गोडापन्ध्रेक वर्ष म पुगिसकेको थिएँ, त्यस वेला मेरा दौंतरीहरूमा सबभन्दा मै बलेको थिएँ, मेरै धाक रवाफ सबभन्दा जेठो थियो । यसैले पनि कि त्यस वेला मेरो कम्मरमा ददशका ३ नोट थिए । हामीहरू – मर मेरा दमथरका साथीहरू सबै अलि पुड्का थियौँ, यसैले हामीहरू भाग्यमानी थियौँ । यो साँचो हो, प्रायः पुड्के महाशयहरू चाँडै छिप्पिँदैनन् र लमटङ्ग्रेझैँ चाँडो कुप्रो परेर त्यति साह्रो बूढा पनि हुँदैनन् । यही पुड्केजीको एउटा सौभाग्य हो । म पनि पुड्को नै थिएँ, अनि मेरा सँगातीहरू पनि प्रायः सबै मेरै जोडा थिए । यस कारण हामीहरू गोडापन्ध्रेक वर्ष पुगेर पनि भरखर १२-१३ वर्षले छुन मात्र छोएका जस्ता थियौँ । त्यस्तो लडकपनको अवस्थामा ती-तीस नोटको धन सानो होइन । त्यो पनि आजझैँ नोटले ६०। मा ओर्लेर कालो-नीलो मुख लाउनुपर्ने अवस्था थिएन, झन्डैझन्डै १५०। को टक्करमा पुगेर नोटले भारी फूर्तिसँग गर्दन उठाइरहेको बेला थियो ।
सम्पत्तिको आँच बडो ठूलो रहेछ । त्यसले मेरो फूर्ति, मेरो रवाफ, मेरो चकचकी र मेरो मस्तानालाई खूब पकाइदिएको थियो । त्यस वेला म मनमनै गर्वले यति फुलेको थिएँ कि मानौँ म ३ लाखको मालिक थिएँ । तर ती ३० रुपियाँ नोटको प्रभावले खूब फुलेर पनि मैले ती नोटलाई बिलकुल लाटो गराइराखेको थिएँ। त्यस वेला आजजस्तो जहाँ गए पनि आफ्नो नेपाली पोशाक लगाएर नेपाली नै भएर हिँड्न सक्ने संयमी थिइनँ । यति असंयमी र चुलबुले थिएँ कि कहिले मलाई कलकत्ता जान मन लाग्छ, कहिले पन्जाब, किनकि कमसेकम त्यहाँ पुगेर मात्र आउन पाए पनि त त्यहाँका पोशाक लाउन फुक्का हुन्छ भन्ने मलाई लागिरहेको थियो ।
मलाई कलकत्ता र राजपूताना पुगेर सूट-बूट, ह्याट मात्रै लाएर भए पनि अथवा पतलून-सतलून लाई बावरी कोरेर बङ्गाली बाबूजस्तो हुन र डेउरी सुरुवाल र शेरवानीमा जयपुरी फेटा लाएर राजपूत ‘सिंह’ बन्न निकै सोख लागिरहेको थियो । तर त्यहाँ पुग्नसम्म पनि नपुगीकन लाउँदा गिल्ला गर्लान् भन्ने पनि लागिरहेको थियो । त्यसैले मन भएर पनि लाउन सकेको थिइनँ । त्यस वेला असंयमताले यति खोक्रो तुल्याइराखेको थियो कि एकचोटि बिलायत पुगेर आउन पाएको भए ‘अङ्ग्रेज’ नै बन्न नपाए पनि ‘साहेब’ सम्म त पोशाकले भए पनि बन्न पाउने थिएँ भन्ने लाग्दथ्यो । आखिर यत्तिका इच्छालाई लिएर खालि म देहाती बाबूसम्म बन्न पाएँ, किनभने त्यस वेला मैले देहातधामसम्म मात्रै पुग्ने सौभाग्य पाएको थिएँ । बस, त्यहाँकै देहाती पोशाकमा म रङ्गिरहेको थिएँ। त्यहाँ अरू थोक के पोशाक हुन्थ्यो ? एउटा अँगोछा भए पुग्ने ठाउँ थियो। अलि गतिलो धोती लाउन पाए त्यहाँ बाबू बन्न पाइन्थ्यो। बस, म पनि त्यही धोती लाएर बाबू नै बनिरहन्थें ।
