मैजस्ता एउटा मानिस देखेर म खूब खुशी भैरहेको छु । यो मानिसको एउटा खूब स्वभावै हो कि ऊ अर्काको स्वभावमा पनि आफ्नो प्रकृतिको प्रतिमूर्ति हेर्न चाहन्छ । आफ्नो स्वभाव वा ‘पन’ अरूमा पनि वर्तमान भएको दर्शन पाएर मानिस दङ्गै हुँदो रहेछ । ‘अफीमची अफिम खाने बानी भएको मानिससित नै राजी हुन्छ’ ठीकै कुरा हो, किनभने म पनि खुशी भइरहेको कलम खरीद-बिक्री गरेर हिँड्न सोख राख्ने मैजस्ता लहडी पुरुष देखेर हो ।
बगलीखाता एउटा बोकेरै हिँड्नुपर्ने कुरा रहेछ, नत्र मैले जरुर टिपेको थिएँ हुँला । पाकोपन अर्थात् परिपक्वताको अर्थ यस्तै अनुभूतिहरूको सङ्ग्रह रहेछ । अब यो अनुभवको म पनि एउटा पाको नै भएँ । तारीख मैले यही भन्न सकिनँ, अङ्ग्रेजी महिना गत जुलाईको ‘आर्यावर्त’ खबरको एक कागजमा झटपट मैले एउटा खबर देखेँ। आफू अँध्यारो कुनामा लेखेर फ्याँकिएको रहेछ तैपनि आफूलाई मन नपर्ने विषय भएकोले मेरो आँखाले टिपिहाल्यो । पं. जवाहरलाल नेहरूले एउटा फाउन्टेनपेन ३००० रुपियाँमा बेचेका रहेछन् । बस, त्यही कुरा त्यसमा छापेको थियो । कलमकै सिलसिलामा उनले एउटा रुमाल एक हजार रुपियाँमा बेचेको कुरा पनि छापेको रहेछ । तर यसको चर्चा मलाई सरोकार छैन, किनभने यो मेरो सोखको विषय होइन म त कलम-संसारको प्रेमी हुँ, कलमैको कुरा मलाई मन लाग्छ, यस कारण उसैको मात्र मलाई चासो छ ।
म खूब दङ्ग भएँ, कलमको दाम पनि ३-३ हजार जाँदो रहेछ । त्यसमा लेखेको थियो, त्यो कलमद्वारा उनले आफ्नो आत्मकथा लेखेका रहेछन् । यसबाट बुझियो, कलम सचमुचमा बढी दामको होइन । अहा ! यो मेरो कलमको कहानी लेखेको कलम पनि गोडापचासेक रुपियाँ कसैले दिए म पनि बेचिहाल्छु ।
म पनि मलाई चिन्नेजत्तिको एउटा सानो संसारमा एउटा मशहूर कलम बेचेर हिँड्ने कलमको साह्रै सानो व्यापारी हुँ। ठाउँठाउँमा कलमको अडर दिई कलम झिकाएर पसल थापेर हिँड्ने म व्यापारी होइनँ, यस कारण मेरो कलमको सानो दुनियाँमा कलम किन्ने भनेर पनि म अतिप्रसिद्ध छु । कलम बेच्नमा म खालि आफूलाई धेरैजसो चिन्नेजत्तिकै सानो जगत्मा मात्र घुमिरहन्छु, चिन्नेदेखि टाढा कहिल्यै म पुग्दिनँ, तर किन्नामा चाहिँ म चिन्नेदेखि अलि टाढै पनि पुगिदिन्छु । तर म नचिन्नेको दुनियाँमा कलम किन्न पस्दा कलम किन्न आएको जस्तो कहिल्यै भइदिन्नँ। कलम किन्ने प्रस्तावसम्म पनि कहिल्यै अगाडि राख्दिनँ। आफैँ कसैले कलम बेच्ने कुरा गरेपछि मात्र किन्ने कुरा पनि म गर्दछु । तर यो मानिस कलम बेच्ने हो कि होइन बुझ्नमा म भारी वीरसिक्का छु, नसोधीकनै पनि म बुझ्न सक्तछु ।
व्यापारी नभएर पनि म कलमको व्यापारी किन भएँ, यो बताउन चाहन्छु । दुनियाँका चीजमा मलाई सबभन्दा कलम चीज ज्यादै मन पर्छ, त्यो भन्दा मन पर्ने चीज अर्को कुनै छैन। यदि स्वर्ग, वैकुण्ठ आदि जहाँ पुग्नाका निमित्त मानिसहरू मर्नमा तयार छन्, त्यहाँ कलम नभए मलाई यही मर्त्यलोक नै मन पर्छ । कलममा पनि मलाई बाँसको ठुटो भएर पुग्दैन, खूब खूब असल र राम्रो फाउन्टेनपेन (कलम) नै चाहिन्छ । वास्तवमा मलाई स्वदेशी चीजको खूब प्रेम छ, स्वदेशी चीजको खूब कद्र गरेर स्वागत गर्दछु । मेरो परिचित क्षेत्रमा पनि स्वदेशी प्रेमको सौन्दर्यले आभूषित पनि छु । यस कारण स्वदेश-विदेशको वास्ता नगरीकन सौन्दर्य र स्थूल फाइदाको निमित्त मात्र दौडेर हिँड्ने चहकदासहरूले मलाई यसो भनेर गिल्ला गर्न सक्तछन्, ‘फाउन्टेनपेन त स्वदेशी होइन, त्यसको काम दिने स्वदेशी बाँसको ठुटो छँदैछ ।’ तर म एउटा ज्यादै स्वदेशप्रेमी भएर पनि खूब प्रयोजनीय र सुविधाजनक आविष्कारको पनि निकै स्वागत गर्दछु त्यस्ता वस्तुका आविष्कर्ता चाहे स्वदेशी होऊन्, चाहे विदेशी, मानवताको नाताले खूब कृतज्ञ भएर तिनलाई हृदयको पुरस्कार दिन्छु । आफ्नै देशको तोरीको तेलबाट बत्ती बलेर काम चलिरहेकै छ भनेर म बिजुलीको अवहेलना गर्न चाहन्नँ, त्यस्तै आफ्नै स्वदेशी घोडा छँदैछ भनेर बाइसाइकललाई दूरदूर गर्न उचित ठान्दिनँ । वास्तवमा स्वदेश-प्रेमको आदर्श यो होइन कि विदेशी वस्तु छुनु पनि पाप हो, स्वदेशी र विदेशी महिमाको तात्पर्य यति मात्रै हो कि आफ्नो शाश्वत कला, आफ्नो श्री र सम्पत्तिको रक्षा भएर उन्नतिको वृद्धि होस्, पराई निर्भरमा अवलम्बित नभएर आफ्नै खुट्टाले उभिन सकोस्, बस, यत्तिकै हो। यदि हामी आफ्नो खस्रो लुगालाई लत्त्याएर रेशम र मखमली नरममा लहलहेर हिँड्यौँ र आफ्ना चामल, पीठो, मकैहरूको तिरस्कार गरेर बिस्कुट, केक, चपहरूको स्वादमा टाँसिएर हिँड्यौँ भने भोलि नै हाम्रो पतन नभई छोड्दैन, भोलि नै हाम्रो श्री-शोभा नष्ट भई नेपालीत्वबाट गिरेर अर्कोको पदचुम्बन गरेर हिँड्नुपर्ला । स्वदेशी महिमाको वास्तविक तथ्य नबुझ्ने कोही यस्ता पनि स्वदेशीको अप्रेमी चहकदास पनि छ, जो केही भन्न, खोट नपाएर ‘चश्मा त स्वदेशी होइन’ पनि भन्दछ ।
वास्तवमा फाउन्टेनपेन अहिलेसम्म स्वदेशी नभए तापनि स्वदेशीको निम्ति त्यसले केही हानि नगरेको र भारी सुविधाजनक भएको हुनाले मलाई खूबै मन परेको चीज भएको हो । फाउन्टेनपेन कोटको बगलीमा सधैँ सिउरिने भएको हुनाले जहाँसुकै रहे, बसे, गए तापनि एकान्त र फुर्सद पाएपछि त्यसबाट मलाई केही-न-केही काम बनिरहन्छ । आजको संसारमा सधैँ बाँसको ठुटोबाटै व्यवहार चलाइरहनेले पनि कलम, मसी लिई नहिँड्ने भएको हुनाले उस्ताले यो सौभाग्यबाट वञ्चितै हुनुपर्दछ ।
म आफ्नो बहुमूल्य कलमलाई छातीनिरको खल्तीमा सिउरेर खूब छाँटेर हिँड्न चाहन्छु, यसउसले पनि कि म चिप्लो मुखवालालाई मीठो पछार ख्वाउनालाई सुद्धी र होशियारीको दिनौँ तालीम लिन चाहन्छु, त्यसैले म त्यसको काम खालि लेख्नसम्मको त हो नि भन्ने सम्झी सुरक्षाको निम्ति कोटको भित्री खल्तीमा राख्न चाहन्नँ। म आफ्नो सुद्धी, होशियारीलाई चाहिएको वेलालाई मात्र मजबुत गराउने धोकामा छैनँ । क्षुद्र चोर मात्र होइन, भद्र चोरको पनि च्यापु फोर्नलाई बलसञ्चारको निम्ति आफ्नो होशियारीलाई म सदा च्यालेन्ज दिलाइरहन चाहन्छु । त्यसैले म आफ्नो कलमलाई सदा बाहिरै राख्दछु । हुलमूलमा जाँदा पनि म त्यसलाई बाहिरै सिउरिन्छु । अर्को कुरा, म सौन्दर्यलाई लुकाएर एक्लै उपभोग गर्न चाहन्नँ, अरूलाई पनि देखाएर आनन्द गराउन चाहन्छु । यसैले म आफ्नो बाहिरी खल्तीमा बराबर नयाँनयाँ कलम सिउरन चाहन्छु ।
अहो ! मेरो सिलसिला थियो, व्यापारी नभएर पनि म किन कलमको व्यापारी भएँ ? प्रसङ्गले मलाई अन्तैअन्तै पो बहाइदियो । मलाई नयाँ कलमको निकै सोख छ । यस कारण म कलमको व्यापारी बनें। म भरखर जवानको सुन्दर संसारमा छु तापनि शृङ्गारको मलाई त्यति ठूलो सोख छैन, म आफ्नो तारुण्यले भरेको फूर्तिलो श्रीमुखमा ध्वाँसे दाह्री पोती सुन्दर भएर हिँड्न नपाए पनि छातीनिरको कोटको बगलीमा तक्मा भिरेजस्तो फाउन्टेनपेन सिउरेर खूब म जवानीको रवाफमा उफ्रेर हिँड्दछु । मलाई कसैले फाउन्टेनपेनी पट्ठो भनिदिए पनि म रिसाउँदिनँ । शायद त्यस वेला म एकचोटि मुसुक्क हाँसिदिउँला कि (?)
