक्दैन ?"

 दिनेशले गहिरो सास फेर्‍यो र आरतीको आँखामा हेर्दै भन्यो: "आरती, नेपालको संविधानको धारा २७४ ले संविधान संशोधनको व्यवस्था त गरेको छ । तर त्यसका लागि पनि दुई तिहाइ बहुमत र जनताको चाहना चाहिन्छ । मेरो मनको संसदमा अब त्यो प्रेमको बहुमत कहिल्यै पुग्ने छैन । तिमीले धारा ४८ को नागरिकको कर्तव्य अन्तर्गत 'राष्ट्रको सेवा गर्नु' भन्ने बुँदा त पालना गर्‍यौ, तर एउटा नागरिकले अर्को नागरिकको भावनाको कदर गर्नुपर्छ भन्ने 'नैतिक कर्तव्य' भुल्यौ ।" आरतीले घुँडा टेकेर पछुतो मान्दै भनिन्, "मैले तिमीलाई दु:खको बेला साथ दिइनँ, दिनेश । म कति स्वार्थी भएँ । आज तिमी हाकिम छौ, म तिम्रो मातहत छु । यो मेरो कर्मको सजाय हो ।"

 दिनेशले आरतीलाई उठायो र भन्यो, "आरती, पछुतो नगर । जसरी धारा ४४ ले उपभोक्ताको हक सुनिश्चित गर्छ —प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने हक हुनेछ र कमसल वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । तिमीले मलाई दिएको धोकाको 'क्षतिपूर्ति' स्वरूप भगवानले मलाई यो उपसचिवको पद दिएका हुन् । म तिमीसँग कुनै गुनासो राख्दिनँ ।"

 उसले आरतीको हातमा फाइल सुम्पिँदै अन्तिम वाक्य भन्यो, "भोलि बिहान १० बजे मन्त्रालयको बैठक छ । समयमै प्रतिवेदन तयार पार्नुहोला, सुब्बा साप । यो धारा ४८ (ख)/(ग) बमोजिम राज्यले अराएको काम इमानदारीपूर्वक गर्ने तपाईंको संवैधानिक दायित्व हो ।"

 आरती रोइरहेकी थिइन्, तर दिनेशको अनुहारमा अब एउटा साँचो प्रशासकको परिपक्वता र अतीतबाट मुक्त भएको शून्यता थियो । झ्यालबाहिर काठमाडौँको चिसो हावा चलिरहेको थियो, र टेबलमा रहेको नेपालको संविधानको किताब साक्षी बनेर मुस्कुराइरहेको जस्तो देखिन्थ्यो  ।

 "झ्यालबाहिरको चिसो हावा बिस्तारै रातमा बिलायो । संविधानको किताब बन्द भयो । त्यस दिन पछि दिनेशले कहिल्यै आफ्नो अतीतलाई दोष दिएन । उसले बुझेको थियो —जीवनमा सबैभन्दा ठूलो जित कसैलाई हराउनु होइन, आफूलाई प्रमाणित गर्नु रहेछ । प्रेमले उसलाई साथ दिएन, तर त्यही प्रेमको पीडाले उसलाई एउटा सक्षम प्रशासक बनायो । आखिर, संविधानका धाराहरूले नागरिकलाई अधिकार र कर्तव्य सिकाउँछन्, तर जीवनले आत्मसम्मान, धैर्य र कर्मको मूल्य सिकाउँछ । मिहिनेतीहरूलाई समयको न्याय ढिलो हुन सक्छ, तर कहिल्यै अन्याय हुँदैन ।"

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.