त्यही धोतीमा लपेटेर ती मेरा ३० नोटलाई मकहाँ आएदेखि लाटो बनाइराखेको थिएँ । कसैको अगाडि पनि म त्यसलाई एकचोटि बोल्न दिन्नथेँ । साह्रै एकान्त भएपछि मात्र मेरो कम्मरबाट निस्केर तिनले मसँग बोल्न पाउँदथे । त्यसरी मैले तिनलाई महिनौँ महिनौँदेखि कम्मरमा थुनिराखेको थिएँ । त्यस वेला मलाई एउटा असल र राम्रो ‘वेस्ट एण्ड वाच’ घडी भिर्ने सोखले निकै सताइरहेको थियो। त्यही घडी किन्नलाई मैले ती ३० रुपियाँ नोट सँगालेर जोगाइराखेको थिएँ ।
ती मेरा ३० रुपियाँ नोटलाई कसैलाई पनि नदेखाएको परिभाषा केवल यत्तिकै मात्र हो कि मेरो परिवारका कोही व्यक्तिलाई पनि मैले कहिल्यै देखाएको थिइनँ । तर मित्रमण्डलीलाई त म बराबर देखाउँथें । मेरा उहिलेका अहमभाव र असभ्यता देखेर आफैंलाई शर्म लागेर आउँछ । आमाबाबुहरूलाई पनि नदेखाईकन साथीहरूलाई म ती ३० रुपियाँ नोट बराबर देखाउँथें । यसको अर्थ यो पनि होइन कि मित्रहरूप्रति म खूब स्नेही छु । केवल यस कारण देखाउँदथें कि मेरा साथीहरूले मसित सेखीको साहस गर्न नसकून् । वास्तवमा वैभव साँच्चैको बडो खराब वस्तु नै रहेछ । असलमा त्यसको अस्तित्व नै रहेछ मानव-हृदयको खँदिलोपनलाई खाएर खोक्रो बनाउने धमिरा ! मसित ती ३० रुपियाँ नोट नभएको भए ती साथीहरूमाथि कति म बराबरीको शुद्ध भाव राख्ने थिएँ हुँला ? मेरा ती साथीहरू पनि निकै नै बुद्ध रहेछन् । मेरा ती ३० रुपियाँ नोटको धाकले निकै ती मदेखि दब्दथे । अनि म पनि तिनीहरूबाट मुफतमा नोकरी गराउन बेर मान्दिनथें। यो त साधारण मानिसको स्वभावै हो । वास्तवमा मेरो बदमाशीभन्दा पनि उनीहरूको कमजोरी बढ्ता थियो । ती साथीहरूमध्ये म पनि एउटा ३० रुपियाँवालाबाट अलगको भएको भए ती ३० रुपियाँ नोटलाई खोसेर पनि म सब साथीलाई बराबरका गरिदिन्थें ।
ती ३० रुपियाँ नोट मैले जुवाले जितेको थिएँ। यो कुरा कसैलाई पनि थाहा थिएन । केटाकेटीमा मलाई लगूर-बुर्जामा पैसा थाप्न बडो सोख थियो । जुवा खेल्दा जितेर पनि म हारेको स्वाङ गर्न खूब सिपालु थिएँ । ईश्वरलाई लहड उठेमा कुनै न कुनै रूपमा पनि दिएर धनी तुल्याइदिँदा रहेछन् क्यारे । मैले सम्झिरहेको छु कि त्यस वेला ३० रुपियाँ जुवाले जितेको खास लहड गरेर ईश्वरले मलाई दिएका होलान् । ती ३० रुपियाँले म साथीहरूभन्दा धनी नभइदिएको भए संस्कारले मेरो हृदय कति सुन्दर बन्दो होला ? ममता र समताको भावले हृदय कति विशाल हुँदो होला ? अतएव म ईश्वरलाई धन्यवाद दिन चाहन्नँ, यद्यपि तिनले मलाई स्नेह गरेर मेरो केटाकेटीको अवस्थालाई ३० रुपियाँको धनी बनाइदिए । मलाई प्रतीत भइरहेको छ कि संस्कारको त्यो एउटा जबर्दस्त अभिशाप हो । ईश्वर खुशी भएर कसैलाई धनी बनाइदिँदा रहेछन् । तर उनी धेरैलाई गरीब नगराईकन धनी गराउन सक्ता रहेनछन् । ईश्वरमा मैले कमी यही देखेँ । यसैले म ईश्वरसँग प्रार्थना गर्न चाहन्छु कि संस्कार बिगार्ने धनी बन्न पनि चाहन्नँ ।
