साहित्यपोस्ट डट कम

कम्बिनेसन : तीन जना महिला कलाकार

कम्बिनेसन : तीन जना महिला कलाकार

कम्बिनेसन : तीन जना महिला कलाकारहरू

गत २२ फेब्रुअरीमा तीन जना महिला कलाकारको नेपाल आर्ट काउन्सिलमा सामूहिक कला प्रदर्शनी भयो । ‘कम्बिनेसन’ नामक यो कला प्रदर्शनी आगामी २४ फेब्रुअरीसम्म रहनेछ । कम्बिनेसन भन्नाले एक हुनु भन्ने अर्थ निस्कन्छ । यो कलाको शीर्षक जस्तै एकताका मेल हुनुको अर्थमा यी कलाकारहरू पनि एक भएका हुन् । मिलेर केही गरौँ भन्ने अर्थका साथ एकै ठाउँमा गाँसिएका हुन् ।

यी तीन जना महिलाले आज भन्दा झन्डै चौबीस वर्षअगाडि अर्थात् सन् २००२ मा पेटल्स भन्ने सानो समूह खोलेर यसरी एकै ठाउँमा गाँसिएका थिए । अर्थात् एक ठाउँमा जम्मा भएका थिए । अनि यसै समूहमार्फत कला प्रदर्शनी पनि गर्दै आइरहेका थिए । बीचमा अलिकता सुस्ताए पनि आज पुनः नयाँ जागरणका साथ आ–आफ्ना कलाहरू लिएर देखा परेका छन् । शुरूमा चार जना थिए सन् १९६९ देखि, यी तीन जनाले यसलाई पुनर्निर्माण गरेका छन् ।

समय अनुसार हरेक कुरा परिवर्तन हुँदै गर्दा यही कम्बिनेसन आज अलि अर्कै ढंगबाट देखिन आएको छ । समाजमा, घरमा महिलाको भूमिका अलि बढी नै हुन्छ । यसैमा अलि बढी नै यी कलाकारहरू पनि अल्झिए । अनि धेरै पछि पुनः देखा पर्दा थोरै अर्कै प्रकृतिमा देखा परेका हुन् । समयले प्रभाव पार्दै गर्दा जीवनको आरोह अवरोहले छिचोल्दै आउँदा कलाकारको विचारमा पनि अनेक परिवर्तनहरू भए । अनि यसैको प्रतिबिम्बको रूपमा यी कलाकारका कलाहरू देखा परेका छन् ।

कलाहरूको सन्दर्भहरू

यी तीन कलाकारहरूमा आर्या राजभण्डारी, चाँदनी वज्राचार्य, अनि रेणुका महर्जन हुन् । कलामा सबैले अलग–अलग विषय छानेका छन् । यसर्थ पनि समग्रमा प्रदर्शनीमा विविधता देखिन्छ । यसपल्ट आर्यले टुँडाल, चाँदनीले रञ्जना लिपि अनि पाली भाषामा मन्त्र, रेणुकाले फूललाई आफ्नो विषय बनाएका छन् । आर्या र रेणुले चित्रलाई छाने । चाँदनीले चाँहि मूर्ति बनाएकी छन् । हिजोआजका कलाकारहरू विशेष गरेर युवा कलाकारहरूले मिथकलाई अलि बढी नै चासो राख्न थालेको देखिन्छ । यसको महत्त्व अनि यसभित्र रहेको हाम्रो आफ्नै मौलिकताको विम्बलाई समात्न खोजेको पाइन्छ ।

देवी–देवता अनि संस्कृति, संस्कारलाई आधुनिक फर्ममा ढाल्नु अनि मौलिकताको सुगन्धलाई ल्याउनु यी कलाकारहरूको मूल विशेषता देखिन्छ । सम्भवतः यसैले गर्दा पनि आर्या अनि रेणुले मिथकलाई आ–आफ्नै ढंगले प्रयोगमा ल्याएको देखिन्छ । चाँदनी चाहिँ निजी भावनामा खेल्न मन पराएको देखिन्छ । तापनि उनको फूल पनि कतै न कतै परम्परासँग गाँसिएको छ । फूलको बीचोबीच देवी प्रकटन हुनुले यसका चारित्रार्थ गर्दछ । मनमा लागेका कुराहरू शब्दबाट भन्न नसकिएपछि यी आदि कुराहरू उनी यही फूलबाट प्रकटन गर्ने गर्दछिन् ।