तर मेरो नयाँ कलमको सोख वास्तवमा शृङ्गारहेतु अर्थात् उत्ताउलो हुनाको निमित्त होइन । उत्ताउलोदेखि म टाढै मात्र होइन, नागबेली बाङ्गो पनि छु । यथार्थमा म यस कारणले नयाँ कलमको सोख गर्छु कि त्यसबाट मेरो मरुभूमि-मस्तिष्कमा पनि हरियो घाँस उम्रन्छ । नयाँ कलम नपाएको वेला पुरानै कलमले भए पनि म दिनदिनै केही न केही नलेखीकन खाँदैनथें, केही न केहीको रूपैमा भए पनि लेख्नु नै मेरो निमित्त जीवन हो, यद्यपि मेरो लेख मखण्डी लेख नै किन नहोस् । नयाँ कलम पाउँदा त मेरो लेख्ने अभिरुचि झन् बढेर आउँछ, मेरो सुप्त प्रतिभा पनि जाग्न खोज्दछ । नीद र अरू कामको समय चोरेर पनि नयाँ कलमको बढ्ता बहाल गरेर आनन्द लिन्छु । यद्यपि मनलाई साधिसकेका समाधिस्थ र प्रतिभावान् लेखकका निमित्त नयाँ कलमको जरूरत छैन, एक टुक्रा गोलद्वारा पनि ऊ गुड्न सक्दछ, तर मजस्ता चुलबुले र बोधो लेखकको भुत्भुते प्रतिभालाई त नयाँ कलमले केही बलाइदिन सक्दछ । कपाल-सपाल दुखेको वेलामा पनि नयाँ कलमले मलाई केही हिँडाइदिन सक्छ । आफ्नो यही अनुभव बताएर पुगी-सरी आएकाहरूसित विनीत हुन चाहन्छु कि आफ्नो विद्यार्थी छोराछोरीहरूलाई करीब हप्ताहप्तामा कलम-नीबहरू फेराईफेराईकन मस्तिष्क रसाएर दगुर्न दिनुहोला । यो केटाकेटीलाई हौसल्याउने एउटा सम्झनुहोस् पुरस्कार हो ।
‘मेरो नयाँ कलम’ का मेरा प्रिय पाठकहरू ! म खरीद-बिक्री गरेर मात्र कलम भिरेर हिँड्ने फाउन्टेनपेनी होइनँ, साटासाटको पनि म खूब व्यापार गर्छु । जे गरेर पनि म आफ्नो कोटको छातीनिरको बगली-पसलमा चाँडैचाँडै नयाँ कलम सिउरन खोज्छु, यही मेरो मुख्य कलम-व्यवसाय हो । नयाँ कलमको माने एकदम व्यवहारै बिलकूल नयाँ कलम मात्र होइन, एक गएर अर्को आयो अथवा आफ्नो नगईकन पनि अर्को कलम आयो भने त्यसलाई पनि म नयाँ कलम भन्दछु, चाहे त्यो असलमा पुरानै होस् । यो ‘मेरो नयाँ कलम’ लेखेको मेरो कलम पनि वास्तवमा पुरानै हो, तर यसलाई म नयाँ कलम नै भन्दछु । पुरानो भएर पनि नयाँ यो मेरो कलमले पनि मलाई खूब दौडाउन सक्ने शक्ति दिइरहेको छ- यो ‘मेरो नयाँ कलम’ (यो निबन्ध) उसैले फेराएको एउटा सास हो- उसैले दगुराएर निस्केको एउटा नयाँ निःश्वास हो ।
(निबन्धसंग्रह ‘तीस रुपियाँको नोट’बाट)