केटाकेटी अवस्थामा त धन झन् खराब वस्तु रहेछ । मनोवृत्ति नै बिगारेर त्यसले उसको भावी मानवतालाई नै कीरा पार्दो रहेछ। अफसोस छ, केटाकेटी अर्थात् अज्ञान अवस्थामा म ३० रुपियाँको धनी भएकोले ममा उदाउन सक्ने मानवता र बन्धुत्वको भाव कति कुण्ठित भए होलान् । त्यस वेला, जब म ३० रुपियाँको धनी केटाकेटी थिएँ, मेरा दमथरीहरू मेरो दबाबमा नपरिदिएका भए अहमभावबाट त्यसै गिरेर म प्रगतितिर दौडन सक्ने थिएँ हुँला, किनभने कसैको दबावमा नपरिदिनु नै त्यसलाई त्रुटिबाट सुरक्षित गराउनु हो ।
मेरा दमथरी साथीहरू अहिलेभन्दा हरेक विषयमा सुयोग्य छन्, तर मलाई विश्वास छ कि अहिले पनि उनीहरू कमजोर नै होलान् । कसैको अगाडि चाँडै घुँडा टेक्न तिनीहरू बेर मानोइनन्, किनभने उनीहरूको मनोवृत्ति नै कमजोरी र व्यर्थको आशामा हुर्केको थियो । यदि तिनीहरूले मेरा ती ३० रुपियाँको धनदेखि पर्वाह नगरीकन मलाई बढ्न-चढ्न नदिएको भए, यदि मलाई कुनै प्रकारबाट पनि कोहीभन्दा ठूलो हुनाको हक नदिएको भए अहिले मेरो पनि कति उन्नति भइसक्थ्यो होला !
ती ३० रुपियाँ नोटको प्रमादले मेरो प्रवृत्तिलाई नै चञ्चल पारेर घमण्डी बनाइदियो, मेरो हुर्कन लागिरहेको संस्कृति र शिष्ट तथा परिमार्जनशील मनोवृत्ति कुण्ठित गरिदियो तथा मेरो आफ्नो संस्कृति-जगत् र मेरो बुद्धिगत तथा अधीनवश आधारमा रहेका व्यक्ति एवं परिवारको मनोजगत्समेत त्यसैले बिगारिदियो । अतएव जो, जे म पाउँदछु र मसित छन्, हुन्छन् त्यसका दायक म ईश्वरलाई सम्झने हुनाले म ईश्वरलाई नै अबजस पनि नदिईकन बस्न सक्तिनँ । उनले मनोवृत्ति र संस्कृतिलाई नै खिया पारी बिगारिदिने ती ३० रुपियाँ नोटको धनी मलाई किन गरिदिएको ? किनभने धनीको प्रवृत्ति नै धेरैलाई गरीब पार्नु हो। के धेरैलाई गरीब नपारीकन ईश्वरले कसैलाई धनी बनाउन सकेका छन् ? साथसाथै म मेरा ती साथीहरूलाई पनि अबगाल दिन्छु, जो मेरा ती ३० रुपियाँ नोटको धाक र दबाबमा परेर बिनसित्तै कुकर बनेर पछि लागी हिँडेका थिए । यदि तिनीहरूले मेरा ती ३० रुपियाँ नोटको बीउबाट उमेर आएका चकचकी र अहमभावका बिरुवाहरूमा आगो लगाइदिएका भए मेरो मनोवृत्ति संस्कृत भएर म मानवताको कति नजीक पुग्न पाउँदथें
हुँला ?