आर्याले टुँडालको सन्दर्भलाई गजबले आफ्नो क्यानभासमा घुसाएकी छन् । नेपाली आधुनिक चित्रकलामा मिथकलाई उत्तम नेपालीले सन् १९६८ मा प्रयोगमा ल्याएका थिए । त्यसबखत उनले ‘टुँडाल इन्स्पाएर मी’ शीर्षकमा एकल कला प्रदर्शन गरी टुँडालमा रहेका मिथकलाई आधुनिक पाराले प्रस्तुत गरका थिए । झट्ट हेर्दा त्यस्तो नयाँपन नदेखिएता पनि यौनकार्यलाई नांगो रूपमा प्रस्तुत गर्दा यो चर्चाको विषय बनेको थियो । यसैबखत उनले रूपलाई जस्ताकै तस्तै नउतारेर यसभित्र रहेको यौनको अवधारणालाई आजको अवस्थामा पुनर्व्याख्या गरेक थिए । यसैमा उनको निजी विचारलाई कलामा प्रयोग गर्दा यसले नयाँ स्वरूप धारण गर्यो । त्यसबखत यो नितान्त नौलो प्रयोग ठानियो । उनले यसैमार्फत सेक्सलाई पुनर्व्याख्या गर्दा त्यसैबखत पनि यी चित्रहरू चर्चामा थिए ।

अहिले यतिखेर अर्थात् करिब ५८ वर्षपछि यही विषयवस्तुलाई आर्याले अर्कै ढंगबाट पस्कने प्रयास गरेकी छन् । उनले भने नितान्त देव–देवीको रूप अनि तन्त्र–मन्त्रका अवयवहरूलाई साधारण ढंगबाट पस्केकी छन् । गाढा हरियो, खैरोका साथ चहकिलो पाराले बसेको सेतो रंग उनका चित्रपटमा देखिन्छ । वा यस्तै अलि धमिलो निलो, हरियो वा पहेँलो रंगले पनि नरम कोमलतालाई निम्त्याउँछ । जसले गर्दा यी चित्रहरू केही भन्नभन्दा पनि भावकहरूले हेरेर मनोरम महसूस गर्छन् ।

आर्याले पुरानो नेवारी घर वा मन्दिरलाई अडाउने सन्दर्भमा टुँडालको प्रसङ्ग घरी–घरी निकाल्छिन् । अनि उनी भन्छिन्, “वास्तवमा त्यसबखत यो कलात्मक टुँडाल मात्र वास्तुकलाको एउटा अभिन्न रूपमा थियो । सम्भवतः अलिकता धर्म, सामाजिक चिन्ता अनि संस्कृतिका अवयवहरूलाई यसले समातेका थिए । अहिले कलाकारको लागि अभिव्यञ्जना गर्ने एउटा गजबको स्पेस भएको छ ।“

हिजो–आज यसलाई अवलोकन गर्न स्वदेश–विदेशबाट थुप्रै पर्यटकहरू आउँछन् अनि यसका कलात्मकतालाई मन्त्रमुग्ध भएर अवलोकन गर्छन् । अनि कलामन भएकाले यसैमा अनेक रूप देख्छन् अनि आफ्ना अभिव्यक्तिहरू पोख्दछन् ।

आर्याको यो सिधा र साधारण हेराइ हो । तापनि यसले एउटा स्पेसको सन्दर्भलाई राम्ररी उजागर गरेको छ । अनि जीवनका धेरै पक्षहरूसँग यसलाई जोड्दै यसको महत्व उठाउन कोशिश गरेकी छन् ।

