स्वतन्त्रताको अनुभूति एउटा अमूर्त बोध हो– यस्तै लाग्न थालिरहेछ ।
यसको सन्दर्भ अनेक हुनसक्छ ।
मानिसको अस्तित्वसँग गाँसिएकाले संरक्षण खोजेको लाग्न सक्छ ।
प्रश्न निर्बन्धताको हो, यसले मानवीय अधिकारप्रति सचेत गरिरहेको हुनसक्छ ।
संरचनात्मक व्यक्तित्वको विकासका निम्ति चाहिने अभिव्यक्ति स्वतन्त्रतालाई औंल्याइरहेको हुनसक्छ ।
लाग्छ अमूर्त सत्यको मूर्त व्याख्या गर्दै छु । अथवा मूर्त सत्यको अमूर्त अथ्र्याइ भन्दा पनि हुन्छ । यथार्थमा निराकार स्वतन्त्रतालाई आकार दिएर त्यसको रहस्यलाई विम्बित गर्ने प्रयासले यसका प्रति सम्मोहित हुनाले बलियो दृष्टान्त समुपस्थित गर्छ । भावनामा आत्मसात् गर्न खोजिए पनि यसको सामाजिक आग्रह छ । जस्तै : समाज नहुने मानिस देख्दिनँ । संघ, समुदाय, संगठनमा नबाँधिएकाहरू सायदै कोही होलान् । हराएको आ–आफ्नो देश छ । विभक्त भई त्यसैमा अनुरक्त भइदिएका हुन्छन् । निचोड हो समाज बाहिर हामी छैनौँ, देशविहीन पनि कोही हैनन् । अनि हरेक देशको आफ्नो सरकार छ । उनीहरूको आफ्नै नियम, काइदा, कानुन छन्, व्यवस्था छ, सेना प्रहरी छन् । कोही आफैं अनुशासित भई नियम पालन गर्छन्, कोही गर्दैनन् । नगर्नेहरू दण्डित हुने हुँदा स्वेच्छावश वा करबलले भए पनि मान्नै पर्छ ।
देश मान्ने नमान्नेहरू सबैको हो तर त्यहाँका पीडाहरू भने एकै किसिमका हुँदा रहेनछन् । देश हुनेहरूको पीडा एक प्रकारको हुन्छ, देश नहुनेहरूको पीडा अर्को प्रकारको हुन्छ । अनि देश भएर पनि आफ्नो जस्तो नलाग्नेहरूको पीडा अझ अर्कै प्रकारको हुँदो रहेछ । सबै उही र उस्तै उस्तै छैनन् । दुखाइ भने एउटै किसिमको लाग्छ– अनुभूति गर्ने संवेदनशीलता एउटै, दुख्ने मन एउटै, लाग्ने चोट एउटै ।
स्वतन्त्रता जस्तै अमूर्त रहेछ देश पनि । यसकारण सिमानाले बाँधेर रेखाङ्कित भू–भागलाई यही हो देश भनी मूर्त्याउनु परेको होला, चिनाउनु परेको होला । जिउभरि लागेको खतजस्तो अथवा अलङ्कार भएर सुशोभित देखिने नदी–पहाडहरू छन्, रूख–जंगल, बलौटे चट्टान, जोतिएका नजोतिएका पर्ती जग्गा, समुद्र पनि, बर्फिलो फाँट पनि, जङ्गली जनावर, फूल, बोट र जलचर, नभचरहरू पनि । यिनीहरू पनि देश हो, देश नै भन्छु म र पनि सबै ठाउँमा सबै नहुने अतिरिक्तताले विशेषित देशहरूको अलग अनुहार छँदै छैन भन्दिनँ । मानू यिनीहरू अमूर्त देशका मूर्त पहिचान हुन् । यसरी चिनाउने देशको हुलिया अरू पनि हुनसक्छ । राज्यविस्तार गर्ने प्रलोभनले होस् कि देश जोगाउने सोचले वा कसैले साँध मिच्ने र राज्य हडप्ने डरले होस् आफ्नो आधिपत्यमाथि कसैको हस्तक्षेप असहिष्णु हुन्छ र घोर आपत्तिजनक । त्यसैले जनमानसलाई सदैव जागा राख्न देशप्रेमको घुटी ख्वाउँछन् र मादक पदार्थ तुल्य प्रयोग गर्छन् ।
देश भने मानिसको हुनै सकेन । जसलाई जनता भन्छौँ नि हो, उनीहरूको देश संसारमा कतै छैन । उनीहरूलाई के आफ्नो देश, के अर्काको, फरक पर्दैन– एउटै एउटै लागिदिन्छ । रामप्रसाद खनाललाई (शरणार्थी उपन्यासको पात्र) बर्मा नेपाल लागिदिएजस्तो । नेपाल बर्मा र असम भइदिएजस्तो । जतासुकै दुखिरहेको हुन्छ ।