तर मनोवृत्ति र संस्कृति बन्नु र बिग्रनुको नियत समय बालककाल मात्रै होइन, यस कारण आशा गरिरहेको छु कि म सप्रन सकुँला पनि, किनभने मनोवृत्ति र संस्कृतिलाई धमिलो पार्ने ती ३० रुपियाँ नोटजस्तो अब मसित कुनै विशेष वैभव छैन । फेरि आजको परिस्थितिमा पुगेर यो अनुभूतिले पनि म अवगत भइरहेको छु कि संस्कृत मनोवृत्ति मात्र नै जीवनको टुङ्गो होइन । संस्कृत मनोवृत्ति पनि कुनैकुनै परिस्थितिजनित एउटा सौन्दर्य हो । वास्तवमा संस्कृत मनोवृत्ति पनि सफल जीवनको एउटा विशेष अंश मात्र भएको हुनाले संस्कृत मनोवृत्तिलाई जन्म दिने परिस्थितिको पनि जीवनको निम्ति आवश्यकता छ । यथार्थमा धनको प्रभावले मनोवृत्ति र संस्कृति बिग्रेर मानवताबाट च्युत हुँदो रहेछ र उसको अभावले अग्रगामिता पनि लँगडाउँदो रहेछ । महात्मा र वैरागीहरू धनी भएर बसिरहन चाहँदैनन् । यसको माने यो भए मलाई मन लाग्दैन ‘गरीब भएर बस्नु नै जाती छ ।’ संस्कृति सुरक्षित र मनोवृत्ति सुन्दरतर गर्नाको निमित्त म कोहीभन्दा धनी नहुन मन पराउँछु । तर कोहीभन्दा गरीब भई लौकिक दृष्टिबाट अनादृत भएर बस्नु पनि सभ्यताको मेरुदण्डोन्मुख उन्नतिबाट सुदूर हुनु हो । यस कारण म गरीब भएर पनि रहन चाहन्नँ। यथार्थमा धनको निमित्त कसैले मर्न नपरेको भए मानव-मनोवृत्ति कति सुन्दर र संस्कृत भएर संसारमा सभ्यताको प्रसार हुँदो होला । मलाई भारी अफसोस छ, मेरो उन्नतिको विस्तारकाल, मेरो हुर्कन लागिरहेको मनोवृत्ति र संस्कृति ३० रुपियाँ नोटको प्रभावले गतिरुद्ध भयो। धनको प्रभावले म धेरै बिग्रें ! अब उसको अभावले पनि मेरो गति लँगडाइरहेको छ । वास्तवमा धन ‘धन’ को नामले खराबै छ, अफसोस छ, त्यसबाट म बिग्रँदै छु !
२० साउन, ‘०२ : काठमाडौं ।
(हृदयचन्द्रसिंह प्रधानको निबन्धसंग्रह ‘तीस रुपियाँको नोट’बाट । प्रस्तुत निबन्धसङ्ग्रह साहित्यपोस्ट एपमा उपलब्ध छ ।)

