कोलोराडो । अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय आयोजनामा तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा वेस्टमिनिस्टरस्थित होटल ड्ररीमा सम्पन्न सम्मेलनमा विश्वभर फैलिएको नेपाली साहित्यको प्रवर्द्धन, अध्ययन र सशक्तीकरणका विविध पक्षमा गहन छलफल गरिएको थियो ।
घोषणापत्रमा विश्व साहित्यमा नेपाली साहित्यको विस्तारका लागि वार्षिक जर्नल प्रकाशन, युवा लेखकलाई लेखवृत्ति प्रदान, प्रकाशोन्मुख पाण्डुलिपिको सम्पादनमा सहयोग, बाल प्रतिभा पुरस्कार स्थापना तथा लेखन प्रशिक्षण सञ्चालन गर्ने जस्ता महत्वपूर्ण बुँदाहरू समेटिएका छन् ।
सम्मेलनका क्रममा ९ जना महिला साहित्यकारलाई ‘अनेसास नवरत्न साहित्य सम्मान’ प्रदान गरिएको थियो । उक्त सम्मान नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा योगदान पुर्याउने स्रष्टाहरूलाई लक्षित गरी प्रदान गरिँदै आएको छ ।
साहित्यकार तथा मदन पुरस्कार विजेता डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको सम्मेलनमा नेपाल, अमेरिका तथा विभिन्न देशका साहित्यकार, लेखक, पत्रकार र साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सम्मेलनअन्तर्गत ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, ‘नेपाली भाषा साहित्यको प्रवर्द्धनमा डायस्पोराको भूमिका’ लगायत विषयमा बहस र अन्तरक्रिया सञ्चालन गरिएको थियो ।
सम्मेलनमा एक सयभन्दा बढी कृतिहरूको विमोचन हुनुका साथै करिब १४० जना स्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे । साथै, विभिन्न सत्रहरूमा साहित्य, पत्रकारिता, महिला लेखन र नेतृत्वसँग सम्बन्धित विषयमा गहन विमर्श भएको आयोजकले जनाएको छ ।
अनेसासका महासचिव राजु सिटौलाका अनुसार यसपटकको सम्मेलनले युवा स्रष्टाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त बनाउने आधार तयार गरेको छ ।
सम्मेलनको समापनसँगै अनेसासले आगामी दशौँ सम्मेलन नेपाल, जापान वा अन्य कुनै देशमा आयोजना गर्ने योजना रहेको जनाएको छ ।

