अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा अमेरिकाको कोलोराडो राज्यमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ ।
मे २२ देखि २५ सम्म सञ्चालन भएको सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता नवराज लम्सालले गर्नुभएको थियो । तीन दिनसम्म चलेको सम्मेलनमा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, ‘नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका’लगायत समसामयिक विषयमा छलफल तथा विमर्श गरिएको थियो ।
सम्मेलनअन्तर्गत नेपाल अमेरिका पत्रकार संघ (नेजा)सँगको सहकार्यमा ‘नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । विभिन्न देशमा क्रियाशील साहित्यकार, लेखक तथा पत्रकारहरूले नेपाली डायस्पोरामा विस्तार हुँदै गएको नेपाली साहित्यका सम्भावना र चुनौतीमाथि आफ्ना धारणा राख्नुभएकाे थियाे ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै लम्सालले अनेसासलाई नेपालीभाषी साहित्यकारहरूको अन्तर्राष्ट्रिय संसदका रूपमा व्याख्या गर्दै नेपाल बाहिर सिर्जना हुने साहित्यलाई अलग राखेर नेपाली साहित्य पूर्ण हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
सम्मेलनमा मदन पुरस्कार विजेता निलम कार्की निहारिका, समालोचक महेश पौडेल तथा राजन आचार्यलाई सम्मान गरिएको थियो ।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुधीर शर्मा, बसन्त बस्नेत, विपुल पोख्रेल, टीकाराम यात्री, बबिता बस्नेत, नारायण श्रेष्ठ र यशोदा तिम्सिनालगायत वक्ताका रूपमा सहभागी हुनुहुन्थ्याे ।
त्यसैगरी कार्यक्रममा सतेन्द्र साह, नन्दकृष्ण जोशी, राधेश्याम लेकाली, सुरज भण्डारीसहित नेपाल, अमेरिका, युरोपलगायत विभिन्न देशबाट करिब दुई सय साहित्यकार, पत्रकार तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सम्मेलनले प्रवासी भूमिमा नेपाली भाषा, साहित्य र पत्रकारिताको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