निर्वासित हुने विवशता सिर्जना गर्ने स्वदेश नेपाल र अरू देशका भन्दै खेद्ने–लखेट्ने बर्मा, भुटानहरू एउटै होइनन् । एउटै जातिका मान्छे पनि होइनन् यहाँका र त्यहाँकाहरू । तर एउटालाई स्वदेश भन्छौं, अर्कोलाई विदेश । देश त देशै हो दुवै । यहाँकाहरू नेपाली हुन्, त्यहाँकाहरू बर्मेली अथवा भुटानी । मान्छे त मान्छे नै हुन् यिनीहरू जो जहाँका भए पनि । तर त्यसोभन्दा रहेनछौं । देश फरक भएकाले एउटाले अर्को देशका मानिसहरूलाई आफ्नो भनेर कोही स्वीकार गर्दैनन् ।
खेदिएका नेपालीले बर्मा, भुटानलाई मेरो देश भनेर के गर्नु ? उनीहरूका निमित्त न बर्मा नेपाल भो, न भुटान । हुनै दिएनन् ।
तिब्बतीहरूको देश तिब्बत नै हो तर अहिले उनीहरूलाई आफ्नो देश विदेश भइदिएको छ, विदेशचाहिँ स्वदेश । यसरी उनीहरूको पलायनले दुवैबाट वञ्चित हुनुपरेको छ ।
सोनिया राजीव गान्धीकी धर्मपत्नी हुन् । त्यसैले उनी भारतकी भइसकिन् । अर्थात् भारतीय नागरिक । उनी भारत मेरो देश भन्छिन् र यहीँका जनता र सारा भारतवासीको सुख–समृद्धिका लागि समर्पित भई राजनीति गर्छिन् । तर नेपालकी छोरी सीतालाई भारतमाता भन्नेले आफ्नै देशकी बुहारी भईकन पनि सोनिया गान्धीलाई विदेशीको लाञ्छना लागेर अपमानित हुनुपरेको छ ।
राष्ट्रियता र जातीयताको सन्देश दिनेहरूले न विदेशिनेहरूलाई रोक्न सक्छन्, न फर्कनेहरूलाई अँंगाल्न सक्छन् । खेदिएकाहरू घरका न घाटका भइदिए– यताकाले अंँगालेको पनि होइन, उताकाले स्वीकारेको पनि होइन । देशविहीन छन् उनीहरू अहिले । पितृभूमिविहीन नेपालीहरू भुटानी भएर शरणार्थी जीवन जिइरहेछन् यहाँ, उता मातृभूमिविहीन भुटानीहरूलाई नेपाली भई निष्कासित हुनुपरेको छ । दुवैतिरबाट वञ्चित मानिसहरू नेपाली पनि हुन्, भुटानी पनि हुन्, बर्मेली पनि हुन् त क्यै नहुनाको रिक्तताको जोखिम भोग्नुपरेको छ– अनागरिकताको संकट, देशविहीनताको संकट ।
यसलाई देश नहुनुको पीडा भन्छु ।
देशकै आततायी, सामन्ती शोषण, माओवादी हत्या, अपहरण र राज्य आतङ्कहरूबाट शोषित र असुरक्षित हुनाको संकट हामी भोगिरहेका छौं ।
यो देश हुनुको पीडा हो ।
परदेशिनेहरूलाई देश नहुनुको पीडा छ । देशवासीहरूलाई देश दुख्नुको पीडा छ । उठ्ठीबास गर्ने देशकाहरूको शोषण, सामन्ती दूरावस्थाले बसिनसक्नु भई कामको खोजीमा विस्थापित हुनेहरूको यथार्थ र विवशतालाई एउटाले औंल्याउँछ । त्यस विवशताको पनि चरमविन्दु हो विदेशी हुनाको कारणबाट निष्कासित हुँदाको मोहभंग । अर्काको देशलाई आफ्नो सम्झेर भीर पाखा जङ्गल फाँड्ने र गोड्नेहरू धपिन्छन् । धनमाल शुद्ध ल्याउन दिँदैनन् । विदेशिएर समाधान खोज्ने दुखान्त जीवन यहाँ सम्बोधित छ । त्यहाँ बगाएको पसिनाले न यहाँको माटो भिज्छ न रोपाइँ हुन्छ, न त त्यहाँ फाँडेको हातले यहाँको ढुंगा भीर पाखो गोडिन्छ, न लहलहाउँछ । यसरी आफ्नो नहुने परदेश बोकेर देश गुमाउने मान्छे वा आफ्नो देश त्यागेर परदेशलाई आफ्नो ठान्नेहरूको मनोकांक्षालाई कसैको राष्ट्रियताले सकारेको होइन । यहाँ यथार्थप्रति केवल मान्छे भएर संवेदनशील हुन नसक्नाको दुखद परिणाम सार्वजनिक हुन्छ ।