उनले सर्वाङ्गमा टुँडालको रूपलाई प्रस्तुत गर्न खोजेको देखिँदैन । मात्र यसभित्र रहेको कलात्मक मोटिफहरूलाई थपक्क निकाली आफ्नै ढंगले अलग्ग पाराले संयोजन गरेकी छन् । यहाँ टुँडालको काम पनि देखिँदैन । यसका विशेषताहरू पनि देखिँदैन । तथापि यसभित्र रहेका देव–देवीलाई टुक्रामा विभाजित गरी मनका कुराहरू भनिदिँदा भने यो रोमाञ्चित भएर देखा पर्दछ । अझ रमाइलो पक्ष त टुँडाल जुन स्वभावतः काठबाट बनाइन्छ अनि काठ रूखको एक अंग हो । यसकारण पनि कतै कतै टुँडाल काठको एउटा हिस्साको सन्दर्भमा पूरै रूखलाई पनि चित्रपटमा उतार्ने कोशिश गरेको देखिन्छ । अनि हाम्रो परम्परागत चित्रलाई सिङ्गार्ने अझ राम्रो बनाउने सन्दर्भमा बुट्टा, लहरा आदिले चित्रपट सजाउने भावमा उनले पनि फूलहरूलाई वुट्टाको रूपमा प्रस्तुत गरीदिन्छन् । यसरी हाम्रो आफ्नै परम्परालाई सम्झने उपक्रम पनि गजबकै देखिन्छ ।

यो एउटा अनौठो संयोजनले गर्दा पनि उनका कलामा श्वैरकाल्पनिकता पर्याप्त मात्रमा दृष्टिगोचर हुन्छ । कतै चाहिँ फूल वा रूप विस्तारै रूपविहीन हुँदै जाँदा यी दृश्यहरू अमूर्ततामा पनि देखा पर्दछ । यसरी कलाहरू रंगहरूमा परिवर्तन हुँदै गर्दा यसले छर्ने मिठास अलग्गै प्रकारले छरिएको पनि देखिन्छ । टुँडालमा भएको सग्लो रूपहरूलाई मात्र केन्द्रमा राख्ने उनको रहर पनि बनेको छ । उनको आफ्नै एक अलग्ग शैली छ । जसलाई पश्चिमी कलात्मक भाषामा हार्ड–एज पेन्टिङ भन्ने पनि चलन छ । जहाँ चित्रपट बाहिर पनि यसको भाग छ भन्ने अनुभूति हुन्छ । अनि झट्ट हेर्दा आधाउँदी रूपहरू मात्र पनि देखिन्छन् । यसैलाई उनी सापटि लिएर थोरै अमूर्ततामा पस्कने गर्दछन् । यसो हुँदा पनि उनका कलात्मक संयोजनले एक अलग्ग पहिचान बन्न जान्छ । अझ मोटा काला, सेता धर्काहरूले रूपलाई निखार्न खोज्दा यसले उनको कलात्मक पहिचानलाई एक अलग्ग धारमा लिएर जान्छ । यो उनको कलात्मक स्वभाव अरू कसैसँग मिल्दैन । अनि यो उनको निजी सिग्नेचर बन्न गएको देखिन्छ ।

Untitled design – 1

उनी भन्छिन्, “टुँडाल, मात्र छानो अडाउने टेको होइन । यो त कलाकारको लागि आफ्नो भाव अभिव्यञ्जना गर्ने गहकिलो स्पेस पनि हो ।“ तथापि यसैमा उनले रंगको लेपन लगाउँदै जीवनका अनेकानेक पक्षलाई पनि समाहित गर्न पुगेकी छन् । देव–गणेशहरू पनि अनेक पोस्चरमा उदाउनु उनको अर्को रमाइलो पक्ष देखिन्छ ।

चाँदनीले चाहिँ मूर्तिलाई अगाडि सारेकी छन् । निलपत्र (एक प्रकारको ह्यान्डमेड पेपर) जो सदियौँदेखि ग्रन्थ अनि चित्र बनाउन उपभोग गर्दै आएको इतिहास छ । भोजपत्र अनि ताडपत्र जस्तै यसले पनि एक अलग्ग इतिहास बोकेको छ । पहिले सग्लो कागज नहुँदा, नपाइँदा यसलाई धेरै थोकमा प्रयोगमा ल्याइन्थ्यो । पात र रूखका बोक्राबाट बनाइने यस्ता वस्तुमा चित्र कोर्ने परम्परा उहिले थियो । यो परम्परा अहिले पाइँदैन । तथापि कहीँकहीँ भोजपत्र अनि निलपत्रलाई चाहिँ प्रयोग भएको पाइन्छ । निलपत्र उहिले अनि अहिले पनि प्रयोगमा राख्नु यसको इतिहासले मात्र पनि हाम्रो कलामा रहेको मौलिकता र आफ्नोत्वलाई पर्याप्त सम्झाउँछ ।

