साहित्यपोस्ट डट कम

क्लासिक कविता : गुहार ! वीरबहादुर दाइ, गुहार !!

क्लासिक कविता : गुहार ! वीरबहादुर दाइ, गुहार !!

पहाडवाट परपर

प्रतिमाहरू भागिरहेछन्

गढी, गौंडा र गल्लीहरू

तिम्रो गस्ती मागिरहेछन्

प्रशान्त पहरा

पर्वत भएर उठ

अलिकति उनलाई थपौं र

सम्मान गारद अर्पण गरौं हिमालयलाई

क्यामरामा लुकेर गए

शान्तिका आँखाहरू

सारंगीमा सुकेर गए

स्वदेशी भाकाहरू

हत्केलामा सीप र

सुसेलीमा सिर्जना गाउँदै उठ

शान्तिका आँखा रचना गरौं र

सम्मान गारद अर्पण गरौं बुद्धलाई ।

आफ्नो भन्नु त्यही बुद्ध हो

बुद्धका आँखाहरू हुन्

आफ्नो भन्नु यही माटो हो

माटोका पाखाहरू हुन्

बुद्धका आँखा नरहे

हामी युद्ध हुन्छौं

माटोका पाखै नरहे

हामी टुहुरा हुन्छौं

आऊ माटोको माया रोपाैँ मुटुभरि र

सम्मान गारद अर्पण गरौं नेपाललाई ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.