देशहरू त एउटै मानिसका भिन्नाभिन्नै बस्ती हुन् । मानिसहरू पनि भिन्नाभिन्नै देशका भईकन पनि एउटै जातिका हुन् । तर यसो भन्दैनौं । आ–आफैँमा परिमित भएर हेर्छौं । हामीलाई आफ्नो देशभन्दा ठूलो अर्को देश लाग्दैन । देशहरूका निम्ति पनि आफ्नै मूलका मान्छेजस्तो प्रिय कोही हुँदैन । यो साँध नाघ्नै सकेनौँ– मान्छेका साँधहरू, देशका साँधहरू, राष्ट्रियताका साँधहरू, नागरिकताका साँधहरू, विश्वासका साँधहरू । साँधै साँधका बन्दी मान्छेले मान्छे भएर पनि मान्छेमाथि लगाइएको यो सिमाना तर्नै सकेन । देशले पनि तर्न सकेको होइन । भित्रभित्रै कुँजिएर हुट्टिट्याउँले आकाश थामेजस्तो गर्छौं ।
अब देश भएर पनि पुगेन । अब मान्छे भएर पनि पुगेन । मान्छेभन्दा पर पनि मान्छे छ जसलाई चिन्दैनाैँ । देशभन्दा पर पनि देशहरू छन् जसलाई देख्दैनाँैं । मान्छेको देश र देशका मान्छेहरूलाई छुट्याउने एउटा सिमाना छ । हामी त्यही सिमाना भइदियौँं । देश त्यही सिमाना भइदियो । थाहा छ यो क्यै होइनन् र पनि जे हौंँ यही सिमाना बाँचेका छाैँ । सिमानाभरिको स्वतन्त्रता, सम्प्रभुता बाँचेर राष्ट्रियताको कुरा गर्छौं र अभिमान गर्छौँ । यस्तै फुटेको गौरव, खेर जाने समर्पण, काम नलाग्ने त्याग, मर्ने र मार्ने देशभक्ति, अर्थहीन बलिदानबाहेक हामीसित छ नै के ? बाँचेका छौंँ यसैका निम्ति, मर्छौँं यसैका लागि । मान्छे मान्छे भएन, देश देश भएन । जे हो त्यो सिमाना मात्रै हो । सिमाना बाँच्छौंँ, सिमाना लड्छाैँ, सिमाना मर्छाैँ, सिमानाकै बन्दी भएर स्वतन्त्रता भोगिरहेका छौँं । त्यसभन्दा पर मान्छे पनि छैन, देश पनि छैन ।
लाग्छ अब देशका निम्ति लड्न छाडे भो । राष्ट्रियताका निम्ति लड्न छाडे भो । मान्छेकै लागि लडिरहेका हाैँ भने पनि लडाइँ जितेर देशहरू खै, कहिले त्यहाँका मान्छेको आफ्नो भयो ? किन जिते पनि लड्नु परिरहेछ ? किन हारे पनि लड्नु परिरहेछ अहिले र सधैँ सधैँ ? किन कामको लागि कामको खोजीमा बेस्से, कसाही, कुल्ली हुन देशै छाडेर विदेशिँदै छौ हामी मान्छेहरू ?
लड्नु नै छ भने अब मान्छेका निम्ति लड ! मान्छे हुनलाई लड ! उसको अहंका निम्ति लड्ने गर, सम्मानका निम्ति लड्ने गर ! त्यो मान्छे नेपाली वा भारतीय, अफ्रिकाली वा एसियाली, जुनसुकै मुलुक र युरोपकै जुनकुनै व्यक्ति पनि हुनसक्छ । किनभने मान्छे देश होइन जसलाई सिमानाले छुट्याउने गर्छ र जो मात्रै सिमानामा बाँच्ने गर्छ । किनभने मान्छे धर्म होइन जसले सम्प्रदायहरूमा टुक्रिएर क्रुसेड रच्ने गर्छ । नयाँनयाँ इनक्विजिसन खडा गर्छन् र युद्धको व्यूह रचेर जसको नाममा मार्छौँ, काट्छौँ र जिहाद बोल्ने गर्छौँ । त्यहाँ सबथोक छ खाली एउटा मान्छे छैन । उसको जस्तो आचरण, विवेक, संवेदनशीलता, सबै अटाउने पृथ्वीजत्रो छाती छैन, आकाशजस्तो अंँगालोको मान्छे छैन । यसको रिक्ततामा मान्छे जे पनि भइदिन्छन्, जस्तो पनि भइदिने गरेका छन्– अङ्गुलीमालदेखि जंगबहादुरसम्म जे पनि जस्तो पनि ।
(‘समय सुनामी’बाट)