यो निलपत्र खोजी–खोजी यसैमा कला बनाउने चाहिँ कही न कहीँ चाँदनीले पनि हाम्रो आफ्नै परम्परासँग जोडिन पर्याप्त चाह राखेको देखिन्छ । यसो हुँदा पनि उनले निलपत्रलाई माध्यमको रूपमा रोजेकी छन् । यसमा काम गर्ने निक्कै गाह्रो भएको अनुभव पनि उनी सुनाउँछिन् । अनि यसलाई ठाडोपारी आफूले चाहेको आकारमा ल्याउन उनलाई चार–पाँच महिना लागेको थियो रे । लामो समयसम्म यसैमा लागिपरेर पनि अन्ततः उनी आफ्नो चाहेको रूप ल्याउन सफल भएकी रहेछन् । यो एउटा कलात्मक प्रक्रियाले पनि परम्पराप्रतिको यथेष्ठ आस्था देखाउँछ ।

अहिले यही निलपत्रलाई मूर्तिको रूपमा उनले प्रयोग गरेकी छन् । दह्रो मोटो यो कागजलाई आर्कषक आकार दिँदै बनाएको उनको मूर्तिले अचम्मको प्रभाव दिन्छ । पातलो देखिने यो कागज घुमाउरो गरी वा ठाडो तनक्क तन्काएर कसरी बस्यो होला थोरै कौतुहलता देखिन्छ । अझ यसैमा रञ्जना लिपि समावेश गर्दा यो एउटा अद्भुत कलाको रूपमा देखा पर्दछ ।

रञ्जना लिपीको आफ्नै एक अलग्ग इतिहास छ । यो मात्र लिपी होइन । नेवार समुदायको संस्कृति अनि संस्कारमा आबद्ध भएर जीवनको एक अभिन्न अंग बनेको लिपी पनि हो । अर्कोतर्फ यो आफैँमा कलाको अर्को रूप हो । अर्थात् यसमा कलालाई विशेष अर्थ दिएर समावेश गरिएको हुन्छ । यसैले कलाकै रूपमा यस्ता लिपी लेखिने हुँदा पनि यसको रूपमा लालित्यले भरिएको देखिन्छ ।

यसर्थ पनि अलग्ग माध्यम हुँदा अलग्गै मूर्तिको रूप देखिने थोरै अनौठोपन भने देखिन्छ । पातलो कागजलाई कसरी ठाडो पारेर राखे होला भन्ने कौतुहल भावकलाई लाग्न सक्छ । अनि आकर्षक रञ्जना लिपीले गर्दा यो मूर्ति सबैको लागि आकर्षकको केन्द्रबिन्दुमा रहेको पनि देखिन्छ । कालो पृष्ठभूमिमा पहेलो टल्केका लिपिहरू यसैमाथि बसेको देखिनु पनि कम आकर्षक छैन । पेडस्टलको रूपमा सेतो पुस्तकमा उभिएको देखिनु अझ रोचक संयोजन देखिन्छ । पुस्तकमा संस्कृत भाषा अनि देवनागरी अक्षरमै श्लोकहरू लिपिबद्ध भएर राखिनुले यसको महत्त्व अझ गाढा भएर देखा पर्दछ । यही श्लोकको अंश रञ्जना लिपिमा रूपान्तरण भएर बसेको छ । जसले गर्दा अलिकता चासो राख्नेले यी मूर्तिहरूलाई यसको भावार्थ गहिरो रूपमा बुझ्न पनि सजिलो भएको छ । विभिन्न आकारमा पुस्तकमाथि ठिङ्ग उभिनुले आफैँ पनि भावकमा रमाइलो प्रभाव पारेको देखिन्छ ।

यसबाहेक कलाले थुप्रै कुराहरू भन्न खोजेका छन् । धार्मिक र सांस्कृतिक सम्पदालाई एउटा अलग्ग आजको सन्दर्भमा जोड्दै आफ्ना भावनालाई उजिल्याउन पनि उनका प्रयास रहेको देखिन्छ । यसलाई क्यालीग्राफी–स्कल्प्चरको रूपमा पनि नामकरण गर्न सकिन्छ । मूलतः क्यालीग्राफी कला चित्रमा बढी प्रयोग हुने गर्दछ । नेपालमा क्यालीग्राफी (अक्षरहरूलाई) मूर्तिमा कसैले प्रयोगमा ल्याउन सकेको देखिँदैन । यसअर्थमा उनी नै यसको प्रयोक्ता पनि हुन् । यसैकारणले गर्दा पनि यस्तो शैली नितान्त उनैको मात्र हुँदा यसमा उनको अलग्ग सिग्नेचर बनेको पनि देखिन्छ । यसैलाई उनले मूर्तिमा प्रयोग गर्नु आफैँ पनि नयाँपन देखिन्छ । यसबाहेक उनले अलग्गै चराहरू पनि बनाएका छन् जुन पृथक रूपमा देखा परेको छ ।

रेणुकाले चाहिँ फूललाई विषय छान्नुको पछाडि फूल नै मूलतः जीवन हो । जीवनको भावना हो भन्ने अर्थमा ल्याएकी छन् । उनी भन्छिन्, “जहाँ आफ्नो भावनालाई शब्दले भन्न सकिँदैन, यस्लाई फूलको प्रतीकात्मक विम्बले अझ विस्तारमा भन्न सकिन्छ । मैले पनि यही गर्न खोजेको हुँ ।“

उनी थप भन्छिन्, “चित्रमा हामी गरम र चिसो रंगहरू खेलाउँछौँ । यही रंगले जीवनका दुःख–सुख अनि खुशीलाई कहीँ न कहीँ प्रतिनिधित्व गर्दै आएको हुन्छ । यसैले फूल अनि फूलभरी छरिएका यस्तायस्तै तातो–चिसो रंगहरूले म मेरा भावनालाई उजिल्याउन चाहन्छु ।“

उनका कवितात्मक अभिव्यक्तिहरू पनि प्रदर्शनमा छन् । कविता हो तापनि मनका भावना पनि यसैमा गासिदिँदा कविता अनि चित्र समग्रमा एक भएर उदाएको देखिन्छ । अनि उनी कसरी फूलबाट आफ्नो भावनालाई प्रकटीकरण गर्न चाहन्छिन् भन्ने कुरा खुलस्त रूपमा पोखिका छन् । जस्तो कि उनी भन्छिन्, “हाम्रो जीवनका भावना कहिले पनि सिधा हुँदैनन् । कहिले खुशी आउँछ, कहिले दुःख, कहिले डर अनि कहिले आशा । यी सबै भावना एकैचोटि मिसिन्छन्, कहिलेकाहीँ हराउँछन्, फेरि अचानक फर्कन्छन् ।“ यी आदि कुराहरू उनी रंग र ब्रसले देखाउन चाहन्छन् ।

एउटा चित्र हेर्नुहोस् । चित्रपटभरी पहेलपुर फूलका पत्रहरू यसरी ढाकिएका देखिन्छन् । मानौँ कहाँ पत्रहरूको शुभारम्भ अनि कहाँ यसको अन्त छ, पत्तै हुँदैन । यो एउटा भावनाले बोकेको फूल थोरै अमूर्तता सम्हाल्दै बढ्दै गर्दा पनि यो आफैँमा चित्रात्मक कविता बनेको देखिन्छ । गरम रंगले संयोजन गरिएको उनको भावना यसैपनि छताछुल्ल भएर पोखिएको देखिन्छ ।

यस्तै अर्को चित्र छ – थुप्रै लालुपातेहरू झ्याङ्ग भएर देखा पर्दा प्रकृतिले एउटा तातो गति समाएको देखिन्छ । अलिकता न्यानो, अलिकता गरम भएको पारामा उनको कहिले दुःख अनि सुखका अनुभूतिहरू भए जस्तो पारामा भावकमा पर्याप्त अनुभव गराउँछ । परम्परागत माथिको आस्थामा उनी यही फूलका बीचमा पनि देवीलाई अनायास राखिदिन्छन् । मानौँ कहीँ न कहीँ हामीबीच भएको यी देवीले यो प्रकृतिमाथि पनि आफ्नो भाव जनाइरहेको छ । यस्तै भावनामा फूलहरू सजिएकोले पनि उनका काम एक अलग्ग प्रकारले देखा परेको छ ।मुकेश मल्ल

कलाकार, कला समीक्षक

साझा गर्नुहोस्:
मुकेश मल्ल

लेखकको बारेमा

मुकेश मल्ल

नेपालका वरिष्ठ चित्रकारका रूपमा चिनिनु हुने मुकेश मल्ल कला प्राध्यापन पनि गर्नु हुन्छ । कलासम्बन्धी उहाँका एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.